लाहोर । पाकिस्तान प्रहरीले प्रधानमन्त्री इमरान खानका भतिजाको खोजी कार्य भइरहेको बताएको छ । बुधबार पाकिस्तास्थित लाहोरको एक अस्पतालमा भएको तोडफोडमा प्रधानमन्त्री खानका भतिजाको संलग्नता भएको भन्दै उनका भतिजाको खोजी भइरहेको बताएको हो ।
प्रहरीले शुक्रबार प्रधानमन्त्री खानका भतिजा हसन निआजीको घरमा छापा हाने पनि उनी भेटिएनन् । निआजीसहित सयौं वकिलहरुले बुधबार डाक्टरसँगको विवादका कारण लाहोरस्थित पञ्जाब इन्स्टिच्युट अफ कार्डियोलोजी (पीआईसी) अस्पताल तोडफोड गरेका थिए ।
उक्त तोडफोडका क्रममा तीनजना बिरामीको मृत्यु भएको थियो । गलतका विरुद्ध बहस गर्ने वकिलहरु अस्पतालजस्तो संवेदनशील क्षेत्रको तोडफोडमा उत्रिँदा वकिलहरुको चौतर्फी विरोध भइरहेको छ । अधिकांशले खानका भतिजाको तस्बिर राखेर आलोचना गरिरहेका छन् ।
उनको चौतर्फी आलोचना बढेपछि ट्विटरमार्फत आफूलाई उक्त घटनाप्रति पछुतो भएको बताएका छन् । उनले ट्विटमा लेखेका छन्, "मैले उक्त घटनाको क्लिप हेरेपछि लज्जित महसुस गरेको छु । यो हत्या हो । उक्त आन्दोलनमा मेरो सहयोग र समर्थन सीमित थियो र विवादमा परेका डाक्टरलाई कानुनी दायरमा ल्याउने पक्षमा थिए । म त्यहाँ शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको थिए । यो निकै दुखको दिन हो । मैले उक्त आन्दोलनलाई समर्थन गरेकोमा आफैंप्रति निन्दा गर्दछु ।"
तोडफोडमा संलग्न ४६ जना वकिलहरुविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । तर, वकिलहरुले भने पक्राउ परेका आफ्ना सहकर्मीहरुको 'तुरुन्त रिहाइ' को माग गरेका छन् । रिहाको माग गर्दै वकिलहरुले शुक्रबार देशभरका अदालतमा धर्ना दिनुका साथै मुद्दाको बहस बहिष्कार गरेका थिए ।
उक्त विषयको छानबिनका लागि गठन गरिएको वकिलहरुको संयुक्त एक्सन कमिटीले उनीहरुलाई शुक्रबार अदालतमा उपस्थित नगराउन माग गरेका थिए । उनीहरुले पक्राउ परेका वकिलहरुलाई प्रहरीले यातना दिएकोले तुरुन्त रिहा गर्न माग गरेका छन् । - बीबीसी