प्रतिस्पर्धी उमेदवारलाई गालीगलौज नगरी, तिनको चरित्रहत्या नगरी तथा धेरै पैसा खर्च नगरी चुनावमा प्रतिस्पर्धा गर्न सम्भव छ ? मैले यो प्रश्न धेरैजनालाई सोधेँ । राजनीतिक कार्यकर्ताहरूलाई पनि सोधें । सबैले प्रश्न अनौठो माने र मिश्रित जवाफ दिए ।
चुनावमा प्रतिस्पर्धा हुन्छ । लोकतन्त्रको आधार नै चुनाव हो । प्रतिस्पर्धात्मक चुनावबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैन । अनि हाम्रो देशमा गालीगलौज, चरित्रहत्या, पैसा खर्चबिना चुनावी प्रतिस्पर्धाको कल्पना नै गरिँदैन ।
यो प्रवृत्ति दक्षिण एसियाकै साझा रोग हो । चुनाव हिंसा, गालीगलौज, चरित्रहत्या, गुन्डागर्दी, असामाजिक क्रियाकलापको पर्याय बन्न पुगेको छ । यो कुसंस्कृतिलाई तोड्न सकिन्छ कि सकिँदैन ? अवश्य सकिन्छ र सक्नु पनि पर्छ । चुनावको विकृति नियन्त्रण गर्न सकिएन भने जनप्रतिनिधिका नाउँमा धनप्रतिनिधि निर्वाचित हुन्छन् । यस्तो भइरहेको पनि छ ।
सकारात्मक विचार राख्ने, असल तथा इमानदारले चुनाव हार्ने र खराबले जित्ने अवस्था बढ्दै गइरहेको छ । त्यसैले चुनावी प्रतिस्पर्धामा देखिने विकृति नियन्त्रण गर्नु सबैको कर्तव्य हुन आउँछ । यसमा सबैभन्दा जिम्मेवार स्वयं उमेदवार नै हुन्छन् । उमेदवारले चाहे भने चुनावी विकृति नियन्त्रण गर्न सकिन्छ भन्ने उदाहरण नेपालमै पनि केही ठाउँमा देखिएको छ ।
शान्ता चौधरी र विश्वप्रकाश शर्माको उदाहरण
गत संविधान सभा चुनावमा झापामा नेपाली कांग्रेसका तर्फबाट विश्वप्रकाश शर्मा उमेदवार बनेका थिए । उनले उमेदवार बनेपछि प्रतिस्पर्धी उमेदवारहरूको प्रशंसा गर्दै आफूले कसैको आलोचना नगर्ने र कसैलाई गाली पनि नगर्ने घोषणा गरे । त्यो क्षेत्रमा नेपालकै नमुना चुनाव भयो । मुख्य प्रतिस्पर्र्धी उमेदवार एक जनाले शालीन शैलीमा चुनाव लड्ने, गालीगलौज नगर्ने घोषणा गरेपछि त्यसको असर सबैमा पर्न गयो । अन्य उमेदवारले पनि गालीगलौज र चरित्रहत्याको राजनीति गर्नसक्ने अवस्था रहेन ।
चुनावमा विश्वप्रकाश पराजित भए । एमालेका उमेदवार विजयी भए । मतगणना सकिँदा एमालेको उमेदवार त्यहाँ थिएनन् । शर्माले विजयी उमेदवारलाई फोन गरेर पर्खे । बधाई दिएर फोटो खिचाए । सो फोटो आफ्नो फेसबुकमा समेत राखेर उनले निकै हार्दिकतासाथ र दिल खोलेर बधाई ज्ञापन गरे । विश्वप्रकाशले मत हारे पनि जनताको मन जिते । मैले उनको चुनाव लड्ने शैलीलाई ’विश्वप्रकाश मोडल’ भन्नेगरेकी छु ।
अर्काे उदाहरण शान्ता चौधरीको छ । उनी नेकपा (एमाले)का तर्फबाट गत संविधान सभा चुनावमा दाङबाट उमेदवार बनेकी थिइन् । उनले पनि कसैलाई गालीगलौज गरिनन् । प्रतिस्पर्धीविरुद्ध लक्षित प्रचार पनि गरिनन् । उनको चुनावी खर्च पनि त्यसबेला चर्चित रह्यो ।
जनताले नै चुनावी खर्चका लागि उनलाई दालचामल उठाएर दिए । शान्ताले पनि चुनाव हारिन् । चुनाव हारे पनि जनता माझ भने उत्ति नै लोकप्रिय छिन् । राजनीतिकर्मीले बारम्बार चुनावी परीक्षणमा जानुपर्ने हुन्छ । एउटा चुनाव हार्दैमा केही हुँदैन । निरन्तर जनतामाझ रह्यो भने अर्काे चुनाव जित्न सकिन्छ । सुशील कोइराला, केपी ओली, माधव नेपाललगायतका ठूला नेताले पनि चुनाव हारेका थिए । पछि जिते र देशको प्रधानमन्त्रीसमेत बने ।
असल कि खराबको छनोट ?
लोकतन्त्रमा चुनावमा हार्नु प्राविधिक विषय पनि हो तर जनताको मन जित्नु ठूलो हो । एउटा चुनाव जित्दैमा व्यक्तिको राजनीतिक भविष्य बन्छ भन्ने छैन । एउटा चुनाव हार्दैमा राजनीतिक भविष्य सकिन्छ भन्ने पनि छैन । राजनीति भनेको चुनावमा हुने हारजितभन्दा माथिको विषय हो । राजनीति आदर्श, मूल्य मान्यता र जनताप्रतिको समर्पणका लागि गर्ने हो । चुनावमा सहभागी हुनु आफँैमा जित हो । चुनाव भनेको महान् प्रक्रिया हो, लोकतन्त्रको प्राण हो । चुनावमा असलरूपमा प्रस्तुत हुनु नै वास्तविक जित हो भन्ने बुझ्नु आवश्यक छ । त्यसैले चुनाव हारेर पनि जित्ने शैलीको चुनावी प्रतिस्पर्धा गर्नु आवश्यक छ ।
स्थानीय चुनावमा हजारौं व्यक्ति उमेदवार बन्दैछन् । सबैले चुनाव जित्ने त होइनन् । निश्चित संख्याले मात्र चुनाव जित्छन् । आज हार्नेले भोलि जित्न सक्छन् । यो चुनाव हार्नेले अर्काे चुनाव जित्न सक्छन् । चुनावमा उमेदवार बन्दा असल प्रतिस्पर्धा गरेर जनता माझ स्थापित बन्न सकिन्छ र भविष्यमा चुनावी विजयको आधार तयार पार्न सकिन्छ । यो कुरा स्थानीय चुनावमा उमेदवार बन्ने सबैले बुझ्नु आवश्यक छ ।
चुनाव आफू असल देखिने अनि आफ्नो असल विचार र भावना जनता माझ लैजाने अवसर र प्रक्रिया हो । अरूलाई खराब देखाएर आफू असल प्रमाणित हुनखोज्ने चुनावी शैलीविरुद्धमा आजको पुस्ता उभिनु जरुरी छ । अरूलाई होचो बनाएर आफू अग्लो देखिने प्रयास असामाजिक काम हो । प्रतिस्पर्धी खराब छ भने आफू असल देखिने हो, प्रतिस्पर्धीलाई खराब प्रमाणित गर्न खोज्ने प्रयास चुनावमा गर्न हुँदैन । प्रतिस्पर्धीलाई झन् खराब प्रमाणित गर्न खोजिन्छ भने त्यस्तो चुनाव ’को धेरै खराब’ भन्ने प्रतिस्पर्धामा परिणत हुन्छ । ’को असल’ भन्ने प्रतिस्पर्धा गर्ने हो भने त्यसले चुनाव र समाज दुवैको हित हुन्छ । समाजमा असल लोकतान्त्रिक मूल्यमान्यता स्थापित गर्न सघाउ पुग्छ ।
चुनावलाई को धेरै असल भन्ने प्रतिस्पर्धाको रूप दिन आवश्यक छ । यसो गरिएन भने हामी खराबहरूमध्येको कम खराब छनोट गर्नुपर्ने अवस्थामा पुग्छौँ । बास्तवमा चुनाव त असलहरूमध्ये धेरै असलको छनोट पो हो । असलमध्येबाट सबैभन्दा धेरै असल उमेदवार छनोटको प्रतिस्पर्धा विकास गर्न सकियो भने त्यसले लोकतन्त्रलाई सुदृढ गर्छ, देशलाई बलियो बनाउँछ, भ्रष्टाचार नियन्त्रण गर्छ । अर्थात्, देशलाई नयाँ युगमा लैजान मद्दत गर्छ ।
असल मतदाता बनौं
नेपालको सन्दर्भमा उमेदवारमात्र असल भएर पुग्दैन मतदाता पनि असल हुनु आवश्यक देखिन्छ । विगतका चुनावहरू हेर्यौं भने कतिपय सन्दर्भमा मतदाताले अति नै गलत उमेदवार जिताएको देखिन्छ ।
जनताले दिएको मतलाई स्वीकार गर्नैपर्छ तर बहुमत जनताले गलत व्यक्तिलाई मतदान गर्छन् भने राजनीतिक विकृति बढ्छ । मतदाताले सही उमेदवार छनौट गर्न नसक्नु मतदाताको मात्र कमजोरी होइन । हामीले समग्र निर्वाचन प्रणाली, समग्र राजनीतिक प्रणाली तथा मनोविज्ञान नै दूषित बनाउँदैलगेका छौँ । त्यसैले गलत उमेदवार पनि विजयी हुनसक्ने जोखिम छ ।
शालीन प्रतिस्पर्धा, शिष्ट र मर्यादित प्रचार शैली, भद्र प्रतिस्पर्धाको बातावरण बनाउन सकियो भने खराब उमेदवार टिक्न सक्दैनन् । खराब उमेदवारको प्रवृत्ति नकारात्मक हुन्छ । शालीन शैलीको चुनाव भएमा अनावश्यक धेरै रकम खर्च गर्न पनि उमेदवारले नसक्ने परिस्थिति सिर्जना हुनसक्छ ।
अहिले स्थानीय चुनावको चर्काचर्की छ । यस अवस्थामा शालीन र शिष्ट प्रचार शैली स्थापित गर्न सकेसम्म प्रयास गर्नु सबै राजनीतिक दल, उमेदवार र सर्वसाधारण नागरिकको कर्तव्य भएको छ । मतदाताले मत दिनु अगाडि नै आफू असल मतदाता भएको परिचय दिनु आवश्यक छ ।
Facebook-
https://www .facebook .com/manita .ghimire .1
Twitter - @Manita_ghimire