site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

कोहलपुर घटनाले पनि नेपाल प्रहरीको भिड नियन्त्रण गर्ने शैली प्रत्युत्पादक रहेको स्पष्ट भएको छ । भिडलाई दमन गरेर तह लगाउनुपर्छ भन्ने मानसिकता दोहोर्याउँदा आइतवार कोहलपुरमा  कफ्र्यु नै लगाइयो । विद्यालय नजिकै ट्रकले एक छात्रालाई किचेपछि आक्रोशित विद्यार्थीले ट्रकमा आगजनी गरे । त्यसलगत्तै प्रहरीले विद्यालय परिसरमा प्रवेश गरेर शिक्षक र विद्यार्थीलाई पक्य्रो । प्रहरी कारबाहीको स्थानीयले विरोध गरे । ज्यादतीको विरोध गर्ने स्थानीयहरूमाथि नै प्रहरी जाइलाग्यो । आक्रोशित स्थानीय र विद्यार्थीहरूले प्रहरी ज्यादतीको विरोधमा तोडफोड गर्न थाले । त्यसपछि प्रहरीले अन्धाधुन्ध गोली हान्यो र बीसौं जनालाई घाइते बनायो । तैपनि, विरोध प्रदर्शन साम्य नभएपछि कोहलपुरमा कफ्र्यु नै लगाउनु पर्यो ।

आफ्नो साथीलाई ट्रकले किचेको देखेका किशोरावस्थाका विद्यार्थीहरू आक्रोशित हुनु स्वाभाविकै हो । तिनले ट्रकलाई घेरेर आगो लगाउनुभन्दा पहिले नै प्रहरीले हस्तक्षेप गर्न सकेको भए त्यसको औचित्य देखिन्थ्यो पनि । तर, ट्रकमा आगो लागिसकेपछि प्रहरीले देखाएको सक्रियता सुझबुझपूर्ण भएन । ट्रकमा आगो लगाउनेलाई प्रहरीले पक्रन खोजेकै भए पनि आक्रोश साम्य नहुन्जेल पर्खेको भए थप क्षति हुने थिएन । अर्थात्, प्रहरीकै व्यवहारबाट कोहलपुरमा आइतवार भिडलाई उत्तेजित गराउने काम भयो । भिड देखेपछि कि तमासा हेर्ने कि चाहिनेभन्दा बढी बल प्रयोग गर्ने नेपाल प्रहरीको पुरानै बानी हो । कोहलपुरमा पनि प्रहरीले आक्रोशित भिडलाई दमन गरेर तह लगाउन खोज्दा स्थिति बिग्रन पुगेको न हो ।

दमनबाट समस्या समाधान हुन्छ भन्ने प्रहरी अधिकृतहरूको मानसिकताले गर्दा नै धेरैजसो कोहलपुर प्रकृतिका घटना हुने गरेको देखिएको छ । कोहलपुर घटनामा विद्यालयभित्र प्रवेश गरेर प्रहरीले विद्यार्थीलाई उत्तेजित बनाएकाले नै पछि भिड अनियन्त्रित हुन पुगेको हो । भिडको मानसिकता र अवस्था नबुझी प्रहरी दमनमा उत्रँदा धेरै अप्रिय घटना भइसकेका छन् । यसैले नेपाल प्रहरीले भिड नियन्त्रणका क्रममा बढी संयमित हुने शैली अपनाउनुपर्ने देखिन्छ । साथै, प्रहरीको सम्बन्ध स्थानीय समुदायसँग व्यक्तिगत आचरणमा पनि निर्भर हुन्छ । सामान्य अवस्थामा प्रहरी ज्यादती सहेका नागरिकहरू भिडमा मिसिनेबित्तिकै प्रहरीमाथि जाइलाग्न पुग्छन् । ‘खसी नदिए सिध्याइदिने’ धम्की दिने अधिकृतहरूको रिस भिडले पोख्न खोज्यो भने पनि प्रहरीले संयम अपनाउनुपर्छ । प्रहरीकै संयमहीन मूर्खताबाट भएको कोहलपुर गोलीकाण्डका घाइतेलाई राज्यले उपचार खर्च र क्षतिपूर्ति दिनुपर्छ भने अत्यन्त अमानवीय र अमर्यादितरूपमा जनतामाथि जाइलाग्ने प्रहरीहरूलाई कारबाही पनि गर्नुपर्छ । प्रहरीले अन्याय र अपराधीसँग मिलोमतो गर्दैन भन्ने विश्वास जनतामा नजागुन्जेल भिडले आफैँ इन्साफ गर्न खोज्छ भन्ने सम्बन्धित सबैले बुझ्नु जरुरी छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६  ११:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC