काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सुटिङको १० मिटर एयर पेस्तोलको दुवै इभेन्ट्समा भारतेले स्वर्ण पदक जितेको छ ।
आइतबार १० मिटर एयर पेस्तोल पुरुषमा भारतका श्रवन कुमारले स्वर्ण पदक जितेका हुन् । सातदोवाटोस्थित सुटिङ रेञ्जमा भएको प्रतिस्पर्धामा उनले २४१.५ अंकका साथ स्वर्ण पदक जित्दा पाकिस्तानका गुल्फान जोसेफले २३७.२ अंक जोड्दै रजत पदकमा चित्त बुझाए ।
भारतका रविन्दर सिंहले कास्य पदक हात पारे ।
यस्तै १० मिटर एयर पेस्तोल पुरुषको टिम इभेन्टमा पनि भारतले नै स्वर्ण पदक जितेको छ । भारतका सुमित रमन, रविन्दर सिंह, श्रवण कुमारको समूहले १७१३ अंकका साथ स्वर्ण पदक जितेको हो ।
योसँगै भारतले सुटिङको २० मध्ये १७ स्वर्ण पदक जितेको छ । दुई स्वर्ण पाकिस्तानले जितेको छ । आयोजक नेपाल भने अहिलेसम्म सुटिङमा पदकविहीन छ । सुटिङको एउटा स्वर्ण पदकका लागि भोली सोमबार प्रतिस्पर्धा हुने छ ।