site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भालइ
Sarbottam CementSarbottam Cement

अरुना छन्त्याल ‘मिमोसा’


‘तिमीले मलाई साँचो प्रेम गर्छौ भने ममा विश्वास गर, तिम्रो विश्वासको समर्पणको अनुभव मलाई देऊ माइली...म तिमीलाई अति नै प्रेम गर्छु, मबाट धोका होला भनेर किन शङ्का गर्छौ ? ...म तिमीलाई नै आफ्नो बनाएर छाड्छु...तिमीलाई आफ्नी बनाउन म आमा–बालाई भन्छु, ...आमा–बा नमाने पनि चिन्ता नलेऊ, म तिमीलाई भगाएर भए पनि लान्छु, मेरी प्यारी भालइ...।’


पक्कै यस्तै मीठा र चिप्ला प्रेमका कुरा गरी सिर्जे दाइले माइलीलाई फकाएका हुनुपर्छ अनि माइलीले पनि दाइमाथि निःसन्देह विश्वास गरेकी हुनुपर्छ भन्ने मैले सोचेँ । नत्र परम्परागत संस्कारमा हुर्केकी एक सोझी चेलीले अविवाहित छँदै एक युवकको प्रेममा डुबी आफ्नो शरीर सुम्पन राजी कसरी हुन्थी र ? मर्यादित समाजमा हुर्केपछि समाजको मर्यादालाई पुरुषले भन्दा नारीले नै बढ्ता ख्याल गर्नुपर्ने हो खास, तर जवानीको भेलमा चुर्लुम्म डुबेर आँखा नदेख्नेलाई के भन्ने अब ? ठेस लागिसकेपछि बल्ल दैलो देख्नेलाई के भन्नु अब ? एक मन त आफ्नै हेल्चेक्र्याइँले त्यसरी ठेस लागेकी युवतीलाई देख्दा ‘खुच्चिङ ! किन रोइस् मङ्गले, आफ्नै ढङ्गले’ भन्दै काखी पड्काउन मन लाग्छ । तर म अरुको आँसुमा रमाउने त्यस्ती नीच त होइन नि ! बस्, तिनको ठेस देखेर अब कसैका छोरीहरु त्यसरी नबिगु्रन् भनी कामना गर्छु । 

Prabhu Bank
Agni Group
NIC Asia


धौलागिरि हिमालको काखमा अवस्थित सुन्दर ‘घ्याँसिखर्क’ गाउँमा प्रकृतिसित लुकामारी खेल्दै हुर्केकी मदमस्त तरुनी माइली हिमाली सौन्दर्यले भरपूर एक सुन्दर युवती हुन्, नाम त उनको दिनमती हो तर तीन बहिनीमध्ये उनी माहिलीचाहिँ भएकीले सबैले उसलाई ‘माइली’ भनेर बोलाउँछन् ।


घर त उनको कुइनेखानी गाउँ हो, तर पोहोर दसैंताका उनी मेला लाग्न आफ्नी दिदीको घर ‘घ्याँसिखर्क’ गएकी थिइन् र त्यहीँ नै उनी र सिर्जे दाइ दुई सोल्टीसोल्टिनीको भेट भएको थियो ।

Global Ime bank


सिर्जनप्रसाद छन्त्याल अर्थात् ‘सिर्जे’ दाइ, काठमाडौंका मेरा ठूलोबा पर्ने टाढाका नातेदारका छोरा हुन् । हाम्रो पुख्र्यौली गाउँ ‘घ्याँसिखर्क’ भएकोले र बाजेबज्यै पनि जिउँदै भएकाले दसैं बिदामा उहाँहरु काठमाडौंबाट र म पोखराबाट सपरिवार गाउँ गएका थियौं ।


प्रकृतिको सौन्दर्यले शोभायमान धौलागिरि हिमालको काखमा अवस्थित ‘घ्याँसिखर्क’ गाउँमा म नजन्मेको भए पनि मलाई साह्रै प्रिय लाग्छ, सायद प्रकृतिप्रेमी भएकीले होला । मलाई फेवाताल किनारमा डुङ्गामा बसेर माछापुच्छ्रे हेर्दै कविता कोर्न जति मन पर्छ, उति नै गाउँको तारेभीरमा उत्तिसको मैदानमा बसी ऐँसेलु खाँदै, धौलागिरिलाई हेर्दै साहित्यका दुईचार शब्द कोर्न पनि मन पर्छ । खै, सायद अन्तर्मुखी भएकीले होला म मानिसहरुसितको संसर्ग उति मन पराउँदिनँ ।  


एकपल्ट साँझतिर गाउँका ठिटाठिटीहरु दोहोरी खेल्न कान्छी बज्यैको घरआँगनमा जम्मा भए । म पनि आफ्नो संस्कृति चियाउने हेतुले दिलुसित गएँ । त्यही भीडमा माइली र सिर्जे दाइलाई पनि देखेँ । माइली त कोकिलकण्ठी नै रहिछ, म पनि उनको आवाज सुनेर मन्त्रमुग्ध भएँ, कस्तो ठ्याम्मै लक्ष्मी न्यौपानेको जस्तो तीखो स्वर, उसले गाएको ‘फूलमा भमरा...’ ज्यादै मन प¥यो, तर त्यहाँ सबै ठिटाठिटीको जिस्किने चालाचाहिँ मलाई पटक्क मन परेन । म त साहित्यमा कोरिएका आदर्शको रुप खोजिरहेथेँ, तर यहाँ पनि विकृति मौलाएको देखेर नमज्जा लाग्यो । तर आजको यो उत्तरआधुनिकतामा मेरो पुस्ता अछुत भएर बस्न त पक्कै सक्दैन भन्ने सत्यलाई मैले स्वीकारेँ । तैपनि किन हो किन मलाई बैंसालु बात मन पर्दैन । 


गीत गाउँदै गर्दा ठिटाठिटी खुब हाँस्दै जिस्किँदै थिए । ठिटाले जिस्किँदै ठिटीको हात समाउँथ्यो अनि ठिटी पनि मन नपरेझैं तर रमाइलो मान्दै हात झट्कार्थी । दिलु पनि आफ्ना सोल्टीसित जिस्किँदै थिई, म उसको अलि पर बसेर बालब्रह्मचारी साधुनीझैं बैंसालु क्रियाकलाप टुलुटुलु हेर्दै थिएँ । ‘कति जिस्केका होलान्, मोरामोरीहरु !’ मेरो मन बोल्यो, मलाई त झट्ट उठेर जाऊँ भयो, तर एकछिन दोहोरी गेडीको जवाफ कस्तो आउने रहेछ भनी प्रतीक्षारत बसिरहेँ, सुनिरहेँ ।


त्यस हुलमा सबै छुचुन्द्रा, तर ममात्र मूर्तिवत् थिएँ । मैले कसैलाई राम्ररी चिनेकी पनि थिइनँ, त्यसैले कोहीसित बोल्न वा हाँस्न पनि मलाई मनासिब लागेन । बरु तत्क्षण म सानामा गाउँ आउँदा यस्तै एकपल्ट दोहोरी सुनेको क्षण झल्झली सम्झेँ । त्यसबेला पनि ठिटाठिटीलाई औधी जिस्केको देख्थेँ, मेरो बालसुलभ मनले ‘किन यसरी जिस्कन्छन् होला ?’ भनेर प्रश्न गथ्र्यो अनि जिज्ञासु स्वभावका कारण मैले आमालाई सोधिहालेँ– ‘आमा, किन दोहोरी खेल्दा ठिटाठिटीहरु हात फाल्दै जिस्किन्छन् ?’ अनि आमाले ‘भोलिपर्सि तरुनी भइस् भने आफैं थाहा पाउँछस्’ भन्नुभएको थियो । अहिले बुझेँ, तर म आफैं त्यही ड्याङको मुलाचाहिँ भइनँ, किनकिन ! 


फेरि त्यत्तिखेरै आमाले सुनाउनुभएको एउटा सत्य–चुट्किला याद आयो । मेरी आमा त्यस्तै १०–११ वर्षकी हुनुहुन्थ्यो रे, तर अलि सिल्ली हुनुहुन्थ्यो रे । मङ्गले गाउँबाट केही ठिटाहरु तरुनी काहिँली बज्यैहरुसँग दोहोरी खेल्न आएछन्, बज्यैहरु ती ठिटाहरुदेखि लुक्न कान्छी बज्यैको घर गएछन् । लुक्नेबेलामा काहिँली बज्यैले मेरी आामालाई देखेर ‘ए साँइली ! हामीहरु कान्छी बज्यैकोमा लुक्न गाछम्, ऐले त्यो मङ्गलेको केटाहरु आएर तँलाई सोध्यो भने ‘खै मलाई थाहा छैन’ भन् है’ भन्नुभएछ अनि आमाले पनि आज्ञाकारी बालिकाझैं ‘ल’ भन्दै टाउको हल्लाउनुभएछ । 


एकछिनपछि मङ्गले गाउँका केटाहरु आएछन् अनि तिनीहरुले आामालाई सोधेछन्
‘स्यानू ! तिम्रो काहिँली आमाहरु कहाँ गयो ?’

अनि आामाले पनि अनभिज्ञताको स्वाङ पार्दै भन्नुभएछ– ‘खै, थाहा छैन मलाई त... हाम्रो कान्छी बज्यैको घरमा लुकेछैन केरे ।’


हाहाहा ! हामी दुई आमाछोरी बेस्सरी हाँस्यौं अनि हाँस्दै मैले फेरि सोधेँ– ‘अनि के भयो नि ?’ आमाले भन्नुभयो– ‘मेरो कुरो सुनेर केटाहरुले चाल पाइहाल्यो नि अनि पछि काहिँली आमाले बेस्सरी गाली गरिन्– ‘ओई साहिँली, मैले तँलाई ठिटाहरुले सोध्यो भने ‘थाहा छैन’ भन् भनेको हैन, झन् किन हामी लुकेको कुरा भनिस् ?’ अनि मैले रुँदै भनेँ– ‘मैले भनिनँ पो... मैले ‘थाहा छैन, कान्छी बज्यैकोमा लुकेछैन’ त भनेको नि’ भनेँ । अनि काहिँली आमाले मेरो टाउकोमा प्याट्ट हिर्काउनुभयो, ‘तेरो टाउको ! ‘लुकेछैन’ भनेपछि थाहा पाइहाल्छ नि ।’ अनि मैले टाउको सुम्सुम्याउँदै मनमनै ‘आइँ हो र ?’ भनेँ ।   

यो कुरो सम्झेर म हाँस्न पुगेछु । आफ्नो हाँसेको ओँठ छोप्दै यताउति हेरेँ, तर अरुहरु दोहोरी गीतको लयमै रमाइरहेकाले मेरो हाँसो कसैले चाल पाएन । सोचेँ, मेरी आमाले त्यतिबेला हँसिलारसिला कुरा नगर्नुभएको भए सायद समाजका कथा टपक्क टिपेर शब्दमा उतार्ने कथाकार बन्न सक्दिनथिएँ होला । मलाई त्यतिविधि समाजको बारेमा थाहा छैन, तर आमालाई थाहा थियो किनकि म त ‘पिँजडाको सुगा’, मलाई के थाहा बाहिरी संसार कस्तो छ ? मैले आमाकै मुखबाट संसार बुझेँ र त्यसैबाट आफ्नो कलममा मसी भरेँ । एक मन कुँडिन्छ, आमाको अनुपस्थितिमा, किनकि संसार चिन्ने कसी अब मेरो समीप छैन । तत्क्षण आमालाई सम्झी अनायास मेरा आँखा ओसिला भएछन्, तर झट्ट वरिपरि नियाल्दै आफूलाई सम्हालेँ । 


‘फूलमा भमरा’ सकिएर अर्को गेडी गाउँदै थिए, मलाई अचानक ‘यानीमाया’ को याद आयो । यो हाम्रो समुदायको मौलिक गीत, अलि रुञ्चे शैलीको भएकोले होला नयाँ पुस्ताले यसलाई अँगाल्न छोडिसक्यो । तै मायापिरतीको बिछोडको विलापमा भन्दा मातृशोकको विलापमा मैले मनमनै एक हरफ ‘यानीमाया’ गाएँ । लगत्तै, मलाई खाम भाषामै दोहोरी फुर्यो । 


प्रायः हाम्रो समुदायमा बोलीचालीमा मातृभाषा ‘खाम’ बोलिने भए पनि दोहोरीमा चाहिँ ‘खस’ नेपालीमै गाउँछन् । त्यसैले मलाईचाहिँ खाममै गाउनु राम्रो भन्ने विचार आयो । खाममा चाहिँ गेयात्मक शब्द र अनुप्रासको जटिलता भएकोले त्यसमा नगाएको हुन सक्छ भन्ने अनुमान लगाएँ । ‘के साँच्चै खाममा दोहोरी हुन सक्दैन त ?’ भनेर मनमा आफैंलाई प्रश्न गरेँ अनि आफैंले ‘किन हुन्न ?’ भनी जवाफ दिएँ र खामगीत सृजनामा दिमाग घुमाउन थालेँ । त्यहीँ गाइएको गेडीलाई उल्था गरी परिष्कार गर्दागर्दा एक हरफ ठ्याक्क बन्यो–


‘राकोट क्हिउँरी
पिरै पिरये भारी मु, नये जिउरी’
(राकोट खोलैमा,
पिरैपिरको भारी छ, मेरो जिउमा)


त्यो जमातमा ठिटाठिटीहरुको हाँसोठट्टामा होस्टेमा हैंसे गर्दै म हाँसिनँ, तर स्वैरकल्पनामा आफ्नै मौलिक भाषामा गीतको हरफ फुर्दाचाहिँ ओठ कानकानसम्म फैलिने गरी फेरि मुस्काएँ अनि अर्को सिङ्गो हरफ बनाउन दिमाग घुमाउन थालेँ । लगत्तै, माथिको गेडीसित मिल्ने अर्को हरफ फुर्यो–


हे... थाह्यारो कान्छा,
पिर्सिर नारा, मरेये देशरी,
पोलो र प्हकन चासिर हिन्लाई,
येम सुमये क्हेलारी ।
राकोट क्हिउँरी, 
पिरै पिरये भारी मु नये जिउरी ्र्र
(हे... नजाऊ कान्छा,
छाडेर मलाई, अरुको देशमा,
सिस्नु र ढिँडो खाएर भएनि,
पुग्छ आफ्नै ठाउँमा 
राकोट खोलैमा...)    


म त आफ्नै कल्पनामा उडिरहेकी थिएँ क्यारे, एउटा ठिटो पो बामे सर्दै मेरो छेउमा आएर बोल्न थाल्यो, तत्क्षण अप्रत्याशित मेरो कल्पनाको दियो झ्याप्प निभ्यो ।

‘ए साली त बल्ल हाँस्यो पो, क्या’न हो साली चुपचाप ? गीत गाऊ न साली ।’     

ती अघि दिलुसँग जिस्किने युवक थिए । मुहार तिनको राम्रै थियो, तर धेरै जिस्किने चाला मलाई राम्रो नलाग्नाले तिनको चिल्लो कुरा मन परेन, तैपनि मीठै बोलेँ–

‘...मलाई त गाउन आउन्न नि भेना ।’
‘आउन्न भनेर चुप बस्ने हो त ? गेडी नआए पनि यसो सङ्गीसित मिलेर छोप न साली ।’


तिनले सम्झाएझैं त गरे, तर आँखा झिमझिम अनि जिऊ चञ्चल देखेँ, यस्तो मान्छेसित सोझो कुरा गर्दा पनि बङ्गाएर ठट्टामा परिणत गरिदिन्छन् भन्ने मलाई राम्रो हेक्का थियो । त्यसैले म त नसुनेझैं गरी मुख अर्को्तिर फर्काएँ, तर तिनी फेरि कराए–


‘ए साली ! तिम्ले त कथा–कविता लेख्छौ रे, दोहोरी पनि लेख न ।’ 

मलाई बोल्न मन थिएन, तर उम्किने मनसायले छोटो उत्तर दिएँ– ‘अँ, लेख्छु ।’


अनि म त त्यतिखेरै उठेर आएँ । आधा घण्टापछि दिलु पनि आई । अचेल त सबै विदेशिएकाले गाउँ त प्रायः युवाविहीन नै हुने गर्छ, तर दसैंतिर परदेश हिँडेका पनि बिदामा गाउँ फर्किने भएकोले गाउँकी तरुनीहरुले जिस्किने मान्छे र मौका पाउने रहेछन् । त्यसैले दिलु भन्थी– ‘आ ! वर्षदिनमा एकपल्ट भेट हुने भालइ, मामा भेनासँग अहिले नजिस्किए कहिले जिस्किने त नि ?’ मलाई आफ्नो समाजको शैली राम्रै थाहा छ, त्यसैले दिलुका कुरा मलाई ठीकै लागे, अनि स्वीकृति स्वरुप ‘हो है’ भनी टाउको हल्लाएँ । तर यसमा मेरो सहर्ष सहभागिता भने थिएन ।


अँ त, म परिवारसँगै दसैं बिदा सकिएपछि पोखरा फर्किएँ । त्यसपछि म फेरि आफ्नो पढाइमा व्यस्त भएँ । लगत्तै तीन महिनापछि समाजको हल्लीखल्ली गाइँगुइँ मेरा कानमा पनि प¥यो । कुरा बुझ्दा म अचम्मित भएँ । ती सिर्जे दाइले माइलीलाई गर्भ बोकाएका रहेछन्, तर अहिले आएर गर्भको शिशुलाई स्वीकार्न मानेनछन् अनि त माइलीका आमाबा उनलाई लिएर न्यायको आशमा काठमाडौं गएछन् । त्यहाँ धेरै दिनसम्म कचहरी चलेछ ।


सिर्जे दाइले पहिले त टसको मस भई इन्कार गरे रे, तर पछि बहसको आवेशमा गाँठी कुरो आफैंले ओकलेछन्–

‘होइन, यो माइली मसित मात्र होइन अरुसित पनि सुत्छे, यो बच्चा मेरो नहुन पनि सक्छ के ।’

तत्क्षण माइलीले सबैसामु सिर्जेको गालामा झ्याम्म ठटाइदिइन् ।


‘धोकेबाज ! तैंले मलाई झुटो मायामा फसाउनसम्म फसाइस्, अहिले आफ्नो जिम्मेवारीबाट भाग्छस् ! तैंले मलाई कहिले अरुसित सुतेको देखिस् ? लौ भन् ? यो बच्चा तेरो नभए प्रमाण देखा । तैंले ममाथि यत्रो अत्याचार गर्लास् भन्ने मैले सपनामा पनि सोचेको थिएन बुझिस् ? मैले त तेरो कुरामा विश्वास गरेर तँ फर्की आउलास् भनेर पर्खी बसेथेँ बुझिस् । तैंले यो बच्चालाई सबैको अगाडि स्वीकारिनस् भने सुन् म पनि चुप लागेर अन्याय सहने केटी होइन के जा । म पनि कानुनको सहारा लिन सक्छु के, अनि देख्लास् तेरो बाउको ब्या...।’


बर्बर आँसु झार्दै माइलीले पनि साहससित हाँक दिइन् । अविवाहित अवस्थामै दोजिया भएपछि गाउँलेका तीखा वचनको धेरै सामना गरिन् उनले । त्यसले उनलाई कठोर बनायो र नै त उनी अन्यायविरुद्ध कटिबद्ध हुन सकिन् ।


गाउँमा उनी अचानक साह्रै बिरामी परिन्, गर्भिणी बिरामी भन्ने उसलाई थाहा भएन । आमाबाले आत्तिएर उनलाई सदरमुकाम अस्पतालमा ल्याए, तर सम्पूर्ण जाँचपछि डाक्टरले छोरी गर्भवती भएको कुरा बताएपछि ती दुःखी आमाबाको 
सम्पूर्ण धरातल नै भासियो । उनी त दुई दिनदेखि बेहोस थिइन्, त्यसैले झट्टै उनले थाहा पाइनन् । पछि उनको होस आयो, त्यसबखत आमाले उनलाई झक्झकाउँदै गालामा बजाउँदै सबै कुरा बताइन् अनि त्यो पुरुष ‘को हो ?’ भनी सोधिन् । उनले रुँदै बताइन्, त्यो पुरुष त उनको नजिकैका सोल्टी सिर्जे दाइ थिए । पछि सिर्जे दाइलाई फोनमा बल्लतल्ल सम्पर्क भएछ । माइलीको कुरा सुनेपछि सिर्जेले उनलाई सहर्ष स्वीकार्नु त कहाँ हो कहाँ, झन् नराम्रो वचन लगाएछ, ‘के रे ? के भन्छे यो मोरी, दबाई खानुपर्थेन ? सुद्धि न’भाकी बेत्ताल्नी... खुरुक्क लाएर एबोर्सन गर् म तँलाई पैसा पठाम्ला ।’ 


यस्तै केके फलाकेपछि माइलीलाई रिस उठ्यो, फोनमै दुवै धेरैबेर बाझे । अन्त्यमा त्यस गर्भलाई बचाउने उनलाई पनि कुनै रहर भएन, त्यसैले रिसमै गर्भपतनको खर्च पठाइदिन भनिन् ।


तर विडम्बना, गर्भपतन हुन सकेन । किनकि यसबाट उनकै जीवन जोखिममा पर्न सक्थ्यो । डाक्टरले नै ‘नाइँ’ भनेपछि पुनः सिर्जे दाइकै दैलो टेक्नुको विकल्प रहेन । गाउँमा जतासुकै कुरा फिँजिसकेको थियो, यस अवस्थामा कुन मुख लाएर गाउँ फर्किनू ? बरु छोरीलाई जसरी भए पनि त्यही केटाको हातमा सुम्पिदिने अठोट माइलीका आमाबाले गरे, त्यसैले ती तीनैजना काठमाडौं गए ।


माइलीले कानुनको सहारा लिने भनेपछि बल्ल सिर्जे दाइको सातो गयो अनि उसले केही नरम स्वरमा भन्यो–
‘...ठीक छ, यदि यो बच्चा फागुनमा जन्म्यो भने मेरो रहेछ भनी स्वीकारम्ला, नत्र म स्वीकार्ने छैन ।’


बस्, हाम्रो समुदायको यो कचहरीले सिर्जे दाइको यही भनाइलाई अन्तिम रूप दियो अनि बच्चा नजन्मिउञ्जेल सिर्जे दाइको परिवारले माइलीलाई पाल्नुपर्ने भयो । तर विडम्बना भनौं न, छट्टु सिर्जे दाइले यस्तै परे पनि माइलीलाई बेहोर्न नपर्ने कदम चालिसकेका थिए । मतलब, माइली बेनीबाट सपरिवार आउनुअघि नै उनले बुटवलकी अर्कै एउटी राम्री ठिटीलाई भगाएर ल्याइसकेका थिए । अनि त्यतिञ्जेलसम्म ती नववधु घरमा भित्रिसकेकी पनि थिइन् । त्यसैले माइलीको बच्चा बेहोर्न परे पनि उनकै घरमा राख्ने सम्भावनाचाहिँ रहेन । स्वयम् माइलीले पनि त्यहीँचाहिँ कुनै पनि हालतमा नबस्ने निर्णय सुनाइन् । फलस्वरूप, उनलाई पोखरामा सिर्जे दाइको काकाको घरमा सारियो ।


पछि फागुन महिनाको मध्यतिर उनले बच्चा जन्माएको खबर सुनियो र यसैबाट बच्चा सिर्जे दाइकै रहेछ भन्ने पुष्टि भयो । मलाई सिर्जे दाइको बानी त पहिल्यै थाहा थियो । धनी बाउको बिग्रेको छोरो, गल्लीगल्लीमा केटीलाई मोटरसाइकलमा राखेर घुमाउने उनको ठूलो सोख थियो । तिनी जस्तै भए पनि मेरो टाउको दुखाइको विषय थिएन, किनकि न मलाई त्यस्ताको सङ्गत नै मन पर्छ, न आचरण नै । वास्तवमा त्यस्ताको चङ्गुलमा पनि तिनै उत्ताउला केटीहरु नै फस्छन् भन्ने मलाई थाहा थियो । त्यसैले तिनीहरुको आचरणमा आपत्ति जनाउने कुरा आएन, तर धौलागिरि हिमालको काखमा फुलेकी फूललाई समेत उनले बिब्ल्याँटो पार्दाचाहिँ मलाई रिस उठ्यो । हुन त यसमा दुवैको गल्ती छ, तर समाजले ज्यादा माइलीकै गल्ती देख्यो अनि सिर्जे दाइचाहिँ मज्जाले निष्कलङ्क जीवन जिउँदै छन् । हैट ! यो हाम्रो पितृसतात्मक समाज ! यहाँ नारी उत्पीडनका कयौं कथा छन् जो न लेखिएर सकिन्छ, न पोखिएर सकिन्छ ! बस्, शब्दमा पीडा र चित्कारका आवाज बुलन्द पारेर सबलाई घच्घचाउनुको विकल्प छैन यहाँ ।


‘त्यसले समात्न खोज्दा किन इन्कार गरिनौ त लाटी ?’ भनी मैले सोध्दा माइलीले नारीत्वको आफ्नो सोझोपन बताइन् ।

‘त्यसले मलाई ब्या गर्छु, मलाई लान्छु भन्यो नि कान्छी, त्यसको जाली मायामा मैले आँखा देखिनँ...हुँहुँ...।’

भेटमा यसो भनी उनी धेरैबेर मेरो काखमा घोप्टिएर रोइन् । मैले उनलाई ‘जे हुनु थियो भइसक्यो, अब नरोऊ’ भन्दै सम्झाएँ । उनले मलाई गाउँमा भकिम्लो, हलहले, अमल्छी, चुत्रो र जन्मन्तरोको स्वाद चखाएको क्षण झल्झली सम्झेँ अनि उनको पीडामा मेरा पनि आँखा रसाए ।


त्यसैबखत झल्झली मलाई ११ कक्षामा पढेको लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यास याद आयो । उपन्यासको पात्र ‘रिकुटे’ र ‘झुमा’ क्रमशः ‘सिर्जे’ र ‘माइली’को चरित्रसित मेल खायो । 


मलाई थाहा छ, हाम्रा नेपाली साहित्यका सामाजिक उपन्यासले समाजका विकृतिलाई कथावस्तुमा उनेर सही सन्देश दिन्छ वा सिकाउँछ  । त्यसलाई पाठ्यक्रममा पढ्ने किशोरकिशोरीको घैंटामा घाम पक्कै पनि लाग्छ, त्यसैले सिर्जे दाइले पनि त्यो उपन्यास पढेको भए मति खुल्थ्यो कि भन्ने सोचेँ । तर वास्तवमा त्यसो हुँदैन, किताबदेखि १० हात पर भाग्ने मान्छेले उपन्यास के पढोस् । पढ्न त उनले पनि कलेजमा पढे होलान्, तर सब बिर्सिए वा ‘रिकुटे’कै पक्षमा उभिए !


जेहोस् माइलीजस्ताहरुले बेलैमा होस नपु¥याए यो क्रम घरिघरि नदोहोरिएला भन्न सकिन्नँ । रिकुटेकै खोल ओढेर कति पिशाचहरुले गाउँकी सोझी चेलीलाई विदेशी कोठीमा बेचेका छन् । धन्न, हाम्रै धौलागिरिका चेलीचाहिँ यसरी छलिएका छैनन् र भविष्यमा छलिँदा पनि नछलिउन् भन्ने कामना गरेँ ।


निःसन्देह, जमाना उत्तरआधुनिकतातर्फ उन्मुख छ, तर हाम्रो समाज जसले अविवाहितलाई यौन स्वतन्त्रता दिँदैन, यो समाजलाई म ‘पुरातनपन्थी’ वा ‘रुढीग्रस्त’ को सङ्ज्ञा दिन्न, किनकि त्यसो गर्नु भनेको त पश्चिमा छाडा संस्कारलाई सङ्घारैमा स्वागत गरेसरह भइगयो नि, बरु यो त हाम्रो सभ्य संस्कारको मूल सद्गुण हो भन्छु । यो समाजले सामाजिक मर्यादा उल्लङ्घन गर्नेलाई तिरष्कार गर्छ र त्यो व्यक्ति आँसुको आहालमा डुब्छ । तर उसको त्यही आँसुले त अरुलाई सभ्यताको पाठ सिकाउँछ । यो सन्दर्भमा हेर्ने हो भने पुरुषभन्दा नारी नै पीडित हुन्छे, किनकि समाज पितृसत्तात्मक छ । तर यसमा नारीवादको नारा घन्काएर नारीलाई पीडा दिन पाइन्न भनेर म भन्दिनँ, किनकि जसले जे रोप्छ, त्यसले त्यसकै कटनी गर्नुपर्छ । यस मानेमा म त भन्छु, नारी नै होशियार रहनुपर्छ, त्यसपछि पुरुष आफैं तह लाग्छ ।


हो, यदि माइली सोझी भए पनि होशियार रहेकी भए सिर्जे दाइजस्ता पुरुषले उनको सोझोपनको फाइदा उठाउन पाउने थिएनन् । यसमा माइलीको अबोधपनदेखि चुक्चुकाउनुबाहेक केही गर्न सकिन्न । जे होस्, जे हुनु थियो, त्यो भइसक्यो । अब माइलीको जीवनमा ‘बसाइँ’ उपन्यासको ‘मोटे कार्की’जस्तै फेरि अर्को कुनै सत्पुरुष आउन सकोस् भन्ने कामना गर्दै मैले आफ्ना विचारका ज्वारभाटालाई सामसुम पारेँ ।

(भालइः छन्त्याल खाम भाषामा ‘सोल्टिनी’)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६  १०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC