नरेश फुयाँल
नेपालमा बन्ने चलचित्रको सङ्ख्या कम छैन । यो उद्योगले आधा शताब्दीभन्दा लामो इतिहास बनाइसकेको छ । तर पनि अपेक्षित विकास र विस्तार भने हुन सकेको देखिँदैन । चलचित्रको सङ्ख्या अधिक भएपछि कलाकारको सङ्ख्या पनि ठूलो हुने नै भयो । हरेक वर्ष सयौंको सङ्ख्यामा कलाकार भित्रन्छन् । तर तीमध्ये कमैले मात्रै सफलता पाएका छन् ।
त्यस्तो कलाकारले मात्रै दर्शकको मनमा सदाका लागि ठाउँ बनाउँछ, जसले निर्वाह गरेको ‘चरित्र’ (क्यारेक्टर) हिट हुन्छ । व्यक्तिभन्दा क्यारेक्टर हिट भएका कलाकार नै सर्वप्रिय र सर्वकालिक हुन्छन् । नेपाली चलचित्रको करिब ६ दशक लामो इतिहासमा यस्तो सौभाग्य कमैलाई जुरेको छ । त्यसमा पनि तुलनात्मक रुपमा सेतो पर्दाभन्दा काँचको पर्दाका क्यारेक्टर लोकप्रिय हुन पुगेका छन् । केही क्यारेक्टर चलचित्रका पनि छन्, जो सर्वकालिक भए ।
गोपालराज मैनाली रजतपटबाट चरित्रको नामबाट चिनिने भाग्यशाली थोरै कलाकारमध्येका एक हुन् । हीरा सिंह निर्देशित ‘हिजो आज भोलि’बाट उनले २०२४ सालमा चलचित्रमा ‘डेब्यु’ गरे । यो चलचित्रबाट खासै उपलब्धि हासिल गर्न नसकेका मैनालीले २०३३ मा चलचित्र ‘सिन्दुर’मा अभिनय गरे । यसमा उनले पाएको चरित्रको नाम थियो ‘चङ्खे’ । यो चरित्र यति धेरै हिट भयो, त्यसयता उनले अभिनय गरेका पाँच दर्जन चलचित्रमा उनले विभिन्न चरित्र पाए, चरित्रमा नाम पनि हुने नै भयो, तर ‘चङ्खे’लाई उछिन्न कुनैले पनि सकेनन् । उनलाई अधिकांश दर्शकले यही चरित्रबाट चिने । मैनालीको ०६४ सालमा निधन भइसकेको छ ।
करिब ३० वर्षअगाडि निर्देशक तुलसी घिमिरेले निर्देशन गरे, ‘चिनो’ । उक्त चलचित्रमा मुख्य पात्र थिए– भुवन केसी, शिव श्रेष्ठ र शर्मिला मल्ल । तीनैजना उक्त समयका उम्दा कलाकार थिए । ती कलाकारहरुको बीचमा थिए– सुनील थापा । खलपात्रको भूमिकामा रहेका सुनील त्यसमा ‘राते काइँला’को चरित्रमा उभिएका थिए । उनको चरित्रले तीनजनै मुख्य कलाकारलाई पछि पारिदियो । ‘राते काइँला’ चरित्र यति हिट भयो, अहिले पनि उनलाई सबैले ‘राते काइँला’का नामले चिन्छन् ।
त्यसयता सयौं चलचित्रमा सुनीलले काम गरे । तर उनका कुनै पनि चरित्र ‘राते काइँला’ जति लोकप्रिय हुन सकेनन् । गत वर्ष उनले चलचित्र ‘शेरबहादुर’मा काम गरे । उक्त चलचित्रको घोषणा समारोहमा सुनीलले यो चलचित्रबाट आफूले ‘चिनो’मा पाएको नाम ‘राते काइँला’लाई ‘शेरे’ले प्रतिस्थापन गर्ने दाबी पनि गरे । तर उनको दाबी असफल भयो । हिन्दी र भारतका अन्य क्षेत्रीय भाषाका चलचित्रमा समेत काम गरिसकेका सुनीललाई ‘राते काइँला’ चरित्रजत्तिको अरु फापेन ।
रजतपटमा ‘थेगो’बाट चिनिने अर्का कलाकार हुन्– बुद्धि तामाङ । रङ्गमञ्च हुँदै सेतो पर्दाको बाटो समाएका उनी ‘हैट’ भन्ने थेगोबाट चर्चित छन् । उनलाई अहिले नामभन्दा पनि ‘हैट’ भनेर धेरैले चिन्छन् । चलचित्र ‘कबड्डी’मा उनको थेगो ‘हैट’ थियो । रामबाबु गुरुङले निर्देशन गरेको ‘कबड्डी’मा प्रयोग गरिएको उक्त थेगो यसका अन्य सिरिजमा पनि प्रयोग गरियो ।
त्यही थेगो ‘हैट’ उनीसँगै टेलीसिरयल ‘मेरीबास्सै’ र चलचित्र ‘छक्का पञ्जा’मा पनि गयो । त्यतिमात्रै होइन, अहिले उनी जुन चलचित्रमा अभिनय गर्दा पनि ‘हैट’ भन्छन् । उनी स्वयम् भने यसलाई ‘थेगो’ भन्दा पनि ‘चरित्र’ लोकप्रिय भएको दाबी गर्छन् ।
चलचित्रबाट अत्यधिक लोकप्रिय भएका चरित्र तथा थेगो यिनै हुन् । बाँकी चरित्र तथा थेगोबाट जो–जति लोकप्रिय भएका छन् ती अधिकांश काँचको पर्दा अथवा टेलिचलचित्रबाटै हुन पुगेका छन् ।
शिवहरि पौडेल, किरण केसी, सीताराम कट्टेल, कुञ्जना घिमिरे, सुरेन्द्र केसी, केदार घिमिरे, विल्सनविक्रम राई, जितु नेपाल, निर्मल शर्मालगायत पनि नामभन्दा चरित्रबाट परिचित छन् । उनीहरुको चरित्र पनि सानो पर्दाबाटै जन्मिन पुग्यो ।
निर्मल शर्मालाई ‘गैंडा’ चरित्रले हिट बनाएको छ । उनलाई निर्मल शर्माभन्दा पनि गैंडा नामबाट धेरैले चिन्छन् । उनलाई यो पहिचान हास्य टेलीचलचित्र ‘तीतो सत्य’ले दिएको हो ।
हास्य टेलिचलचित्र जिरे खुर्सानीले पनि थुप्रै चरित्र जन्मायो । त्यसमा ‘मुन्द्रे’ पनि एक हो । ‘मुन्द्रे’ जितु नेपालको पर्यायवाचीजस्तै बनेको छ ।
सुरेन्द्र केसीलाई सुरेन्द्र भन्दा पनि ‘मुलाका साग’ भनेर धेरैले चिन्छन् । यो चर्चित चरित्र जन्माएको हो– ‘मेरी बास्सै’ले । सुरेन्द्रलाई ‘मेरी बास्सै’मा अवसर दिएका थिए, दमन रुपाखेतीले ।
सीताराम कट्टेललाई उनको यो नामले भन्दा पनि निर्वाह गरेको चरित्रले धेरैले चिन्छन् । उनी ‘धुर्मुस’मा रुपान्तरण भइसकेका छन् । ‘मेरी बास्सै’ले उनलाई यो नाम दिएको थियो । उनीसँगै सोही हास्य टेलिशृङ्खलामा काम गरेकी कुञ्जना घिमिरेको ख्याति पनि कम छैन । उक्त टेलिचलचित्रमा कुञ्जना सीतारामको अपोजिटमा थिइन् । ‘धुर्मुसे’को अपोजिटमा चरित्र निर्वाह गरेकी ‘सुन्तली’ले पनि सोही टेलीचलचित्रबाटै आफ्नो नाम चरित्रका बलमा बदलिन् ।
‘मेरी बास्सै’ले अर्को पनि एउटा लोकप्रिय चलचित्र जन्मायो, ‘माग्ने बूढा’ । ‘माग्ने बूढा’को नाम हो केदार घिमिरे । तर उनलाई केदारभन्दा पनि ‘माग्ने बूढा’ भनेर धेरैले चिन्छन् । ‘माग्ने बूढा’ र ‘धुर्मुस’, ‘सुन्तली’सँगै लोकप्रिय भएका चरित्र हुन् ।
‘मेरी बास्सै’ले नै हो चरित्र ‘तक्मे बूढा’ पनि जन्माएको । ‘तक्मे बूढा’लाई चिन्ने धेरैले विल्सनविक्रम राईलाई खास नामले चिन्दैनन् । विल्सनविक्रमको हिट भएको चरित्र हो, ‘तक्मे बूढा’ । उनलाई ‘मेरी बास्सै’मा अवसर दिएका थिए उनै ‘माग्ने बूढा’ अर्थात् केदार घिमिरेले ।
‘मुखमा हान्नुजस्तो’ र ‘राता मकै’ पनि काँचको पर्दाका लोकप्रिय चरित्र हुन् । ‘जिरे खुर्सानी’ले जन्माएका यी पात्र क्रमशः शिवहरि पौडेल र किरण केसी हुन् ।
थुप्रै टेलीचलचित्र र चलचित्रमा काम गरे पनि शिवहरि र किरण केसीलाई यो अजम्बरी चारित्रिक नाम सानो पर्दाले दियो ।
हरिवंश आचार्य तथा मदनकृष्ण श्रेष्ठले थुप्रै टेलिचलचित्रमा काम गरे । उनीहरुले अभिनय गरेका धेरै चरित्र जीवन्त छन् । तर पछिल्लो समय उनीहरुले निर्माण गरेको ‘हरिबहादुर मदनबहादुर’ टेलिशृङ्खलाको हरिवंश आचार्य ‘हरिबहादुर’ र मदनकृष्ण श्रेष्ठ ‘मदनबहादुर’को चरित्र लोकप्रिय छ ।
समकालीन समयको विषय, परिस्थिति, समाज, सन्दर्भ र व्यक्तिअनुसार थेगो र चरित्र जन्मिने गरेको कलाकारहरु बताउँछन् । समय र परिस्थितिअनुरुप थेगो र चरित्रहरु निर्माण गर्न सके त्यसलाई आमदर्शकले मन पराउने कलाकार तथा निर्देशक शिवहरि पौडेल बताउँछन् । “एउटामात्रै टेलिभिजनमा एउटा मात्रै टेलिचलित्र आउँदा त्यसमा एउटै थेगो निरन्तर लामो समयसम्म प्रयोग गर्दा ती थेगो लोकप्रिय भए,” शिवहरि भन्छन्, “अहिले १० वटा टेलिभिजनमा एउटै कलाकारले १० वटा डाइलग बोल्दै हिँडेकाले पनि थेगा तथा चरित्र लोकप्रिय हुन सकेनन् ।”
एउटैमात्रै टेलिभिजन हुनु र त्यसमा सान्दर्भिक थेगो प्रयोग भएकाले पनि त्यसलाई दर्शकले मन पराएको उनको भनाइ छ । पछिल्लो समय छाडा थेगो धेरै प्रयोग हुने गरेकोमा शिवहरिलाई चिन्ता छ ।
थेगो लोकप्रिय हुनुमा व्यक्तिको जिउडाल र हाउभाउले ठूलो भूमिका खेल्ने उनको भनाइ छ । भन्छन्, “अर्धबैंसे उमेर, काँठबाट आएजस्तो देखिने भएकाले किरण केसीले बोल्दा राता मकै भन्ने थेगो सुहायो र रुचाइयो । त्यही थेगो सहरियाजस्तो देखिने कुनै युवकले प्रयोग गरेको भए लोकप्रिय नहुन पनि सक्थ्यो ।” थेगो प्रयोग गर्दा समाजभित्रैबाट लिनु पर्ने शिवहरिको भनाइ छ । थेगो सबैभन्दा धेरै जन्माउने ‘मेरी बास्सै’ र ‘जिरे खुर्सानी’ भएको उनी बताउँछन् ।
कलाकार जितु नेपाल (मुन्द्रे) समाजमा बोलिने बोलिचालीका भाषा तथा संवाद नै थेगो तथा चरित्रको स्रोत भएको माान्छन् । समय र स्थानको लवजअनुसार चरित्र र थेगो पनि प्रयोग हुने गरेको उनको भनाइ छ ।
थेगो आमजनमानसमा लोकप्रिय हुन थेगो प्रयोग गरिएको सिरियल नै हिट हुनुपर्ने जितुको बुझाइ छ । “थेगो बोल्दैमा हिट हुँदैन । यसका लागि त थेगो प्रयोग गरिएको सिरियल पनि हिट हुनुपर्छ,” उनी भन्छन्, “सिरियलसँगै थेगो बोल्ने व्यक्तिले प्रयोग गर्ने संवाद पनि बलियो हुनुपर्छ । संवाद बोल्ने शैली पनि त्यतिकै सशक्त हुनुपर्छ ।”
जितुका अनुसार सान्दर्भिक थेगोसँगै हिट सिरियल र बलियो विषयवस्तुका साथै थेगो संवाद अगाडि कि पछाडि बोल्ने भन्ने कुरामा पनि निर्भर हुन्छ । “कुनै थेगो संवादभन्दा अगाडि बोलिन्छ भने कुनै संवादपछाडि बोलिन्छ,” उनी भन्छन् ।
किरण केसी (राता मकै) पछिल्लो समय थेगो र संवाद दुवै सस्तो लोकप्रियताका लागि ‘भल्गर’ शब्द प्रयोग गर्दै बनाउन थालिएको बताउँछन् । उनी बलियो कन्टेन्ट र संवादको सहारा लिनुपर्नेमा ‘भल्गर’ शब्द र संवादको प्रयोग हुनु दुर्भाग्य भएको तर्क गर्छन् ।
किरणलाई चिनाउने ‘राता मकै’ निकै लोकप्रिय थेगो हो । यही थेगोकै नाममा इमाडोलस्थित उनको घरछेउको चोकको नाम नै ‘राता मकै चोक’ राखिएको छ । उनले यो थेगो ‘जिरे खुर्सानी’मा प्रयोग गरेका थिए ।