site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
म किन लेख्छु ? 
Ghorahi CementGhorahi Cement

टङ्क चौलागाईं 


सबैजना आउनु भो ? त्यसो भए ढोका लाइदेऊ । त्यहाँ सहयोग गर्ने कोही छ ? (साउती गर्दै) भाग्छन् के मान्छे, ढोका लगाएर थुन्नुपर्छ । कोही छैन ? म आफैं लगाइदिन्छु । (केहीबेर ढोकामै अडिएर) आफ्नो काम आफैं गर्ने । (आदेश)... होशियार ! तपाईंहरुले यो ढोका खोल्न पाउनुहुन्न । बत्ती बाल ! देखिनु परेन ? मान्छे चिनिनुपर्‍यो । चिनिनकै लागि हो, यो युद्ध । 

...एक पटक दर्शकतिरको बत्ती बाल्देऊ । कतिजना आएछन्, हेर्छु । थोरै भए बिस्तारै बोल्नुपर्‍यो । किन घाँटी सुकाउनु ? ...ए उज्यालो अघिदेखि नै थियो है ? लु, मोबाइलको स्विच अफ गर्दिनुस्, आपसमा कुराकानी नगिर्दिनुस्, खानेकुरा नखाइदिनुस्, फोटो खिच्दा फ्ल्यास अफ गर्दिनुस् । दिक्क लाग्यो भने बीचमै उठेर हिँड्नुस् । अवधि: एक घण्टा (बीचमा मध्यान्तर छैन ।) थुक्क ! म किन खान्छु ? म किन सुत्छु ? म किन लुगा लगाउँछु ? (रोकिएर) ...र, म किन लेख्छु ? (उद्घोषकको शैलीमा) नेपालीको बानी ! जे कुरा पनि सित्तैंमा चाहिने । 

Agni Group

हुन त, तँ कुन देशबाट आइस् भन्नु होला । म पनि नेपाली नै हुँ । जन्मथलो काभ्रे । अहिले गोठाटार ८ घर नं. ९३, कहिले बानेश्वर । ठेगान छैन जीवनको, बोलीको । साथीहरु भन्छन्, ‘बाउले काठमान्डूमा घर बनाइदिएको छ,’ यही निहुँमा धेरै अवसरमा पछाडि पार्दिन्छन् । (घुमाउरो पारामा) दा’हरु ‘सित्तैंमा पाए अलकत्रा खाएर मट्टितेलले कुल्ला गर्छ’ भन्थे । मलाई हैन अरुलाई । हाम्रो बानी त्यस्तै छ । उखान त्यसै बन्या हैन । 

अङ्ग्रेजीमा यो उखानलाई के भन्छन् होला ? म अङ्ग्रेजी जान्दिनँ के ! ऊ बोल्न सुरु भइसक्यो, हेर्न आको हो कि, बोल्न आको ? टिकट नकाटी आएकाहरु बोल्छन् के ! टिकट काटेकालाई पैसाको माया हुन्छ । बोल्दैनन् । ...एऽऽऽ आउनु भा छ भने बस्नुस्, किन जानु हुन्छ ? टिकट नकाट्या जति सबै गए, एकसय पचास जनाको यो हल खाली हुन्छ । खाली हलमा कसलाई देखाउनु ? कोसँग कुरा गर्नु ? कि एक्लै ! 

Global Ime bank

एक्लै फत्फताउन म पागल हो ? पागल ! (रिसाउँछ)...के रे ? म पागल जस्तो देखिन्छु रे ? लामो जगल्टा भएका, च्यातिएका लुगा लगाउने सबै मान्छे पागल हुन्छन् ? (स्वीकार) हो, कपडा फोहोर छन्, च्यातिएका छन् । ख्याउटे छु । भोको छु । वर्षाैंदेखि नुहाएको छैन । (अस्वीकार) तर म पागल हैन । 

मलाई देख्नु भो ? नेपथ्यमा छु, कहाँबाट देख्नु ! तर म छु । (छेक्काबाट टाउको निकाल्छ) तपाईंले मलाई नदेख्नु भनेको म नहुनु हो ? होइन । तपाईंले मलाई नदेख्नु भनेको पनि म हुनु हो । म छु । तपाईंको वरिपरि छु । तपाईं भित्र छु । अबुई ! सन्दर्भ छुट्यो । के कुरा गर्नुपर्ने, के कुरा गरिरहेको छु । (गम्भीर)...म चाहन्छु, शीर्षकमा पस्न म चाहन्छु । (छिटो) यत्रो ! मैले चाहँदैमा हुन्छ ? तपाईंले चाहँदैमा हुन्छ ? (बक्समा बस्छ ।) 

एकदिन । त्यो एकदिन । ...त्यस्ता एकदिनहरु धेरै आउँछन् हैन ? हैन । कसले बनाइदिएको हो, हप्ता, महिना, वर्ष, तीन सय पैंसट्ठी दिन ! ती सब एकदिन हुन् । चौबीस घण्टाको एकदिन । भोलि उज्यालो भए त अर्काे दिन होला । नभए ? नभए तपाईंको त्यही एकदिन हो । जुन गयो । त्यो एकदिनबाट यो एकदिनसम्म मैले केही दिनहरु पाएँ । (अदबका साथ) हो ! त्यो दिनको अलिकति कुरा गर्नैपर्छ । 

त्यो एकदिन मण्डला थिएटरमा भूपिनको किताब चौबीस रिलको विमोचन थियो । चौबीस इन्टु चार, छयानब्बे जति मान्छेहरु उपस्थित थिए होलान् । तिनैमध्ये हामी पनि थियौं । हामी भनेको विमल आरोही र म । त्यो दिन त्यस्ता अरु तीनवटा कार्यक्रम रहेछन् । विमल आरोही र मैले केही व्यक्तिगत कुरा ग¥यौं । ...व्यक्तिगत कुरा तपाईंहरुलाई किन भन्ने ? नभने पनि त्यो कुरा तपाईंहरुले थाहा पाउनुहुन्छ । लेखक भनाउँदो र सम्पादन गर्ने मान्छेबीचको कुराकानी व्यक्तिगत हो कि सार्वजनिक हो म जान्दिनँ । कुरा सकियो ! 

आजको हैन त्यो दिनको । विमल आरोही र म हिँड्दै टुरिजम बोर्डतिर लाग्यौं । त्यहाँ ब्रजेशको किताब यायाबरको विमोचन थियो, त्यसैले । हामी कुरा गर्दै गएका थियौं । वाल्मिकि क्याम्पसअगाडि कत्रो फोहोरको थुप्रो हुन्छ, त्यो तपाईंलाई पनि थाहा होला । त्यो काठमान्डूबासीको सभ्यता छल्न हामी दुवैलाई हम्मेहम्मे प¥यो । 

ओहो ! कुराले लेन छोड्यो कि के हो ? (मौन । पानी पिउँछ ।) ...कुरा निरन्तर भइरहेको थियो । लगभग त्यहीँनेर आरोहीले भने, ‘पत्रपत्रिकातिर लेख्नुस् टङ्कजी, गरिमामा लेख्नुस्, तपाईं कथाहरु लेख्नुहुन्छ कि हुन्न ? को र छ यो मान्छे भनेर पाठकले चिनेपछि अनि किताब पढ्छन् ।’ उनले बुद्धिसागर, कृष्ण अविरलहरुको उदाहरण दिए । किन बिके, किन बिकेनन् भनेर । यो संसारमा चिनिने लोभ नभएको लेखक, लेखक ...मात्रै के भन्नु ...मान्छे कोही होला ! 

अघिल्लो केही भेटमा पनि आरोहीले यही कुरा दोहोर्‍याएका थिए । (अधैर्य) त्यस दिनदेखि यस दिनसम्म म निदाएको छैन । रिसले हो कि ! इष्र्याले हो कि ! डाहाले हो कि ! पीडाले हो कि ! वेगले हो कि ! आवेगले हो ? खुसीले हो कि ! दुःखले हो ? (मञ्चमा छट्पटाउँछ ।) ...म छट्पटाइरहन्छु । त्यही किताबको मुख्य पात्र झैं राति उठेर हिँड्छु रे । 

...तपाईं मोबाईल चलाउन थाल्नुभयो ? मोबाइल अफ गर्नुस् भनेको हैन ? त्यहाँ ढोकामा लेखेको पढ्नुभएन ? लेखेको सबै कुरा सबैले पढिदिए ...यो महाभारत किन हुन्थ्यो ? म किन लेख्छु ? (टोलाउँछ) एकछिन है त । (पढाउँछ) न्युटन थर्ड ल अफ मोसन । एप्पल फल्स फ्रम दि ट्रि । सर, तपाईं किन स्कुलका केटाकेटी पढाउनुहुन्छ ? तपाईं किन घरको नक्सा बनाउनुहुन्छ ? तपाईं किन फोटो खिच्नुहुन्छ ? (फिल्म शैलीमा) ...ए मास्टर ! तपाईं केटाकेटी फेल भए भनेर पढाउन छोड्नुहुन्छ ? 

तपाईं किन गाडी चलाउनुहुन्छ ? तपार्इं किन भारी बोक्नुहुन्छ ? तपाईं किन तरकारी बेच्नुहुन्छ ? ए भैया ! तपाईंलाई रहर छ ? बिहानदेखि बेलुकासम्म चिच्याउन, (साइकल ठेलेर) ‘लौ आयो काउली, बन्दा, आलु, प्याज, हरियो खुर्सानी, भिण्डी, ए साउनी, ए दाइ सब्जी लिनुस् सब्जी,’ के रहर छ तपाईंलाई ? तपाईं चाहेर त्यो काम नगर्न सक्नुहुन्छ ? सक्नुहुन्न । (हलुका भएर) ...तपाईं चाहेर त्यो काम नगर्न सक्नुहुन्छ, छोड्दिनुस् । तर फेरि अर्काे काम गर्न थाल्नुहुन्छ । र, गर्नुहुन्छ । गर्नै पर्छ । तपाईं डाक्टर हैन ? तपाईं किन बिरामीको उपचार गर्नुहुन्छ ? तपाईं किन फोहोर उठाउनुहुन्छ ? तपाईं किन भ्रष्टाचार गर्नुहुन्छ ? तपाईं सबैहरु किन यी सबै गर्नुहुन्न ? (प्लेटफर्ममा विरक्तिएर बस्छ ।) 

एउटा होटलेले मीठो खाना पकाएन । तपाईं सधैं त्यही होटलमा खाइरहनुहुन्छ ? पक्कै खानुहुँदैन । होटल चेन्ज गर्नुहुन्छ । ग्राहक रित्तिएर पनि त्यो होटलवालाले होटल चलाइरहन्छ ? चलाउँदैन, विस्थापित हुन्छ । नहुन पनि सक्छ । भयो भने त्यो उसकै क्षमताले गर्दा भयो । यहाँबाट दर्शक उठेर गए भने मेरो प्रस्तुतीले बाँध्न सकेन । प्रस्तुति भनेको मेरो क्षमता । क्षमताले बाँध्न सकेन । गए । म फेल भएँ । जानुस् । यो हुनु वा नहुनु, त्यो हुनु वा नहुनु । सबै मेरो क्षमताले गर्दा हो । (फिस्स हाँस्छ ।) छया ! के कुरा गरेको मैले । 

ए बाबु ! तपाईं किन पढ्नुहुन्छ ? तपाईं किन बच्चालाई माया गर्नुहुन्छ ? तपाईं किन देवता पूजा गर्नुहुन्छ ? दिदी तपाईंको साडीको रङ खुलिएछ ! किन लगाइरहनु हुन्छ ? तपाईंहरु सबै आफ्नै खुसीले यहाँ आउनु भएको हो ? हैन । सबैलाई मैले फोन गरेर, म्यासेज पठाएर बाध्य पारेको हुँ । आउनलाई । 

कहिलेकाहीँ मान्छेले नचाहेको काम पनि काम गर्नुपर्छ । अरुको लागि । अरु... क्या अरु ! खै कसकसको लागि । म किन लेख्छु ? तपाईं किन लेख्नुहुन्न ? तपाईं किन जागिर खानुहुन्छ ? तपाईं किन रक्सी खानुहुन्छ ? जागिर खानु र रक्सी खानुमा त्यति ठूलो अन्तर छैन । जागिर खानु, रक्सी खानु र लेख्नु एउटै हो ? (सशङ्कित) म किन लेख्छु ? (निचोरिएर) म किन लेख्छु ? (रिसाएर) म किन लेख्छु ? (चिच्याएर) म किन लेख्छु ? (अट्टहास गरेर) म किन लेख्छु ? 

कोही ‘भुक्के’ भन्छन् । कोही ‘हावादारी’ भन्छन् । कोही ‘नपाकेको सुन्तला’ भन्छन् । कोही ‘वनजङ्गलको विनास’ भन्छन् । (तर्सिँदै) म किन लेख्छु ? (रुँदै) म किन लेख्छु ? (दर्शकबिचमा जान्छ ।) तपाईं विहे गरेर खुसी हुनुहुन्न, अर्की युवतीसँग प्रेम छ । बहिनी तिमी कति राम्री छौ ! ओ काका ! तपाईं अझै कुम्ल्याउने सुरमा हुनुहुन्छ ? 

आहा ! तपाईंको अनुहारमा कति कथा छ । तपाईंहरु सबैका धेरै कथा छन् । मेरा पनि कथा छन् । तपाईंहरु पात्र, म पनि पात्र । कोही रुवाउँछन् । कोही हसाउँछन् । कोही गम्भीर बनाउँछन् । कसैलाई वास्तविकता झल्किएको स्वादिलो लाग्छ, कसैलाई प्रयोग गरेको ! मेरो सास गन्हाउँछ । गन्हाइरहन्छ । मैले भन्या हैन । अरुले भनेको । बूढीले पनि भन्छे । तैपनि म सास नफेर्न सक्दिनँ । यो पाइन्ट किन्दाखेरि नयाँ थियो । अहिले खुइलियो । च्यातियो । मन पर्दैन, तैपनि लगाइरहन्छु । हैन ! 

आज मैले तपाईंहरुलाई बाँध्न सकिनँ । जानुस् । लाइट अफ । बत्ती निभाऊ ! (मञ्चमा घोप्टो पर्छ । बत्ती निभ्दैन ।) त्यहाँ कोही छैन । बत्ती निभाउन आफैं जानुपर्छ । ...के तपाईंहरु जानुहुन्न ? यसको मतलब ...मतलब जे पनि हुन सक्छ । मैले साँच्चै भन्या । त्यो दिनदेखि यो दिनसम्म आइपुग्दा मैले खुप सोचेँ, (कवितात्मक) कि जलाइदिऊँ पाण्डुलिपि चर्चामा आऊँ एकाएक ! त्यसपछिको चर्चा पो चर्चा । ...हगे पनि चर्चा पाधे पनि चर्चा ! आए पनि चर्चा, हराए पनि चर्चा । अँहँ सकिनँ । सक्दै सकिनँ । 

सेक्सपियरले किन लेखे ? कामुले किन लेखे ? बर्नाड शले किन लेखे ? मुराकामी किन लेख्छन् ? जेके रोलिङ किन लेख्छिन् ? चेतन भगत् किन लेख्छन् ? ...कृष्णमूर्ति किन लेख्छन् ? (रोकिन्छ) पारिजातले किन लेखिन् ? समले किन लेखे ? देवकोटा, रिमाल, भूपी, शङ्कर लामिछाने, गोठाले, विकल, कुमार नगरकोटी, धाराबासी, शान्तदास मानन्धर, अभय श्रेष्ठले किन लेखे ? ...कोहीसँग जवाफ छ ? भन्नुस् किन लेखे ? तिनीहरुले लेखेर के भयो ? नलेखेको भए के हुन्थ्यो ? त्यो समाज यो समाज बन्दैनथ्यो ? 

ए भाइ तिमी नै हैन किताबको कीरो ! उठ । कि मञ्चमै आउँछौ ? ...आऊ एकछिनलाई तिमी कलाकार म दर्शक । तिमी लेखक म पाठक । भन्देऊ त तिनीहरुका दर्शन केके थिए ? (कवितात्मक) वाद, वाद भन्दै खुप गफिन्छौ । खुपै उडाउँछौ चुरोटको धुवाँ, खुपै रित्याउँछौ रक्सीका बोतल । (रोकिएर) के पृथ्वी, तिनीहरुको दर्शनले चलाएको हो ? मलाई थाहा छैन । यस्ता कुरामा म शून्य छु । शून्यता हैन शून्य । बुद्धु क्या बुद्धु ! के समाज तिनीहरुको किताबले बद्लियो ? गोविन्द वर्तमानले किन कम लेखे ? र, मरे । तिनले चार दर्जन किताब निकालेको भए के हुन्थ्यो ? दुईवटा मात्र निकाले, के भयो ? (माथिबाट मोटो डोरी झुण्ड्याउँछ ।) (रोकिँदै, रोकिँदै) 

...मदनमणि दीक्षित, जगदीश घिमिरे, माधव घिमिरे, किन लेख्छन् ? ...नारायण ढकाल किन लेख्छन् ? (एकै सासमा) झलक सुवेदी, श्यामल, कञ्चन पुडासैनी, धीरकुमार श्रेष्ठ, रमेश क्षितिज, सरुभक्त, नयनराज पाण्डे, बुद्धिसागर, महेशविक्रम शाह, हरि अधिकारी, मोमिला, सुविसुधा, सुविन भट्टराई, किन लेख्छन् ? (शान्त भएर) ती सबैहरु नलेखेर मासु पसल किन खोल्दैनन् ? जग्गा दलाली किन गर्दैनन् ? सिकर्मी, डकर्मी, नकर्मी किन भएनन् ? कुचिकार, सूचिकार, नेता, मन्त्री किन भएनन् ? भएको जागिर छोड्छन् । बरालिएर हिँड्छन् । नाम फेर्छन् । उपनाम राख्छन् । केको लागि ? लेख्नको लागि । त्यही त भन्या लेखेर के भयो ? र, टङ्क चौलागाईं, म । किन लेख्छु ? (वीभत्स) म किन लेख्छु ? बत्ती निभाऊऽऽऽ । (लाइट अन हुँदा मञ्चको बीचमा झुण्डिरहेको हुन्छ ।) आहा...! ऐया...! उहु...! लौ...! म पात्र... । थिएँ । केही छिनपछि रहन्नँ । (झुण्डिएको शरीर नाचिरहन्छ । सेता आँखा पल्टाउँछ । आवाज लग्भग् अवरुद्ध) लेखकहरु मेरो कथा लेख । खुप बिक्ला ! जसरी मन पर्छ लेख । ओ ! लेखक । ओ कुमार नगरकोटी, म पात्र भएँ, मेरो कथा लेख (मर्छ) । (दर्शक ढोका खोलेर बाहिरिन्छन् ।) 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६  ०९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC