site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘ट्रेन्डिङ’ र भाइरलको लोभले गीतहरु क्षणिक भएः श्रेया सोताङ
Sarbottam CementSarbottam Cement

श्रेया सोताङको घरेलु परिवेश नै साङ्तीतिक । सानैदेखि गीत–सङ्गीतको प्रभाव परेको थियो । आमा र बाबा (उदय र मनिला सोताङ) दुवै आधुनिक सङ्गीतका चर्चित जोडी । श्रेयाले कक्षा १२ पढ्दै गर्दा अरुको एल्बमको लागि गाउने मौका पाइसकेकी थिइन् । सुरुमा त रहरले नै गाएकी थिइन् उनले, तर पनि सङ्गीतमै लाग्ने सोच पलायो । स्नातक पढ्दै गर्दा उनको गीत (शब्दःउदय सोताङ) ‘पोल्छ मुटु’ सार्वजनिक भयो । मातापिताबाट सङ्गीतको विरासत त मिलेको थियो, तर उनलाई आफ्नै परिचय बनाउने हुटहुटी थियो ।  ‘सुस्तरी’, ‘यो छोरीको’, ‘तिम्रो स्पर्श’, ‘मन चरी’जस्ता गीतले उनलाई सफलता दिलायो । र, उनी आफ्नो बेग्लै परिचय निर्माण गर्न सफल भइन् । अहिले उनी विशेषगरी युवापुस्तामाझ लोकप्रिय छिन् । उनले चलचित्रका गीतमा पनि स्वर दिएकी छन् । ‘प्रेम गीत २’, ‘कायरा’, ‘जिन्दगी रक्स’, ‘सरौंतो’लगायतका चलचित्रमा उनको आवाज सुन्न पाइन्छ । गायनलाई शोख र करिअरभन्दा पनि जिन्दगीको एउटा महत्वपूर्ण पाटो मान्ने श्रेयासँग नेपाली सङ्गीतको सेरोफेरोबारे बाह्रखरीकर्मी वर्षा महर्जनले गरेको कुराकानीको सार :

हाल केमा व्यस्त हुनुहुन्छ ?
केही आफ्नै सङ्गीतकै काममा र अर्को, एजुकेसन कन्सल्टेन्सीमा समय बितिरहेको छ । करिब डेढ वर्ष भयो खोलेको कन्सल्टेन्सी, यसमै व्यस्त हुन्छु ।

साङ्गीतिक क्षेत्रभन्दा बाहिरको व्यवसायमा लाग्नुभएछ, गायनमै लागेर आर्थिक रुपमा ढुक्क हुन गाह्रो भएर हो ?
त्यो त होइन । मैले ‘म्युजिक टुर’हरु गरिरहेकै छु । तर केही समयपछि म यसरी नै सङ्गीतमा सक्रिय भैरहन सक्दिनँ । परिवार हुन्छ, त्यहीअनुसार मेरो प्राथमिकता परिवर्तन हुन्छ । यसकारण पनि आफ्नै व्यवसाय भए गायनलाई पनि सँगसँगै लग्न सकिन्छ भन्ने हिसाबले सुरु गरेको हुँ ।

Prabhu Bank
Agni Group
NIC Asia

तपाईंले सुरु गर्दा र अहिलेको अवस्थामा सङ्गीत क्षेत्रको आर्थिक पाटोमा केही सुधार आएको हो ? 
सुधार त अवश्य भएको छ । म यो क्षेत्रमा लागेको १० वर्ष भयो । दशक लामो सङ्घर्ष पश्चात् मेरो पारिश्रमिकमा आएको परिवर्तनले पनि सुधार भएको सङ्केत गर्छ नै । तर कति कुरामा अझै सन्तुष्ट हुन सक्ने अवस्था छैन । पारिश्रमिककै कुरामा पनि सङ्घर्ष अझै जारी छ जस्तो लाग्छ ।

पारिश्रमिकमा पहिलाको दाँजोमा सुधार आएको छ भन्नुभयो अनि असन्तुष्टि पनि ?
आज पनि गायिकालाई भन्दा गायकलाई बढी पारिश्रमिक दिने चलन छ । एउटै  कन्सर्टमा जाँदा पनि महिला–पुरुषबीचको पारिश्रमिका विभेद गरिन्छ, चाहे त्यो गायक गायिकाभन्दा पछि आएको नै किन नहोस् । एउटा गायिकाले पनि उसकै अनुपातमा गाउने र समय दिने हो, तर पारिश्रमिक दिँदा भने कम दिने चलन मलाई कहिल्यै चित्त बुझेन ।

Global Ime bank

यो क्षेत्रको मुख्य कमीकमजोरी के हो जस्तो लाग्छ तपाईंलाई ?
कमजोरी भनेको समय हो । हामी समयलाई महत्व नै दिँदैनौ । यसको मतलब म समयनिष्ठ छु र अरु छैनन् भन्न खोजेको होइन् । तर मलाई कसैले ३ बजे बोलाएको छ भने म प्रायः समयमै पुग्छु । तर त्यो मैले न त अरु कलाकारमा पाएँ न त आयोजक टिममा नै । हामीमा प्रोफेसनालिजम छैन । यो विषयमा हामीले अन्य मुलुकका कलाकारहरुबाट सिक्न जरुरी छ । समयको कुरासँगै पक्षपातपूर्ण पारिश्रमिक पनि यो क्षेत्रको ठूलो कमजोरी हो । 

लामो समयपछि ‘माया किन’ भन्ने गीत लिएर आउनुभयो । लामो समय हराउँदा दर्शकले बिर्सेलान् भन्ने डर भएन् ?
त्यो मैले कक्षा १२ हुँदा आफंैले सङ्गीत भरेको गीत हो । सोही गीतलाई भिडियोसहित पुनः रेकर्ड गराएर युट्युबमा अपलोड गरेको छु । पहिले मैले अरुको एल्बमको लागि गाएको थिएँ । उक्त गीत खोज्दा कतै पनि भेटिनँ, त्यसैले पुनः गाएँ । भिडियोमा आएका गीतमात्रै दर्शकलाई याद हुने रहेछ । त्यही भएर यो मेरो गीत हराइसकेको महसुस गर्दै फेरि भिडियोसहित रिलिज गरेको हुँ ।

स्रोता–दर्शकले बिर्सेलान् भन्ने कुरामा कहिल्यै ध्यानै गएन । म आफूले गाएको गीत कतिले सुने, कति हिट भयो भन्नेजस्ता कुरा पनि वास्ता गर्दिनँ । मलाई कुनै गीत मनप¥यो, मेरो मुटुमा छोयो भने गाउँछु । 

तपाईंको गीतका भिडियोहरुमा आफू स्वयम् नै देखिनु हुन्छ नि ? 
प्रायः आफ्नो गीतको भिडियोहरुमा म आफैं अभिनय गर्छु  । मलाई के लाग्छ भने, दर्शकसम्म पुग्न आवाजका साथै आफ्नो उपस्थितिले पनि धेरै फरक पार्छ । अचेल पहिले जस्तो गीत सुन्ने मात्र होइन, हेर्न पनि रुचाइन्छ । डिजिटल्ली पनि समय धेरै अगाडि बढिसक्यो । आफैंले गाएर अभिनयसमेत गर्दा दर्शकसम्म पुग्न अझै सजिलो हुन्छ भन्ने लाग्छ ।  

चर्चित युगल जोडी मनिला र उदय सोताङको छोरी भएर त्यो विरासत कायम गर्न कतिको गाह्रो हुँदोरहेछ ?
विरासतलाई तपाईंले बोझका रुपमा लिनुभयो भने पक्कै गाह्रो हुन्छ । म अरुभन्दा केही फरक छु । म हरेक कुरालाई हल्का रुपमा लिन्छु । म यो करिअर, नाम, ख्यातिलाई धेरै जोड दिन्नँ । म साधारण जीवनयापनमा विश्वास गर्छु । मेरा आमाबुवा चर्चित हुनुहुन्छ, म  पनि त्यहीँ पुग्छु र त्यो कुरालाई अघि बढाउछु भनेर कहिल्यै दबाब महसुस गर्दिनँ । किनभने त्यो सम्भव पनि हुँदैन । मैले म पनि उहाँहरुको लेबलसम्म पुगेर देखाउँछु भनेर सोचेँ भने त्यसले मलाई झनै प्रेसर हुन्छ । जसले गर्दा मेरो काममा एकाग्रता नै हुँदैन र म आफूभित्र भएको बेस्ट कुरालाई पनि दर्शकसम्म पु¥याउन असफल हुन सक्छु ।

हरेक व्यक्तिमा छुट्टछुट्टै प्रतिभा र क्षमता हुन्छ । त्यही भएर म मेरा आमाबुवाजस्तै प्रसिद्ध हुने भन्दा पनि आफूले के राम्रो दिन सक्छु दर्शकलाई भन्ने कुरामा धेरै जोड दिन्छु । 

आमाबुवाको नामबाट परिचय दिँदा कस्ते महसुस हुन्छ ?
मनिला र उदय सोताङको छोरी भएर चिनिनु मेरा लागि गर्वको कुरा हो । र, मैले जति नै मेरो छुट्टै परिचय बनाउँछु भने पनि सम्भव हुँदैन । किनभने उहाँहरुको नाम मेरो नामसँग सधैं जोडिएर रहेकै हुन्छ । आफ्ना आमाबुवाको परिचयबाट चिनिनु नराम्रो कुरा हो र ? 

आफू पनि त्यस्तै युगल जोडी बनुँ भन्ने सोच आउँछ ?
मलाई पहिलेदेखि नै म जुन क्षेत्रमा छु सोही क्षेत्रको ‘लाइफ पार्टनर’ नहोस् भन्ने लाग्थ्यो । किनभने दुई जनाको फरक पेशा भयो भने कुरा गर्दा फरकपन र नयाँपन हुन्छ । दुवै भिन्नाभिन्नै पेशाको भएर पनि एकअर्कालाई बुझेर एकअर्काको काममा सहयोग गर्न सक्दा छुट्टै रमाइलो हुन्छ जस्तो मलाई लाग्छ । अनि मलाई मेरो समकालीन सङ्गीतकर्मी कोही पनि चित्त बुझ्दो लागेन (लामो हाँसो सहित)।

उदय र मनिला सोताङको बलियो र कमजोर पक्ष के हो जस्तो लाग्छ ?
बलियो पक्ष गायनदेखि लिएर हरेक कुरामा एकअर्काको साथ र सहयोग नै हो । उहाँहरुको कमजोरी भन्दा पनि दुईजनाबीचको फरकपना भन्न रुचाउँछु । आमाको हाईपिच राम्रो छ भने बाबाको त्यो छैन, तर पनि उहाँको निरन्तर ‘रियाज’ले नै आमाको त्यो लेबलसम्म आफूलाई पुर्याउन सफल हुनुभएको छ ।

आबाबुवा पहिले नै यो क्षेत्रमा चर्चित भैसकेकोले तपाईंलाई यो क्षेत्रमा आउन सजिलो भएको हो ?
एकदमै सजिलो भएको हो । मार्गदर्शन मिल्यो, एल्बम निकाल्न आर्थिक सहयोग र उहाँहरुको परिचयले गर्दा ‘कभरेज’को हिसाबदेखि लिएर थुपै कुराहरुमा मलाई सजिलो भयो ।

यसको नराम्रो पक्ष पनि हुँदोरहेछ ?
नराम्रो पक्ष त होइन, तर पनि दर्शकबाट अनि यही क्षेत्रका अरु व्यक्तिहरुबाट अलि धेरै अपेक्षा हुँदो रहेछ । साथै, तुलना पनि गरिँदो रहेछ । जस पाउन पनि धेरै गाह्रो हुन्छ । मैले राम्रो गरेँ भने पनि उदय–मनिलाको छोरी हो राम्रो भैहाल्छ भनिन्छ । अनि नराम्रो गर्याे भनेचाहिँ यसको छोरी भएर पनि नराम्रो गर्यो भन्ने हुन्छ ।

पछिल्लो समयका गीतहरु कालजयी नहुनुको कारण के हो जस्तो लाग्छ ?
अहिले युट्युबमा ‘ट्रेन्डिङ’ भन्ने टर्म एकदमै भाइरल भैरहेको छ । कुनै एक किसिमको गीत ट्रेन्डिङमा आउने बित्तिकै सोही कलाकारले र अरु कलाकारले पनि सोही शैलीकै गीत बनाउनतर्फ लाग्छन् । नयाँपन दिने कोसिस नै गर्दैनन् । पछिल्लो समय आएका धेरैजसो कलाकारले ट्रेन्डिङमा आउने सोचले गीत बनाएका कारण त्यसमा पहिलेका गीतहरुमा जस्तो मिठासपन र शब्दको उचित चयन भएको पाइँदैन । पछिल्लो समय चर्चामा आएका तीनवटा टर्म ‘भाइरल’, ‘हिट्स’ र ‘ट्रेन्डिङ’ यी कुराहरुले गर्दा अचेलका गीतहरु क्षणिक भए । भाइरल त भए, तर कालजयी हुन सकेनन् ।

गायकीको कुरा गर्नुपर्दा आमा र बुवामध्ये कसको गुण सरेको छ जस्तो लाग्छ आफूमा ?
गायनको प्राविधिक पाटोबाट हेर्ने हो भने बाबातिर ढल्केको छु जस्तो लाग्छ । किनभने आमाको जस्तो हाईस्केलमा म जान सक्दिनँ । मेरो स्वर केही बाक्लो छ, कतैकतै बाबाको जस्तै । 

उदय र मनिला सोताङ आफ्नै रेस्टुराँ मधुशालामा युगल प्रस्तुति दिइरहेको समयसमयमा देख्न पाइन्छ । तर तपाईंलाई त्यहाँ देखिँदैन नि ? 
मलाई मञ्चमा गाउन मन पर्छ । कन्सर्ट र अरु साङ्गीतिक कार्यक्रमहरुमा मञ्चमा गाउन मन पर्छ । किनभने त्यहाँ दर्शकको पूरै ध्यान तपाईंसँगै हुन्छ र तपार्इंलाई साथ पनि दिइरहेका हुन्छन् ।

मलाई लाउन्ज, पब अनि रेस्टुराँमा गाउनको लागि अफर नआएको होइन, तर मैले मानिनँ । किनभने मलाई त्यस्तो ठाउँमा गाउन भित्रैदेखि इच्छा छैन । त्यस्तो ठाँउमा दर्शकले गाएको त सुनिरहेका हुन्छन्, तर ध्यान गायकगायिकामा हुँदैन । कोही खानामा त कोही एकअर्कासँग कुराकानीमै व्यस्त हुन्छन् । दर्शकको ध्यान ‘डाइभर्ट’ हुने हुनाले मलाई गाउनमा जोस नै आउँदैन ।

आगामी योजना केकस्ता छन् ?
केही समय त म आफ्नो नयाँ व्यवसायमै व्यस्त हुन्छु । यसलाई अझै विस्तृत रुपमा कसरी लग्न सकिन्छ भन्ने कुरालाई नै पहिलो प्राथमिकतामा राखेको छु । गायनलाई पनि सँगै लग्ने कोसिस गरी नै रहेको हुन्छु । म भिडियोसहितको नयाँ गीतहरुको एल्बम निकाल्ने सोचमा पनि छु । यसमा मेरो भाइ सुयोग सोताङसँग मिलेर काम गर्ने योजनामा छु । अरु गायकसँग मिलेर युगल गीत र चलचित्रमा गीत पनि गाउने छु । 

चलचित्रमा गीत गाउनुको बेफाइदा पनि छ ?
चलचित्रमा गायक–गायिका भन्दा पनि कलाकारहरुमा दर्शकको ध्यान बढी जान्छ । गीत त हिट हुन्छ, तर कसले गाएको हो भन्ने कतिपय दर्शकले थाहा हुँदैन । दर्शकले गीत गाउने कलाकारलाई भन्दा चलचित्रलाई बढी सम्झन्छन् । त्यसैले चलचित्रमा गीत गाउँदा गायकगायिका केही छायाँमा परेको अनुभव मलाई हुन्छ । तर आफ्नै गीत, आफ्नै एल्बम र आफैं मोडल भयो भने दर्शकले चिन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६  ०७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC