सरकारलाई कांग्रेसको प्रश्नः आज सच्चिने कि भोलि सक्किने ?

सरकारलाई कांग्रेसको प्रश्नः आज सच्चिने कि भोलि सक्किने ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर १४ मा सम्पन्न उपनिर्वाचनले कांग्रेसलाई ‘बाहिर गति र भित्र अन्तरविश्वास’ बढाउन सन्देश दिएको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले उपनिर्वाचनको गणितीय र राजनीतिक विश्लेषण सार्वजनिक गरेको हो ।

कांग्रेसले निर्वाचनपछि आफ्ना लागि ४ र सरकारलाई ३ सन्देश सुनाएको छ । परिणामको खोजीअघि प्रक्रियामा सतर्कता राख्नुपर्ने सन्देश यो निर्वाचनबाट ग्रहण गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । तर, वर्तमान सरकार निष्पक्ष निर्वाचन गराउने भन्दा आफ्नो पार्टीलाई जिताउने ध्याउन्नमा मनोवैज्ञानिक, राजनीतिक र प्राविधिक बन्दोबस्तमा केन्द्रित रहेको कांग्रेसको आरोप छ ।

त्यस्तै, अनेक प्रतिकूलताका बीच मतदाताले कांग्रेसलाई विगतमा भन्दा बढी मत दिएको भन्दै कांग्रेसले निर्वाचनको परिणामलाई उत्साहजनक रूपमा ग्रहण गरेको छ । बितेको २१ महिनामा कांग्रेसले प्रस्तुत गरेको जिम्मेवार र शालीन प्रतिपक्षको भूमिका अनुमोदन भएको कांग्रेसको निष्कर्ष छ ।  तर, कांग्रेस पार्टीभित्रै प्रतिपक्षी दलको भूमिका सशक्त हुन नसकेको भन्दै आलोचना हुने गरेको छ ।

सांगठनिक आत्मबल बढ्यो 

कांग्रेसले उपनिर्वाचनबाट प्राप्त जनमतले कांग्रेसको आत्मबल बढाएको ठहर गरेको छ । ०७४ मा सम्पन्न निर्वाचनको तुलनामा कांग्रेस र नेकपाका बीचको मतान्तर ०७६ मंसिर १४ उपनिर्वाचनमा घटेको भन्दै त्यसले कांग्रेसको आत्मबल बढाएको प्रवक्ता शर्माले बताए । उनले भने, ‘मतान्तर घट्दा कांग्रेसको सांगठनिक आत्मबलमा अभिवृद्धि भएको छ । उपनिर्वाचनको मैदानमा झैं ‘बाहिर गति र भित्र अन्तरविश्वास’ बढाउन खुला सन्देश सिंगो पार्टी पंक्तिलाई प्राप्त भएको छ ।’

त्यस्तै कांग्रेसले विगतमा जिते पनि उपनिर्वाचनमा गुमाएका ठाउँबारे समीक्षा गर्ने बताएको छ । उपनिर्वाचनमा कांग्रेसले विगतमा जितेका १ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र केही वडाध्यक्ष गुमाएको छ । तर, प्रदेश २ को रौतहट, सुदूरपश्चिम प्रदेशको बैतडी, प्रदेश ५ को अर्घाखाँची अनि प्रदेश ३ को चितवन, प्रदेश १ को धरान र उपत्यकाको भक्तपुरमा भने नेकपाले जितेको स्थानमा विजय हासिल गरेको छ । कम्युनिस्टको पकड मानिने स्थानमा प्राप्त परिणामले भने कांग्रेस उत्साही देखिएको छ ।

नेकपाप्रति मतदाताको असन्तुष्टि

कांग्रेसको बुझाइमा उपनिर्वाचनले सरकारसँग जनता असन्तुष्ट रहेको सन्देश दिएको छ । उपनिर्वाचनले गठन भएको २१ महिनामा सरकारप्रति मतदाताको असन्तुष्टि बढेको पुष्टि गरेको कांग्रेसको बुझाइ छ । ‘त्यसबेला एमाले र माओवादी भिन्न दुई नाम र भिन्न दुई चुनाव चिह्न मैदानमा थिए । तर, त्यतिबेलाको जति मत एउटै पार्टी र एउटै चुनाव चिह्न हुँदा प्राप्त नहुनु मतदाताको मन बदलिँदै गएको प्रष्ट चित्र हो,’ कांग्रेसले भनेको छ । एक उपमहानगरपालिका, एक प्रदेश क्षेत्रको परिणामले नेकपालाई ‘आज सच्चिने कि भोलि सक्किने’ सन्देश दिएको कांग्रेसको बुझाइ छ ।

‘नेकपाका लागि बागलुङको प्रदेशसभा क्षेत्र जनमोर्चालाई छाड्नु परेको स्थिति र कठिनाइले प्राप्त विजय । कास्की र दाङमा राजीतिक प्रभावभन्दा सहानुभूतिमा मत संयोजन गर्नुपरेको अवस्था । परिणाम हासिल नगरे पनि कांग्रेसले ती तीनै क्षेत्रमा मतान्तर घटाएको चित्र । सरकार सच्याउनकै लागि पढ्न जरुरी पाठ हुन्,’ प्रवक्ता शर्माले भने । बागलुङमा नेकपाले जनमोर्चाको उमेदवारलाई समर्थन गरेको थियो । दाङ र कास्कीमा सोही क्षेत्रबाट निर्वाचित भएर दिवंगत भएका नेताका पत्नीलाई नेकपाले उमेदवार बनाएको थियो । त्यसतर्फ लक्षित गर्दै कांग्रेसले नेकपाले सहानुभूतिको मत बटुलेको निचोड निकालेको हो ।

कास्की-२ मा विद्या भट्टराई र दाङमा विमला ओली निर्वाचित भएकी हुन् । यसअघिको निर्वाचनमा विद्याका पति रविन्द्र अधिकारी र दाङमा  उत्तर कुमार ओली निर्वाचि भएका थिए । उनीहरुमध्ये रविन्द्रको हेलिकोप्टर र उत्तरकुमारको सडक दुर्घटनामा मृत्यु भएको थियो । 

जगन्‍नाथ दुलाल

प्रतिकृया दिनुहोस
ad