संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ बाट २५ नोभेम्बरदेखि १० डिसेम्बर सम्म १६ दिने महिला हिंसा विरुद्धको अभियानको थालनी गरेकाले विश्वभर नै महिलामाथि हिंसा हुने कुसंस्कार कायम रहेको स्पष्ट हुन्छ । समाजमा हुने विविध घटना र समाचारहेर्दा महिलामाथि हुने हिंसाका शारीरिक, मानसिक, आर्थिक, राजनीतिकलगायत अनेकौं रूप देखिन्छन् । यस्ता प्रवृत्ति किन बलिया हुन्छन् र पुरुष नै महिलाप्रति किन आक्रामक हुन्छन् भन्ने कारण नखोजेसम्म छोटो समयका अभियानले उद्देश्य हासिल हुँदैन ।
महिला आमा, छोरी, दिदीबहिनी र बुहारी हुन् । महिला सृष्टिकी द्योतक हुन् । यसैले महिला अभियानभन्दा माथि छन् । महिलाविनाको घर, सभा, निर्णय, सुन्दरता सबै अपूर्ण हुन्छन् । आमा ४ दिन मामाघर जाँदा, पत्नी २ दिन माइत जाँदा शून्य हुने घरमा महिलाविनाको संसार कल्पना गर्न सकिएला ? छोरी जन्मिदा भाग्यको दोष भनी नाक खुम्च्याउने र महिलालाई दोषी ठहर्याउने घर समाजमा छोराको बिहे कसैकी छोरीसँगै गर्नुपर्छ र ती कसैकी छोरी हाम्री पनि छोरी हुन् भन्ने भाव किन पैदा हुँदैन ?
कति निरस होला त्यो संसार जहाँ महिलाको सहभागिता छैन ? यो कुरा समाजले आजसम्म बुझेको छैन भने यसलाई बुझाउन जागृतिमूलक शिक्षा पाठ्यक्रममा समावश गरेर बाल्य अवस्थादेखि नै महिला र पुरूष समान छन् भन्ने प्रज्ञा जगाउनु आवश्यक छ कि ?
पितृसत्तात्मक समाजले पुरूषमा शक्ति छ, तर्क छ, मर्द हुन् भन्ने संस्कारको विकास त गर्यो तर महिलामा शक्तिमात्र होइन सहनशक्ति पनि छ भन्ने हेक्का गरेको छैन । महिलामा सहनशक्ति नहुँदो हो त यो समाज कहिले खण्डित भैसक्थ्यो भन्ने बारेमा कसैले सोच्नसम्म भ्याएको छैन । मिलाउने, जोड्ने र संयोजन गर्ने काम महिलाबाटै हुन्छ प्रायःजसो घरमा । जुन घरमा महिलाको यो भूमिकालाई निरुत्साहित पार्न खोजिन्छ त्यो घरमा पक्कै शान्ति र प्रेम बाँकी रहँदैन । पुरूष आफ्नो शक्तिको कारण महिलामाथि आक्रामक हुन्छ भने महिला आक्रामक हुन सक्दिनन् । यो उनको स्वभाव होइन । त्यसैले महिलाले बरू आक्रामक पुरूषलाई पनि सम्हालेर राख्न सक्छिन् ।
महिलाको यो सहानुभूति र सहनशक्तिलाई कमजोर ठान्नेहरू नै समाजमा महिलामाथि हिंसा गर्न अग्रसर हुन्छन् । यो भिन्नता सिकाउने शिक्षा र उत्प्रेरणात्मक कार्यक्रमले निरन्तरता नपाउँदासम्म छोटो समयको अभियानले महिला हिंसा न्यून हुने देखिँदैन ।
महिला पुरूषका दासी हुन् भन्ने सोचले प्राथमिकता पाएको घर र समाजले के सोचेको छैन भने महिलाले आफ्नो प्रेम कायम राख्न घरका पुरूषभन्दा सानै स्तरमा रहेर घरलाई मन्दिर बनाउने काम गरेकी छन् । महिला पुरूषको दासी होइन प्रेमको दासी बनेकी हुन् । कोही पुरूष प्रेमको महत्त्व बुझी महिलाको दासी बन्न सक्ला ? अहँ, सक्तैन । किनभने उसमा त्यो प्रेम र क्षमता छैन । महिलामा रहेको अदृश्य शक्ति र प्रेमले हरेक पुरूषको घरमा खुसीयाली हुन्छ । एउटी महिलाले दिनभरमा कति कामलाई व्यवस्थित गर्न सक्छिन् र पुरूषले कति गर्न सक्छन् सजिलै आँकडा निकाल्न सकिन्छ । यसबाट थाहा हुन्छ शक्तिशाली महिला हुन् या पुरूष ?
जेलाई नियन्त्रणमा लिन खोजिन्छ त्यही विस्फोट हुने जोखिम धेरै रहन्छ । पुरूषले महिलालाई आफ्नो नियन्त्रणमा राख्ने कोसिस गर्छ भने उसले आत्मसम्मान पनि सँगसँगै गुमाएको हुन्छ । मानिस प्रकृतिको सृष्टि हो । प्रेमको मार्ग नै मानिसको जीवनमा खुसी र सुखानुभूति गराउने माध्यम हो । मानिसलाई कानुनले तह लगाउनुपर्ने अवस्था आयो भने त्योजस्तो दुर्भाग्य र अप्राकृतिक अवस्था अरू के होला र ?
पुरूष जातिको उद्गम महिलाबाट भएको छ । त्यही पुरूष महिलामाथि आक्रामक हुन्छ, हिंसा गर्न उद्धत हुन्छ भने उसले आफ्नो उद्गम बिर्सेको मान्नुपर्छ । उद्गम बिर्सेपछि मानिसले प्रेम गुमाउँछ, विवेक गुमाउँछ अनि हिंसामा उत्रिन्छ । त्यसैले मानिसको चेतना जागृत गराउने खालका आत्मिक शिक्षाका कार्यक्रमहरू र उत्प्रेरणात्मक कार्यक्रमलाई विद्यालयदेखि सर्वत्र फैलाउनुपर्छ । मानिसलाई मानिस बन्ने शिक्षा, आध्यात्मिक ज्ञान, ध्यान, प्रज्ञाका आत्मजागरणका सिकाइहरू नदिएसम्म बाहिरी अभियानले मात्रै समाजका कुरीतिहरू नहट्ने देखिन्छ ।
मानिसको स्वभाव र स्वतन्त्रतालाई अभियानले सम्झाउनु भनेको दुर्भाग्यपूर्ण स्थिति हो । अबको अभियानले सकारात्मक र प्रेरणात्मक शिक्षालाई अगाडि बढाई स्वतन्त्रतापूर्वक, प्रेमपूर्वक, आत्मीयतामा बाँच्न र बचाउन पाउने समाजको निर्माण गर्न सके त्यसभन्दा ठूलो उपलब्धि अरु के होला र ?