site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
ढुक्क हुनुहोस्, एक वर्षमा २० लाख पर्यटक पुग्छन् 
Sarbottam CementSarbottam Cement

जनवरी १ मा नेपाल भ्रमण वर्षको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको छ । सातैवटा प्रदेशबाट ल्याइएका ‘फ्लेम’ मुख्यमन्त्रीले राष्ट्रपतिलाई हस्तान्तरण गरेपछि भण्डारीले नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गर्नेछिन् । पर्यटनका माध्यमबाट रोजगारी सिर्जना गर्ने र आर्थिक समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले राष्ट्रिय अभियान सुरु गर्न लागिएको हो ।

सरकारले एकवर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । सरकारको लक्ष्य कसरी पूरा होला ? यस अभियानमा सरकार, निजी क्षेत्रको सहयोग कस्तो छ ? यिनै विषयमा केन्द्रित रहेर नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यसँग  बाह्रखरीका हिमाल पौडेलले गरेको कुराकानी :

नेपाल भ्रमण वर्ष सन् २०२० नजिकिँदै छ । यसको उद्घाटनको तयारी कसरी भइरहेको छ ?

Prabhu Bank
Agni Group
NIC Asia

मूल समितिले कार्यक्रम स्वीकृत गरेको छ । नेपाल झल्काउने कार्यक्रम हुनेछ । सबै पर्यटन व्यवसायीसहित नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्कुल, कलेज, प्याब्सनलगायत संघ संस्थाहरुलाई पनि सहभागी बनाउनेछौं । यस्तै मन्त्रालयमार्फत् विभिन्न ४० देशका मन्त्रीहरुलाई पनि निम्त्याइएको छ भन्ने बुझेको छु । त्यसका लागि नेपाल पर्यटन बोर्डले समन्वयको काम गरिरहेको छ । उद्घाटन राष्ट्रपतिले गर्नुहुनेछ ।

सातै प्रदेशलाई झल्काउने र सातै प्रदेशको ‘युनिक इन फ्रेम’का आधारमा कार्यक्रम गरिनेछ । जानकी मन्दिर, लुम्बिनी, मुक्तिनाथलगायत सातै प्रदेशका पवित्रस्थलबाट आगोको ज्वाला, ‘फ्लेम’ सातै प्रदेशका मुख्यमन्त्री वा मन्त्रीले राष्ट्रपतिलाई दिने र राष्ट्रपतिबाट उद्घाटन गर्ने तयारी छ । नेपाली संस्कृति झल्कने भव्य कार्यक्रम गर्नेछौं । 

Global Ime bank

उद्घाटनको अवसरमा विदेशी ‘सेलिब्रेटी’ पनि बोलाइएको छ ? 

हाम्रा धेरै सद्भावना दूतहरु हुनुहुन्छ । उहाँहरु सबै सहभागी हुनुहुनेछ । प्रत्येक मुलुकबाट तीनजना गुडविल एम्बास्डर निम्त्याएका छौं । स्विडेन, कोरिया, बेलायत, जापानलगायत पर्यटनसँग सम्बन्धित विश्वकै प्रख्यात व्यक्तित्वलाई निम्त्याएका छौं । स्थानीयसहित अन्तर्राष्टिय सञ्चार माध्यमलाई निम्त्याउने छौं ।

पर्यटनको कुरा गर्ने बित्तिकै पूर्वाधारका कुरा जोडिन्छन् । होटलले त धान्न सक्लान्, तर विमानस्थल, यातायात, सडकलगायत अरु पूर्वाधारमा हामी निकै पछि छौं नि !

यो सन्दर्भ एयरपोर्टबाटै सुरुवात गरौं । हाम्रो गेट वे इन टु नेपाल भन्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै हो । त्यसको सुधार भइरहेको छ । अझै गर्न बाँकी छ । आउँदो डिसेम्बरसम्म नयाँ आगमनकक्ष पनि सञ्चालनमा आउनेछ । जसले गर्दा हाल आगमन कक्षमा भइरहेको समस्या अवश्य पनि समाधान हुनेछ । नयाँ डिपार्चर लाउन्जको पनि तयारी भइरहेको छ । एयरपोर्टमा रन वे को काम सकिनेछ । त्यसले होल्डिङ समय घट्नेछ । यो समयसम्म केही न केही सुधार भएको देख्नुहुनेछ । 

ट्याक्सी ड्राइभरहरुको व्यवहार र नेपालीपन देखाउन १ हजार जना ट्याक्सी ड्राइभरलाई तालिम दिइरहेका छौं । साथसाथै एयरपोर्टमा पाहुनाहरु आउँदा उहाँहरुलाई स्वागत गर्न र सहयोगका लागि हस्पिट्यालिटी पढिरहेका विद्यार्थीहरुलाई स्वयम् सेवकका रुपमा राख्दैछौं । अध्यागनमा पनि धेरै सुधार हुँदैछ ।

यस्तै करिब सयवटा बस निःशुल्क सञ्चालन गर्दैछौं । यसको घोषणा केही दिनमा पर्यटनमन्त्रीले गर्नुहुनेछ । बसहरु सफा राखौं, बस मात्रै होइन नेपाललाई नै सफा राखौं भन्ने खालको अभियान चलाउनेछौँ । 

जहाँसम्म पूर्वाधारको कुरा छ । मलाई लाग्छ सन् २०२० मा २० लाख पर्यटक भिœयाउने लक्ष्य पूरा गर्न गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार हुन जरुरी छ । विमानस्थल निर्माण सम्पन्न मात्रै होइन, त्यो विमानस्थलमा विमान उडानका लागि अहिलेदेखि नै सम्झौता हुनुपर्नेछ । मलाई लाग्छ, त्यसको तयारी मन्त्रालयले गरिनै रहेको छ । हामीले सोचेका आधारमा सञ्चालनमा आयो भने २० लाख पर्यटक ल्याउने लक्ष्य सजिलोसँग पूरा हुन्छ । 

त्यो मात्र होइन । हामीले विदेशी आगन्तुकलाई स्वागत गर्ने ठाउँमा नमस्ते सेन्टर स्थापना गर्दैछौं । जहाँ आगन्तुकको घुम्ने ठाउँको लक्ष्य, संख्याको तथ्यांक राख्ने छौं । हाल जति पनि पर्यटकहरु आएका छन्, त्यसको तथ्यांकमा पनि प्रश्न छ । 

हामी पर्यटकलाई कसरी व्याख्या गर्ने भन्नेमा कम्फ्युज छौं । पर्यटक हो को ? भन्ने व्याख्या गर्न जरुरी छ । त्यो सन्दर्भले २० लाख ल्याउने विषयमा प्रश्न आइरहेका छन् । तपाईंले मलाई सोध्नुभयो भने २० लाख त पुगिसक्यो । किनभने जुन आधारमा भारतबाट सडकमार्ग हुँदै पर्यटक आएका छन्, उनीहरुको तथ्यांक राम्रोसँग राख्न सकिरहेका छैनौं । त्यसैले संख्या महत्वपूर्ण हो तर त्योभन्दा पनि महत्वपूर्ण यसलाई सिस्टमाइज रुपमा गर्ने भन्ने पनि हो । 

भैरहवा, नेपालगञ्ज, काँकडभिट्टासम्म विभिन्न होटलहरु खुलिरहेका छन् । सेवा र सुविधा बढाउँदै छन् । क्यासिनो थपिँदै छन् । त्यहाँ जाने पर्यटकको तथ्यांक कहाँबाट आएको छ ? त्यसले गर्दा यस्तो विषयमा पनि हामीले काम बढाउनुपर्ने छ । तथ्यांक राख्ने काममा गृह मन्त्रालय, सशस्त्र, नेपाल प्रहरीसँग मिलेर केही सुधार गरिरहेका छौं । 

जहाँसम्म बाटाघाटाको कुरा छ मलाई लाग्छ– प्रधानमन्त्रीज्यूमार्फत् पर्यटक सडकहरु डिसेम्बर, जनवरीसम्म सम्पन्न गर्नुपर्छ भन्ने निर्देशन जाँदैछ भन्ने सुनेका छौं । 

एक वर्षमा २० लाख पर्यटक ल्याउन दैनिक ५ हजार पर्यटक आउनुपर्ने हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान बढ्ने बित्तिकै ट्राफिक जामको समस्या पनि त छ, होइन र ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन गर्ने कुरा भइरहेका छन् । तर, कुरा भए तापनि एयरलाइन्सहरुले भनेको समयमा सजिलोसँग उडान भर्न मानिरहेको देखिँदैन ।

विमानस्थल बढी व्यस्त भइरहेको समयलाई स्पेडआउट गर्न सकियो भने सजिलो हुन्थ्यो । विमानस्थलमा चाप अझ बढ्ने देखिरहेको छु । कारण के हो भने हिमालय एयरलाइन्स चीनले चारवटा सहरमा उडान भर्दैछ । भारतको स्पाइसजेट आउने कुरा भइरहेको छ । एउटै समयमा विमानस्थलमा बढ्ने चापलाई कसरी मिलाउने भन्ने विषयमा नागरिक उड्डयन प्राधिकरणमा छलफल भइरहेको छ भन्ने बुझेको छु । एयरपोर्ट हेर्दा सानै छ । तर, व्यवस्थापन गर्न सकियो भने यो सानो एयरपोर्टले पनि कमसेकम १०–१५ लाख पर्यटक ह्यान्डल गर्न सक्छ । तर, त्यसका लागि विमानस्थल २४ सै घण्टा सञ्चालन गर्न र एयरलाइन्सहरुको उडान समय मिलाउन सक्नुपर्छ । 

पर्यटक आएपछि उनीहरु घुम्न कहाँ जाने ? काठमाडौं उपत्यका, पोखरा, सौराहा, लुम्बिनी, जनकपुर वा अन्य कुनै नयाँ गन्तव्य पनि छन् ?

पर्यटनबाट नै हाम्रो विकास हुन्छ भन्ने कुरा सबै नेपालीले बुझ्न जरुरी छ । तर, त्यसो हुन सकिरहेको छैन । किन भइरहेको छैन भने पर्यटक तपाईंले भनेजस्तै सगरमाथा, पोखरा, चितवन, लुम्बिनी, काठमाडौंबाट बाहिर जान सकिरहेका छैनन् ।

त्यसले गर्दा भ्रमण वर्षको नारा नै लाइफटाइम एक्सपेरियन्स छ ।

त्यसैले सात प्रदेशमा सातवटा लाइफटाइम एक्सपेरियन्स बनाउँदैछौं । भ्रमण वर्ष २०२० मा यो सुरुवात भएपछि निरन्तर चलिरहोस् भन्ने आधारले यो काम सुरु गरिसकेका छौं । र, प्रदेश सरकारलाई पनि एक–एक प्रदेशमा एक–एक लाइफटाइम एक्सपेरियन्स थप्न भनेका छौं । यसरी १४ वटा लाइफटाइम एक्सपेरियन्स हामीले बनाउँछौं । साथसाथै लाइफटाइम इभेन्टस् भनेर पनि हामीले काम गरिहेका छौं । कर्णाली प्रदेशका लागि लाइफटाइम एक्सपेरियन्सको सन्दर्भमा दिगो पर्यटन विकाससम्बन्धी सम्मेलन रारामा गर्न लागिरहेका छौं ।

र, सेभेन डेज् इन पोखरा, सेभेन डेज् इन लाङटाङ, सेभेन डेज् इन पाटन, सेभेन डेज् इन इलाम भन्ने खालका विभिन्न क्षेत्रलाई समेटेर हरेक प्रदेशबाट तीनवटा ठाउँलाई अगाडि सारेर नयाँ प्रडक्ट डेभलपमेन्ट गरिरहेका छौं । यसले अभियानलाई पनि सहयोग गर्छ भनेर अगाडि बढिरहेका छौं ।

हाम्रो हवाई भाडा महँगो भएको गुनासो नेपालस्थित राजदूतहरुले समेत गरेका छन् । खान, बस्नभन्दा पनि हवाई भाडा धेरै भएको र एउटै गन्तव्यमा पनि विदेशीलाई अझ बढी भाडा लिइएको गुनासो उनीहरुको छ, यसलाई कसरी व्यवस्थित गर्दै हुनुहुन्छ ?

यो सत्य हो । म नेपाली अमेरिकामा गएर टिकट किन्दा मेरो नागरिकता हेरिँदैन । तर, नेपालमा हेरिन्छ । यस्तो विश्वमा कहीं पनि छैन । नेपालमा मात्रै छ । यसरी डिस्क्रिमिनेसन राख्दा हामीलाई नै घाटा हुन्छ । यस्तो डिस्क्रिमिनेसन अरु मुलुकमा छैन । 

यो हुनाको कारण हाम्रो ‘कस्ट अफ अपरेसन’ हो । दुर्गम क्षेत्रमा जानुपर्ने र दुर्गम क्षेत्रमा जाँदा भोलुम पुगेन भनेर एयरलाइन्स सञ्चालकले भन्छन् । त्यसो हो भने नेपाल सरकारले दुर्गम क्षेत्रमा उडान भर्ने विमान कम्पनीहरुलाई केही सहुलियत दिन जरुरी छ ।

सहुलियतको विषयमा नेपालमा धेरै अप्ठ्यारो पनि छ । नेपालमा प्रतिकिलोमिटर हवाई इन्धनको मूल्य भारतमा भन्दा दोब्बर छ । यसले काम गर्दैन । नेपाल सरकारले ग्यासमा दिएको सहुलियत हवाई इन्धनमा जोड्नुभएन । ट्याक्स लिनुहोस्, लिनुपर्छ तर डबलै त हुन सक्दैन नि ! त्यसैले सञ्चालनको ३० प्रतिशत खर्च हवाई इन्धनमा लाग्छ । छोटो दूरीको अन्तर्राष्ट्रिय विमान कम्पनीलाई यो समस्या छैन ।

भारत, ढाकाबाट आउने विमानहरुलाई यो समस्या छैन किनभने फर्कने इन्धन पनि उनीहरुले उतै राखेकोबाट पुग्छ । तर, नेपालभित्र घुम्न नेपालकै इन्धन किन्नुपर्छ । जसको दोब्बर शुल्क छ, त्यसले त नेपालीहरुलाई मार पार्‍यो नि । त्यसैले नेपाल सरकारले बुझ्नुपर्ने के हो भने यो ‘सब्सिडी ब्यालेन्स’ हवाई इन्धनसँग नगरौं । हाम्रो ‘कस्ट अफ अराइभल’ महँगो हुँदा पर्यटनको विकास हुन सकेन भन्ने कुरा सत्य हो । 

दोहोरो भाडादर गलत छ । नेपाल सरकारले निजी हवाई विमान कम्पनीलाई सहुलियत दिने हो भने विदेशी र नेपालीलाई फरक फरक हवाई भाडा हुँदैन । यसले हाम्रो पर्यटन सुदूरपश्चिम र पूर्वमा पनि बढ्ने सम्भावना म देख्छु । 

एउटा उदाहरण हेरौं, ढाका बैंकक ढाकाको भाडादर २ सय २० डलर, मुम्बई–दुबई–मुम्बईको २ सय डलर, काठमाडौं भैरहवा काठमाडौंको २ सय ५० डलर भनेपछि को जान्छ लुम्बिनी ? अनि उनीहरु नेपालमा आउँछन् किन ? भाडा धेरै महंगो भयो भन्ने विषयमा नेपाल सरकारले गम्भीर भएर सोच्नुपर्छ । कि हाम्रो सिस्टममा केही खराब छ, सरकारले बुझ्न जरुरी छ । सेवा पनि राम्रो नदिने, अनि भाडा पनि महंगो लिने, यो राम्रो होइन । त्यसैले पर्यटक बढी ल्याउने हो भने सेवामा कम्परमाइज नगरौं, गुणस्तरीय सेवा दिऔं ।

पर्यटनका माध्यमबाट आर्थिक समृद्धिमा सहयोग पुर्‍याउने भनेर भ्रमण वर्ष अभियान सुरु गर्न लागिएको हो । दैनिक ४५ डलर खर्च गर्ने पर्यटक ल्याएर अर्थतन्त्रमा कस्तो सहयोग पुग्ला ?

हाम्रोमा तथ्यांक कहाँबाट आउँछ भन्ने कुरामा म चकित छु । धेरै राष्ट्र बैंककै तथ्यांक होला । अहिले चिनियाँ पर्यटक आउँदा धेरैजसो पेमेन्ट बिच्याट र आलिपेमा हुन्छ । त्यो पैसा आएको देखिँदैन, गएको पनि देखिँदैन । तर, पर्यटक त बढेका छन् । यसले कुनै सेन्स दिँदैन । पर्यटक बढेका पनि छन्, होटलको दर पनि बढ्दै गइरहेको छ, तर पर्यटकको खर्च घटिरहेको देखिन्छ । त्यसैले यहाँ केही गलत छ । 

नेपाल राष्ट्र बैंकले कानुनी रुपमै ‘मोड अफ पेमेन्ट’लाई कसरी नियमन गर्ने, कारोबारलाई कसरी पारदर्शी गराउने भन्नेतर्फ सोच्नुपर्छ । नेपालका ट्राभल एजेन्टले ग्राहकले तिरेको वास्तविक पैसा कहिल्यै पनि पाउँदैनन् । यदि कुनै एकजना अमेरिकी नागरिकले अमेरिकी ट्राभल कम्पनीलाई एक रातको २ सय डलर दिएको छ भने नेपालीले पाउने भनेको धेरैमा ७० डलर होला ।

तर, त्यो ७० डलर पनि यहाँ आएको देखिँदैन । त्यो कारोबार विभिन्न तरिकाबाट हुन्छ । त्यसैले नेपालमा आउने पर्यटकको खर्च घट्दै गइरहेको म विश्वास गर्दिनँ । किनभने एकातिर पर्यटक बढ्दै गइरहेका छन्, त्यसैले ‘दिएर इज समथिड रङ इन दि ट्रान्सपेरेन्सी अफ अकाउन्टेन्ट इन दि सिस्टम’ । त्यसलाई पारदर्शी बनाउनैपर्छ । चिनियाँ पर्यटकले कारोबार गर्ने बिच्याट र आलिपेलाई लिगल गरेर त्यो कारोबार वास्तविक कसरी देखाउने त्यो काम गर्नु पर्‍यो । 

अर्को कुरा, आज ट्रेकिङ एसोसिएसनका सदस्य १६ सय छन् । तपाईंले एकपटक हेर्नुहोस्, कतिजना ट्रेकर आउँदा रहेछन् । त्यो १६ सय त दर्तावाला सदस्य हुन् दर्ता नगरेकाहरु कति होलान् । १६ सय कम्पनीले कस्ता खालका सेवा दिइरहेका छन् ? मैले नेगेटिभ रुपमा सोधिरहेको छैन, नेसन बिल्डिङका लागि सोधिरहेको छु । १० वर्षअघि ट्रेकिङ जाने पर्यटकबाट २ सय डलर हामीले लिन्थ्यौं भने आज हामी किन ७० डलरमा बेचिरहेका छौं ? त्यही र्‍याफ्टिङ १५ वर्ष अगाडि ५० डलरमा बेच्थ्यौं भने आज ३० डलरमा किन बेचिरहेका छौं ?

अनि हामी भन्दैछौंकि हामी भुटानजस्तो हुनुपर्‍यो । नेपाल त प्राकृतिक स्रोतमा भुटानभन्दा धेरै धनी छ । त्यो बिगार्ने को हो ? भुटानमा ३ सय डलर तिरेर पनि मान्छे आउन तयार हुने, भुटानभन्दा हामी प्राकृतिक रुपमा धनी भएर पनि यहाँ किन आउन चाहेनन् ? हामी नै कमजोर भएर हो नि ! सय डलरको सेवा २० डलरमा बेचेर गाली कसलाई गर्ने ? त्यो त हाम्रै गल्ती होइन ? सय डलरलाई २ सय डलर कसरी पुर्‍याउने हाम्रो नीति हुनुपर्‍यो ।

आज नेपालमा आउने पर्यटकको खर्च ६० बाट ४० डलरमा किन घट्यो ? सरकारलाई गाली गर्ने कुरा होइन, निजी क्षेत्रले बुझ्न जरुरी छ । या हाम्रो सेवाको गुणस्तर खस्कियो, या हामी सस्ता मात्रै पर्यटक खोजिरहेका छौं कि ! त्यो कसको दोष हो ? यो बुझ्न जरुरी छ । त्यसैले नेपालको पर्यटनको विकास गर्ने हो भने हामी नेपाली निजी क्षेत्र र नेपाल पर्यटन बोर्ड बसेर आगामी पाँचवर्ष कस्तो स्ट्यान्डर्डको बनाउने भन्ने विषयमा काम गर्न आवश्यक छ । 

तपाईं निजी क्षेत्रबाट नै राष्ट्रिय संयोजक बन्नुभयो । निजी क्षेत्रको सहयोग, भूमिका कस्तो पाउनुभएको छ ?

पर्यटन क्षेत्रको नहुँदा कहिलेकाहीं गाह्रो पनि हुन्छ । उहाँहरुको समस्या बुझ्न गाह्रो पनि छ । तर, नेपाल उद्योग वाणिज्य महासंघमा बसेका कारणले काम गर्न सजिलो पनि छ ।

म पर्यटन व्यवसायबाट आएको भए कुनै न कुनै क्षेत्रको हुन्थें होला । होटलबाट आएको भए बढी होटलको बुझ्थें, ट्रेकिङको कमै बुझ्थें होला । र्‍याफ्टिङ व्यवसायबाट आएको भए अन्य क्षेत्रको कम बुझ्थें होला । म नबुझेकै मान्छे भएकाले पनि मलाई सजिलो भएको छ । यो सन्दर्भमा निजी क्षेत्रको सहयोग पाएको छु । सुरुमा उहाँहरुले मान्नुभएको थिएन, यो सत्य हो । 

पर्यटन क्षेत्रलाई उहाँहरुले हेर्ने र मैले हेर्ने तरिका फरक छ । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी हुँदा प्रधानमन्त्रीज्यूसँग कुरा गर्दा पर्यटकले के चाहन्छन् भन्ने उहाँहरुको कन्सर्न थियो, मेरो पनि कन्सर्न त्यही थियो । हिजोसम्म पर्यटन व्यवसायलाई के चाहिन्छ भन्ने विषयमा बढी केन्द्रित हुन्थ्यौं । आज भ्रमण वर्षको माध्यमबाट कसरी हेर्छौं भने पर्यटक नेपालमा आउँदा के खोज्छ ? कस्तो सुविधा खोज्छ ? भन्ने दृष्टिकोणमा परिवर्तन ल्याएका छौं । त्यो सन्दर्भले हामीले हरेक पर्यटन व्यवसायी साथीहरुका मुद्दा उठाएका छैनौं । र, हामी मुद्दा उठाउने प्लेटफर्ममा पनि छैनौं । 

एकछिनलाई मानौं इन्सेन्टिभ दिन पर्‍यो । त्यो सरकारले दिने हो । होटल व्यवसायी संघ, ट्रेकिङ एसोसिएसन, र्‍याफ्टिङ एसोसिएसन छ, उहाँहरुले यसमा काम गरिरहनुभएको छ । तर, मेरो र हाम्रो टिमको काम के हो भने आउने पर्यटकलाई सुविधा कसरी दिने, कस्तो सुविधा दिने भन्ने नै हो । नेपाललाई कसरी सुन्दर बनाउने, नेपालमा आएर फेरि नेपाल फर्कनुपर्छ भन्ने म्यासेज कसरी दिने ? त्यो हाम्रो प्राथमिक उद्देश्य हो । तर पनि, पर्यटन व्यवसायी साथीहरुको सहयोग अवश्य पनि पाएको छु । पर्यटन क्षेत्रमा लगानी पुगेको छैन । 

हामी रेमिट्यान्समा रमाइरहेका छौं । तर, प्रत्येक दिन एकदेखि चारवटा शव पनि फर्किरहेका छन् । यसले एउटा घरमा बत्ति निभिरहेको छ । नेपाल बनाउन नेपाली युवा विदेश पलायन हुनबाट रोकिन जरुरी छ । रोजगारीबिना युवा रोकिँदैन । जलविद्युत्मा लगानी बढे पनि रोजगारी सिर्जना गर्न सक्दैन । कृषिमा युवा जान चाहँदैन । रोजगारी कसले दिन्छ भने भगवान्ले दिएको वरदान, हाम्रो पर्यटन क्षेत्रले दिन्छ । पर्यटनमा युवालाई सहभागी बनाउन सक्ने प्रशस्त सम्भावनाहरू छन् । युवाको शक्ति र ज्ञानलाई यही क्षेत्रमा प्रयोग गर्न सक्छौं । 

अहिले र पहिलेको भ्रमण वर्षमा के फरक छ भने हामीले लगानी भित्र्याउनु पर्छ भन्नेमा पनि केन्द्रित छौं । यसका लागि अहिले भएका साथीहरुको अनुभव पनि लिएका छौं र उहाँहरुको सहयोग पनि मैले पाएको छु । 

तपाईं निजी क्षेत्रबाट आए पनि पर्यटन व्यवसायी नभएका कारण पर्यटनसँग सम्बन्धित संघ, संस्थाबाट यो अभियानलाई खासै सहयोग गरेको जस्तो देखिँदैन, होइन ? उनीहरुले बारम्बार यही गुनासो सरकारसँग गरेको पनि सुनिन्छ ।

जिम्मेवारी लिएपछि काम अगाडि बढाउने हो । उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदा धेरै जिल्ला घुमें । त्यस क्रममा स्थानीय जनतासँग छलफल पनि गरें । र, त्यो सन्दर्भले पर्यटनमा सम्भावना के छन् भन्ने कुरा बुझेकै हो । र मलाई लाग्छ पर्यटन बुझ्नका लागि पर्यटन व्यवसायी नै हुनुपर्छ भन्ने छैन । मार्केटिङ कम्पनीले गाडीदेखि विमान बेच्छ । त्यो भनेको प्रडक्टको डेलपमेन्ट गर्ने हो, कहाँ, कसरी बेच्ने भन्ने हो । 

म प्रश्न गर्न त चाहन्न, तर प्रश्न गर्नुपर्ने जरुरी पनि देख्छु । किनभने मेरो यो एक वर्षको काम हो, यो अभियानको सन्दर्भमा । म पर्यटन व्यवसायी साथीहरु र पर्यटनसँग सम्बन्धित संघ संस्थालाई के सोध्न चाहन्छु भने नेपालमा आगामी १० वर्षमा कस्ता खालका पर्यटक ल्याउने, कहाँबाट ल्याउने, नेपालको पर्यटन क्षेत्रलाई कहाँ पुर्‍याउने, योजना छ ? केही व्यवसायीमा भए पनि, धेरैमा यो योजना छैन । यदि १० वर्षअघि नै योजनाका साथ अगाडि बढेको भए, जो आए पनि काम गर्न सजिलो हुन्थ्यो । 

नेपाल एयरलाइन्स कमजोर छ भन्ने हामी सबै मान्छौं । अर्को चारवटा विमान किन्न सक्दैनौं, त्यो पनि हामी मान्छौं । पर्यटक बढाउन हवाई सेवा बढाउनुपर्छ भन्ने हामी सबैले बुझेका छौं । दिनको पाँचवटा उडान मलेसियाबाट आउँछ । ३० वटा भन्दा बढी उडान मध्यपूर्वबाट आउँछ । तर, खै पर्यटक त्यहाँबाट आएको ? गतवर्ष २४ हजार नेपाली पर्यटक मलेसिया गएको तथ्यांक छ । सोही वर्ष मलेसियाबाट जम्मा २२ हजार आए । मलेसियासहित त्यस क्षेत्रका पर्यटक किन ल्याउन सकिरहेका छैनौं ? हामी अस्ट्रेलिया, अमेरिकाका कुरा गछौं । ह्वाट इज द स्ट्राटेजी ह्वाट वि ह्याभ ? 

वान अफ दि रिचेस्ट मिडल इस्ट हो । त्यहाँ पनि पर्यटक छन् । त्यहाँका मान्छेहरु पनि त घुम्छन् होला, संसार । तर, किन आउँदैनन्, नेपाल ? त्यसक्षेत्रका साथीहरुसँग कुरा गर्दा उनीहरुले नेपाललाई यो गरिब मुलुक हो, यहाँ केही पनि पाइँदैन । हाम्रो देशमा आएर काम मात्र गर्ने खालका मान्छे हुन् भन्छन्, हामीलाई । तर, कहिल्यै हामीले नेपालको सुन्दरताको बारेमा त्यहाँ गएर उनीहरुलाई बुझाएका छौं ? 

हाम्रो देश गरिब हुन सक्छ तर विविधता (डाइभरसिटी) मा हामी धेरै धनी छौं । हामी जेमा धनी छौं, के त्यसको मार्केटिङ गरेका छौं ? नेपालको रणनीति हो के ? म यो प्रश्न हाम्रा पर्यटन व्यवसायी साथीहरुलाई सोध्न चाहन्छु । तर, यो मैले नेगेटिभ रुपमा सोधेको होइन । 

काठमाडौंमा मात्रै होटल खोलेर त हुँदैन नि । एउटा उदाहरण, चारवटा अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल । यो हवाई उडानको आधारमा ५–१० मिनेटको डेस्टिनेसन हो । खै त सुदूरपश्चिम, पूर्वलाई हेरेको । तपाईं हामी खप्तड, रारा, गोक्यो, कञ्चनजंघा, अरुणभ्याली भन्छौं, जाने कसरी ? कस्तो प्रकारको रणनीति हो ? चारवटा अन्तर्राष्ट्रिय विमानस्थल सेन्टरमा हुन जरुरी थियो ? 

सुदूरपश्चिम, पूर्वमा अन्तर्राष्ट्रिय विमानस्थल भए विकास हुन्छ । तर, हाम्रो विकासको योजना छ, कहाँ ? यो प्रश्न गर्न जरुरी छ । म पर्यटन व्यवसायी हो, होइन त्यो मतलबको विषय होइन । तर, जति मैले अहिले पर्यटनका विषयमा बुझ्दै छु, हाम्रो रणनीतिमै केही कमजोरी छ कि भन्ने लागिरहेको छ । यो मैलै कसैलाई गाली गरेको होइन, हाम्रो पर्यटन विकासको रणनीति कस्तो छ, कस्तो बनायौं भनेको हो । सकारात्मक सोचाइले प्रश्न गरेको हो । 

तपाईंले एउटा कार्यक्रममा संख्याको विषयमा भ्रमण वर्ष सुरु भएको ८ महिनापछि मात्रै सोध्नुहोला, अहिलै प्रश्न नगरौं भन्नुभएको थियो । त्यसको मतलब तयारीका हिसाबले २० लाख पर्यटक पुग्छन् भन्ने कुरामा तपाईं अहिले विश्वस्त हुनुहुन्छ, हो ? 

हामी एक वर्षमा २० लाख पुर्‍याउँछौं । अहिलको योजनाको आधारमा यो सम्भव छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पहिलेको तुलनामा धेरै सुधार भइसक्यो । उडानहरु बढ्दै गइरहेका छन्, त्यसले सहयोग पुर्‍याउँछ । गतवर्ष जेट एयरवेज नआउँदा धेरै घाटा भएको थियो । अब स्पाइस जेट, अरु एयरलाइन्सले कभर गर्नेछन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जनवरीमा उद्घाटन गर्ने सरकारले घोषणा गरिसकेको छ । 

त्यो विश्वासले यो विमानस्थलमार्फ्त पनि धेरै पर्यटक आउने म देख्छु । चीनको राष्ट्रपतिले नेपाल घुम्न जाऔं भन्ने अभियान सुरु गरिदिनुभयो, त्यसले ठूलो सहयोग पुर्‍याउँछ । हालै भारत उत्तरप्रदेशका मुख्यमन्त्रीसँग मिलेर केही काम अगाडि बढाउन लागिरहेका छौं । भारतबाट आउने सम्भावना म देख्छु । त्यो २० लाख अहिलेको अध्ययनका आधारमा सजिलोसँग पुग्छ । सँगै नयाँ एयरपोर्ट बन्यो, भएको एयरपोर्ट सुधारियो, तथ्यांक संकलनलाई आधुनिक बनायौं भने त्यसले हामीलाई सहज बनाउँछ । 

२० लाख संख्यालाई हेर्नुपर्ने जरुरी म देख्दिनँ । यो प्रश्न उठाउनु ठिक हो तर प्रश्न उठाउँदा यसलाई नकारात्मक रुपमा नलिऔं । हामी सबै मिल्यौं भने ल्याउन सक्छौं । यो भम्रण वर्ष सफल भयो भने नेपालीको सफलता हो । हामीले यो अभियान सफल बनाउन सकेनौं भने हामी सबै असफल हुन्छौं । त्यसैले पर्यटन व्यवसायी साथीहरु, बाहिर बसेका साथीहरु सबैलाई यो महत्वपूर्ण छ । कोही व्यक्ति, मन्त्रालय, मन्त्रीको कुरा होइन, यो नेपालको कुरा हो । सरकारले लिडरसिप लिएको छ । नयाँ मन्त्रीले जोस, जाँगरका साथ काम गरिरहनुभएको छ । हामी सबै मिल्यौं भने २० लाख सजिलोसँग पुर्‍याउन सक्छौं । हाम्रो एकाउन्टमा ट्रान्सपेरेन्सी मिल्यो भने पर्यटकको खर्च दैनिक पनि ६० डलर नाघ्छ । त्यसका लागि नेपाल सरकारले मेकानिजम बनाउन जरुरी छ । 

यो अभियान सबैको हुनुपर्छ भन्नेमा विमति नभए पनि चुनौती त छन् होला । तपाईंले कस्ता चुनौती देख्नुभएको छ ?

म विदेश गएर नेपालको सन्दर्भमा प्रस्तुति दिँदा नेपाल अप्ठ्यारो मुलुक, खतरा मुलुक, सुरक्षा छैन भन्ने कहीं पनि पाएको छैन । ‘आई लभ योर पिपल, आई लभ योर कन्ट्री, इट्स सेफेस्ट कन्ट्री’ भन्ने पाएको छु । तर, हामी नेपालीले जति माया गर्नुपर्ने त्यो माया नदिएको होकि भन्ने लाग्छ ।

जबसम्म हामी नेपाललाई नै माया गर्दैनौं, विदेशी पाहुनालाई निम्त्याउने कसरी ? त्यसैले सबैभन्दा ठूलो चुनौती भनेको हामी नेपालीले ‘नेपाल इज अ ग्रेट कन्ट्री, नेपाल ह्याज ट्रिमेन्ड्स पोटेन्सियल’ भन्ने बुझ्न प¥यो । यो ‘गड गिफ्टेड कन्ट्री’ हो, यसलाई बुझेर ‘लेट्स अप्रिसिएट’ नेपाल । नेपालीले नेपाललाई माया गर्नु प¥यो र नेपालमा भएको प्रडक्टका बारेमा भन्नुपर्‍यो ।

हामी यस्ता छौं कि बिग्रिएको बाटो बनाउन लाग्दैनौं । हाम्रो बाटो बनेको छैन, यो बिग्रिएको छ, त्यो बिग्रिएको छ, भन्छौं । हामी आफैं यस्तो भन्छौं भने हामी पर्यटकलाई के म्यासेज दिइरहेका छौं । हो, हामीकहाँ प्रदूषण छ । तर, त्यो प्रदूषण कम गराउन कुन चाहिँ निजी क्षेत्रले काम गरेको छ । घर अगाडि फोहोर फ्याक्ने हामी नै हौं । हामी नेपाललाई माया गरौं न । हामीले नेपालाई माया गर्‍यौं भने हाम्रो मुलुक त्यसै अगाडि बढ्छ । इन्डियाले इन्क्रेडिवल इन्डिया भन्छ । हामी के भन्छौं । गुनासो गर्छौं । हामी अलिकति सकारात्मक भयौं भने पर्यटन मात्र होइन हरेक क्षेत्रको विकास हुन्छ । 

आज निजी क्षेत्र काम गर्न अप्ठेरो छ भन्छ, फाइनान्समा गाह्रो छ भनेको सुन्छु । यो त भारत, सिंगापुर, चीनमा पनि छ । नेपालको मात्रै युनिक समस्या त होइन । तर, त्यो समस्या कसरी हटाउने भनेर अरु सबै लागेका छन् । हामी किन लागेका छैनौं ? हाम्रो रणनीति हो के ? हामीले भोलिका युवालाई के दिने भनेर सोच्नुपर्‍यो । म मेरा लागि भनेर मात्रै बसें भने कहाँबाट विकास हुन्छ ? त्यसैले ठूलो चुनौती भनेको ‘हाउ टु नेप्लिज् अप्रिसिएट नेपाल’ नै हो । यो भ्रमण वर्षमा विदेशी ल्याउन कुनै समस्या छैन । धेरैले हामीलाई माया गर्छन्, नेपाली सकारात्मक भए पुग्छ । 

हालसम्मको तयारीप्रति तपाईं संयोजकको हिसाबले कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

साँच्चै भन्दा म व्यापारी हो । एउटा व्यापारीले केही लगानी गर्दा समय लिन्छ, प्रि फिजिविलिटी, फिजिविलिटी, फाइनान्सिएल स्टडी गर्छ । भ्रमण वर्षको लक्ष्य खासमा दुईवटा मात्रै थियो, २० लाख पर्यटक पु¥याउने र वृद्धि गराउने । त्यत्तिले पुग्दैन । पूर्वाधारका कुराहरु थिए । नियुक्त भएको लगभग एक वर्ष भइसक्यो । अब एकवर्षमा हामीले ‘प्रडक्ट डेभलपमेन्ट’, ‘प्रडक्ट मार्केटिङ’ गर्न समय लाग्छ ।

तर, समय कम भए तापनि धेरैको सहयोग हामीले पाएका छौं । परराष्ट्र मन्त्रालयमार्फत् राजदूतावासहरुलाई मोविलाइज गरिरहेका छौं । निजी क्षेत्रका साथीहरुको सहयोगमार्फत् विभिन्न ट्रेड फेयरमा अगाडि बढेका छौं । नेपाल पर्यटन बोर्डले राम्रोसँग काम गरिरहेको छ । मन्त्रालयले काम गरिरहेको छ । यी सबै कामहरुले हामी अगाडि बढेका छौं । राम्रै हुन्छ भन्ने मैले विश्वास लिएको छु । 

उद्घाटनका दिन आउने पर्यटकलाई ‘सरप्राइज’ हुने भनिएको छ, त्यो कस्तो खालको ‘सरप्राइज’ होला ?

विमानस्थलमा आउने पर्यटकलाई हात्तीले स्वागत गर्ने तयारी छ । अवश्य पनि हामीले केही नयाँ गर्छौं नै । एयरपोर्टबाट नै पाहुनाले लाइफटाइम एक्सपेरियन्स गर्ने गरी स्वागत गर्छौं । सरप्राइज विमानस्थलसहित प्रमुख नाकाहरुमा पनि गर्ने तयारी गरिरहेका छौं । अरु अहिलेलाई ‘सरप्राइज’ नै राखौं । सरप्राइज, सरप्राइज नै हुनुपर्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  ०९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC