विशेष
नेकपा एमालेले प्रधानमन्त्रीमा उमेदवारी नदिने निर्णय गरेको छ । कांग्रेस र नेकपा माओवादी केन्द्रसहित अन्य दलको गठबन्धन बनेपछि एमालेले प्रधानमन्त्रीमा उमेदवारी नदिने निर्णय गरेको हो ।
एमाले स्थायी समिति बैठकले यस्तो निर्णय गरेको थियो । यसअघि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई प्रधानमन्त्रीको उमेदवार बनाउने बारेमा छलफल भए पनि नेम्वाङले त्यसबारेमा निर्णय नभएको बताए ।
प्रस्तुत छ, नेकपा एमालेको निर्णय, एमालेको अबको भूमिकालगायत विषयमा एमाले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङसँग अक्षर काकाले गरेको कुराकानी :
नेकपा एमालेले प्रधानमन्त्रीमा उमेदवार नदिने निर्णय किन गरेको हो ?
प्रधानममन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने र जिम्मेवार तथा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
सोमबारसम्म तपाईंलाई प्रधानमन्त्रीको उमेदवारको रूपमा उभ्याइने हल्ला सुनिएको थियो । मंगलबार एमाले यसबाट किन पछि हट्यो ?
यो चर्चामात्रै थियो । तपाईंहरूजस्तै शुभचिन्तकहरूको माया र सद्भावको कुरामात्र थियो त्यो । पार्टीमा अनौपचारिक हिसाबले छलफल भए पनि हामी निष्कर्षमा पुगिसकेका थिएनौँ । त्यसकारण यसमा हामी पछि हटेका होइनौँ । तत्कालीन अवस्थालाई दृष्टिगत गरी हामी उमेदवारी नदिने निष्कर्षमा पुगेका हौँ ।
उमेदवारी नदिएपछि माओवादी केन्द्रका अध्यक्ष दाहाललाई समर्थन गरेजस्तो देखिएन र ?
त्यस्तो हुँदैन । हामीले प्रधानमन्त्रीमा मात्र उम्मेदवारी नदिएका हौँ । हामी प्रचण्डको विपक्षमा मतदान गर्छौं । सरकार बन्न कांग्रेस–माओवादी केन्द्रको गणित पुगिसकेपछि हाम्रो उम्मेदवारीको अर्थ थिएन । त्यसैले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने र विपक्षमा मतदान गर्ने निर्णमा पुगेका हौँ ।
अब सरकारलाई कुन कुरामा विरोध र कुन कुरामा समर्थन गर्नुहुन्छ ?
हामी सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्छौं । यो सर्वमान्य कुरा हो । संविधान कार्यान्वनयका सन्दर्भमा सरकारलाई हाम्रो पूर्ण समर्थन रहन्छ । बाँकी कुरा गठबन्धन र सरकारले अघि सार्ने नीति र कार्यदिशा तथा त्यसले देश र जनतालाई पार्ने प्रभावको आधारमा सरकारलाई समर्थन र विरोध गर्ने कुरा आउँछ ।
मधेसका मुद्दा र सीमांकनका विषयमा एमालेको दृष्टिकोण के हो ?
त्यो त पटक–पटक अभिव्यक्त भइसकेका छन् । त्यस विषयमा हामी छलफलकै क्रममा छौँ । सरकारले कुन–कुन कुरा छलफलमा ल्याउँछ, त्यही आधारमा हामीले पार्टीको धारणा तय गर्ने हो । देश र जनतालाई बाधा पर्ने कुरामा हामी विरोध गर्छौं । अन्य कुरामा रचनात्मक सहयोग गर्छौं ।
राष्ट्रिय राजनीतिमा अब एमालेको भूमिका कस्तो हुन्छ ?
एमालेको भूमिका जहिल्यै रचनात्मक र सन्तुलित छ । यसमा हामी सचेत छौँ । अघिल्लो सरकारले अघि सारेका योजना कार्यान्वयन र आगामी सरकारले तय गर्ने नीतिका आधारमा सरकारलाई कसरी सघाउने भन्ने कुरा आउँछ । हामी सशक्त, जिम्मेवार र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौं ।
प्रकाशित मिति: मंगलबार, साउन १८, २०७३ १३:०४
प्रतिक्रिया दिनुहोस्