प्रधानमन्त्रीज्यूको मिर्गौला प्रत्यारोपण गरिएको १२ वर्ष भएको छ । उहाँको मृगौलाले काम गरेको छैन । मिर्गौलाको काममा ह्रास आउन थालेको र संक्रमणका कारण बीचमा डायलाइसिससमेत गरिएको हो । अहिले जुन एपेन्डिसाइटिसको समस्या आएर अप्रेशन गरिएको छ ।
अन्य कुनै पनि समस्या नआओस् भन्नका लागि विभिन्न उपायहरु अवलम्बन गर्नुपर्ने हुन्छ । सोही अवलम्बन गर्नुपर्ने क्रममा नै बीचमा प्रधानमन्त्रीज्यूको दुईपटक डायलाइसिस गरिएको हो । उहाँको शल्यक्रिया गरिएको दिन एकपटक डायलाइसिस गरिएको थियो भने अर्को बिहीबार अर्थात् हिजो गरिएको थियो । अब उहाँलाई चाहिएको अवस्थामा मात्र डायलाइसिस गरिन्छ ।
अब उहाँको स्वास्थ्य अवस्था सुधार भएको छ । अप्रेशन गरेको र रक्तश्राव हुने सम्भावना बढी हुने हुन्छ । धेरै रक्तश्राव नहोस् भनेर हामीले उहाँलाई प्लेटलेट्स चढाएका थियौँ । जसले रक्तश्राव हुनबाट रोक्छ । यदि रक्तश्राव हुने थोरै मात्रामा देखियो भने पनि यो प्लेटलेट्स चढाइयो भने अन्य जोखिम आउनबाट रोक्छ । यो ठुलो कुरा होइन । यो साधारण बिरामीहरुमा अप्रेशन गरिँदा पनि प्लेटलेट्स चढाउने गरिन्छ ।
अंग प्रत्यारोपण गर्न बिरामी तयारी गर्दाको अवस्थामा पूरै शरीर चेकजाँच गरिन्छ, शारीरिकदेखि मानसिक दुबै चेकजाँच गर्ने गरिन्छ । प्रत्यारोपण गरिएपछि स्वास्थ्य अवस्था एकदमै स्वस्थ्य रहन्छ । अहिले प्रधानमन्त्रीज्यूको एपेन्डिसाइटिसको अप्रेशन गरिएको छ । यो अप्रेशनले दोस्रो मिर्गौला प्रत्यारोपण अपेक्षा गरिएको समयभन्दा अलिकति पछाडि जान सक्छ ।
उहाँको नियमित डायलाइसिस गर्ने वा प्रत्यारोपण गर्नुपर्ने र कहाँ गर्ने भन्ने विषय अझै अन्योल छ ।
अहिलेलाई उहाँ खतरामुक्त हुनुभएको छ । तर भोलि र पर्सी उहाँको स्वास्थ्य कस्तो हुन्छ, त्यो समयले नै बताउँछ । कहिल्यै पनि अप्रेसन आफैँमा जोखिमरहीत हुँदैन । अप्रेशन गर्दा जुनसुकै बिरामीलाई बेहोस् बनाएर भेन्टिलेटरमा राखेर गरिने प्रक्रिया हो । २० वर्षको मानिसको गरिने अप्रेशन पनि शून्य खतरा भने होइन ।
एउटा मिर्गौला प्रत्यारोपण गरेको बिरामी संक्रमणको उच्च जोखिममा हुन्छ । शरीरले रोग प्रतिरोधात्मक क्षमता कम भएर पनि त्यस्तो हुने गरेको देखिन्छ । यो अप्रेशनले नै मिर्गौला प्रत्यारोपण धेरै पछाडि सार्ने भन्ने हुँदैन । मानौँ कुनै बिरामीमा अंग प्रत्यारोपण गर्ने तयारी गरिएको छ । त्यो बिरामीमा पित्त थैलीमा स्टोन देखियो भने पहिला पित्त थैलीको अप्रेशन गरिन्छ । त्यस्तै, प्रधानमन्त्रीज्यूको पनि अहिले एपेन्डिसाइटिस देखियो ।
तर अप्रेशन गरिसकेको छ । अर्को, निजी अस्पताल र सरकारी अस्पतालमा गम्भीर अवस्थामा आएका बिरामीहरुको दुवैमा मृत्यु हुन्छ । निजी अस्पतालमा मात्र होइन सरकारी अस्पतालले मात्र मिर्गौलाको डायलाइसिस धान्न सक्ने अवस्था नै छैन । मृगौलाका सबै बिरामीहरु सरकारले सहयोग गरेता पनि बचाउन गाह्रो हुन्छ यदि निजी अस्पताल नहुने हो भने । नेपालमा नेफ्रोलोजिष्ट विशेषज्ञहरु कम छन् । सरकारी अस्पतालमा रहेको विशेषज्ञले निजीमा पनि सेवा गर्नुपर्ने अवस्था छ । आफ्नो समयभन्दाबाहेक बिहान र बेलुकाको समयमा त्यहीँ विशेषज्ञले दिनु भनेको नराम्रो होइन ।
सरकारी अस्पतालको सेवा निजीको भन्दा केही कम छैन । तर निजीमा जानेबित्तिकै सेवा पाइँदैन भन्ने हुँदैन । सरकारीमा अप्रेशनका लागि तीनमहिना पालो कुर्नुपर्छ । कुनै पनि बिरामी डायलाइसिस गरेर मात्र लामो समयसम्म बस्ने गरेको देखिन्छ ।
तर प्रत्यारोपण गर्दा डायलाइसिस गर्ने झञ्झटबाट मुक्त हुन सक्छ भने अझ राम्रो जीवन जिउन सक्छ ।
(प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिँह शाहले शुक्रबार मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा पत्रकारसँग गरेको कुराकानी)