साहित्यका नाममा ग्ल्यामरको  बिक्री 

 साहित्यका नाममा ग्ल्यामरको  बिक्री 

केही दिनअघि एक बिहानै एउटा सानो जमघट भयो । चार जनामात्रै थियौँ । तर, त्यो सानो एक घन्टाको अवधिमा अहिलेको नेपाली साहित्य र नेपाली साहित्यको अनुवादका विषयमा गम्भीर छलफल भयो । त्यो जमघट छलफल गर्ने उद्देश्यका साथ भएको थिएन । सामान्य भेटघाटको दृष्टिकोणबाट बसिएको थियो, अनामनगरमा । 
जमघटमा थिए, अमेरिकामा विगत लामो समयदेखि बसोबास गर्दै आएका लेखक डा. दुर्गा दाहाल । साहित्यकार श्रीओम रोदन, समालोचक प्राडा लक्ष्मणप्रसाद गौतम । अनि यो पङ्तिकार ।

नेपालको पूर्वाञ्चल क्षेत्रमा लामो समय शिक्षण पेसामा संलग्न रहेका डा. दुर्गा दाहालले पूर्वका धेरै विद्यालयमा अंग्रेजी भाषा पढाए । उनले विद्यार्थीलाई पढाउनुका अतिरिक्त कविता र निबन्ध पनि लेख्दै गए । र, पत्रपत्रिकामा उनका रचना छापिँदै गए ।

अमेरिका पुगिसके पछि उनले आफ्नो जीवनका विविध कथा व्यथा समेटेर दुईवटा पुस्तक प्रकाशमा ल्याए । पहिलो किताब थियो – ‘बोकाहाटदेखि अमेरिकासम्म’ । बोकाहाट आसामको ब्रह्मपुत्र छेउको गाउँ हो जहाँ दाहालको जन्म भएको हो । 

पच्चीसौं वर्ष पाताल प्रवासमा बिताइसकेका डा. दाहाल अहिले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का सल्लाहकार छन् ।

यत्तिक्कै भेटघाटका लागि जुरेको मौकाको प्रयोग गर्दै मैले डा. दाहाललाई नेपाली साहित्यकारका पुस्तक अंग्रेजीमा अनुवाद नहुनुको कारण खोतलेँ । 

उनले पनि स्पष्टतः नाम चलेका साहित्यकारहरूको किताब अंग्रेजीमा अनुवाद नहुनुमा राम्रो अनुवादक नभएको बताए । 

यही प्रसंग केही वर्षअघि अमेरिकामै रहेका आख्यानकार राजव पुडासैनीसँग उठाउँदा उनले पनि अनुवादकको अभाव नै रहेको नै बताएका थिए ।

यहाँ पनि फेरि त्यही कुरो दोहोरिएको थियो । सही अनुवादक छैनन् ! आश्चर्य, यतिधेरै प्राध्यापक डाक्टरहरु हुँदाहुँदै पनि उत्कृष्ट नेपाली साहित्यको अंग्रेजीमा खासै अनुवाद हुनसकेको छैन !

डा. दाहाल भन्दै थिए – “नेपाली साहित्य अंग्रेजीमा आउन नसक्नुको मूल कारण नै कृतिकोे सही र सार्थक अनुवाद नहुनु हो । कुनै पनि साहित्यको अनुवाद भएपछि मात्रै त्यो विदेशीको हातसम्म पुग्छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले भनेजस्तै नेपाली साहित्य नोबेल पुरस्कारका लागि चयन हुन अंग्रेजीमा अनुवाद हुनैपर्छ ।”

डा. दाहालले एउटा अर्को रोचक कुरा उठाए । उनका अनुसार विदेशमा आयोजना हुने कार्यक्रमहरूमा नेपाली नेपालीमात्रै भेट हुन्छन् । तिनले आफ्ना रचना सुनाउँछन् । तर, विदेशी लेखक वा कविलाई नेपालीले आयोजना गरेकोे कार्यक्रममा बोलाइँदैन । न त तिनलाई नेपाली रचना वा त्यसको अनुवाद नै सुनाइन्छ ! अनि कसरी तिनले नेपाली साहित्यका बारेमा जान्ने ? 

वास्तवमा उनले उठाएको कुरो गम्भीर थियो । उनको यस भनाइमा लेखक श्रीओम र समालोचक डा. गौतमले पनि सही थापे । 

त्यसो भए के, अनेसासले अमेरिका वा अन्य मुलुकमा गर्ने कार्यक्रममा विदेशीलाई कविता सुन्न वा नेपाली साहित्यलाई बुझाउन बोलाउनेछन् त ? यो प्रश्न उठे पनि यसको जवाफ बोलाउँछन् भन्ने आउन सक्दैन ।

यद्यपि, डा. दाहाल भन्दैथिए – “विदेशमा नेपाली साहित्यकारले गर्ने कार्यक्रमहरूमा विदेशी लेखकहरूलाई पनि बोलाउनै पर्छ । त्यसपछि  मात्रै विदेशी साहित्यकारका बीचमा नेपाली साहित्य पुग्न सक्छ । त्यहाँ रचना सुनाए पनि नसुनाए पनि महाकवि देवकोटा, कविशिरोमणि लेखनाथ पौडेल, सम, भूपि शेरचन, पारिजात, कृष्णचन्द्रसिंह, शंकर लामिछानेहरूको साहित्यका कुरा उठ्नुपर्छ । अनिमात्रै नेपाली साहित्यका बारेमा तिनले पनि जानकारी पाउँछन् ।”

डा. दाहाल आफू अनेसासको सल्लाहकारमा भर्खरमात्रै चयन भएकोले कतिपय विषयमा बुझेर आफूले नेपाली साहित्यको उन्नयनका लागि काम गर्न प्रतिवद्ध रहेको बताउँदै थिए । 

अनेसासले स्थापनाकालदेखि नै देवकोटा, सम, पौडेल, पारिजातलगायतका पुस्तक खोजेर राम्रो अनुवादकलाई दिएर अनुवाद गर्दै गएको भए आजसम्म धेरै पुस्तक अंग्रेजी भाषा बोक्दै विश्व बजारमा पुगिसक्ने थियो । तर, अनेसासले त्यो काम कहिल्यै गरेन । न त कहिल्यै यस विषयमा चर्चा परिचर्चा नै ग¥यो । गरेको भए आज शून्यको स्थिति रहन्थेन । 

तर डा. दाहाल आफूमाथि शंका नगर्न भन्दैथिए । आफूले त्यसका लागि पहल गर्ने, नसके आफूले ‘वासुदेव–मालती स्मृति प्रतिष्ठान’को स्थापना गर्दै त्यस संस्थाबाट यस्ता कामहरू गर्ने बताउँदै थिए । 

उनी भन्छन्, “म उत्कृष्ट र गहन नेपाली पुस्तकलाई अंग्रेजी भाषामा अनुवाद गर्ने प्रयास गर्छु । नेपालमा पनि विश्वस्तरमा ‘फाइट’ गर्ने किताबहरू छन् र ती यी यी हुन् भन्ने देखाउन म तयार छु ।”

अर्थात्, डा. दुर्गा दाहालले ठूलो जिम्मेवारी काँधमा बोक्ने निर्णय गरेका छन् । 

यसै सन्दर्भमा प्राडा लक्ष्मणप्रसाद गौतमले केही समयअघि मात्रै डा. दाहालले नेपाली साहित्यकारलाई प्रदान गर्नेगरी २ हजार १ सय डलरको पुरस्कारको स्थापना गरेको बताए । यस वर्ष यो पुरस्कार उपन्यासकार लिलबहादुर क्षेत्रीलाई प्रदान गरियो । जुुन पुरस्कार डा. दाहालले असाम गएर स्रष्टा क्षेत्रीलाई प्रदान गरेका थिए ।
यसैबीच प्रसंगवश प्राडा लक्ष्मणप्रसाद गौतमलाई नेपालमा लेखक नै नभएका हुन् त भन्ने प्रश्न गर्दा उनी नेपालमा लेखक भएको तर अहिले आँटाको रोटी नचल्ने चाउचाउमात्रै चल्ने समय भएकोले ती लेखक ओझेलमा परेको बताउँदै थिए । 

प्राडा गौतम भन्छन् – “प्रकाशन संस्कृति होस् वा पठन संस्कृति, दुवैमा चाउचाउ प्रवृत्ति मौलाएको छ । मेरो दृष्टिकोणमा चर्चित किताबले इतिहास बनाउँदैन । प्रतिष्ठित किताब र प्रतिष्ठित लेखकले मात्रै इतिहास बनाउँछन् । खरो लाग्नसक्छ, तर सत्य हो – नेपालमा अहिले आएका पुस्तकहरू ‘मूतको न्यानो’ मात्रै हुन् । यसलाई नेपाली साहित्यमा डरलाग्दो अवस्था भनेर उल्लेख गर्दा अतिरञ्जना हुन्न !”

कुराकानीकै क्रममा डा. दाहाल आफू भरखरै अनेसाससंग जोडिएर सल्लाहकार भएकोले यी विविध विषयमा बुझ्न बाँकी रहेको दोहोर्याउँदै थिए । उनी भन्दै थिए – “नेपाली साहित्यलाई अंग्रेजी भाषामा अनुवादका लागि म सक्दो पहल त गर्ने नै छु । यसका साथै अनेसासभित्रको गलत प्रवृत्तिविरुद्धमा पनि लाग्नेछु ।”
निबन्धकार श्रीओम श्रेष्ठ रोदनले नेपाली साहित्यमा २०४६ सालपछि विकृति मौलाएको भन्दै काम न काजको अनुवादका कारण विदेशमा नेपाली साहित्य झन्झन् गरिब बन्दै गइरहेको बताए । 

साहित्यकार रोदन भन्छन् – “जति किताब अंग्रेजीमा अनुवाद भए, अगतिला कृतिमात्रै अनुवाद भए । जबकी नेपाली साहित्यलाई विश्व बजारमा पु¥याउने पहिलो कडी नै अनुवाद हो ।”

उनका अनुसार माधव घिमिरेको ‘अश्वथामा’ र डायमन शमशेरको ‘वसन्ती’ मात्रै अनुदित कृतिमा अहिलेसम्मै राम्रो कृति भएको भन्न सकिन्छ । 

समालोचक प्राडा. लक्ष्मण र साहित्यकार श्रीओमका अनुसार, जस्को साहित्यमा पहुँच र पकड छैन, तिनका किताब धेरै आइरहेको र जोसंग पैसा छ त्यसले नै आफ्ना अगतिला कृति अनुवाद गराइरहेको अवस्था अहिलेको छ । र, त्यस्तै किताब विदेशी पाठकको हातमा पुगेका छन् । 

“त्यस्ता किताब विदेशीले पढ्दा नेपाली साहित्यप्रतिको उसको दृष्टिकोण कस्तो रहला ? उसले कस्ता खराब छ नेपाली साहित्य भन्ने नै त सोच्छ ।” लेखक रोदनको भनाइ छ ।

यथार्थ हो, डा. धु्रवचन्द्र गौतमको कुनै किताब अंग्रजीमा अनुवाद भएको छैन । शंकर लामिछानेको किताब अनुवाद भएको छैन । कृष्णचन्द्र सिंह प्रधान र पारिजातको किताब अनुवाद भएको छैन । नेपाली साहित्यलाई विश्व साहित्यको लहरमा राख्नसक्ने यिनका किताब र लेखक अनुवाद हुनै सकेका छैनन् । 
‘दौलतविक्रमको ‘चपाइएका अनुहार’ विदेशी भाषामा खै पुगेको ? त्यसले विश्व हल्लाउन सक्छ । त्यस्ता किताब नजाने । नामै नसुनेका मानिसको किताब अनुवाद भएर जाँदा नेपाली साहित्य विश्वमा कसरी चिनिन्छ र !’ श्रीओम दुखेसो पोख्दै थिए ।

प्राडा गौतमले अहिलेका प्रकाशकले साहित्यका नाममा ‘ग्ल्यामर’ बेच्दै आएको बताए । उनले एउटा प्रसंग सुनाए । नेपालमा प्रयोगवादी साहित्यलाई पाठकका लागि पस्कने साहित्यकार प्रा. मोहनराज शर्माको एउटा पुस्तक एक प्रकाशकले सात वर्षअघि प्रकाशन गर्ने भन्दै लगे । तर, उनले त्यो पुस्तक आजसम्म छापेमा छैनन् ।
समालोचक डा. गौतम भन्छन्, “नेपाली साहित्यमा गहन र गम्भीर कृतिहरू छन् । मैले यस्ता धेरै पुस्तक पढेको छु । तर ग्ल्यामर बेच्न उद्यत प्रकाशकहरूले त्यस्ता कृति र त्यस्ता कृति दिने साहित्यकारलाई खोज्नै सकेका छैनन् !”

करिब आधा घन्टा साहित्यका विविध विषयमा चर्चा भए पछि कुरो टुङग्याउँदै डा. दाहालले यस विषयमा आफूहरू चुकेको बताए । उनी भन्दै थिए – “डा. गौतम र श्रीओमजीले भनेजस्तै अब सही यात्राका लागि सही  बाटो पक्कै खोज्नेछु । अब कसैले दुःखमनाउ गर्ने ठाउँ पाउने छैनन् ।”

तर, एउटा कुरो पक्कै के हो भने डा. दुर्गा दाहालले नेपाली साहित्यलाई अनुवाद गर्दै सगरमाथाको देशका लेखक भनेर चिनाउँदै गर्दा तिनलाई सजिलो भने पक्कै हुनेछैन । किनभने केही फरक गर्न खोज्ने मानिसको खुट्टा तान्ने प्रवृत्ति नेपालमा आजको होइन, उहिलेदेखिकै हो ! 
 

राजेश खनाल

प्रतिकृया दिनुहोस
ad