site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
भ्रष्टाचार नगर्ने प्रधानमन्त्रीलाई सोधौं– सिङ्गापुरमा कसको पैसाले उपचार गराउनुभयो ?
Sarbottam CementSarbottam Cement

उपनिर्वाचन आउन ५ दिनमात्रै बाँकी छ । मत खसाल्ने दिन नजिकिँदै जाँदा उमेदवारहरूलाई भ्याइनभ्याइ छ । पार्टीका शीर्षस्थ नेताहरूलाई पनि उत्तिकै चटारो छ । घरदैलो– कोणसभामा भ्याइनभ्याइ छ । सरकारको मध्यावधि समीक्षा भएकाले रिक्त स्थानबाहेकका मतदातालाई पनि उपनिर्वाचनको चासो छ । तर उत्तरपूर्वी भक्तपुरको दृष्य भने अलि फरक छ ।

प्रदेशसभाको निर्वाचन हुने कमलविनायकदेखि मास्तिरको क्षेत्रमा चुनावको चहलपहल खासै छैन । मतदाताहरू चोक–चौतारामा होइन बरु खेत–बारीमा छन् । चुनावभन्दा मङ्सिरकै चटारो छ त्यहाँ । मुख्य राजनीतिक दलले निर्वाचन लक्षित कार्यक्रम र घरदैलोमा पार्टीका प्रतिनिधि र मझौला तहका नेता खटाइरहेका बेला साझा पार्टीका संयोजक रवीन्द्र मिश्र आफैं मैदानमा खटिएका छन् ।

झण्डै सातदिन उनी कास्कीमा प्रतिनिधिसभाको निर्वाचन हुने क्षेत्रमा खटिए । पसिनासमेत नओभाई मिश्र भक्तपुर पुगे र आइतबार दिनभर घरदैलोमा सक्रिय रहे । भक्तपुरको दृष्यले उनलाई बेचैन पनि बनायो । केही दिनअघि भत्केकोपाटी–नगरकोट जोड्ने १६ किलोमिटर सडक ठेक्का–सम्झौताको सातवर्षसम्म पनि नबनेको भन्दै स्थानीयबासी विद्रोहमा उत्रिएको खबर सुनिएको थियो । नगरकोटका होटल–व्यवसायीले आक्रोशस्वरूप ठेकेदार शारदा अधिकारीको तस्बिर घरको कम्पाउण्डमा, गाडीका हुटहुटमा टाँसेको खबर बाहिरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तर आइतबार छारोधूलोले भरिएका कमलविनायक– नगरकोट सडकका छेउछेउका घरमा नेकपा–कांग्रेसका चुनाव चिह्न अङ्कित झण्डा फरफराइरहेको देख्दा मिश्रलाई ननिको लाग्यो ।  नगरकोट जाने सडकको मुख भत्केकोपाटीमा पार्टीले आयोजना गरेको कोणसभामा उनले त्यही धूलाम्य बाटो देखाउँदै पुराना पार्टीबाट विकास–परिवर्तन सम्भव नभएको बन्दै विकल्प रोज्न बिन्ती गरे ।

चुनाव प्रचार–प्रसारमा राति अबेरसम्म सक्रिय रहेका मिश्रसँग बाह्रखरीकर्मी अक्षर काका केशव सावदले भक्तपुरमा घरदैलोकै बीच गरेको कुराकानीः 
 
यो उपनिर्वाचन सरकारको मध्यावधि समीक्षा पनि हो । तपाईं कास्कीमा घरदैलो सकेर भक्तपुर आइपुग्नु भएको छ । सरकारको काम–कारवाहीबारे यहाँका मतदाता के भन्दा रहेछन् ?

Global Ime bank

हाम्रो समाज अचम्मको छ । सरकारको काम–कारवाहीप्रति सत्तासीन दलकै स्थानीय, क्षेत्र, जिल्ला र त्योभन्दा माथिका नेता–कार्यकर्ता कोही सन्तुष्ट छैनन् । प्रतिपक्षी दलको गतिविधि, भूमिकाबाट पनि वाक्क भएका छन् । अरू दलहरू त हुने नै भए । अहिले सरकारको कामबाट सन्तुष्ट कोही नै छैनन् भन्दा हुन्छ ।

तर मनमा यति असन्तोष छड्कँदा पनि घरका झ्याल–ढोकमा तिनै सूर्य र रूखको झण्डा राखेर बस्नुहुन्छ । विडम्बना के भने, यत्रो असन्तुष्टि छ, अविकास छ, हिजो पो विकल्प थिएन, अहिले त विकल्प छ त !  विकल्प पनि सबैले आशा र भरोसा गरिरहेको पार्टी उहाँहरूको आँखा अगाडि छ । त्यसो हुँदा मैले यहाँका मतदातालाई आग्रह गरेँ– अब त विकल्प रोज्नूस् ।

मतदातामध्ये एकजनाले भन्नुभयो– “रोज्न त हुन्थ्यो, तर म त जन्मिएदेखि नै फलाना पार्टीको ! कसरी साझालाई मत दिनू !” म जन्मिएदेखि फलाना पार्टीको, ३० वर्ष भयो यो पार्टीमा लागेको भन्ने समाजको र तिनका सदस्यको चिन्तन, दृष्टिकोण र प्रवृत्ति नै नेपालको रूपान्तरणको बाधक हो ।

अब पार्टीभक्त, दलभक्त नागरिकबाट स्वतन्त्र नागरिकमा बदलिनुपर्‍यो । तब मात्र मुलुक बदलिन सम्भव छ । जसको लक्ष्य, उद्देश्य राजनीति गर्ने छ, ऊमात्रै राजनीतिक दलमा आवद्ध हुने र बाँकी स्वतन्त्र नागरिकको हैसियतमा रहनुपर्छ । पार्टीगत चिन्तनबाट माथि उठ्दामात्रै गुण र दोषका आधारमा मत हाल्न सकिन्छ ।

हामी सरकारको मध्यावधि समीक्षाकै कुरा गरिरहेका छौं, सरकारको कामकारवाहीप्रति यहाँको पार्टीकोचाहिँ के टिप्पणी छ ?

वर्तमान नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली नेतृत्वको सरकार, गएको ७०–७५ वर्षयताकै शक्तिशाली सरकार भनिँदैछ । गएको ३० वर्ष बहुमतप्राप्त दलले कहिल्यै पूर्णकाल काम गर्न पाएन त्यसैले नेपाल विकासको बाटोमा हिँड्न सकेन भनेर पनि पुराना दलहरूले भन्दै आएको सुनिन्छ ।

तर अहिलेको सरकारलाई दुईतिहाइको समर्थन प्राप्त छ । दुईतिहाइको जनसमर्थन हुँदाहुँदै सरकार यस्तो जञ्जालमा फसेको छ, विचौलियाको घेराबन्दीमा छ । पार्टीगत स्वार्थ त परै जाओस्, आफ्नै व्यक्तिगत स्वार्थबाट उम्कन सकेको छैन । जो आफ्नै स्वार्थको घेराबन्दीमा छ, यसले समाज र देशका लागि कसरी सोच्न सक्छ ?

सरकारले न त इमान्दारिता र उत्कृष्टतालाई प्रवद्र्धन गर्न सकेको छ । न त पद्धति र पारदर्शीता नै अपनाउन सकेको छ ।

देश–दुनियाँले देखेको छ, सरकार काण्डै–काण्डले मुछिएको छ । दुई तिहाइको सरकारले आर्थिक रूपान्तरण र विकासमा फड्को मार्न कुनै कदम चाल्न सकेको छैन । तपसिलका विषयमा अल्झिइरहेको छ ।

केही दिनअघि मात्रै मन्त्रिपरिषद् हेरफेर भयो पार्टीको अध्यक्षका बुहारीचाहिँ कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा पुछारमा परे पनि पद नजाने ! जो तुलनात्मक रूपमा राम्रो छ भनेर चर्चा गरिएको छ, उसकै पद जाने ! यसलाई के भनेर टिप्पणी गर्ने ?

यिनीहरूले कसैले भनेको सुन्दैनन् । सुन्न जरूरत पनि ठान्दैनन् । मैले त बेलाबखत भन्ने गरेको छु । यिनीहरू आँखा र कान छोपिने गरेर माला लगाएर हिँड्ने नेता हुन् । आँखा छोपिन्छ, यिनीहरूले दुःख पाएका जनतालाई देख्दा पनि देख्दैनन् । कान पनि छोपिएको छ, उनीहरू जनताका रोदन, पीडा सुन्दा पनि सुन्दैनन्, सुन्ने सम्भावना पनि छैन ।

प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार सहन्नँ भने वाचा गर्नुहुन्छ, कसम खानुहुन्छ ? यहाँहरू सरकारको कामकारवाही पारदर्शी भएन भनेर टिप्पणी गरिराख्नुभएको छ, कारण ?

प्रधानमन्त्रीले भ्रष्टाचार सहन्न भनेको ज्यादै सुनेको छु । उहाँलाई गएर सोध्नूहोस् न– कसको पैसाले दुई पटक सिङ्गापुर गएर उपचार गरेर आउनुभयो ?

उहाँ फेरि पनि अमेरिका जाने चर्चा चलिरहेको छ । अमेरिकामा उपचार गर्न जाँदा लाग्ने खर्च आफू सांसद, मन्त्री, प्रधानमन्त्री हुँदा जम्मा गरेको पैसा नै हो कि, कुनै व्यापारीले खर्च गर्दिन्छ भनेर सोधौं न ।

प्रधानमन्त्री मुखले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँछु भनिराख्नुभएको छ, व्यवहारले त्यसको खण्डन गरिराखेको छ, हो ?

प्रधानमन्त्रीको मात्रै होइन कसैको पनि बोलीअनुरूपको व्यवहार छैन ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको सांसदको तलब–भत्ताले दसदिनको पनि खर्च पुग्दैन । तर परिवारका विस्तृत सदस्य लिएर संसारकै महँगो होटलमा एकहप्ता बिताएर आउनुहुन्छ । त्यो पैसा कहाँबाट आयो ? सोधौं न एकपटक ।

उहाँहरूले राजनीति गरेको कसको नाममा ? जोसँग चप्पल लगाएर हिँड्न सक्ने आर्थिक हैसियत छैन । जो स्कुल जान पाएनन् । जसको बासका लागि आफ्नै घरसमेत छैन । उनीहरूको नाममा राजनीति गरेर यो अपराध गर्ने छुट छ उनीहरूलाई ?

प्रतिपक्षी दलका नेतालाई सोध्नुस् न, उहाँको आलिशान जिन्दगीका लागि श्रीमतीको पैसामात्रै पर्याप्त छ । पेटमा साधारण समस्या आउँदा छोरा र श्रीमती लिएर सिङ्गापुरमा उपचार गराउन जानुहुन्छ । 

उहाँहरूले निरन्तररूपमा यस्ता अपराध गर्दै आउनुभएकाले हामी विभिन्न पेसा–व्यवसायमा आवद्ध थियौं तर राजनीतिकरूपमा हस्तक्षेप गर्न आउनुपर्‍यो ।

तपाईं उपनिर्वाचनकै सन्दर्भमा देशका विभिन्न ठाउँ पुग्नुभयो, जनताको मनोभावना, आकाङ्क्षासँग साक्षात्कार पनि हुनुभयो ? तर उनीहरू अझै नेकपा–कांग्रेस नै रोज्न किन बाध्य छन् ? भरोसा किन टुटेको छैन ?

यसलाई म ‘स्टकहोम सिन्ड्रोम’ भनेर परिभाषित गर्न रुचाउँछु । स्विडेनका राजधानी स्टकहोम । जसको नामबाट मनोवैज्ञानिकहरूले मानसिक समस्याको नामाकरण गरेका छन् ।

सन् १९७३ मा स्टक होममा एउटा बैंक लुटियो । बैंकमा कार्यरत केही कर्मचारी अपहरित भए । अपहरितहरूलाई लुटेराहरूले मनोवैज्ञानिक त्रासदी खडा गरे, कयौं दिनसम्म ।

तर परिणाम के आयो भने, अपहरितहरू तिनै लुटेरा, डकैतहरूसँग भावनात्मक सम्बन्धमा बाँधिए । उनीहरूलाई अपहरणकारीसँग अलग गराउनै गाह्रो भयो । मनोवैज्ञानिकहरूले त्यसैलाई ‘स्टकहोम सिन्ड्रोम’ भनेर अर्थ्याउँदै आएका छन् ।

गएको ३० वर्षमा नेकपा–कांग्रेसले नेपाली समाजमा त्यही ‘स्टकहोम सिन्ड्रोम’को विकास गरेका छन् । नेपालीमा अर्थ्याउँदा नेकपा–कांग्रेसले राजनीतिक माया–जालको विकास गरेका छन् । राजनीतिक माया–जालमा परेका बेला, तार्किक, वस्तुपरक विश्लेषण कसैले सुन्दैनन् ।

अहिले नेकपा–कांग्रेसले समाजमा राजनीतिक रङ यसरी पोतेका छन् । मतदातालाई धुन–पखाल्न निकै कष्ट भइरहेको छ । त्यो रङबाट हामीले मुक्त गर्नुपर्छ ।

खुसीको कुरा सुदूरपश्चिका विभिन्न जिल्ला, दाङ, पोखरा, भक्तपुर, धरानमा विभिन्न कार्यक्रममा जादाँ त्यहाँका मानिस दिक्क भइरहेका छन् । उनीहरू आफैं मायावी जालबाट उम्कन र नेपाली राजनीतिमा विकल्पको पहिचान गर्न व्यग्र छन् ।

गएको निर्वाचनमा हाम्रो कुनै आधार थिएन । सङ्गठन थिएन । मतदाताकहाँ पुग्न पनि पाएका थिएनौं । तथापि देशको पाँचौं पार्टी बन्यौं । प्रदेश नम्बर ३ र गण्डकी प्रदेशमा तेस्रो पार्टी बन्यौं । यो उपनिर्वाचनमा मतदाताले हामीप्रति जुन विश्वास दर्शाइरहनुभएको छ, त्यसको सङ्केतले समाज परिवर्तनतर्फ उन्मुख छ भन्ने विम्बित गर्छ ।

यस्तो पनि टिप्पणी सुनिन्छ– जनता विकल्प चुन्न र छान्न तम्तयार छन् । तर तपाईंहरू विकल्पका रूपमा नै आउन सक्नुभएन ! तपाईंहरूले आकर्षण नै पैदा गर्न सक्नुभएन !

हामीबाट अपेक्षा बढी भयो । हामी दुईवर्ष त चुनाव लड्नै व्यस्त भयौं । अरू त बीसौं वर्षदेखि चुनाव लड्न अभ्यस्त थिए । पार्टी नै बनेको थिएन, स्थानीय चुनावमा होमिनुपर्‍यो । प्रादेशिक, संघीय चुनाव र अहिले उपचुनावमा सक्रिय छौं । यसबीचमा हामीले सबैतिर हाम्रा अजेण्डा पु¥याउन भ्याएका छैनौं ।

तर जनताले यस्तो आशा गर्नुभयो कि, ७० वर्षको इतिहास बोकेको पार्टीजस्तै देशव्यापी सङ्गठन फैलियोस् । कमिटी विस्तार होस् । बलियो खुट्टामा उभिन सकोस् । यो हामीप्रतिको प्रेम, स्नेह हो । आशा, भरोसा हो । हामी छिट्टै जनताको यो विश्वास पूरा गर्ने ठाउँमा आफूलाई पु¥याउँछौं ।

हामीकहाँ पार्टी भन्नेबित्तिकै क्रान्ति, आन्दोलन भन्ने बुझाइ छ । कतै तपाईंहरू पनि यो बुझाइको कोपभाजनमा पर्नुभयो कि ?

तपाईंले भनेको केही हदसम्म सत्य हो । पुराना राजनीतिक दलले के कथ्य स्थापित गरिदिए भने– जो जेल परे, जसले प्रहरीको कुटाइ खाए, जसले बलिदान दिए, उनीहरूले पो हो त राजनीति गर्ने ! तिमीहरूजस्ता जेल नपरेका, आन्दोलन नगरेका, पहिले आरामसँग जागिर खाएकाहरू आएर राजनीति गर्ने हो ? भन्ने कथ्य स्थापित गरिदिएका छन् ।

त्यसो हो भने, ०४६ सालपछि जन्मिएका युवाले राजनीति नगर्ने ? उनीहरूले जेलनेल खाएनन् । प्रहरी र सेनाको कुटाइ पनि खाएनन् । उनीहरूले युद्ध पनि लड्नु परेन । उनीहरूचाहिँ राजनीतिमा प्रवेश नै गर्न पाउँदैनन् त ?

यस्तो कथ्य स्थापित हुने हो भने, यस्तो तर्क गरेर बस्ने हो भने यो देशमा क्षमताको कदर कहिले पनि हुँदैन । सक्षम युवा, जनशक्ति देशको राजनीतिको मूल प्रवाहबाट ओझेल पर्छन् ।
संसारका कुनै पनि देशमा इमान्दार, क्षमतावान् र दूरदृष्टिपूर्ण नागरिकहरू राजनीतिमा नआइकन कुनै पनि देश बदलिएको छैन ।

हामी निर्वाचनका संघारमा छौं । ५ दिनपछि उपनिर्वाचन आउँदैछ । साझा पार्टीकै चुनाव चिह्नचाहिँ किन रोज्ने ?

तराजु चुनाव चिह्नमा दुई–तीन कारणले मत हाल्ने । पहिलो, साझा पार्टी जुन विचार र दृष्टिकोणका साथ मैदानमा खडा छ, जुन किसिमको सङ्गठनात्मक ढाँचा बनाउन खोजेको छ मत हाल्नुपर्ने मुख्य कारण यही हो ।

हामी कल्याणकारी लोकतन्त्रमा विश्वास राख्छौं । कल्याणकारी लोकतन्त्रले लोकतान्त्रिक, प्रजातान्त्रिक विचार बोक्ने र सर्वहारा अथवा साम्यवादको आवाज उठाउनेहरूको भावना दुवै विचारलाई एकै ठाउँमा समाहित गर्छ । दुवै एउटै झण्डामुनि अटाउँछन् । 

यो सैद्धान्तिक कुरा भयो । अर्को, अजेण्डागत रूपमा हामी २०४६ सालपछि नेपालको राजनीतिको उच्च राजनीतिक र प्रशासनिक नेतृत्व सम्हालेका सबैको सम्पत्ति छानबिन गर्छौं ।

सरकारी वेतनधारी कुनै पनि राष्ट्रसेवक कर्मचारीले युनियनबाजी गर्न पाउँदैनन् । सबै युनियन खारेज गर्छौं । शिक्षा र स्वास्थ्य मूलतः राज्यको दायित्व हो । भक्तपुरको बजारमा जन्मिएको बालक र जनकपुरको गाउँमा जन्मिएको बालकले आधारभूत रूपमा प्राप्त गर्नुपर्ने शिक्षा, स्वास्थ्यको सुविधामा सहान हक, अधिकार, पहुँचको सुनिश्चितता हुनुपर्छ । पछि उनीहरूको बुद्धि, कर्मले छुट्टै क्षमता होला । यी यस्ता एजेण्डा अहिलेका पुराना पार्टीले बोक्न सक्दैनन् । उनीहरूले वैचारिक धरातल गुमाइसकेको अवस्था छ ।

हामीले प्रष्ट भनेका छौं– सेना र प्रहरीमा हस्तक्षेप गर्दैनौं । हामी नीति निर्माण गर्नुपर्ने सांसद ठेकेदार बन्नेगरी दिएको ६ करोड रुपैयाँ लिनेछैनौं । देश विकासको स्रोतको व्यवस्थान र परिचालनबारे पनि हामी अरूभन्दा प्रष्ट छौं ।

तसर्थ साझा पार्टीको विचार, दृष्टिकोण र अजेण्डा हेर्ने एउटा कुरा । अर्को, आफ्नो छोराछोरी र परिवारलाई पनि हेर्नुपर्छ ।

आजभन्दा १५–२० वर्षअगाडि देशका अधिकांश परिवारको आर्थिक हैसियत जस्तो थियो । आज पनि त्यसमा तुलनात्मक भिन्नता छैन ।
 
आज एउटा परिवार पोखरा घुम्न जान पर्‍यो भने घरमा पैसा छैन भने खुम्चनुपर्छ । विदेश घुम्न जाने भनेर सोच्ने अवस्था पनि छैन । ३० वर्षको अवधिमा दक्षिण कोरियाजस्तो देश, चीन, सिङ्गापुर, मलेसिया, इथोपिया अथावा हाम्रो छेउका बिहार कहाँबाट कहाँ पुग्यो ? आयस्तर बढेपछि उनीहरूको जीवनस्तरमा ठूलो परिवर्तन आएको छ । घुम्ने, खाने, मनोरञ्जन गर्ने कुरामा सोच्नु पर्दैन ।

अतः नेता, पार्टी हेरेर होइन, आफ्नो परिवारलाई न्याय भएको छ कि छैन भनेर, मेरा छोराछोरी राम्रो स्कुल जान पाएका छैनन्, म र मेरो परिवारले विषादी हालेको तरकारी खान अभिशप्त छन्, मेरा बाआमा धुवाँ–धूलो खाएर बसेका छन्, भनेर विचार पुर्‍याउनुपर्छ ।

हामीले भ्रष्ट नेतालाई न्याय र आफ्नै परिवारलाई अन्याय नगरौं ।

नेपालमा वैकल्पिक शक्तिहरूको उदय नभएको होइन । समय क्रममा उदय भइ पनि रहेको छ । हुर्कनै नपाइ उनीहरूमा विग्रह, विभाजन देखिन्छ । गएको वर्ष साझा पार्टी र विवेकशील पार्टी एकीकरण भयो । तर १७ महिनापछि दुवैले आ–आफ्नै तय गर्‍यो । तपाईंहरू पनि पुरानै पार्टीजस्तो त देखिनुभयो नि !

ठूला पार्टी, पुराना पार्टीलाई आम जनताले गाली गरेको तिमीहरू आठ पटक फुट्यौ, नौ पटक गाँसियौ भनेर हो र ? उनीहरूले जनताको आकाङ्क्षा पूरा गर्न सकेनन्, विकासको कार्यभार बोक्न सकेनन् भनेर जनताले गाली गरेका हुन् । 

अतः यो लामो यात्रामा कोही जोडिन्छन् । कोही छुट्छन् । कोही छुट्टिन्छन् । हो, हामीसँग केही साथी जोडिनु भएको थियो । धेरै साथी हामीसँगै हुनुहुन्छ । केही छोडेर जानुभयो । त्यो ठूलो मुद्दा होइन । ठूलो कुरा त हामी हाम्रो उद्देश्य र यात्राप्रति कत्तिको इमान्दार छौं, विचलित भएका छौं कि छैनौं भन्ने हो ।

तपाईंले भनेको साँचो हो, हाम्रो नेपालमा सन् १९९० देखि नै वैकल्पिक पार्टीहरूको उदय हुन थालेको हो ।  आज साझा पार्टी जुन स्थानमा छ, जसरी जनताको विश्वास आर्जन गरिराखेको छ । त्यस्तो अवस्था कुनै पनि पार्टीले सिर्जना गर्न सकेको होइन । छैन ।

अहिले वैकल्पिक पार्टी भनेर जनताले विश्वास गरिराखेको, बुझिराखेको, आशा र भरोसा गरिराखेको साझा पार्टीमात्रै हो । 

हामी अहिले विकल्प छौं । निकट भविष्यमा निर्विकल्प बन्छौं ।
तस्बिरः फेसबुकबाट 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६  ०९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC