site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बासँग साटेको गणतन्त्र !
Ghorahi CementGhorahi Cement

अक्षर काका


त्यस दिन रातभरि गोली चल्यो । शिवपुरीको उत्तर, वायव्य र पश्चिमी कुइनेटोमा नाइटभिजनले गस्ती गर्‍यो । सिन्धुका किनार र इन्द्रावतीको जँघारभरि भीषण बमबाडी भयो । ओच्छयानमा सपना कोरलिरहेकाहरू त्राहिमाम भए । कति रैथाने देवीदेवता भाक्दै प्राणरक्षाको आखिरी पुकार गर्न थाले । बिजुली चम्किए झैं आकाशमा आतङ्कले एकनास परेड खेलिरह्यो ।

बमबारुदको भुङ्ग्रोमा बाँचेको रात बियाँलो गरी बिदा भयो । गोलीले निल्न बाँकी रहेका निमुखाहरू खँदिलो उच्छ्वास छाड्दै दैनिकीमा फर्कंदा भए ।

Agni Group

भोलिपल्ट स्कुल हिँड्ने बाटोभरि आतङ्क लावालस्कर लागेको थियो । स्कुलको चौरीभरि उही आतङ्क कबाज खेलिरहेको थियो । बमबारुदको आतङ्कले ओइलाएका रूख–पात मूर्तिवत् मौन थिए । पुसे ठिहीमा स्युस्यु काढ्दै बाँकटे लुगामा स्कुल आएका केटाकेटी पाठापाठीले कौतूकपूर्व माउको अनुहार हेरे झैं ध्यानमग्न रूपमा शिक्षकका मुर्झाएका अनुहार नियालिरहेका थिए ।

सरासर एउटा छापामार अघि बढ्यो । फौजी पोसाकमा कम्मरमा चिटिक्कको खुकुरी भिरेको, बढो स्फूर्ती थियो अनुहारमा । आँखा उस्तै आगाको फिलिङ्गो झैं भर्भराउँदा थिए । भर्खर सोकेसबाट निकाले झैं लाग्ने गोल्डस्टार जुत्ता चिटिक्क सुहाएको थियो खुट्टामा ।

Global Ime bank

उसका रवाफिला पैताला गणित शिक्षक भएनेर गएर टक्क अडिए । “शिक्षक भएर बाह्रमासेसँग बसेर तास खेल्न शरम लागेन ?” ऊ लट्टेझैं पड्कियो ।

गणित सरको बोल्ती ठप्प भइसकेको थियो । माईथानमा पर्सिएको बोको झैं उनका ओठ थरथरी काँपिरहेका थिए । दुवै कानका लोती रगत चुहिएलागरी रातिएका थिए । मस्तिष्कमा आतङ्कको सूल उठिरहेको हुँदो हो ।

“देख्यौ साथीहरू बुर्जुवा शिक्षकको रङ्ग यस्तै हुन्छ । सामन्त–शिक्षाले जन्माउने भनेकै यस्तैयस्तै पाखण्ड अनुहार हो ।” मध्यचौरमा केरकार गरिरहेको क्रान्तिकारीको लिहिलीमा बिछ्याएको तातो फलामजस्तो वाक्य कसैले बुझेनन् । वाल्ल परेर चोकको सालिक झैं प्रतिक्रियाविहीन खडा भइरहे ।

“बाबू ! एकपटकलाई छाड्दिनुस् । मति बिग्रिएर एकैपटक... खालमा बसिहाल्नुभएछ । सधैंभरि खेल्ने बाह्रमासे पनि त होइन,” पर कुनाबाट हेडसरको अकिञ्चन आवाज सुनियो । पहिलोपटक प्रधानाध्यापकको त्यति धोद्रे र रुञ्चे आवाजको अनुभूति गरे, लडकालडकीले ।

“एकपटक गरे पनि, आदत बसाले पनि गल्ती गल्ती नै हो ? बुझ्नुभो,” ऊ भर्खर मोहोरीबाट छुटेको गोली झैं पड्कन छाडेको थिएन ।

“तास खेल्ने हात काटिदिऊँ कि, यो तास निल्ने ?” केरकार गर्ने लाल–युवक अलि जब्बरै थियो । ऊ नानातरहले शिक्षकलाई अत्याउन खोज्थ्यो ।

हात काट्ने शब्दले घोच्नेबित्तिकै गणित शिक्षकको अनुहारको भावभङ्गिमा बदलियो । युवकको हात समातेर बिन्तीभाउ गर्न थाले, “एकपटक, झुक्किएर खालमा गएकै हुँ । एक हातबाहेक तास समातेको भए मरिजाउँ ! यत्तिको सजायँ यो हात छिनाउनुहुन्छ त ?”

“ल ! भइगो एकफेरलाई । आइन्दा खेलेको थाहा पायौं भने, यही रूखको अचानामा दुवै हात गिँडिदिन्छौं,” तुरुन्तै गल्यो क्रान्तिकारी । मुट्ठिमा खिचेको प्राण उन्मुक्त छाडिदिए झैं गर्‍यौं । जीवनको भिक्षाटन पाएपछि शिक्षकको छायाच्छन्न अनुहारमा क्रमशः घाम फिजिँदै गयो ।

शिक्षकमाथिको भाँटे–कारवाही थामिएपछि क्रान्तिकारीहरू लाखापाखा लाग्न थाले । चौरबाट आतङ्कको श्यामलो छाया हट्दै गएपछि विद्यार्थीहरू आ–आफ्ना कोठामा फर्किए ।

अचम्म ! राम फर्किएन ! क्रान्तिकारीहरू सिन्धुदोभान हुँदै शिवपुरीको घनाजङ्गलमा अलप भइसके । तैपनि ऊ कक्षा कोठामा आएन ।

कहाँ गयो राम ? कतै अघिका लाल–ध्वजावाहकका राताम्य पैताला त पछ्याएन ? कक्षा–शिक्षकको अनुहारमा अर्को त्रासदी खडा भयो ।

मध्याह्नसम्म कक्षामा सन्नाटा छाइरह्यो । कक्षा कोठाभरि आतङ्कको तुवाँलो मडारिरह्यो । त्योभन्दा बढ्ता धमिलिएको हुँदो हो नेपाली पढाउने गुरूको अनुहार ।

दुईघण्टा पछि राम आइपुग्यो । उसको सास बतास झैं बेगिलो थियो । अनुहारमा बेग्लै आतश हुँदो हो । भयानक आतङ्कले पिछा नछाडे झैं उसले ‘मे आई कम इन सर ?’ पनि भन्न भुल्यो । हुरी झैं हुर्रिंदै पछिल्लो बेन्चीमा पुगेर बस्यो ।

राम आइपुगेपछि सम्भावित त्रासदी त ओझेल पर्‍यो, तर धेरैबेरसम्म शिक्षकको अनुहारको दीप्ति निभी नै रह्यो ।


ऐंठनकारी समय त्यति छिट्टै बितेर जानेवाला थिएन । मास लाग्दो पुसमा हिँडिरहेकाले पर्यावरणको तुवाँलो त्यति छिट्टै फाट्नेवाला पनि थिएन । बाटामा बन्दुकहरूले परेड खेलिरहँदा मानिसको अनुहारमा जीवनप्रतिको मोह निख्रँदो थियो ।

त्यस दिन अचानक किन रामु गायब भयो ? किन कक्षामा आतङ्कको हुरीसँगै आयो ? सधैं पहिलो बेन्चमा बस्ने राम त्यस दिनदेखि पुछारको बेन्च किन रोज्यो ? अहँ ! कसैले खोजीनीति गरेन ।

महिनादिन पछि–

समयले आतङ्कको बर्को ओढिराखेकै थियो । चराचुरूङ्गी बसाइँ सरिसकेकाले आकाश सङ्कटकालकै कब्जामा थियो । बारुदको गन्धले आजित भएका झ्याउँकीरीहरूले पनि थातथलो छाडिसकेका थिए । चराहरूको कूजन निःचेष्ट प्रायः थियो ।

विद्यालयका चउरमा उही राता मान्छेहरू देखा परे । आश्चर्य ! त्यसदिन उनीहरू फौजी पोसाकमा थिएनन् । न कम्मरमा प्राण निल्न आतुर पेस्तोल नै सिउरिएको थियो ! बरू उनीहरूका हातहातमा राताम्य इनामेलको बट्टा थिए । सायद उनीहरू आफ्ना क्रान्तिकारी सपनाहरूलाई भित्ताभरि पोत्न चाहन्थे । र, जन्माउन चाहन्थे प्रत्येक नाराहरूबाट रक्तबीज ।

एउटा कृशकाय छापामार अघि सर्‍यो । 

“वीर सहिदहरू अमर रहून् !
रगतको बदला लिन्छौं, लिन्छौं !!”

आफूभन्दा दोब्बर उमेरको बूढो विद्यालयको जीर्ण छाती रङ्ग्यायो उसले । पालीले ओताउन छाडेको विदीर्ण पर्खालमा  रगताम्य नारा ओकल्यो ।

१० कक्षाको भित्ताभरि उभिएको नारा देखेर रामु बेस्सरी अताल्लियो । उसले बडो अप्ठ्यारोसँग नारा नियाल्यो । मुस्किलसँग पढ्यो... वीर सहिदहरू अमर रहून्...! दोस्रो वाक्यमा आइपुगेपछि लगभग उसको वाक्य थला बस्यो । अनुहारमा सन्त्रासको उही पुरानै कुहिरो मडारियो ।

क्रान्तिकारीहरू चिलाउनेको फेदमुनि सियाल तापिरहेका थिए । रामु एक्कासि कक्षाबाट बाहिर निस्कियो । उसका ओँठमा लगभग खडेरी जागिसकेको थियो ।

उसले कसैको अनुमति माग्न आवश्यक ठानेन । झोला बोक्यो र बिरालाका चालमा करेसापट्टि लाग्यो । वायुवेगमा बस्तीतिर बतासियो ।

त्यस दिन पनि रामुले अचानक कक्षा किन हाप्यो ? हाफ् छुट्टी अगाडि नै किन घर गयो ? प्रश्नहरू निकै भयग्रस्त थिए । कसैले सोधनीसमेत गरेनन् ।

एवम्रीतले हिउँद बित्यो । शिशिरले नङ्ग्याएका रूखहरूमा बसन्तको पालुवा पलायो । ग्रीष्मले हाँगा हाल्यो । भदौरे भेलले मलजल पुर्‍यायो । तर आतङ्कको सन्नाटा दूर भएन ।

पर्यावरणमा भदौको निखुर्को धूप बाँकी थियो । स्कुलमा हाफ छुट्टि भएकै थिएन । अचानक राम प्रस्तावको पन्तुरो बोकेर मेरोसामुन्ने आयो ।

“हाफ टाइम पछाडि तीन घण्टी खाली छ, जाऊँ नील दह !”

निकै पुलकित हुँदै प्रस्ताव पस्किएको थियो उसले ।

पुक्क उठेका गोलगोल गाला रात्तिएका थिए । आँखाहरू निकै विभोर देखिएका थिए । मानौं सङ्कटकालको श्यामलो छाया सधैंका लागि बसाइँ सरेको छ ।

मैले पनि नाइँनास्ती गरिनँ ।

कोखिलामा झोला च्यापेर ऊ स्कुलको करेसातिर लाग्यो । मैले पनि पाइला त्यतै मोडेँ । स्कुलको करेसा छिचोल्नेबित्तिकै हरि दाइको घर आउँथ्यो । हरि दाइ पनि भएकाले हामीले चाल मारेर हिँड्नुपथ्र्यो । मभन्दा अधिक सतर्क ऊ थियो । बेलाबखत फट्याङ्ग्रा झैं फड्कन्थ्यो । कहिले चिप्लेकीरा झैं घस्रन्थ्यो । पाले दाइको आँगन नकट्दै हामी दुवैको मुटुको धड्कन तेज भयो । धन्न ! पालेदाइ सिकुवामा घाँस थन्क्याउँदै रहेछन् ।

देउराली कटेपछि उसका पैताला फुक्काफाल भए । फुकेको राँगो बिर्सायो उसले ।

सिन्धुको सुसाइलाई घामले निलेको थियो । वारिपारि बारीका पाटामा मकै भाँच्नेहरू त हुँदा हुन् । परन्तु उनीहरू पनि घामका अघिल्तिर कायल थिए । र, त्यतै कतै शीतल तापिरेहका थिए ।

स्कुल हापेर खोलातिर बतासिरहेका हामीतिर उनीहरूको आँखा पर्नै पाएन । नत्र ‘भदौरे भेलले निल्ला मोरा हो ?...कालीदहको आहारा हुनलाई भूतले खाजा खाने बेलामा किन जानुप¥यो खोलातिर ?’ पूर्ववत् लयमा उनीहरूले गाली बर्साउने थिए ।

तीमध्ये धेरैले मलाई चिन्थे पनि । ‘ऊ...बाहुन पनि बरालिएछ...!’ तिनले मेरा बाउजिजुबाउको पेसाको पनि उतार्नी गर्न भ्याउँथे ।

सिन्धुको किनार पुगेपछि उसका पाइला एकाएक रोकिए । खुइय.. गर्दै लामो सास बिसायो । त्यहाँबाट न ऊ अगाडि बढ्न सक्यो न पछाडि हट्ने नै आँट आयो । उसका खुट्टा एकाएक कुँजिए ।
“हामी यहीँबाट फर्किऊँ । आज पौडी नखेलौं,” उसले आफ्नो घरतिर हेरेर बाक्लो उच्छ्वास छाड्यो ।

“यसले किन यसो भनिरहेछ ?” म अन्योलको नीलदहमा परेँ ।

“ऊ त्यहाँ हेर त,” उसले चोरीऔंला खोलाको किनारतिर तेस्र्यायो ।

आश्चर्य ! खोलाको उच्चाटिलो बगरभरि माओवादी छापामार तैनाथ थिए । कोही फौजी, कोही सादा पोसाकका उनीहरू ‘दुस्मन’को किल्लामा लड्नका लागि आर्क खडा गरिरहे झैं देखिन्थे ।

तर उसका आँखा त्यतातिर थिएन । उसका आँखा कालीदहमाथिको विशालकाय ढुङ्गामा थियो । लेखिएको थियो–

“वीर सहिदहरू अमर रहून् !
रगतको बदला लिन्छौं, लिन्छौं !!”

रक्ताम्य नारा देखेपछि ऊ अझै आतङ्कित भयो । उसका खुट्टालाई भयले लखेट्न थाल्यो ।

हामी फरक्क फर्कियौं । स्कुलै आयौं ।

त्यस दिनदेखि मलाई कौतूहलताले बेस्मारी लखेट्न थाल्यो । छापामारहरूदेखि किन यतिविघ्न आतङ्कित छ राम ? किन उसलाई नाराहरूले बेस्सरी लखेट्छन् ? किन रगतको बदला लिन्छौं, लिन्छौं वाक्यांशसँग ऐँठन हुन्छ ?

सङ्कटकाल लम्बिँदै जाँदा प्रश्नहरू अनुत्तरित नै रह्यो ।

चार महिनापछि–

बारीमा कोदाको बाला टिप्ने बेला भएको थियो । बन्दुकको मोहोरीहरू छाती ताकेर उभिइरहेकाले मानिसहरूको जाँगर शून्यप्रायः थियो ।

बाटामा छापामारहरूको बुटको कर्कश आवाज सुनियो । आगाका फिलिङ्गास्ता छापामारहरू शिवपुरीबाट कोटतिर लम्किएका थिए ।

अग्रपङ्क्तिमा रहेछन् कमरेड अशोक ।

“बा ! हामीले लालबहादुरलाई सिध्याइदियौं ! सुराकीको सफाया भयो,” करेसामा उनको आवाज दुन्दुभी झैं बज्यो ।

“हँ..!” बा अताल्लिनुभयो र करेसातिर पाइला बढाउनुभयो । उहाँको अनुहारको अत्यास म अनुमान गर्न सक्थेँ ।

छापामारहरूले छिमेकीको करेसो पनि नाघिसकेका थिए । बा आँगनबाटै चिच्याउनुभयो– “सुनिस् तैंले... आज लालबहादुरलाई मारेछन्...!

“हो र..!” आमाको बोलीमा पनि उस्तै आश्चर्य मडारिएको थियो ।

तर म अझै अन्यौलग्रस्त थिएँ– “को लालबहादुरलाई सफाया गरे त यिनीहरूले ?”
० ० ०

मध्य मङ्सिर मास । शिवपुरीबाट बतासिएर आउने चिसो सिरेटोले बेलाबखत मन भरङ्ग तुल्याउँछ । बिहान उदाउनेबित्तिकै एक झुल्को घाम देख्न पाइन्छ । फेरि घाम देख्न भोलि बिहानै पर्खनुपर्छ । प्रकृतिले समेत ठगेको छ, गुरूङ गाउँलाई ।
माथि कोणधारी शिवपुरी । तल निर्निमेष सुसाइरहने सिन्धु । बीचमा उच्चाटलाग्दा खेतका फगटा । धान काटिसकेको र गहुँ छर्न बाँकी रहेकाले ती बाँझा प्रतीत हुन्थे ।

शिवपुरी किनारकिनार पूर्वतिर कुलो सोझिएको थियो । कुलोमुनि थाल आकारका तीन फगटा । पुछारको फगटामा शव घोप्टो अवस्थामा थियो ।

दायाँ हातले भटमासका ठोसा समातेको, बायाँ हर्थुङ्गो हातबाट अलग थियो । खुकुरीले छप्क्याएको हुँदो हो, सायद !

शरीरको अवस्था उस्तै विद्रूप थियो । हेमन्तको ठिहिरोमा पनि शरीरमा पूरा लुगा थिएन । ठाउँठाउँमा प्वाल परेको पेटीगञ्जी सुर्किएर गर्धनमा पुगेको थियो । फिला फाटेको कट्टुबाट गरिबीले चिहाइरहेको थियो । पिठ्युँमा चुप्पीको आलो तर सुख्खा चोट थियो । तीन अम्मल चुप्पी रोपिए पनि किञ्चित रगत बगेको थिएन । गिँडिएको गर्धनबाट बगेको रगतलेचाहिँ ताछ्दाताछ्दैको कान्ला चुर्लुम्म भिजेको थियो ।

शवको भित्तापट्टि रुँदारुँदै थाकेका तीन अनुहार सिन्धुको उराठलाग्दो बगरतिर आँखा सोझ्याइरहेका थिए ।

अन्तिम अनुहारमा पुगेपछि आँखा एकाएक रोकियो । ऊ त्यही रामु थियो । सहपाठीको विद्रूप हविगत देखेर मेरा आँखा सिमसार झैं रसाए ।

मलाई देख्नेबित्तिकै एकछिन त ऊ अवाक् भयो । सारा रहस्यहरू उद्घाटित भएकाले हुनुपर्छ हडबडाएको पनि थियो ऊ । तर धेरैबेर अधैर्यमा अडिन सकेन । सुँक्सुँकाउँदै बोल्यो, “राम ! म भोलिबाट स्कुल आउँदिन होला ! तँ राम्रोसँग पढ्नू !”

किन पनि भन्न भ्याएको थिइनँ । उसैले जवाफ दियो, “बा बाँचेको भए संसार देख्न पाउँथेँ !”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ३०, २०७६  ०८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC