नरेश फुयाँल
काठमाडौं । केही दिनअगाडि चलचित्र ‘आमा’को फेसबुक पेजमा एउटा तस्बिर पोस्ट भयो । पोस्ट प्रोडक्सन भनेर सार्वजनिक भएको उक्त तस्बिरमा एक व्यक्तिले क्ल्याप गरिरहेका छन् । क्ल्यापबोर्डमा लेखिएको छ— प्रोडक्सन–आमा, सिन–७२, सुट–६, टेक–४, निर्देशक दीपेन्द्र के र मिति २०७६–०४–१५ ।
अनि तस्बिर छ, एक महिलाको । महिलाले आँखा चिम्लिएकी छन् । अनुहार गम्भीर मुद्रामा छ । तनाव, थकान, पट्यार र निद्रा एकसाथ अनुहारमा झल्किएको अनुमान लगाउन सकिन्छ ।
मनभरि तनाव, थकान, पट्यार र निद्रा एकसाथ लिएर ती महिला बसिरहेकी छन् कुनै लबीमा । लबीमा उनी बसेकी त छन्, तर कुर्सीमा अडेस लागेकी छैनन् । पिठ्यूँसमेत अडेस नलगाई बसिरहेकी ती महिला फलामे कुर्सीमा छिन् । लबीमा कुर्सीको एक लहरमात्रै छैन, उनको अगाडि पनि तीनवटा कुर्सीका पछिल्लो भाग देखिएको छ । यसको अर्थ हुन्छ, कम्तीमा लबीमा कुर्सीका दुई लहर छन् । फलामका कुर्सी, त्यसको अर्थ हो– यो बिल्डिङ आवासीय घर होइन । कि त व्यापारिक भवन हुनुपर्छ कि बैङ्क वा वित्तीय संस्था । प्रायः व्यापारिक भवनमा फलामका नाङ्गा कुर्सी हुँदैनन् । बैङ्क तथा वित्तीय संस्थामा पुगेको मान्छे प्रायः यति धेरै गम्भीर मुद्रामा हुने अवस्था बन्दैन । र, आँखा चिम्लिएर थकित चेहरामा पनि कमै मात्रै देखिएला । महिलाको पृष्ठभूमिमा झ्याल देखिएको छ । सिलिङमा बत्ती । त्यसले पनि बैङ्क होइन भन्ने प्रष्ट हुन्छ । किनकि सामान्यतः बैङ्कले ग्राहकको काम अबेर साँझ वा रातमा गर्दैनन् । त्यसमाथि अचेल त पैसा निकाल्न बैङ्कको अफिस नै पुग्नुपर्ने बाध्यता छैन । चौबीस घण्टा नै एटीएम सुविधा उपलब्ध छ, त्यसबाट पैसा निकाल्न सकिन्छ । सन्ध्याकालीन काउन्टरबाट पैसा राख्ने र निकाल्ने अभ्यास त नेपाली बैङ्कले सुरु गरेका छन्, तर बत्ती नै बाल्नुपर्ने गरी राति अबेरसम्म कारोबार हुँदैन ।
सपिङ सेन्टरमा यो भावुक चेहरामा मान्छे कमै देखिन्छ । त्यसमा पनि पालो कुरिहरहेको भान गराउने तस्बिर सपिङ सेन्टरको हो भनेर अनुमान लगाउनु बेकार हो । किनभने त्यस्तो अनुमान सत्यताबाट टाढा हुन्छ ।
अनुमान र तस्बिरको पृष्ठभूमि केलाइएकी तस्बिरकी महिला हुन्– मिथिला शर्मा । र तस्बिर हो, चलचित्र ‘आमा’को कुनै एक दृश्यको । दीपेन्द्र के खनालले दर्शकमा कौतुहल सिर्जना गर्न फेसबुकमा राखेको दृश्य हो यो ।
हामीलाई लाग्यो– यो तस्बिर कुनै एक अस्पतालको हो, जहाँ ती महिला आफ्नो सन्तानको पर्खाइमा छिन् । र, उनको सन्तान जीवन र मृत्युको दोसाँधमा अस्पतालको अप्रेसन थिएटरमा हुलिएको छ । नर्सले उनलाई ‘आमा तपाईं बाहिर कुर्दै गर्नुस्, केस के हुन्छ हामी केही समयमा खबर गर्छौं’ भनेका छन् । त्यसैले आमा अर्थात् मिथिला शर्मा नर्सको सूचनाको ब्यग्र पर्खाइमा छिन् । र, भगवान्सँग प्रार्थना गरिरहेकी छन्, ‘मेरो सन्तानलाई केही भएको नहोस् ।’
दीपेन्दको कथा, पटकथा तथा संवाद रहेको चलचित्र ‘आमा’को यो तस्बिरलाई लिएर हामीले यति अर्थ लगाएपछि उनैलाई सोध्यौं, तपाईंले फेसबुकमा राखेको तस्बिर हस्पिटलको लबीमा खिचिएको हो ?
दीपेन्द्र: “हो ।”
तपाईंको चलचित्र हस्पिटल ड्रामा हो ?
दीपेन्द्र: “हो ।”
उनले प्रतिप्रश्न गरे– “कसरी थाहा पायौ ?”
हामीले बनावटी जवाफ दियौं: “तस्बिर आफैं बोल्छ ।”
मिथिला शर्माको सन्तान हस्पिटलको अप्रेसन थिएटरमा छ र उनी त्यो सन्तानको प्रतीक्षामा छिन्, हो ?
दीपेन्द्र: “हो ।”
दीपेन्द्रले यो पटक हस्पिटल ड्रामा उठाएछन् आफ्नो चलचित्रमा । नेपाली मेकरले खासै ध्यान नदिएको अथवा ध्यान दिए पनि उपयुक्त कथा नपाएर नबनाएको ।
चलचित्र ‘आमा’मा आमाको भूमिकामा मिथिला छिन् । सूर्यमाला खनालले अन्तिममा आएर हात झिकेपछि मिथिला ‘आमा’मा यो भूमिकामा भित्रिएकी ।
मिथिलासँगै यो चलचित्रमा मुख्य पात्रका रुपमा छन्, सुरक्षा पन्त र सरिता गिरी । आमाको फस्ट लुकमा सुरक्षा फिचर्ड छिन् । त्यो पनि अनौठो गेटअपमा । उनले केश मुण्डन गरेकी छन् । सायद उनलाई क्यान्सर भएको छ अथवा ठूलो चोटपटक लागेर कपाल खौरिनुपरेको छ । फलतः उनी अस्पताल भर्ना भइन् । उनकी आमा मिथिला हुन् । र, उनी तिनै छोरीको सुरक्षित जीवन फिर्तीको प्रतीक्षामा लबीमा छिन् ।
हामीले पुन: दीपेन्द्रलाई प्रश्न गर्यौं, हो ?
“हुन पनि सक्छ, नहुन पनि सक्छ, अहिले नै कहाँ कथा रिभिल गर्नु !” दीपेन्द्र खुल्न चाहेनन् ।
यसको अर्थ, हामीले अनुमान गरेको तस्बिरको व्याख्या सत्यको धेरै नजिक छ । कथाले के भन्छ, दीपेन्द्रले कस्तो चलचित्र बनाएका छन्, त्यो फागुन ९ गते थाहा हुने नै छ । तर हस्पिटल ड्रामा हो भन्नेमा अब शङ्का छैन ।
नेपालमा स्तरीय अस्पताल निम्नवर्गीय जनताको पहुँचभन्दा धेरै टाढा छ । महङ्गो उपचार शुल्क र औषधिको चर्को भाउले जनता थलिएका छन् । स्वास्थ्य र शिक्षामा जनता बोल्दैनन् । कारण भविष्यसँग जोडिएको विषय हुन् यी । फलतः स्वास्थ्य र शिक्षा अब पूर्ण व्यावसाय भैसक्यो । जसरी हुन्छ कमाउने ध्याउन्नमा अस्पताल व्यावसायी छन् । न नैतिकता र मानवता, फगत पैसा कमाउने अस्पताल सञ्चालकको ध्याउन्नले गरिब जनताको घरबास उठ्छ । यो पक्ष दीपेन्द्रको चलचित्रमा आउँछ या आउँदैन, त्यो मुख्य कुरा हो ।
चलचित्र समाजको दर्पण हो । ऐना हो । चलचित्र समाजको ऐना हो र समाजमा जे छ र भैरहेको छ त्यो देखाउने हो भने उल्लिखित पक्ष चलचित्रमा समेटिने छन् नै । अस्पतालमा गरिब जनता कसरी ठगिन्छन्, जीजीविषाको त्यान्द्रो नचुडुउञ्जेलसम्म जिन्दगीको झिनो आशामा बसेको, परिवन्दमा परेको परिवारलाई अस्पतालले कसरी लुटिरहेका छन् ? चलचित्रले देखाउन सक्नुपर्छ । अन्यथा, ‘हात्ती आयो हात्ती आयो फुस्सा’बाहेक ‘आमा’ केही हुने छैन । र, नेपाली चलचित्र उद्योगमा अर्को एउटा असफल चलचित्र थपिने छ ।
तर अपेक्षा भने छ, ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक भएकाले दीपेन्द्रले अस्पतालको कथा भन्छन् कि भन्ने । ‘पशुपतिप्रसाद’मा जसरी आमनागरिकले खासै ध्यान नदिएको विषयको भित्री तहसम्म पुगेर अन्तरकुन्तर खोतलेका थिए, त्यो प्रयास ‘आमा’मा पनि गर्लान् कि भन्ने हो ।
दीपेन्द्रले ‘आमा’लाई आफ्नो महत्वाकाङ्क्षी चलचित्रका रुपमा लिएका छन् । तीन महिना लगाएर साउने झरी कुरेर त्यसको दृश्य खिचेका छन् । “खिच्न त म नक्कली पानी पारेर दृश्य खिचेर चलचित्रको बजेट कम गर्न सक्थेँ, तर मैले त्यसो गरिनँ, किनकि म यो चलचित्र कुनै सम्झौता नगरी बनाउन चाहन्थेँ,” केही महिनाअगाडि काठमाडौंमा आयोजित राष्ट्रिय चलचित्र कन्फ्रेन्सको एक प्यानल डिस्कसनमा दीपेन्द्र भन्दै थिए ।
नेपाली चलचित्रले सधैं नजरअन्दाज गरेको साउन्डको काम गराउन उनी मुम्बई जाँदैछन् । कलरको कामका लागि पनि विद्यमान नेपाली जनशक्तिको विकल्प खोजिरहेका छन् । यसर्थ उनले ‘आमा’मा मेहनत गर्दैछन् कि भन्ने अनुमान लगाउन सकिन्छ ।
उनका अनुसार सरिता गिरीले केही भिन्न दृश्य चलचित्रमा दिँदैछिन् । प्रायः नेपाली जो कोही अभिनेत्री चलचित्रको दृश्यकै लागि आफ्नो कपाल मुण्डन गर्न तयार हुँदैनन् । त्यो काम सुरक्षाले गरिन् । यो चलचित्र दीपेन्द्रले भनेजस्तो बलियो बनेर आए ‘पशुपतिप्रसाद’ पछि उनलाई प्रमाणित गर्ने चलचित्र बन्न सक्छ, अन्यथा भीडमै हराउने पक्का छ ।