site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
मलाई व्यवसायीको पीडा र दुखाइ राम्रोसँग थाहा छ
Sarbottam CementSarbottam Cement

शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष हुन् । महासंघको आगामी नेतृत्वका निर्विकल्प दाबेदार गोल्छा हालै महासंघको विशेष साधारणसभा स्थगित भएपछि स्वतः अध्यक्ष बन्ने पक्काजस्तै भएको छ ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था विधानमा संशोधन गर्ने तयारी गरिएपछि उनी अध्यक्ष बन्न चुनाव लड्नुपर्ने अवस्था आउन लागेको थियो । तर, अहिले विशेष साधारणसभा स्थगित भएपछि महासंघभित्रको विवाद साम्य भएको छ ।

गोल्छा देशकै प्रतिष्ठित व्यावसायिक परिवारका सदस्य हुुन् । महासंघमा गोल्छा परिवारको संलग्नता अन्यभन्दा फरक भएकाले पनि गोल्छाका लागि महासंघ एउटा संस्थामात्र होइन कि उनी महासंघलाई मन्दिर मान्छन् र आफूले यस संस्थालाई सेवा गर्न पाएकोमा निकै भाग्यमानी ठान्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गोल्छा पछिल्लो समय नेपाल व्यवसाय गर्न लायक देश बन्दै गएको र पूर्वाधारको विकास गर्न सके स्वदेशी तथा विदेशी लगानीको ओइरो नै आउने दाबी गर्छन् । र, आफू महासंघको अध्यक्ष पदमा आसिन भएपछि उद्योगी व्यवसायीको मर्मअनुसार काम गर्ने दाबी गर्छन् ।

गोल्छाले अध्यक्ष भएपछि आफूले गर्ने कामको प्राथमिकता सूची नै तयार पारेका छन् । प्रस्तुत छ, सोही विषयमा रहेर बाह्रखरीका बलराम पाण्डे रोविन पौडेलले गरेको कुराकानीको सम्पादित अंशः

Global Ime bank

नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व तपाईंले गर्ने करिब पक्का भएको छ, अब महासंघमा अध्यक्षका रुपमा तपाईंको भूमिका कस्तो हुनेछ ?

धन्यवाद !

देशलाई समृद्ध बनाउने सपना र लक्ष्य सबै नेपालीको छ । राजनेता, व्यवसायी सबै यो पवित्र कार्यमा अग्रसर छन् । सरकारलाई झैं यो सपना पूरा गर्ने बोध निजी क्षेत्रको छ । र, मैले पनि सोही कुराको बोध गरेको छु । र, म अध्यक्ष पदमा बसिसकेपछि मेरो प्रमुखतः दुईवटा लक्ष्य रहन्छन् । पहिलो, निजी क्षेत्रलाई कसरी अझै उत्पादनशील क्षेत्र बनाउन लगानी गर्न प्रेरित गर्ने । दोस्रो, उत्पादनशील क्षेत्रका रुपमा परिभाषित गर्न लगानीको सम्भावना खोजी गर्ने र ती क्षेत्र पहिचान गरेर पस्कने ।

यी दुवै काम गर्नका लागि महासंघ बलियो हुन जरुरी छ, सचिवालय सबल हुन जरुरी छ । र, हामीमा त्यो प्राविधिक ज्ञान हुन जरुरी छ । हामीले केही बोल्दा कसरी बोल्ने, के बोल्ने र कुन विषय वा समस्यालाई प्राथमिकताका साथ उठाउने भन्ने विवेक हामीमा हुन जरुरी छ । त्यो विवेकका लागि हामीसँग एउटा सक्षम टिम हुनुपर्छ ।

महासंघको नेतृत्वमा तपाईं नै किन चाहिन्छ ? 

शेखर गोल्छा महासंघको एक अभिन्न अंग हो । ऊ नेपालकै पहिलो उद्योग स्थापना गर्ने परिवारको पृष्ठभूमिबाट आएको हो । आज पनि १६ हजार जनालाई रोजगारी दिने संस्थाको अंग हो । 

उसका लागि महासंघ मन्दिरझैं हो किनकि उसले सानै छँदा आफ्ना अभिभावकले महासंघलाई मन्दिरझैं मानेको देखेको थियो ।

शेखर गोल्छालाई निजी क्षेत्रको दुखाइ र पीडा कहाँ छ, त्यसको बोध छ । 

र, म अर्थात् शेखर गोल्छा एक उद्योगी व्यवसायी नै भएकाले उद्योगी व्यवसायीको समस्या कहाँ छ र आफू पनि त्यसको पीडा महसुस गरेको व्यक्ति भएकाले आम उद्योगी व्यवसायीको समस्या समाधान गर्न सक्छु, उहाँहरुको आवाज समाधान गर्न सदा तत्पर रहनेछु ।

उद्योगी व्यवसायीको समस्या, दुखाइ कहाँ छ ? र, त्यो के हो ? त्यही दुखाइ कम गर्न तपाईंको कार्यकाल व्यस्त रहन्छ त ?

मैले उद्योगी व्यवसायीको पीडालाई केही कोणबाट हेरेको छु । सुरुमा त, नेपालमा समाज, नेता तथा कर्मचारीले निजी क्षेत्रलाई कसरी हेरेका छन् भन्ने हो । नेपालमा निजी क्षेत्रलाई हेरिने हेराइ हाम्रा लागि सबैभन्दा ठूलो चुनौती पनि बनेको छ । यहाँ ‘नाफा’लाई सकारात्मक नजरले हेरिँदैन । हामी नाफामूलक क्षेत्र हौं तर, यहाँ नाफा गर्नुलाई पाप गर्नुझैं लिइन्छ ।

तर, वास्तवमा उत्पादनको क्षेत्रमा नाफा एकमात्र उत्प्रेरणाको स्रोत हो । नाफाको अवसर नदेखे हामी न त कर तिर्न सक्छौं, न त रोजगारी सिर्जना गर्न सक्छौं । नेपालमा निजी क्षेत्रलाई ‘तपाईंहरु नाफा गर्नुस्, कर तिर्नुस्, रोजगारी सिर्जना गर्नुस्’ कसैले भन्दैन ।

जुन देशमा निजी क्षेत्रलाई समाजबाट पैसा खिच्ने र शोषक क्षेत्र मानिएको छ, त्यो देश अझै पछाडि नै छ, नेपालजस्तै ।

त्यस्तै, मेरो अनुभवका आधारमा अझै केलाएर हेर्दा वा मैले जिल्लाका धेरै साथीहरुलाई भेट्दा पनि हामीबीच तीनवटा ‘पिन प्वाइन्ट’ (समस्या)बारे छलफल हुन्छ । 

ती हुन्ः
१) बैंकहरुमा लगानीयोग्य रकमको अभाव । परम्परागत रुपमा ३ देखि ४ प्रतिशतले बढेको अर्थतन्त्रमा पछिल्लो २–३ वर्षमा ६ देखि ७ प्रतिशत पुगेको छ । त्यसले रकमको माग गरेको छ । तर, बजारमा थप रकम सिर्जना नहुँदा उद्योगी तथा व्यवसायीले कर्जा पाउन कठिन भएको छ । यसैका कारण ठूला उद्योगमात्र नभएर लघु उद्यमी पनि नराम्ररी प्रभावित बनेका छन् ।

तरलताको अवस्था टाइट हुन थालेपछि व्यवसायीको मुड बिग्रिन थाल्छ किनकि हामीलाई हेर्ने नजर त त्यही नै हुन्छ । त्यसैले अहिले तरलता अभावको समस्या कसरी समाधान गर्ने भन्ने सोचिनु पर्दछ । 
यसका लागि नीतिगत व्यवस्था नहुने पनि होइनन् । राष्ट्र बैंकले हरेक वर्ष केही न केही औजार ल्याउँछ तर ती औजार पर्याप्त रहँदैनन् ।

एउटा व्यवसायीका नाताले मैले लगानीयोग्य रकम अभावको समस्या तत्काल हल गर्ने बाटो देखेको छु । 

जस्तो कि बचत बढाउने, प्राथमिकताका क्षेत्र निर्धारण गरी अभावका बेलामा सो क्षेत्रबाहेक अन्य स्थानमा मात्र लगानी गर्ने, विदेशी लगानी प्रोत्साहन गर्ने, विदेशबाट ऋण लिने र सरकारको ढुकुटीमा हरेक दिन जम्मा हुने रकम तुरुन्तै खर्च हुने वातावरण मिलाउने । यी उपाए अपनाइए लगानीयोग्य रकमको अभाव विस्तारै घटेर जान्छ ।

मैले नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व सम्हालेपछि यही मर्म सम्बोधन गर्नका लागि सरोकारवाला निकाय घचघच्याउने छु ।

२) सरकारले ल्याउने धेरै नीति नियम सैद्धान्तिक रुपमा ठीक भए पनि आवश्यक परामर्श र छलफलबिनै ल्याउन लागिएको छ । पछिल्लो समय भेइकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम, स्थायी लेखा नम्बरको अनिवार्यता केही त्यस्ता व्यवस्था हुन् ।

यस्ता व्यवस्थाले निजी क्षेत्रले तत्कालै सहज महसुस गरेको छैन । ठूला व्यवसायमा त्यो समस्या नआउला तर स–साना व्यवसायले केही असहज महसुस गरेका छन् ।
यी विषयको आवश्यकता महसुस नै नगराई सरकारले कार्यान्वयनमा ल्याउन खोज्दा त्यसको प्रयोगमा समस्या आउन सक्छ । र, सरकारले यसको कार्यान्वयनबाट जेजति लाभ उठाउन पर्ने हो, त्यो उठ्न सक्दैन ।

यस्तै उपभोक्ता अधिकारसँग सम्बन्धित अन्य कानुनले पनि केही मनोबल खस्काउने काम गरेको छ, भलै ती कानुन सैद्धान्तिक रुपमा ठीक होलान् । कानुनमा पनि धेरै कमी कमजोरी छन् जसले विचौलियालाई लाभ उठाउने मौका मिल्दछ ।

३) विद्यमान कानुनहरुलाई समयसापेक्ष हुनेगरी परिमार्जन गर्न आवश्यक रहेको मेरो ठहर छ । खास गरेर न्यायाधीकरणमा धेरै सुधारको आवश्यक छ । निजी क्षेत्र वा उद्योगी व्यापारीसँग जोडिएका त्यस्ता कानुनमा कसरी हामीमैत्री बनाउने वा तदारुकताका साथ कार्यान्वयनमा लैजाने भन्नेमा म सदा तत्पर रहनेछु ।

उदाहरणका लागि अहिले पनि राजस्वको न्यायाधीकरणमा जाँदा आधा रकम धरौटीमा राखेर जानुपर्छ । अन्य क्षेत्र न्याय प्राप्तिका लागि बिना कुनै शर्त अदालत जान सक्छन् भने हामीलाई शर्त राखिएको छ । यस्ता कैयौं विसंगति कानुनको क्षेत्रमा छन् । यी विषयलाई समाधान गर्ने मेरो प्रथमिकता रहनेछ ।

४) यीबाहेक अनुगमनको व्यवस्था निजी क्षेत्रको अर्को दुखेसो हो । हामी अनुगमनको विरोधी होइनौं । तर, न्यायिक निष्कर्ष निस्कनुभन्दा अघि नै व्यवसायीको मानमर्दन गर्छन्, ती हामीलाई कदापी स्वीकार्य छैन । राजनीतिक पूर्वाग्रह वा बिचौलियाको संलग्नताका कारण हुने त्यस्ता अनुगमन नेपाल उद्योग वाणिज्य महासंघ घोर विरोध गर्दछ ।

तर, हामीले गरेका छौं भने हामी सजायको भागिदार छौं । त्यसको विरोध छैन ।

तपाईंले भनेका यी सबै काम आगामी कार्यकालमा गर्न सक्नुहुन्छ ?

यी सबै काम गर्न मैले अघि भनेझैं हाम्रो सचिवालय बलियो हुनुपर्छ । हामीसँग थिङ्क ट्याङ्क हुनुपर्छ । मैले एउटा सबल टिम बनाएर काम गर्नेछु । हाम्रो कार्यसमितिका साथीहरु, सचिवालय मिलेर टिम बन्ने हो ।
हामी सबैजना एउटा कमन गोल बनाएर पक्ष–विपक्ष नबनीकन काम गर्नुपर्छ । यसो गरे पक्कै पनि यो लक्ष्य असहज छैन ।

पहिले समय–समयमा सरकार परिवर्तन हुँदा धेरै समस्या थियो । तर, अहिले स्थिर सरकार हुँदा पनि निजी क्षेत्र त्रसित छ । किन ? भर्खरै पनि व्यवसायी रुपज्योतिलाई प्रहरीले पक्राउ गरेको छ । यस्तो बेलामा छाता संगठन किन अघि आउन नसकेको ?

दोस्रो विषयमा मेरो दृष्टिकोण के छ भने महासंघ सबै व्यवसायीका लागि शीतल छहारी बन्नुपर्छ । एकअर्कोको साथमा हामी उभिनुपर्छ । तर, हामी कानुनभन्दा माथि हुँदैनौं ।

पहिलो विषयमा बोल्दा हाम्रो पुस्ताले हालसम्मकै सबैभन्दा बलियो सरकार अनुभव गरेको छ । यो सरकार आइसकेपछि धेरै सकारात्मक कार्य भएका छन् । अर्थतन्त्रका अधारभूत सुचकांकहरु हेर्ने हो भने सबै सकारात्मकतातर्फ उन्मुख छन् । व्यापार घाटामा केही राहत महसुस गरिएको छ । शोधनान्तर अवस्था सुध्रिएको छ । आर्थिक वृद्धिदर उत्साहजनक छ । ऊर्जाको अभाव हामीले भोग्नुपरेको छैन । भौतिक पूर्वाधारमा ढिलै भए पनि प्रगति देखिन थालेको छ । मानव विकास सूचकांक, गरिबीको दर आदि सूचकांकमा हामी अरु देशभन्दा तीव्र गतिमा उकालो लाग्दैछौं ।

व्यवसाय गर्न सहजताको सूचकांकमा केही खुड्किला माथि उक्लिएका छौं ।

समग्रमा म मान्छु कि सरकारको पहल सकारात्मक छ तर मैले अघि भनेझैं लगानीयोग्य रकमको अभावले निराशा पैदा गरिदिएको छ ।

पूर्वाधार निर्माणको गतिले पनि तीव्रता पाएको छ । नाकाहरुको पूर्वाधार सुदृढ भएको छ । विमानस्थलहरु धमाधम बन्दैछन् । निजी क्षेत्र पनि फस्टाउँदो छ । घरहरु धमाधम बन्दैछन् । होटल तथा रेस्टुरेन्ट भटाभट खुल्दैछन् ।

विगतका चुनौती पनि केही हदसम्म समाप्त भएका छन् । श्रम सम्बन्ध सुधारिएको छ, ऊर्जाको समस्या हल भएको छ । पूर्वाधर नाजुक थियो । राजनीतिक हस्तक्षेप, बन्द–हड्ताल चरम रुपमा थियो । धेरै ठाउँमा जान डर हुन्थ्यो । अब बढी ध्यान पूर्वाधारमा दिनुपर्छ । निजी क्षेत्र त निकै सक्षम छ । 

मलाई पूर्ण विश्वास छ कि पूर्वाधार एकमात्र ‘बोटलनेक’ हो । भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने भनेका छौं । तर, कसरी भित्र्याउने ? हामीकहाँ एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल छ । १३ लाख पर्यटक भित्र्याउँदा आकाशमा घण्टौं जाममा बस्नुपर्छ । काठमाडौं विश्वकै महँगो विमानस्थल भइसकेको छ । आन्तरिक उडान बढाउनका लागि थप पार्किङ स्पेस उपलब्ध नै छैन ।

राजमार्गमार्फत् पर्यटक लैजाने हो भने आफ्नै बेइज्जत हुन्छ । बुद्धको जन्मभूमि लुम्बिनी जाने बाटो धुलाम्मे छ । पूर्वाधारमा लगानी बढ्दो त तर निकै सुस्त छ ।

पर्यटन त एउटा उदाहरण मात्र हो । पर्यटनबाहेक पनि उद्योग सेवा क्षेत्रमा निकै सम्भावना मैले देखेको छु । हामी नेपाली प्राविधिक विषय तुरुन्तै बुझ्छौं र गर्न सक्ने क्षमता पनि राख्दछौं । हामीले ठाउँमात्र नपाएको हो । अवसर पाए हामीकहाँ भएको असीमित सम्भावनालाई समाजको समृद्धिका लागि ढाल्न सक्छौं ।

महासंघले हाम्रै पुस्तामा यस्तो महान् काम फत्ते पार्न निकै ठूलो भूमिका खेल्न सक्छ ।

यतिले नै पुग्छ कि वैदेशिक लगानी पनि आवश्यक पर्छ ?

पूर्वाधारको विकास मात्र गर्न सकियो भने पनि वैदेशिक लगानी नेपाल सहजै भित्रिन्छ । तर, कुन क्षेत्रमा भित्रिन्छ त्यो महत्वपूर्ण विषय हो । हामीलाई सबै क्षेत्रमा वैदेशिक लगानी चाहिएको छैन । हामी आत्मनिर्भर भइसकेको क्षेत्रमा हामीलाई विदेशी लगानी चाहिँदैन । किनकि वैदेशिक लगानीसँग प्रतिस्पर्धा गर्ने क्षमता नेपाली व्यवसायीको नहुन सक्छ ।

र, अन्ततः ती व्यवसायीको मनोबल खस्किएर व्यवसाय नै बन्द गर्ने अवस्थामा पुग्न सक्छन् । हामीलाई प्रतिस्पर्धा गर्ने नभएर परिपक्व भूमिका खेल्ने वैदेशिक लगानी चाहिएको छ जसले नेपाली व्यवसायीलाई प्रतिस्थापन नगरोस् ।

राज्यले पनि सबै क्षेत्रमा वैदेशिक लगानी खुला गर्नु हुँदैन । नेपाली व्यवसायीको क्षमता नभएको क्षेत्रमा वैदेशिक लगानी भित्र्याए मत विभाजन हुने छैन । राज्यले पर्यटन, जलविद्युत्, पूर्वाधार र नेपाली व्यवसायीको पहुँचभन्दा टाढा रहेको क्षेत्र आदि क्षेत्रमा विदेशी लगानी खोज्न सक्छौं ।

प्रसंग बदलौं, भर्खरै कार्यान्वयनमा आएको थ्री–टियर सरकारको मोडलप्रति तपाईंहरुको के अनुभव छ ? कि यसले समस्या बढाएको छ ?

यो प्रणाली स्थानीय समस्या समाधान गर्ने कडीको सुरुवात हो । हामीले स्थानीय तहमा कुनै परियोजना सम्पन्न गर्दा असहज महसुस हुने गरेकाले हामी नयाँ प्रणालीप्रति आशावादी थियौं । केही हदसम्म हामीलाई सहजता मिलेको छ । तर, सुरुका दिनमा निरुत्साहित नै हुनेगरी दोहोरो करको समस्या अनुभव गरेका छौं ।

यसको अर्थ, यो राजनीतिक प्रयोग असफल बनेको छैन । आगामी दिनमा अझै परिस्कृत बनेर जाने छ । राज्य र निजी क्षेत्रले धैर्यता अपनाउन जरुरी छ । व्यवसाय गर्ने लागत नै बढाउँदै लग्यो भने हामी निरुत्साहित हुन सक्छौं । महासंघले राज्यलाई घचघच्याउँदै जाने छ ।

पहिल्लो समय दाबी गरिएको नीतिगत सुधार, वातावरण सिर्जना आदिले व्यवसायीमा व्यवसाय गर्ने मनोवल बढेको हो ?

डुइङ बिजनेस इन्डेक्स खस्कँदा हामी आक्रोशित भएका थियौं । अहिले स्वागतयोग्य रुपमा १६ स्थान सुधार भएको छ । तर, राज्य र निजी क्षेत्रले मनोबल बढाउन अझै धेरै काम गर्न बाँकी छ ।
मिलेर काम नगरेसम्म हामीले गर्नुपर्ने धेरै कामहरु थाती नै रहनेछन् ।

राज्यले तपाईंहरुले भनेको कतिको सुनेको अनुभव तपाईंसँग छ ?

मैले सुरुमा पनि भनें । राज्यले हामीलाई हेर्ने नजर नै परिवर्तन गर्न जरुरी छ । मैले यहाँ उल्लेख गर्नैपर्छ कि दक्षिण एशियामा सबैभन्दा बढी राजस्वमा योगदान गर्ने निजी क्षेत्र नेपालको नै हो । राज्यले यो देखेकै छैन । हामीप्रति राज्यको विश्वास नबढेको देखिन्छ । राज्यले सोही कारण पनि सहजीकरण नगरेको हुनुपर्छ ।

निजी क्षेत्र स्वयंको क्षमता बढेको छ कि छैन ?

क्षमता बढेको छ–छैन भन्दा पनि निजीक्षेत्रको अवस्था हेर्नुस् । हरेक क्षेत्रमा राज्यले दिने सेवा सुविधाभन्दा बढी गरेका छन् । अर्थतन्त्रमा हाम्रो योगदान उल्लेख गरेर साध्य छैन । बैंक, अस्पताल, शैक्षिक संस्था, विमान कम्पनी, बीमा कम्पनी सबैको सेवास्तर र योगदान सरकारको भन्दा उत्तम छ ।

र, यो उल्लेख गर्नैपर्छ कि निजी क्षेत्र जहिले पनि राज्यलाई साथ दिन तयार छ । राज्यको लक्ष्य नै हाम्रो एकमात्र लक्ष्य हो । हाम्रो नियत सफा छ, हामी सक्षम पनि छौं । हामीमा विश्वास गर्नु जरुरी छ ।

महासंघका अन्य समानान्तर संस्था पनि छन् । यी संस्था उद्योग वाणिज्य महासंघका लागि चुनौतीका रुपमा छन् कि छैनन् ? उनीहरुसँग सहकार्य गरेर जाने कुनै योजना छन् ?

मेरो बुझाइमा जेजति संस्था भए पनि अहिले निजी क्षेत्रलाई हित हुने काम भएको छ । एकअर्काको अग्रसरताले पारस्परिक लाभ मिलेको छ । त्यसैले मलाई तीनवटा संस्था भएर चिन्ता छैन किनकि हामी सबै संस्था निजी क्षेत्रको समस्या समाधानमा केन्द्रित छौं । जुनदिन हाम्रो कारणले गर्दा उद्योगी व्यवासायी साथीहरुलाई समस्या पर्न जान्छ, हामी मिल्नुको कुनै विकल्प छँदै छैन ।

र अन्त्यमा, केही भन्न चाहनुहुन्छ ?

तर, आउने दिनहरु स्वर्णिम रहने छ । हामीकहाँ अवसर नै अवसर छ । सबै परिसूचक सकारात्मक छन् । र, नेपाल उद्योग वाणिज्य महासंघ यो विषयप्रति चनाखो छ । आउने दिनमा अझै सक्रियताका साथ निजी क्षेत्र र राज्यको हितका लागि काम गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC