दार्चुलाको व्यास गाउँपालिकाको वडा नम्बर–१ मा पर्छ कालापानी । भौगोलिक रुपमा निकै विकट जिल्ला दार्चुला कालापानीकै कारण पटक–पटक चर्चामा आउँछ । भारतीय कब्जामा रहेको कालापानीलाई पछिल्लो समय भारतले औपचारिक रुपमै आफ्नो नक्सामा समेटेपछि नेपालले असन्तुष्टि जनाएको छ ।
जनस्तरमा व्यापक विरोध छ । दार्चुलावासीलाई कालापानीको पीडाले बेलाबेला घोच्दै आए पनि त्यसको दिर्घकालीन समाधान भने भएको छैन । कस्तो छ कालापानी क्षेत्र ? त्यहाँको जनजीवन कस्तो छ ? कालापानी, लिम्पियाधुरा, लिपुलेक क्षेत्र पर्ने दार्चुलाको व्यास गाउँपालिकाका अध्यक्ष दीलिप बुढाथोकीसँग बाह्रखरीका केशव जोशीले टेलिफोनमा संक्षिप्त कुराकानी गरेका छन् ।
कालापानी लगायतको क्षेत्र भारतीय नक्सामा परेपछि नेपालमा व्यापक विरोध भइरहेको छ । त्यहीँको जनप्रतिनिधिका नाताले तपाईंको प्रतिक्रिया के छ ?
कालापानी क्षेत्रमा भारतीय सैनिकले कब्जा जमाएको विषय नयाँ होइन । तर नक्सामै जसरी पारियो, यो हाम्रो अस्तित्वमाथिको प्रहार हो । कालापानी, लिपुलेक त्रिदेशीय नाका हो । नेपाली सीमा फिर्ता गर्न सरकारले अविलम्ब पहल गर्नुपर्छ । हामीलाई हाम्रो माटो चाहिन्छ । यसमा ढिला गर्न हुँदैन । केन्द्र सरकारले पहल गरोस् भन्ने हाम्रो माग हो ।
कालापानी, लिम्पियाधुरा क्षेत्रको बारेमा तपाईंलाई के–कति जानकारी छ ? भारतीय सैनिक कसरी बसिरहेका छन् त्यहाँ ?
म विवादित स्थानसम्म त पुगेको छैन । त्यहाँ भारतीय पक्षले जानै दिँदैन । तर नेपालतर्फको लिपुलेक क्षेत्रको एक नम्बर पिल्लरसम्म गएको छु । मैले जानकारी पाएको आधारमा भन्ने हो भने कालापानी क्षेत्रमा भारतीय सेनाका क्याम्प छन् । पूरै पक्की भौतिक संरचना नै निर्माण भएका छन् । सो क्षेत्र पूर्ण रुपमा उनीहरुको कब्जामा छ । उनीहरुले कालापानीबाट लिम्पियाधुरासम्म पुग्ने बाटो नै निर्माण गरेका छन् । मन्दिर पनि बनाएका छन् ।
नेपालीहरु किन त्यहाँ जान पाउँदैनन्, जानैपर्दा कसरी जाने ?
पहिलो कुरा त नेपाली नागरिकलाई कालापानी क्षेत्रमा जान नै दिइँदैन । नेपालतर्फबाट जाने हो भने भौगोलिक रुपमा निकै कठिन छ । भारतबाट जानैपर्ने अवस्था आयो भने त्यस क्षेत्रमा आफन्त भएको अवस्थामा एक वा दुई जनासम्म उनीहरुले भनेको सबै शर्त मानेर जानुपर्छ । कतिलाई त उनीहरुले बाटोबाटै फर्काइदिएका पनि छन् ।
आफ्नै भूमिमा पाइला टेक्न नपाउँदा कस्तो पीडा हुन्छ ?
आफ्नै भूमि टेक्न नपाएको पीडा हामीजति कसलाई होला र ? यो सारा नेपालीलाई दुख्ने विषय हो । आफ्नै देशको माटोमा अरुको रजाइँ छ । हामी जान पाउँदैनौं, फोटो खिच्न पाउँदैनौं । कालापानीको दुखिरहने घाउ छिटो निको होस् भन्ने हाम्रो चाहना छ ।
नेपाली भूभाग भारतको नक्सामा परेपछि देशभर व्यापक विरोध भइरहँदा शीर्ष तहका नेताहरुले त्यहाँको वस्तुस्थितिका बारेमा तपाईंसँग जानकारी मागेका छन् ?
छैनन् । तर सञ्चारकर्मीले भने दैनिकजसो जानकारी लिइरहन्छन् ।
व्यास गाउँपालिकाको भौगोलिक अवस्था कस्तो छ ?
व्यास निकै विकट क्षेत्र हो । अहिले हामीले केही स्थानमा मोटरसाइकलसम्म गुड्ने बाटो बनाएका छौं । झण्डै १३ हजार जनसंख्या छ । प्रतिकूल मौसम, भौगोलिक विकटता, गरिबी यहाँको मुख्य समस्या हो । भारतले आफ्नोतिर बाटो बनाएको छ, कतिपय स्थानमा बनाइरहेको छ । पारितिर सुगम छ, हाम्रोतिर दुर्गम ।
सुरक्षाको अवस्था कस्तो छ ?
सुरक्षाको अवस्था निकै कमजोर छ । तिंकरमा रहेको प्रहरी चौकी ६ महिनामात्रै सो क्षेत्रमा बस्न सक्छ । अहिले पनि प्रहरीले चौकी छाडिसकेका छन् । हिउँ निकै पर्छ । निकै संवदेनशील क्षेत्र भएकाले पनि कालापानी, लिपुलेक लगायतको क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति हुन जरुरी छ । अस्थायी प्रकारले होइन, स्थायी रुपले बस्नसक्ने संरचनाको विकास गर्न जरुरी छ ।
गाउँपालिकाले नेपालतर्फबाट कालापानी जाने बाटो बनाइरहेको हो र ?
छाङ्रुबाट कालापानी पुग्ने धार्मिक पदमार्ग त बनाएका छौं । कालापानी क्षेत्र महाकाली किनारमा हामीले मन्दिर बनाउने योजना बनाएका थियौं । तर भारतीय पक्षले अवरोध गरेपछि त्यसो हुन सकेन ।
दार्चुला सदरमुकाम आउँदा भारतीय बाटो कतिको प्रयोग गर्नुपर्छ ?
पहिले त भारतबाटै बढी आवतजावत हुन्थ्यो । तर अहिले सुनसेरा हुँदै नेपाली बाटोबाटै पनि पुग्न सकिन्छ । ट्रयाक बनाउँदै लगेका छौं । तर यो क्षेत्रमा सडकको विकास गर्न जरुरी छ ।