site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नैतिक र कानुनी दुवै दृष्टिले अनुचित एवं अपराध भए पनि नेपालका राजनीतिक दलहरू विशेषगरी कम्युनिस्ट पार्टीहरूले बालबालिकालाई राजनीतिक स्वार्थका लागि बलपूर्वक प्रयोग गर्न भने छाडेका छैनन् । यस क्रममा नेपाल कम्युनिस्ट पार्टी नामको एउटा भूमिगत संगठनको खुला मोर्चाका कार्यकर्ताले आइतबार काठमाडौंका  केही सामुदायिक विद्यालयका विद्यार्थीलाई भारत विरोधी प्रदर्शनमा संलग्न गराउन भनेर जबर्जस्ती लगेको समाचार सार्वजनिक भएको छ । बालबालिकालाई बलपूर्वक प्रदर्शनमा लैजान आएकाहरूलाई सम्बन्धित विद्यालय प्रशासनले भने रोकेनछ । ती बालबालिका विद्यालयकै पोसाकमा नभएको भए सम्भवतः थाहा पनि हुने थिएन । प्रदर्शनका क्रममा  प्रहरीले ४३ जनालाई नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीका अनुसार पक्राउ गरिएकाहरू भूमिगत नेकपाका कार्यकर्ता हुन् । कालापानीलगायत भारतले अतिक्रमण गरेको नेपालको जमिन फिर्ता गराउन दबाब दिने बालबालिकालाई विद्यालयबाटै बलपूर्वक निकालेर प्रदर्शनमा संलग्न गराइएकोे थियो ।

बालबालिकालाई बलपूर्वक त परै जाओस् स्वेच्छाले पनि उनीहरूको शारीरिक वा मानसिक हितमा नकारात्मक असर पर्ने काममा लगाउनु दण्डनीय अपराध हो । नेपालले अनुमोदन गरेको विभिन्न अन्तर्राष्ट्रिय कानुनहरू र नेपालकै प्रचलित कानुनमा पनि बालबालिकालाई त्यस्ता कार्यका लगाउन निषेध गरिएको छ । नेपालको प्रचलित कानुनअनुसार १८ वर्ष उमेर नपुगेका सबै बालबालिका हुन् । सहरको विद्यालयमा पढ्नेहरूमध्ये १८ वर्ष पुगेका बिरलै हुन्छन् । यसैले भूमिगत नेकपाका कार्यकर्ताले बलपूर्वक लगेका विद्यार्थीहरू सबै बालबालिका नै हुन् । यस्ता बालबालिकालाई लैजान विद्यालयमा आउनेहरूलाई सम्बन्धित विद्यालयका शिक्षकहरूले पनि सम्झाएर रोक्नुपर्थ्यो । रोक्न नसके प्रहरीलाई प्रहरीलाई खबर गर्नुपर्थ्यो । यसैले बालबालिकालाई बलपूर्वक प्रदर्शनमा लगेको यस घटनामा सम्बन्धित विद्यालय प्रशासन पनि दोषी देखिन्छ । माओवादी हिंसाका बेला विद्यालयमा अध्ययनरत बालबालिकालाई अपहरण गरेर बन्दुक बोकाउने अपराध गर्दा पनि अहिलेसम्म सजाय नपाएकाले नै अर्को समूहले बालबालिकालाई जबर्जस्ती आफ्नो क्रियाकलापमा संलग्न गराउने दुस्साहस गरेको हुनुपर्छ ।

विद्यार्थीहरू लहैलहैमा लाग्दा र शिक्षकहरू डराउँदा धेरै बालबालिका कुरै नबुझीे माओवादी हिंसात्मक विद्रोहमा संलग्न भएका थिए । उनीहरूमध्ये धेरैको अहिले जीवन बर्बाद भएको छ । केहीले अहिले न्याय खोज्न थालेका छन् । यसैले कुनै न कुनै दिन बाल सैनिक प्रयोग गरेकोलगायत बालबालिकालाई उनीहरूको जीवन जोखिममा पर्ने कार्यमा संलग्न गराउनेहरू कानुनको कठघरामा उभ्याइने अपेक्षा गर्न सिकन्छ । आयन्दा बालबालिकालाई राजनीतिक स्वार्थका लागि कुनै पनि कार्यक्रममा प्रयोग नगर्ने प्रतिबद्धता सत्तारुढ र विपक्षी दलले पनि पूरा गर्नुपर्छ । यस्तै, बाल अधिकारकर्मीहरूले पनि खरो शब्दमा यस्ता क्रियाकलापको बेलैमा निन्दा गर्नुपर्छ । अगिल्लो हिंसात्मक विद्रोहका बेला बेलैमा आवाज नउठाउँदा धेरै ठूलो हानि सहनु परेको बिर्सनु हुँदैन । राज्यका बालबालिका सम्बन्धी निकाय र संयन्त्र पनि डराएर मौन नबसून् । नत्र, पुरानै नियति दोहोरिनेछ । बालबालिकालाई जुलुसमा लैजानु अपराध हो भन्ने राजनीतिक नेताहरूले आत्मसात् गरून् र आफ्ना कार्यकर्तालाई त्यस्तो अपराध गर्नबाट रोकून् । प्रहरीले पनि जुलुसमा आएका बालबालिकालाई लखेट्ने हैन संरक्षण गर्नुपर्छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६  ०९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC