तेरै बाउ बूढो !

मुक्ति गौतम

 तेरै बाउ बूढो !

मैले बल्ल ५० काटेँ । समय सकिएको, बूढो भएको या अब धेरै केही गर्नू नपर्नेजस्तो चाहिँ आफूलाई कत्ति पनि लागेको छैन । म आफूलाई बूढो मान्न त किमार्थ तयार छैन । ‘‘हजुर बूढो हुनुभयो’’ भनेर छोरीहरूले भन्दा ‘‘तिमीहरूकै बाउ बूढो होला’’ भनेर टारिदिन्छु – म हाँस्छु राम्रो जबाफ फर्काएँ भनेर उनीहरू झन् हाँस्छन् बाण ठाउँमै लाग्यो वा आफ्नै कुरा पुष्टि भयो भनेर । तर, यस्तो पनि होइन — मलाई जीवनका दिनहरू घट्दै गएको कत्ति पनि आभास नभएको होस् – जीउले, मनले र यस्तै ‘बूढो’ भनिरहनेहरुले बारम्बार सम्झाइ रहन्छन् । कहिले कहीँ (मात्रै कहिले कहीँ) त लाग्छ – बूढो भइएछ कि ! 

जागिर १९, २० को उमेरदेखि नै खाना थालियो । त्यस बेला आफूअघिका सबै बूढा झैँ लाग्थे । कपाल फूलेका कोही देखे त ‘यिनका दिन गएछन्’ भन्ने लाग्थ्यो । एकजना हाकिम साहब हुनुहुन्थ्यो ३०, ३५ को । अलि छिटै कपाल फूलेको । बिहेको कुरा चल्यो । बिहे भयो र बिहेको भोज पनि खाइयोजस्तो लाग्छ । हामी सँगै पढेका ८ —१० जना नै त्यही अफिसमा काम गर्थ्र्यौँ । एक आपसमा ‘बुढेसकालको बिहे’ भनेर कुरा गर्थ्यौँ उहाँले नसुन्ने गरी । हुन त, सानो हुँदा पनि दिन आफ्नैमात्र हुन् भन्ने त लाग्थ्यो तर जागिर खाँदा सायद अलि बढी नै लाग्यो क्यार !

अझ एक समय त ‘कुरकुरे बैँस’को थियो । कोही बूढो देख्यो कि हाँस्ने, छेडछाड गरेर सकेसम्म उडाउने गरिन्थ्यो । अरूको नाम राख्ने, साथीहरूको समूहमा कोही बूढाहरू (अहिलेको मजस्ता ) भेटे अन्ट न सन्टका कुरा गरेर हाँस्ने गरिन्थ्यो । यो भने सक्नेहरुलाई मात्र हुन्थ्यो, कुनै क्षेत्रमा राम्रो प्रगति गरेकाहरुलाई पछाडि बाहेक त्यस्तो व्यवहार कहाँ गर्न सक्नु र !

सानोमा हामीले अभद्र व्यवहार गर्ने गरेको एकजना दाइ थिए गाउँमा — बैदार दाइ । अविवाहित, सानोमै सायद अलि मानसिक समस्या भएको तर कहिल्यै कसैको नराम्रो गरेको याद छैन मलाई । भाइको परिवारसँग मिलेर बसेका बैदार दाइ भाइको खेती किसानीमा पूरै सघाउँथे । हाम्रो घरमा आँपको ठूलो रुख थियो । पाकेको बेला आशा गरेर आउँथे । आमाले केही दिएर पठाउनुहुन्थ्यो – अहिले पर्खालबाट हाम्रो घरतिर हेरिरहेको जस्तो लागिरहेछ बैदार दाइले । 

गाउँमाथिको पाखोमा खोल्सीतिर दिसा गर्दा बैदार दाइ केही बोल्दै, गुनगुनाउँदै गरेको सुनिन्थ्यो । हामी बच्चाहरू भने डल्लाले हानेर तर्साउने गर्थ्यौं र उनी उठेर हामीलाई लखेट्थे । हामी हाँस्दै दौडिन्थ्यौँ । हामी बारम्बार गर्थ्यौं त्यो घीनलाग्दो काम । के ले डोर्यायो होला त्यो कृत्य गर्न? बिचरा बैदार दाइ अहिले हामी माझ छैनन् । मलाई त्यो कुकर्म सम्झिँदा लाज लाग्छ आफैँप्रति । बैदार दाइ, जहाँ भएपनि माफ गरी दिनु भाइलाई !

समय क्रमले सिकाउँदो हो । आफूलाईमात्रै महत्त्व दिने र अरूको निरीहतामा हाँस्ने त्यो हाँसोको नमीठो अर्थ अहिले बुझ्ने भएको छु म ।

गतसाल यतिबेलै तिर ठूली छोरी भइरहेको काम छोडेर तीनचार महिनाको लागि घुम्न भनेर हिँडिन् । सम्झाउने, धम्काउने सबै उपाय गरेँ, केही लागेन मेरो । अझ राम्रो काम खोज्ने, आफूलाई स्थापित गर्ने बेला के गरेको होला भनेर राम्रो शिक्षा दिन नसकेको भन्दै कति पटक बुढीसँग र कति पटक आफैसँग पनि रिसाएँ म । उनी फर्किएर आएपछि फेरि जागिर सुरु गरिन् र बल्ल मेरो मन थामिएको छ ।

माइली छोरी पुनः त्यस्तै घुमफिरको योजनामा छिन् अर्को वर्ष पढाइ सकिएलगत्तै । भलै उनको जागिरको टुङ्गो लगभग अहिले भइसकेको छ । मैले ढुक्कसँग उनलाई अनुमति पनि दिएको छु । उनलाई दिएको यो अनुमति उनको निश्चित भएको जागिरको कारणले भन्दा मेरो सोचाइमा भएको परिवर्तन या बुझाइले हो ।

समय परिवर्तनशील छ । विचार, व्यवहार, शैली सबै परिवर्तनशील छन् । हामी हाम्रो समयमा छिटै जागिर खाने, छिटै व्यवस्थित हुने, बच्चा जन्माउने भनेर योजना बनाउथ्यौँ । अहिले हाम्रो आयु पनि पहिलेभन्दा लम्बिएको छ । एक समय थियो, मान्छे जागिर खाँदा खाँदै वा खेतीपाती गर्दा गर्दै ५५ — ६० मा नै मर्थे । विज्ञानमा भएको विकासले मान्छेको स्वास्थ्य अवस्थामा सुधार ल्याएको छ । खानपिन फेरिएर पनि मान्छेको आयु थपिएको छ । जीवनको यो लमाइले युवा पुस्तामा पनि एउटा समय थपिएको छ । ‘इमजिङ युथ’  २० देखि ३० वर्ष समूहको यो पुस्ता आफू विश्वमा घुमफिर गर्न र अझ अरू थाहा पाउन खर्चिन चाहन्छन् यो समय, न कि हामीजस्तो छिटै घरजम गर्न । यो समय लमाइ र नयाँ सोचमा आफू एकाकार हुन हाम्रो पुस्तालाई गाह्रो छ र नभएर पनि उपाय छैन । 

अब मुख्य प्रसङ्ग तिर । किन किन पढ्न मन लाग्यो । छोरीहरूले हौस्याए, बुढीले घचेटिरहिन् – लौ भनेर म धकेलिएँ २ वर्षको एउटा कोर्ष गर्न । यति धेरै वर्षपछि पहिले आफूलाई तयार गर्न नै बडो मुस्किल भयो । त्यसभन्दा मुस्किल त छोरीहरूको उमेरका साथीहरूसँगै बसेर पढ्न भयो । कोही हाँस्दा आफैँलाई हेरेर हाँसेझैँ लाग्छ । अलि पर कुरा गर्दा मेरै बारेमा कुरा गरेझैँ लाग्छ । यताका क्यानेडियनहरुले कति सोच्छन् त्यो त थाहा छैन तर कक्षाका केही भारतीय सहपाठीले भने पक्कै मेरो विषयमा कुरा गर्छन् भनेर बुझ्न उनीहरूको सम्बोधनले मलाई सजिलो बनाएको छ ।

‘‘सर ! क्युँ बेकारमे कलेज आ रहे हो, घरमे आराम से बैठो’’ – हिजो एउटाले फ्याट्ट हिर्कायो या हिर्काएझैँ लाग्यो मलाई । उसको इसारा मेरो उमेरतर्फ थियो । ऊ हाँस्यो । मैले भने मेरा विगतका अरूलाई उडाएका सबै हाँसोहरू सम्झिएँ ।

समय कति कठोर हुन्छ । कहिले कहीँ, आफूले मजाक गरेको समयले आफैँलाई मजाक गर्दो रहेछ मौका पाउँदा ! 

मैले केही वर्ष ट्याक्सी चलाएँ टोरन्टोमा बस्दा । एउटा सुपरमार्केटको अघि ट्याक्सी स्ट्यान्ड थियो । त्यस ठाउँमा मैले थुप्रै समय बिताएको छु । वृद्ध दम्पती, दुइ वयस्क छोरा, जो मानसिक समस्याले ग्रस्तझैँ लाग्थे, लिएर आउथेँ सामान किन्न त्यही बाटो । केही समयपछि वृद्ध पुरुष देखिन छाडे र महिला कहिले दुइटै र कहिले एउटा छोरासँग देखिन थालिन् । मैले बूढा मरेको अड्कल लाएँ ।

एक दिन एउटा छोराले आमाको कुममा कुनै कुराले चित्त नबुझेर होला बिस्तारै बच्चाले झैँ हिर्काउँदै थियो र आमा चिच्याउँदै खाने कुराको झोला बोकेर हिँडिराखेकी थिइन् । मेरो मनमा अनेक प्रश्न नाच्न थाले त्यो दृश्यले ।

आफूसँग दाँजे उनीहरूको जीवनलाई । फरक लाग्यो । के सोच्छन् होला या केही सोच्दैनन् यिनीहरु जीवनका बारेमा ? या यो प्रश्न नै कुनै महत्त्वको छैन? हजारौं पटक सोधेँ यो प्रश्न आफूलाई । सायद उत्तर उनीहरूसँग मात्रै थियो अथवा उनीहरूसँग पनि थिएन । 

पाँच छ वर्षपछि अहिले कोही अरूले हिजो म बसेको ठाउँबाट खोजेको उत्तर अहिले पनि छैन मसँग । समयले देला या नदेला यो प्रश्नको उत्तर अथवा मेरो जिज्ञासाको उत्तर तर मलाई बूढो बन्नु छैन । पोको पार्नु छैन मेरा सपनाहरू यति चाँडै । हो समय बदलिएको होला, सोच बदलिएका होलान् । तिनकै लहलहैमा लागेर मेरा आफूप्रतिका धारणाहरू बदल्नु छैन । मभित्र आमाको काखमा खेल्दै गरेको बच्चा पनि छ । पत्नीसँग जिस्किरहेको पट्ठो जवान पनि छ र छोरीहरूको बाउ पनि छ । मलाई बूढो देख्नेहरुलाई भन्दिएँ — ‘‘तँ बूढो !  तेरै बाउ बूढो !’’ 

(टिमिन्स, क्यानडा)

प्रतिकृया दिनुहोस
ad