site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मस्तिष्क संवाद
Sarbottam CementSarbottam Cement

शैलेन्द्र अधिकारी


आजको दिन बडो झुर होलाजस्तो छ । बिहान उठ्नासाथ श्रीमतीसँग भनाभन भयो ।

खासमा अघिल्लो दिन दारु खायो, भोलिपल्ट घरमा जहिल्यै झगडा पर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

श्रीमतीको गहना वा अन्य आवश्यकताको माग जहिल्यै उत्कर्षमा पुग्छ यतिबेला ।

अब पख् मङ्सिरमा । म चुपचाप हात र मुखको सन्तुलन मिलाउन थाल्छु । तरकारीमा नुन चर्को छ । तर यतिबेला भन्न हुन्न भन्ने मलाई राम्रै थाहा छ । 

Global Ime bank

अहिलेसम्म मुख गन्हाएको छ, हिजोको कुकुरको मुतले । व्यङ्ग्य र दिक्दारी एक लट श्रीमतीको अनुहारमा परेड खेलेर गयो । 

‘निउरीमुन्टी न’ भएरै अफिस हिँडे । 

अफिसमा पनि हिजोको ह्याङले छाडेन । दुई–तीन पटक कागती–पानी खाइसकेँ । झुम्म पारिरहेछ । यस्तोबेला घडीको सुई म्याराथुनको धावक भइदिए हुन्थ्योजस्तो लाग्छ ।  

अफिसबाट घर फर्किरहेको छु । सातदोबाटोदेखि सल्लाघारीसम्मको बाटो हरेक दिन मैले नाप्नुपर्छ । बाटो बढेपछि टिपर यहाँका राजा भएका छन् भने बाइकहरुचाहिँ सुकुम्बासी वा शरणार्थी । सिमसिम पानी परिरहेको छ दिउँसैदेखि । मोटरसाइकल ३५/४० को स्पिडमा छ । मनमा विचारको अन्तद्र्वन्द्व चलिरहेको छ । 

एक किसिमले उट्पट्याङ विचारले सङ्क्रमित भइरहेछु यतिबेला । ननसेन्स विचार । यो विचारलाई क्यान्सिल गरेर अर्को कुनै राम्रो विचार सोच्न तत्काल मस्तिष्कलाई निर्देशन दिन्छु । तर अहँ मस्तिष्क पनि मरीगए मान्दैन । म आफ्नै मनमा उब्जिएका उट्पट्याङ विचारहरुको सिकार बन्छु । बनिरहेछु । 

अघि अफिसमा सोचिरहेको थिएँ– बाँकी कपडामा आइरन लगाइदिएकी रहिनछ भने घर गएर स्वास्नीलाई मार झपार्छु । दिनभरि के गरेर बस्छेस् ? सिरियलको चक्करमा जिन्दगी बरबाद गरिस् । पोइको कमाइमा राज गर्न भनेर आएकी रहिछस् भनेर गाली गर्छु । सम्झिँदैथेँ । थुक्क आफ्नै मनले त आफ्नो कुरा मान्दैन, स्वास्नीले मैले भनेको के मानोस् ! 

साले यो जिन्दगी के हो ?

यो जिन्दगी रोबोट हो राेबाेट ।

मेरो दिमागमा आएको उट्पट्याङ विचार सुनेर तपाईं हाँस्नुहुन्छ । यो जमाना नै अरुको दुःख–पीडामा हाँस्ने, मुस्कुराउने समय हो । ऊ तपाईं हाँसिसक्नुभयो । अरुको पीडामा हाँस्न तपाईंलाई लाज लाग्दैन ? 
लाजको कुरा गर्दा तपाईं भन्नुहोला– के को लाज ? लुगा लगाएको छु नि । म भन्छु– लुगाले कसको लाज छोपिन्छ र ? दौपदीको वस्त्र हरणमा उनलाई लाज भयो कि पाण्डव वा कौरवलाई ? कसले देखेको छैन र नाङ्गो शरीर ? कसले देखेको छैन र लिङ्ग ? 

भो छोड्नुहोस् यी कुरा । म भन्दैछु मेरो दिमागमा आएको ननसेन्स विचार । 

कुरा के भने नि, म सोचिरहेको छु– मैले मोटरसाइकल चलाइरहेको बेला अहिले भर्खर पछाडिबाट तीव्र गतिमा आएको टिपरले मलाई ड्याम्म हान्यो भने के हुन्छ ? 

स्वाभाविक छ म मर्छु । 

सोच्छु ...!

यही बाटोमा मेरा गिदीहरु छ्याल्लब्याल्ल होलान् । यो पानीमा मिसिएर रगत बग्दैबग्दै अलि तलसम्म जाला । ट्राफिक जाम होला । सिठ्ठी फुक्दै ट्राफिक र एक छिनपछि साइरन बजाउँदै पुलिसहरु आउलान् । मेरो लासलाई उठाएर लैजालान् । घरमा खबर गर्लान् । श्रीमती मजैसँग रोली । सम्हाल्नै नसक्ने गरी । आफन्तहरुले सम्झाउलान्, के गर्नु बरै तेरो भाग्यै यस्तो रहेछ । कर्म खोटी रैछ । कोही चुक्चुकाउलान् । हेर के भयो यस्तो खाउँखाउँ र लाउँलाउँको उमेरमा ! कसरी काट्ली यो लामो जवानी र सिङ्गो जीवन ? हाइ गरेको वा चुट्की बजाएको भरमा त जीवन सकिँदैन केरे ! 

मेरो शरीरलाई फेरि डाक्टरले चिर्ला ? पोस्टमार्टम गर्ला ? आर्यघाटमा लगेर जलाउलान् ? एक छिनपछि मेरो शरीर खरानी होला । त्यसलाई पनि पानी हालेर पखालिदेलान् । 

अनि मचाहिँ के हुन्छु त ? 

तपाईं भन्नुहुन्छ, तँ त अहिले भर्खर मरेको होइनस् ? 

म भन्छु, म कहाँ मरेँ ? मरेको भए कसरी तपाईंसँग गफ गर्न सकेँ त ? त्यसो भए के तपाईं भूत हो त ? 

म भन्छु म कहाँ मरेँ ? मेरो शरीर पो मरेको हो त । शरीर भूत बन्ने हो र ? भूत बन्ने त आत्मा हो । तर आत्मा त मर्दैन, होइन र ?  

अनि नि आत्मा त जरामरणको घनचक्करबाट अलग छ । माया–मोहबाट पृथक छ नि त । 

अँ साँच्ची यमदूतहरुले मलाई स्वर्ग लैजालान् कि नर्क ?

म लोभी नै छु अलि बढी । स्वर्ग जाने लोभ । लोभी को छैन ? तपाईं मलाई कसैको नाम दिन सक्नुहुन्छ ? एउटा उदाहरण हेर्नुस्, बुद्ध लोभी थिएनन् ? मोक्ष प्राप्त गर्ने उनको लोभ होइन ? महाभारत पढ्नुस् त, युद्धको जस लिनमा अर्जुन र श्रीकृष्णमा होड चलेन ? 

म साधारण मान्छे । म लोभी हुनु कुन ठूलो कुरा भयो ? स्वर्ग जाने लोभ गरेँ, के गलत गरेँ ?

कल्पना गर्छु,

स्वर्गमा इन्द्रले स्वागत गर्लान् । खातिरदारी पनि राम्रै होला । स्वादिष्ट व्यञ्जनले मन आह्लादित होला । राम्रै होला । अप्सराहरु मसँग गफ गर्न लालायित होलान् । भीड होला उनीहरुको । एउटीले आफ्ना स्त्रीयोचित क्रियाकलापले मलाई वशमा पार्लिन् । सम्भोगको लागि आमन्त्रण गर्लिन् । मलाई पनि हतार होला । साह्रै खुसी हुँला । 

ए...तर मेरो लिङ्ग खोई ? त्यसलाई त अघि भर्खरै आर्यघाटमा जलाइदिए त ! 

एक्कासि मलाई रुन मन लाग्यो । अब म कहाँबाट पिसाब फेर्छु ? के स्वर्गमा पिसाब लाग्दैन ? 

मलाई अचानक स्वर्गमा भएका सबैको योनी चेक गर्न मन लाग्यो । कसैको पनि योनी छैन भने यी अप्सराहरु के कामका ? किन चाहियो स्वर्गमा अप्सरा ? यी अप्सराहरुको अनुहार, स्तन, कटी, नाभि हेरेर के गर्नु ? उत्तेजित हुने लिङ्ग छैन, मन लोभ गर्छ । फेरि त्यही कुरा लोभ गर्ने मन भएको मान्छे स्वर्ग आइपुग्यो कसरी ? 

स्वर्गको बसाई सकेपछि मलाई फेरि नर्क लैजालान् । जिन्दगी पनि पेन्डुलम जस्तै बनाउँदा रहेछन् । हल्लिरहने तर कहीँ नपुग्ने ! यमराजले गाली गर्लान् । अश्लील शब्दले सम्बोधन गर्लान् । मलाई तातो तेलमा डुबाउलान् । म पीडाले चिच्याउँला । मान्छेको चित्कार नै त्यहाँको सङ्गीत होला । म पीडाले पानीपानी भनेर कराउँला । मलाई एक गिलाँस पिप ल्याइदेलान् । म घिन मानेर झण्डै बान्ता गरुँला । खान अस्वीकार गरुँला । नर्कको पानी भनेकै यही पिप हो भन्लान् । मुख च्यातेर गोरुलाई औषधि खुवाए झैं मलाई पनि हातखुट्टा समातेर मुख च्यातीच्याती पिप खुवाउलान् । 

म थाकेर सुत्न खोजुँला । तातो न तातो फलामको ओछ्यान होला । न म हाँस्न सकुँला न रुन । केवल चिच्याउँला । अचानक मेरो मनमा नयाँ विचार आउला, आत्महत्याको । साँच्ची म आत्महत्याचाहिँ कसरी गरुँला ? मेरो त शरीर नै छैन । 
फेरि सोच्छु,

ल मैले नर्कमा आत्महत्या नै गरिहालेँ भने पनि मलाई के गर्लान् ? अब कहाँ लैजालान् ? 

म त अलि अस्ति सडक दुर्घटनामा मरेको । मलाई टिपरले पछाडिबाट ड्याम्म हानेको । मेरो शरीरलाई जलाइसके मत्र्यलोकमा । 

अब यहाँ मेरो शरीर छैन । म छु । केवल म । त्योबाहेक कुनै परिचय बाँकी छैन । घरपरिवार–इष्टमित्र सम्झनामा आएनन् । साथीभाइहरुलाई चिनिनँ । श्रीमती छोराछोरी थिए र ? बिर्सिएँ । कि स्वर्ग–नर्क भनेको बिर्सनु हो ? टिपरले हान्नु अगाडिसम्म मसँग सबै थियो । परिचय थियो । नाता सम्बन्धीहरु थिए । परिवार थियो । 

अँ अहिले कहाँ गए ती सबै ? 

त्यति क्षणभङ्गुर समयको पनि कत्रो मोह ?

होइन, यी सब मिथ्या हुन् । न स्वर्ग छ न नर्क ? छ त केवल यो पृथ्वी छ । न आत्मा छ ! केवल शरीर र चेतना । म मर्दा शरीर म¥यो । के चेतना पनि म¥यो ? नमरेको भए त्यो चेतना खै त ?

सोचिरहेको थिएँ । कोटेश्वर आइपुगेछु । ट्राफिकको सिठ्ठीले सोचाइमा ब्रेक लगाइदियो । कल्पनाको गाडीमा चुइयँँँँँ ब्रेक लाग्यो र रोकियो यथार्थको धरातलमा । तपाईंले लेन क्रस गर्नुभो निकाल्नुस् । एउटी युवती ट्राफिकले बोलिन् र हातको सन्तुलन मिलाइन् । के निकाल्ने ? मैले अनभिज्ञता प्रकट गरेँ । लाइसेन्स नि ! अरु के हुन्छ र ? ऊ रिसाई । 

ए म त अरु नै... मैले लाइसेन्स दिएँ । उसले फिर्ता गर्दै भनी गफ त भयङ्कर आउँदो रैछ त ! 

गफ मात्रै किन ? अरु पनि आउँछ नि मलाई । म मुस्कुराएँ । लगत्तै थपेँ– अफिसमा मलाई गफ गरेको तलब दिन्छन् र ? 

ल ल जानुस् गफाडी मान्छे ! उसले हात पसारी । मेरो आँखाले उसको हातको बाटो हुँदै उसको समग्र शरीरको सर्भे ग¥यो । 

सल्लाघारी नजिक आइपुग्दा फेरि मोटरसाइकल रोकियो हरियो पर्दा अगाडि । भट्टी साहुनीको अनुहारमा मुस्कानको बिजुली चम्कियो । 

के खाने ? नजिकै आई ऊ ।

मायाले जे दिन्छौ । मैले एउटा आँखा सानो बनाएँ । 

मायाले पेट भरिन्छ र ? उसले जिस्कन चाही ।

अरु त के के भरिन्छ, जाबो पेट ? म किन पछि हटूँ ?

लोकलै लेऊ न त, तिम्रो माया पनि त्यसैमा मिसिएको होला । मैले आगोमा घिउ हाल्न खोजेँ । 

घरमा स्वास्नीले मार्ली नि ।

म चुप रहेँ । लोकल र भटमासले मेरो उदरतिरको यात्रा सुरु गरे ।

एक– दुई– तीन– चार... गिलाँस रित्तिँदै थियो । ग्राहक केवल ममात्रै  बाँकी थिएँ । भरिँदै थिएँ र तत्काल पोखिन आतुर थिएँ । 

आज त यतै सुत्नुपर्ला जस्तो छ । बाइक लान सकिँदैन । मैले मौकाको फाइदा उठाउन खोजेँ । 

बडो बाठो हुनुहुँदो रहेछ । हेर्दामात्र सोझो । उसले के खालको उत्तर दिई दिई । 

जे त होस् । फोन अफ गरेँ ।

सटर बन्द गरेर खाना खाई उसले । 

सुत्ने तरखर भयो । 

उसले भनी– धेरै दिनदेखि तपाईंको आग्रह अस्वीकार गर्न नसकेर मात्रै हो । खासमा म त बिरामी छु ।

यस्ती हँसिलो मान्छे पनि बिरामी हुन्छ कहीँ ? मैले एकपटक ओँठमा ओँठ जोडेँ । मेरो हातले उसको शरीरको सर्भे ग¥यो । हातले उसको अवयवको भिडियो एक्सरे तत्काल मस्तिष्कमा पठायो । मेरो हात उसको छाती, नाभी हुँदै कम्मरतिर लम्किरहेको थियो ।

उसले अलग्गिँदै भनी– म एचआईभी सङ्क्रमित हुँ के ! 

मलाई अचानक रक्सीले छोड्यो । अचानक हातको गतिमा मस्तिष्कले ब्रेक लगायो ।  

ट्वाइलेट गएँ र मुख कुल्ला गरेँ । जिब्रोमै साबुन लगाएर धोएँ । 

फर्केर आउँदा ऊ खाटमा पल्टिएकी थिई । 

जुठोबाट एड्स सर्दैन के ! उसले निस्पृह भावले भनी । 

न त्यहीँ सुत्नु, न घर जानु ? कस्तो अप्ठेरोमा परियो ! 

सुतेँ, एउटै खाटमा तर अलग्गै । मान्छेको मनोविज्ञान पनि अचम्मको हुने रहेछ । 

भोलिपल्ट बिहान भयो । उठेँ । मुख पनि नधोई हेलमेट घुसारेँ टाउकोमा । 

हिँड्ने बेला साउनीले भनी– चिन्ता नलिनु के । त्यस्तो रोग केही पनि छैन मलाई । परपुरुषसँग जोगिनलाई मात्र पनि कति अभिनय गर्नुपर्ने के आइमाईले !
मलाई आफैंदेखि घृणा लागेर आयो ।  

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६  ०९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC