site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
आफ्नै समय चोर्न पोखरा फर्किएँ
Sarbottam CementSarbottam Cement

नेपाली रङ्गमञ्चमा लामो समयदेखि निरन्तर काम गरिरहेका रङ्गकर्मी हुन् अनुप बराल । नाटक पढेर–पढाउँदै आएका उनी कुशल अभिनेता पनि हुन् । नाटक र चलचित्र दुवैमा उत्तिकै शिल्प प्रस्तुत गर्ने अनुपले दर्जनौं नाटक निर्देशन गरेका छन् । अभिनय र निर्देशनलाई सँगसँगै अगाडि बढाएका उनले दर्जनभन्दा बढी चलचित्रमा अभिनय पनि गरेका छन् । उनै अनुप अहिले लामो समय कर्मभूमि काठमाडौं छोडेर जन्मथलो पोखरा फर्किएका छन् । अब उनले ‘वर्किङ स्टेसन’ पोखरालाई बनाएर नाटक र चलचित्रमा काम गर्नेछन् । यसबाहेक अन्य नयाँ काम पनि उनको योजनामा छन् । अनुपसँग उनको पोखरा फिर्ती, अबका योजनासँगै नेपाली रङ्गमञ्च र रङ्गकर्मका विषयमा केन्द्रित रहेर बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीको सारः

अरु अवसरका लागि मोफसल छोडेर काठमाडौं आउँछन्, तपाईं लामो समय बसेको काठमाडौं छोडेर पोखरा फर्किनुभयो । अनुप बराल अब काठमाडौं फर्किंदैन भन्ने हल्ला छ नि ?
त्यस्तो होइन । काठमाडौं र पोखरा भौगोलिक दूरीका हिसाबले पनि त्यति धेरै टाढा छैन । मलाई पोखरा बस्दा पनि काठमाडौंमै छु जस्तो लाग्छ । सर्जकले गर्ने काम हो, काम जहाँ बसेर गर्दा पनि केही फरक पर्दैन । सामाजिक सञ्जालका कारण पनि भौगोलिक दूरीले खासै असर गर्छ जस्तो लाग्दैन । काम गर्ने माहोललाई अझै बृहद् बनाउन म पोखरा आएको हुँ । काठमाडौंमा बसेर जे गरेँ, काठमाडौंबाहिर बसेर त्यही काम गरेँ भने त्यो ठाउँका लागि केही सहयोग पनि हुन्छ । 

काठमाडौं बसेर काम गर्नुपर्छ भन्ने मान्यता छ नि ?
पोखराबाट मैले मेरो रङ्गकर्म सुरु गरेँ । सिर्जना कर्म पनि पोखराबाटै सुरु गरेँ । केही कारणले काठमाडौं बस्नुपर्ने अवस्था थियो । अब त्यो नरहेपछि फर्किएँ । जुम्लामै बसेर पनि काम गर्न सकिन्छ जस्तो लाग्छ मलाई । मैले काठमाडौं बसेर काम गरे पनि देखाउने ठाउँ काठमाडौं, जनकपुर, विराटनगर हुन सक्छ । बढ्दो विकास र प्रविधिका कारण त्यसो गर्न सहज छ । 

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौंमा बसेर काम गनुपर्छ भन्ने मान्यता भइरहेका बेला मेरो बुवा (वात्सायन) पोखरामै बसेर काम गरिरहनुभएको छ । सरुभक्त पोखरामै हुनुहुन्छ । प्रकाश घिमिरे, माओत्से गुरुङ पोखरामै बसेर नाटक र चलचित्र दुवैमा काम गरिरहनुभएको छ । 

तपाईंको आफ्नै एक्टर स्टुडियो छ । त्यहाँ पढाउनु हुन्छ । चलचित्रमा अभिनय पनि गरिरहनुभएकै छ । बेलाबेलामा नाटक निर्देशन पनि गरिरहनु हुन्छ । काठमाडौंमा बसेर काम गर्न जति सहज छ, पोखरामा बसेर त्यति नै गर्न सकिएला ?
झन् धेरै समय आफू र आफ्ना लागि दिन पाउँछु भन्ने विश्वास लिएको छु । काठमाडौंमा झन् धेरै विभाजित भएँ । रङ्गकर्म मात्रै भएन । राम्रो स्क्रिप्ट आयो भने चलचित्र पनि गर्न मन लाग्छ । सार्वजनिक कार्यक्रममा साथीभाइहरुले बोलाउँछन्, जानैपर्यो । आफूलाई समय दिनुपर्छ भन्ने लाग्यो । 

Global Ime bank

नयाँ केही योजना पनि छन् । धेरै पहिलादेखि मैले रङ्गमञ्चसम्बन्धी किताब लेख्ने प्रयास गरिरहेको थिएँ । रङ्गमञ्चका अलगअलग पाटालाई समेटेर पुस्तक लेख्ने मेरो इच्छा हो । त्यो त्यतिकै थाँती नै रहेको थियो । ‘मेमोयर’ पनि लेख्न मन छ । सायद मैले आफ्नै समय चोर्न पनि खोजेको हुँला । 

यसको मतलब चलचित्र र नाटकमा यहाँलाई जति देखिन्थ्यो, त्यो अब पातलिने हो ?
हुँदैन, त्यस्तो हुँदैन । खगेन्द्र लामिछानेको ‘पानी फोटो’को ४० दिनको सुटिङ सकेर भर्खरै फर्किएको छु । आराम पनि चाहिन्छ । अभिनेताले धेरै काम गर्नुहुन्छ जस्तो लाग्दैन । एउटा भूमिकाबाट अर्को भूमिकामा स्विच हुन केही समय लाग्छ । बस्ने मात्रै पोखरा हो । काम गर्न त म जहाँ पनि जान्छु । बस्ने स्टेसन मात्रै पोखरा हो । 

अनुप बराल आफैंमा अग्रज रङ्गकर्मी, तपाईंले पढाएका सयौं विद्यार्थी अहिले नाटक र चलचित्रमा छन् । तपाईंले सुरु गर्दा र अहिलेको नाटकको अवस्थामा फरक के छ ?
धेरै नै फरक छ । मैले रङ्गकर्म सुरु गर्दा ‘नेपाली रङ्गमञ्च मर्यो’, (नाउ नेपाली थिएटर इज डेड) भन्ने गरिन्थ्यो । रङ्गकर्ममै रहेकाहरु पनि ग्ल्यामरका अरु क्षेत्रतर्फ लागेका थिए । टेलिभिजनतर्फ लागेका थिए । रङ्गमञ्च भनेको मरुभूमिको पट्यारलाग्दो ठाउँको यात्राजस्तो थियो । रेल चढेर एउटा प्लेटफर्ममा ओर्लिएपछि एकछिन हलचल हुन्छ । त्यसपछि लामो सुनसान हुन्छ, त्यस्तै थियो मैले सुरु गर्दा नेपाली रङ्गमञ्चको अवस्था । 

अहिले काठमाडौंलाई हेर्ने हो भने त्यहाँ रङ्गकर्ममा ठूलो परिवर्तन आएको छ । सबैभन्दा ठूलो परिवर्तन त अलगअलग नाटक घर स्थापना गरिए, त्यो पनि राज्यको सहयोगविना । मलाई लाग्छ, साउथ एसियामा रङ्गकर्ममा आएको सबैभन्दा ठूलो परिवर्तन हो यो । अरु देशमा पनि थिएटर होलान्, छन् । रङ्गकर्म पनि होला, छ । तर व्यक्तिगत तवरमा निकै कम छन् । सरकारी सहयोगमा स्थापना भएका थिएटर छन् ।

राम्रो नाटक बनेको अवस्थामा अहिले नाटक हेर्नेको भीड जहाँ पनि लाग्छ । हाम्रो समयमा मध्यमवर्गीय परिवारका दर्शक नाटक हेर्न आउँथे । अहिले नयाँ दर्शकको आकर्षण छ । विश्व–विद्यालय, विद्यालयका विद्यार्थी पनि दर्शक भएका छन् । 
एउटा नाटक रिहर्सल गरेपछि महिनौंसम्म मञ्चन गर्न सक्ने अवस्था नै थिएन । कि त प्रयोगवादी नाटक भइरहेका थिए, त्यस्ता नाटक दर्शकले कुन छेउ कुन टुप्पो पत्तो लगाउन सक्दैनथे । कि अश्लील संवाद प्रयोग गरेर हल्काफुल्का नाटक तयार हुन्थे । जुन अहिले छैन । नेपाली नाटक अहिले अन्तरराष्ट्रिय फेस्टिभलहरुमा जान थालेका छन्, जुन सुखद सङ्केत हो । 

तर समस्या के हो भने मैले नाटक सुरु गर्दा पनि नाटक र नाटकका गतिविधि काठमाडौंमै केन्द्रित थियो । अहिले पनि काठमाडौंमै केन्द्रित छ । यसमा परिवर्तन आएको छैन । भलै, पोखरा र विराटनगरमा नाटक घर खुलेका छन् । झापामा पनि साथीहरुले खोल्दैछन् । आशा गरौं, यो क्रम बाक्लिने छ । 

महिला रङ्गकर्मीको उपस्थिति (निर्देशन, अभिनय र रङ्गमञ्चका अन्य प्रभाग)मा दह्रो रुपमा हुनु पनि पहिले र अहिलेको रङ्गमचमा देखिएको ठूलो परिवर्तन हो । 

रङ्गकर्मले दशकौं गुजारे पनि उति साह्रो फड्को मार्न सकेको छैन । बरु पछिल्ला केही वर्षयता नाटकको गुणस्तर झनै खस्कियो भनेर स्वयम् रङ्गकर्मीहरु नै भनिरहनुभएको छ । यो त झन् उल्टो भएन र ?
धेरै नाटक दोहोरिएको हो । एकै प्रकारका नाटकको पुनरावृत्ति भएकै हो । यसबाटै सिक्दै अगाडि बढ्ने हो । हामीले एउटै कुरा दोहोर्याइरहेका रहेछौं भन्ने थाहा भएपछि मान्छेले त्यसबीचबाटै नयाँ काम सुरु गर्ने हो । मुख्य कुरा रङ्गमञ्चका गतिविधि बढ्नुपर्यो । गतिविधि बढ्दै गएपछि राम्रो–नराम्रो छुट्टिँदै जान्छ । र, मान्छेले राम्रो कुरालाई अगाडि लिएर जान्छ ।  

काठमाडौंमा नाटक घर थुप्रै खुले । थुप्रै रङ्गकर्मी सक्रिय छन् । तर पनि नाटक घर, त्यसभित्रका सिटको अवस्था उस्तै छ । आज पनि हाम्रा नाटक घर साह्रै दयनीय देखिन्छन्, किन ?
सही कुरा हो । सुविधा सम्पन्न रङ्गमञ्चको खाँचो छ । नाटक हुनलाई स्क्रिप्ट, खेल्ने पात्र र स्थान भए पुग्छ । पहिलापहिला ग्रिसमा नाटक हुँदा मञ्च नै हुँदैनथ्यो । डाँडा काटेर मञ्च खडा गरिन्थ्यो । हामीले त्यो अवस्था ‘स्किप’ गर्यौं । तर त्यो भन्दा महत्वपूर्ण कुरा अहिलेको अवस्थामा आधारभूत संरचना हुनैपर्छ । ट्वाइलेट सफा होस्, गर्मीमा शीतल भैदियोस् । यी कुराहरु नेपाली थिएटरहरुले सुधार गर्नैपर्छ । 

नाटकलाई चलचित्र झैं किन व्यावसायीकरण गर्न सकिएन ? चलचित्रमा कलाकारले कसेर पारिश्रमिक लिइरहँदा नाटकका कलाकारले त्यो अपेक्षा गर्ने अवस्था छैन । कथंकदाचित आइगयो भने दामाशाही तरिकाले बाडौंला भनिन्छ । यस्तो अवस्था किन ?
दुई–तीन कारण छन् । पहिलो कुरा, हामीले नाटकलाई चलचित्र झैं किन व्यावसायिक बनाउन सकेनौं । नेपालमा मात्रै होइन विदेशमा पनि अवस्था त्यस्तै हो । राम्राराम्रा रङ्गकर्मीले भारतमा पनि पैसा त परकै कुरा, राम्रो थिएटर पनि पाउँदैनन् । रहर पूरा गर्ने ठाउँ पनि पाएका छैनन् । तर नेपालमा हामीले त्यस्तो अवस्था बेहोर्नुपरेको छैन । 

अर्को कुरा, थिएटर हल सानासाना छन् । डेढ सय जनाभन्दा बढी अट्नेखालका छैनन् । टिकट दर पनि महङ्गो नहुने गरी राख्नुपर्यो । त्यो टिकटबाट उठेको पैसाले राम्रो नाटक गर्नका लागि सेट, लाइट, इफेक्ट्स, साउन्ड, म्युजिक परिकल्पना गर्नुपर्यो । प्रोडक्सन खर्चिलो हुन्छ । टिकटबाट पैसा कम आउँछ । कलाकारलाई दिन पैसा नै बाँकी रहँदैन । 

मेरो विचारमा नाटक समाजको कल्चरको सबैभन्दा महत्वपूर्ण हतियार हो । यसले समाज निर्माण तथा दीर्घकालीन रुपमा सचेत नागरिक बनाउन, जीवनको सौन्दर्य खोज्ने चेतना जागृत गर्ने ठाउँ हो नाटक । यो महसुस गर्ने मान्छे रङ्गकर्ममा कम आउँछन् । आए पनि आउँछन्, केही समय बस्छन् र अर्कोतर्फ हिँड्छन् । 

समाजमा रहेका उद्योगी–व्यापारीमा नाटकले राज्यमा सचेत नागरिक निर्माणमा सहयोग गर्छ भन्ने बुझाइ नभइदिनाले स्पोन्सर पाउन मुस्किल परेको छ । उद्योग तथा व्यवसायबाट स्पोन्सर भएका खण्डमा कलाकारलाई बाँड्न सक्ने पैसा आउँथ्यो होला । 

समाजले नाटकको महत्व र योगदानलाई बुझ्न सकेन कि सरोकारवालले बुझाउने पहल नै गरेनन् ? 
यसमा दुवैको कमजोरी होला । हामीले जुन पहल गर्नुपथ्र्यो, त्यो गर्न पनि सकेनौैं भन्ने लाग्छ । व्यावसायिक रुपमा अगाडि लैजान नसकेकै हो । 

रङ्गमञ्च क्षणिक कला हो । नाटक लेख्यो, एक महिना रिहर्सल गर्यो । अर्को एक महिना देखायो, त्यसपछि सकियो । अर्थात् यो क्षणिक कला हो । अरुमा एकपटक लगानी गरेपछि त्यसबाट आम्दानी भइरहन्छ । तर नाटकमा त्यो अवस्था हुँदैन । राम्रो नाटक बनाउने अनुभवी निर्देशकका लागि त केही अवसर पनि होला नाटकमै । तर नयाँ निर्देशकलाई कसले पत्याउने ? कहाँ काम देखाउने ? समस्या छ । राम्रो काम गर्नेलाई राज्यको संरक्षण आवश्यक छ । राज्यको संरक्षण र सहयोगविना रङ्गमञ्चले दिगो स्वरुप ग्रहण गर्न सक्दैन ।  
    
रङ्गकर्म चलचित्रसम्म पुग्ने भर्याङ बनिरहेको यहाँ पनि स्वीकार्नु नै हुन्छ होला । तपाईं स्वयम् पनि केही ब्यानरका चलचित्रमा काम गरिरहनुभएकै छ । नाटकमै सन्तुष्टि छ भन्दाभन्दै रङ्गकर्मीहरु किन चलचित्रमा जान्छन् ?
यो कुरामा मेरो सहमति छैन । नाटक र चलचित्र एकअर्काका परिपूरक हुन्, तर हामीले यसलाई फरकफरक भनेर बुझिरहेका छौं । र, नाटकमा काम गर्नेले चलचित्रमा र चलचित्रमा काम गर्नेले नाटकमा काम गर्नु हुँदैन भन्ने गलत मान्यता छ । कलाकार भइसकेपछि उसले कहाँबाट–कसरी आफ्नो कला र आइडियालाई धेरैभन्दा धेरै दर्शकमाझ लैजान सकिन्छ भन्ने कुरामा ऊ स्वतन्त्र हुन्छ । कति कुराहरुमा चलचित्रले रङ्गकर्मलाई आइडिया दिएको छ । रङ्गकर्मबाट चलचित्रमा गएका कलाकारबाट कयौं चलचित्रले नयाँ स्वरुप पाएका छन् । नयाँ सोच र अभिनयको तौरतरिका पाएका छन् । राम्रो चलचित्र गरेर नाम कमाएपछि थिएटरमा काम गर्दा चलचित्रका दर्शक पनि थिएटरमा आउन सक्छन् । यो प्रक्रिया चलिरहनुपर्छ । थिएटरलाई चटक्कै छोडेर चलचित्रमा मात्रै काम गर्यो भने त्योचाहिँ समस्या हो । तर दुवैलाई सँगै लिएर अगाडि बढ्यो भने केही समस्या हुँदैन । 

सिँढी बनाउने कुरामा हलिउड र बलिउडमा हेर्ने हो भने त्यहाँका भेट्रान एक्टर–एक्ट्रेस थिएटरबाटै गएका छन् । त्यहाँ कसैले किन तिमीहरु चलचित्रमा आयौ ? किन थिएटरमा फर्किएनौ भनेर सोधेको पाइँदैन । अलि धेरै दर्शकमाझ पुग्नुपर्छ भन्ने मोह होला । यसमा खुल्ला हुनुपर्छ भन्ने लाग्छ । 

चलचित्रमा जस्तै नाटकमा पनि काम गरेर जीवन निर्वाह हुने गरी पारिश्रमिक पाउने र सिनेमा घरमा जस्तै नाटक घरमा दर्शकको लर्को लाग्ने दिनको कल्पना गर्न सकिएला ? 
भैरहेको छ । राम्रो नाटक गर्दा दर्शक आउनुभएको छ । मैले ‘कोर्ट मार्सल’ गर्दा बनेपाबाट गाडी रिजर्भ गरेर दर्शक आउनुहुन्थ्यो । टिकट नपाउँदा भनसुन गराउनुहन्थ्यो । भएन भने हामीलाई जसरी पनि टिकट चाहियो भनेर झगडै गर्न आएको हामीले देखेकै हौं । नाटकको गुणस्तरले नै दर्शकलाई तान्न सक्नुपर्छ । नाटक राम्रा हुन्छन् भन्ने भावना दर्शकमा सिर्जना गर्नुपर्छ । 

तर समस्या थिएटर हलको क्षमता नै कम छ । एकै पटक १० वटा हलमा लगेर प्रिन्ट देखाउन मिल्दैन । दुईवटा भन्दा धेरै सो दिनमा देखाउन सकिँदैन । पैसा जेनेरेट हुने सोबाट नै हो । नाट्य स्वरुप नै क्षणिक हुन्छ । लाइभ एक्टको विशेषता नै यही हो । नाटकको दर्शक र कलाकारबीचको सम्बन्धका फाइदा र बेफाइदा दुवै छन् ।  

अग्रज रङ्गकर्मीलाई पछिल्लो पुस्ताले सधैं लगाउने गरेको आरोप छ, नेपाली रङ्गकर्मलाई माथि उठाउन अग्रजहरुले पहल नै गरेनन्, जसको मार हामी भोगिरहेका छौं । सत्य हो ?
रङ्गकर्म गर्न नै गाह्रो थियो । भोकभोकै काम गर्न सकिँदैन । भोको पेटमा नाटक पनि कुरुप देखिन्छ भनिन्छ । वातावरण नै थिएन । वातावरण नबन्नुको कारण एउटा वा दुइटा व्यक्तिले पहल गरेर मात्रै हुँदैन । राज्यको सांस्कृतिक उदासीनताको कारण अथवा राज्यको सांस्कृतिक विभाग हेर्नेहरुमा कल्चरल स्वरुप नै विकास हुन सकेनन् । यसको सीधा असर रङ्गकर्ममा पर्यो । राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने, नयाँ कुरामा प्रेरित गर्ने काम राज्यले गर्नुपर्छ । नाटक मञ्चन गर्ने मात्रै काम भयो । नाटक स्कुल खोल्ने काम भएन । अग्रजहरुले जति गर्नुभयो त्यति पनि नगर्नुभएको भए अहिले हामी जुन धरातलमा बसेर काम गरिरहेका छौं, यो पनि सम्भव थिएन । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC