परिबन्द

परिबन्द

पुष्कर शमशेर 


रने र उसकी स्वास्नी सेती बेलुका इस्टमित्र कहाँ गएका थिए । उहीँ खानपिन प्रशस्त भयो, उसैले घर फर्केपछि पकाउने लण्ठा नपरेकोले झमक्क भएसम्म बारीमा नै अलमल गरे । घरभित्र पसेको एकछिनपछि उनीहरूको सुत्ने बेला भइहाल्यो । रने धुस्स फुलेको थियो, त्यसैले सेती अनेक कुरा उठाई ऊसँग एकदुई शब्द खोस्नपट्टि थिई । 

“हाम्रोभित्र त यसलाई ढिकीच्याउँ भन्छ । तपाईंहरू के भन्नुहुन्छ हँ ?”
“कुन्नि के भन्छ ।”
“यल्ले त कपाल चोर्छ रे हो ?”
नजिकैको जुत्ता टिपेर रनेले कीरोलाई मार्न उठायो । उसकी स्वास्नीको ‘नमार ! नमार !’ लाई टेरै नलाई एकै चोटमा भुत्तुक्क पारिदियो ।
“हरे नारायण, बैकुण्ठबास् होस् । अर्काले भनेको कत्ति नमान्ने छि ! कतिको पाप लाग्यो बाबै ।”
“जति लाग्छ लागोस् ।”
“उता गुनुगुनु गरेको सुनिन्छ । अर्को साथी रैछ क्यारे ।”
“मेरो मेख मार्न ल्यायो होलानाईं, एउटी ठिटी ।”

पल्लो कोठामा केही गरुङ्गो चीज ढुङ्ग गरी खसेको आवाजले रनेको निन्द्रा खुल्यो । सेतीको निन्द्रा अघिदेखि नै गद्र्याक–गुद्रुकको आवाजले खुलिसकेको थियो । दुइ–तीन पटक सुस्त–सुस्त रनेलाई घच्घच्याई, तर उसको निन्द्रा खुलेन । 
यो कुरा खसमलाई दबेको स्वरमा भनी । दुवैजनाले वाल्ल परि उत्तापट्टि ध्यान दिए, त्यसपछि अरू केही आवाज सुनिएन । बीचमा अर्को खण्ड हुनाले सानोतिनो आवाज सुनिँदैनथ्यो । रनेले टुकी बाल्यो, किलामा सिउरेको भोटो झिक्यो अनि ‘लाहुरे मोराले के विध्वंश गर्न थाल्यो ए !’ भन्दै तुना बाँध्दै ढोकाबाहिर निस्कन लाग्यो । उसकी स्वास्नीले रोकी– “अघि जुझेर पुगेन ? फेरि जुध्न मनलाग्यो । भैगो नजाऊ ।”
“छड्छड् ! दैलोको प्वालबाट मात्रै च्याउँछु । जतिजति यो हाम्रो घरमा..., ओहो ! को रैछ है त्यो ।” 
“को हँ ।”

“को, को, ठम्याउन सकिनँ । त्यसको कोठाबाट एउटा मान्छे फुत्त निस्केर भाग्यो ।”
“हँ ! स्वास्नीमान्छे ?”

“लोग्नेमान्छे । टोपी देखेँ । निको चाल छैन है ।”

दुवै जोईपोई आँगनमा निस्की लाहुरेको कोठातिर गए । ज्यादा अँध्यारो नभए तापनि नजिकै पुगेपछि मात्र ढोका ह्वाङ्ग देखे । भित्र चुक घोप्टाएको जस्तो अन्धकार थियो । निकैबेर कान थापेर सुन्दा न स्वाँ...फ्वाँको आवाज न अरू कुनै आवाज आयो । रनेको मनमा लाहुुरे त्यहाँ छैन भन्ने पक्का भयो । लम्केर आफ्नो कोठामा गई टुकी ल्यायो । देख्यो– खाटको ओछ्यानमा सिराननेर ठूलो नाङ्लो जत्रो रगतको टाटा परेको, टुकीको दोछायाँले दोब्बर बढाएको, लाहुरेको अथुलाएको शरीर खाटअगाडि भुइँमा पस्रिएको, चिउँडो, घाँटी, गर्धनमा खुकुरीका ठूल्ठूला घाउ भए तापनि घोक्रो नछिनेको, एकोहोरिएका आँखाले शून्यतातिर हेरी शीर हानिरहेको । 

अब सेतीले सम्झी– एक–दुई पटक हानेको आवाज– झटक पनि उसका कानमा परेको थियो, तर त्यसबेला खुकुरीले काटेको भन्ने मनमा अंशमै थिएन । रनेले त्यहीँको अङ्खोरा टिपी लाहुरेलाई पानी खुवाइदियो । एकछिनमा हुरुक्कै प्राण गयो । पानी सुबिस्तासँग निलियोस् भनी लाहुरेले मुन्टो सोझ्याउँदा कहाँकहाँ रगत लाग्यो, रनेले पत्ता पाएन ।

रने अहिलेसम्म चुप थियो । उसकी स्वास्नी भने– “लौन नि कुन पापीले होला ! म त हेर्न पनि सक्तिनँ नि ! कसरी सकेको होला, हरे !” इत्यादि भन्दै टुकी देखाइरहेकी थिई ।
रनेको मनमा लाहुरे मरेको पक्का भएपछि टुक्रुक्क बसेकोबाट लामो सास फेरेर त्यो उठ्यो ।
“राणाको छोरो अहिले मर्ने थाहा पाएको भए मो किन अघि झगडा गथ्र्यो । अब के गर्ने ?”
“पल्लो घरको...?”
“हैन, तै तै द्वारेलाई खबर दिन्छु ।”
“म त यहाँ एक्लै बस्न सक्तिनँ ।”
“यहाँ भोजराज बाजे कहाँ जा न, उनीहरू सुतेका छैनन् क्यारे ।”
रनबहादुर गुरुङ– उसको पूरा नाउँ त्यही थियो । आफ्नो कोठामा गयो, कोट र टोपी लायो, खुकुरी टिपी भिर्न आँटेको थियो, फेरि के मनमा आयो त्यो खुकरी जहीँको तहीँ राख्यो । सेतीलाई दुवै कोठामा ढोका हुली जान अह्राई फटाफट द्वारेको घरतिर लाग्यो ।

बदली हुनाले जुन लागेको थिएन, तापनि बाटो हिँड्न सक्नेसम्मको उज्यालो थियो । राति सुनिने आवाज प्रशस्तै थियो, तापनि रनेका कानलाई थिएन । रजनीको शासन चल्दाको दृश्यमा आनन्द लिनेलाई हेर्ने कुरा प्रशस्तै थियो, तर रनेको आँखालाई थिएन । लाहुरेको कोठाबाट निस्केको मान्छे को जस्तो थियो ? त्यही पत्ता लाउनमा उसको ध्यान व्यस्त थियो । तर उसको सारा प्रयत्न काम दिँदैन । उसमाथि पनि सलाईको आगो र टुकीको बत्तीमा केहीबेर आँखा लाएर बाहिर अँध्यारोमा हेर्दा त्यही उज्यालोको पहेँलो टाटो एकछिनसम्म नाचिरहन्छ । त्यस्तो अवस्थामा अचानक देखिएको दगुरेको मानिसलाई फलानो हो भन्न कम गाह्रो कुरा थिएन । द्वारेको घरनजिक पुगेपछि एकाएक रने ठिङ्ग उभियो । उसको मनमा अर्को विचार उठ्यो ।

द्वारेले उसले मार्‍यो कि भन्ने शङ्का गरी उसलाई पक्र्यो भने ! मार्ने मान्छे भाग्यो भन्दैमा द्वारेले पत्याउला ? खून भएको थाहा पाउनासाथ किन उसको पछि कराउँदै लगार्दै रने नगएको ? रने जस्तो अग्लो, ‘ज्वान’ मान्छेले त्यसलाई पक्रनु केही अचम्म थिएन । कि त उसले त्यो मानिसको नाउँ दिन सक्नुपर्दथ्यो कि हुलिया । रनेले मारेको होइन भन्ने साक्षी नबोल्ने देवता र उसकी स्वास्नीमात्र थिए । ‘दूधको साक्षी बिरालो’ भनी उसकी स्वास्नीको कुरा कसले सुन्ला ? 

अनि सबभन्दा गडाउको कुरा त यस्तो होला भन्ने कसरी देख्नु– सेतीका निम्ति दिउँसो लाहुरेसित कुस्ता–कुस्ती पर्दा रीसको झोँकमा ‘यसलाई नमारी छोड्दिनँ, गए एक ज्यान त जाला नि’ भनी छुट्याउन आउनेहरूको अगाडि उसले कुर्लेको थियो । सरजमिन बस्ता उनीहरूले यो कुरालाई अवश्य बिर्सने छैनन् । हरे ! त्यो मानिसलाई पक्रने उसको बुद्धि किन आएन । यसबेला गए भेट्टाउन सकिएला ?

रने फक्र्यो, दुई–चार कदम अघिजत्तिकै तडकेर हिँड्यो; फेरि अडियो; बिस्तारै–बिस्तारै टाउको हल्लायो । रनेले गधापच्चिसी पनि नाघेको थिएन, भर्खर बाइस वर्षमात्र टेकेको थियो । भागेर मुग्लान पस्नु नै उसको बचाउको एक मात्र खुला द्वार हो भन्ने उसले ठान्यो । त्यसबेला उसले झलक्क सेतीको मुख देख्यो, घाँटी मस्कियो । तर पक्राउ खाने डरको अगाडि माया टिक्न सकेन । पहिलेको रने र अहिलेको रनेमा जमिन–आसमानको फरक थियो । अघि खुनी पक्राउने सरकारको अङ्गको रुपमा आफूलाई सम्झेको थियो, अब अरूका आँखाले हेरी आफूलाई खूनीको रुपमा लियो । उसैले सबैतिरबाट भयरुपी भूतले उसलाई घेरे ।  शूरोमा एक नम्बर ठहरिएको रने अहिले भल्का कराएको सुन्दा पनि झस्क्यो । यताउति हेर्दै भाग्न थाल्यो । जतिजति भाग्दथ्यो आफ्नो खाल्डो खन्दै जान्थ्यो ।

भारदारी तेस्रो फाँटको पुरानो विचारी पद्मनिधि लामिछाने मुद्दा खुब केलाउने गर्दथे । झगडियाहरूसँग सधैं मीठो–मसिनो बोली गर्ने उनको आदत बसेको थियो । 
“ए लालबहादुर ! कैदीलाई भित्र ले । रने, बस् बाबु । बडो लायकको राम्रो रहेछस् बाबु तँ त ।”
“खै हजुर, मान्छे राम्रो भएर के गर्नु, कर्म राम्रो चाइँदो रैछ ।”  
‘आज तेरे मुद्दा चाइने तालुकवाला कहाँ जाहेर हुन्छ बुझिस् ?”
“बुझेँ, कसो होला हजुर मेरो मुद्दा ?” लामिछानेले ओठ लेप्य्राई मुन्टो हल्लाए ।
“खाएको बिख पो लाग्छ हजुर, नखाएको बिख त लाग्नु नपर्ने हजुर ।” उत्सुकता शून्य स्वरमा रनेले भन्यो ।
“मनासिब भनिस्, तर के गर्छस् ! अघिल्लो  दिन झगडा हुँदा चाइने तैंले नमारी छोड्दिन भनेको सुन्ने साक्षी त्यतिका चाइने छन् । तेरै स्वास्नी– को रे ? अँ, सेतीले पनि भनेकी छ । तँ चाइने होइन भन्छस् । फेरि...?”
“त्यो त...”

“पख्, त्यो जुन रातमा खून भएको छ चाइने त्यही रातको केहीअगाडि तेरो घरको बाटो गरी– केरे– काल्चा नेवार चाइने जान लागेको रहेछ । तेरी स्वास्नीले ‘नमार ! नमार !’ भनी कराएको, चाइने पछि ‘बैकुण्ठबास होस् !’ भनेको सुनेछ । सेती ‘त्यसो भनेको त हो तर चाइने मेरो पोइले कीरालाई मार्न खोज्दा भनेको’ भनेर साबित भई । कसैले चाइने पत्याउने कुरा हो त्यो ? तैंले चाइने त्यो कुरा भनेको होइन भनी इन्कार गरिस् ।”
“त्यो त हजुर, डरले पहिले होइन भन्यो, पछि त...”

“मेरो कुरा सुन्, पछि साबित भइस् त्यो गर्नाले झन्, के भो ? चाइने इन्साफ गर्नेहरूलाई भएको कुरा पनि त चाइने ढाँट्तोरहेछ भने खून गरेर चाइने इन्कार गर्न कत्रो आइतबार भयो भनी बुँदा पक्रन सजिलो भयो । फेरि सेतीलाई हातपात गरेकोले मर्नेमाथि तेरो रीस पूरा चाइने देखियो । गाउँघरमा अरू कसैको इबी लागेको लाहुरेमाथि चाइने कतैबाट गुज्रन आएन । त्यहाँ आएर त्यो बसेको पनि त चाइने धेरै भएको थिएन । हो, लाहुरे धनी त देखिन्छ; उसको कन्तुरमा नोटका क्याँटका क्याँट र कम्पनी चाइने रहेछ । तर चोर्नाको नियत गरी चाइने कसैले मारेको हो कि त भन्नलाई पनि कुनै माल चोरिएको देखिँदैन । सुरुसुरु द्वारेकहाँ गएर चाइने तैंले खबर दिएको भए पनि अलिकति तेरो ठाउँ हुन्थ्यो । झन् भागिदिनाले त रने, तेरो सबै कुरा बिग्रियो । तेरो मुद्दा सुन्ने बित्तिक्कै ‘नबिराएको भए चाइने किन भाग्थ्यो’ भनेर मै पनि भन्छु, ऊ त्यो पनि भन्छ, चाइने सबै भन्छन्, को भन्दैन ?”

“के गर्नु हजुर, अल्लारे बुद्धि, मैले भाग्न जानिनँ । स्वास्नीलाई तानेको देख्ता रीसले आँखा देखेन, त्यसमाथि मो जाइलाग्यो । रीसको झोँकमा के के बोल्यो के के, पत्तै पाएन । जाने पनि–नजाने पनि मैले गरेको त्यति हो हजुर । अरू मैले कौने कुरा खाई बिराएको छैन । डरले भाग्दैमा ज्यान जान्छ रे भने...।”

“हेर बाबु, परिबन्द भन्ने गव्जबको कुरा छ ।” अप्रेन्टिसमा भर्ना भई एउटा अङ्ग्रेजबाज त्यहाँ आइसकेको थियो, उसलाई फूर्ति देखाई लामिछाने जमीजमी भन्न लागे, “परिबन्दले गर्दा चाइने चोर साधु, साधु चोर हुनसक्छ । अब, हाकिम बाजे चाइने नआउनुभएसम्म यसलाई दुई–चार कुरा सुनाउनु पर्‍यो– खून करणी मुद्दाहरूमा चश्मदिद देखिजान्ने– साक्षी भएको मुद्दामा पनि धेरै जसो साक्षी दही चिउरे हुन्छन् । प्रमाणको समेत चाइने परिबन्दले रङ्ग बदलिदिन्छ । त्यस्ता मुद्दामा इन्साफ गर्नेहरूले चाहिने मुख्य टेक्ने कुरा परिबन्दै हुन आउँछ । परिबन्दैले बुझिस् बाबु, मुद्दा सुन्नेको ब्रह्ममा चाइने एउटा कुराको टक बसालिदिन्छ । त्यो सत्य पनि हुनसक्तछ चाइने झूटो पनि हुनसक्तछ, तर हामीले त्यसलाई सत्य नठानेको पक्षमा कामै चल्दैन । परिबन्दले चाइने गडायो भने अरू कुराले अपराधीलाई रिहाइ दि साह्रै उकालो पर्दछ । अहिले, तेरै चाइने मुद्दाको कुरा लिउँ, तैले चाइने खून गरिनस्– एउटा कुरामा मात्रै नि है, त त साँच्चै नै भन्लास् फेरि । लाहुरेसित तेरो पिटापिट चल्दा छुट्याउनेमध्ये एउटाको मन चाइने कालो थियो । लाहुरेले चाइने साथैमा पैसा ल्याएको छ भन्ने त्यसले सुनेको हुन केही असम्भव छैन । चाइने तैले ‘लाहुरेलाई नमारी छोड्दिनँ’ भनेको पनि चाइने त्यसले सुन्यो । उसको मनमा पाप उठ्यो, लाहुृरेलाई मारेको दोष रनेको टाउकोमा चाइने परिहाल्छ, पोको सड्क्याएको सड्काएकै हुन्छ । अब तिमीलाई इष्टमित्रकहाँबाट आई बारीमा बस्ता त्यो पापी चाइने लाहुरे कहाँ गई रातिलाई बास माग्यो । अझ भन्यो होला चाइने ‘झगडा परेको, उसमाथि मार्छु भन्ने मानिसको घरमा एक्लै दोकलै सुत्ता के कसो पर्छ, चाइने साथी सुताउनु बेस छ ।’ लाहुरेको चित्त बुझी त्यो पापीलाई चाइने सुतायो । तिमीहरूले राति चाइने सुत्नु अगाडि तिनीहरूले कुरा गरेको सुन्यौ जब चाइने त्यो बदमासको मनमा हैन, यहाँनेर चाइने एउटा कुरो छुट्यो । तर भइगयो त्यो ‘नमार नमार’ भनेको कीरालाई नै हो भन्ने सम्झूँ । अब त्यस पापीको मनमा चाइने तिमीहरूलाई पनि निन्द्रा पर्‍यो, चाइने लाहुरे पनि निदायो भन्ने पक्का भएपछि उठेर लाहुरेलाई छप्कायो । तर मच्चाएर चाइने हान्दा त्यो आवाजले तिमीहरू बिउँझौला भन्ने डरले निर्धक्कसँग हान्न पाएन, उसैले धेरै चोट चाइने लाउनुप¥यो । 

लाहुरे चलमलाउन चाइने छोडेपछि घोक्रो छिनाउनपट्टि त्यो चाइने लागेन । उसको ध्याउन्न त जसरी हुन्छ चाइने चाँडो कन्तुर खोली भएभरको गुटमुटाई चाइने भाग्नैपट्टि थियो । तर कन्तुरमा साँचो मिलाउँदा मिलाउँदैमा चाइने लाहुरे छटपटाई खाटबाट तल खस्यो, त्यसको ठूलो आवाज आयो, बद्मासको मन चाइने हड्बडायो, झन् तिमीहरूपट्टिको आवाज सुन्नासाथ त त्यसको होश गुम भयो । तुरन्तै साँचोको झुत्ता लाहुरेको सिरानमुनि चाइने घुसारी– कत्ताको दाम कत्ताको नोट– सुइँकुच्चा ठोक्यो । तँ चाइने सोझो गुरुङ– पानी खुवाउँदो भएका हात र पटुकामा चाइने रगत लाइस् । त्यो थाहा पाएको भए धुन्थिस् होला, थाहा पाइनस् । जाहेर गर्न गएको मान्छे जाहेर गर्नु चाइने कता घोरिन थालिस् । यसो चाइने विचार गर्दा, हैन बा अब मलाई नै पक्रन्छन् । लौ भाग्, भन्ने ठानिस् । अनि चाइने उहीँ कुलेलम ठोक्नैपट्टि लागिस्, नतीजाको ख्यालै गरिनस् । झन् पक्राउ खाएपछि त तेरो मुटुले चाइने ढ्याङग्रो ठोक्न थालिहाल्यो, अनि त किन चाहियो र– यो पनि होइन, त्यो पनि होइन भन्न लागिस् । कदाचित तँ निर्दोष भए चाइने यही कुरा भएको हुनुपर्छ, तर के गर्छस् । परिबन्दले तँलाई गाढेकै थियो, उसमाथि पनि भागी रापती खोलानेर पक्राउ खानु, भएकै कुराहरूमा पनि चाइने लप्पनछप्पन गर्नु, पछि अरु कुरामा साबित भई चाइने खून गरेको मात्र इन्कार गर्नु । अब बाँकी के रह्यो । हो, तैंले भागिदिएको भए र सुरुको अड्डा– पश्चिम दुई नम्बर अदालतले छुट्याउन लाउनेहरूउपर पनि चाइने शङ्का गरी कारबाई गरेको भए सायद त्यहाँनेर केही देखिन आउँथ्यो कि ? अब त चाइने यतापट्टि कुरा उठायो कि उपशङ्का ठहरिन्छ ।”

रने जय–विजय केही नबोली विचारीपट्टि एकटक लगाइरहेको थियो । उसको मनमा विचारीको कुराको के असर प¥यो मुखको भावबाट झल्कँदैनथ्यो । विचारीको भनाइको अर्थ उसको मगजमा नघुसेकोले बुझ्न बल बरेर हो या विचारीको अक्षर–अक्षर कलेजामा गाडिई बाहिर निस्कन खोजेको आँसुले उसका रुखा आँखामा बाटो नपाएर पसिना बनी निस्केको हो, रनेको निधारमा चिड्चिड् पसिना आएको थियो । पछिबाट तीन–चार पटक उसको ओँठ चल्यो । सायद ‘परिबन्द’ शब्द घोकिरहेको थियो । 

“हैजाले सप्पैलाई लग्यो”, विचारीको कुरा टुङ्गिएपछि रनेले लामो सास फेर्‍यो, बसाइको आसन बदल्यो अनि भुइँमा क्वारक्वार्ती हेरी– मानौं– त्यो तेलिया इँटले उसको भूत जीवनको चिपटको काम दिइरहेको थियो– थामिई भन्यो– “हाम्रो ठूलो जहान थियो, मोबाहेक त्यतिका जना सप्पै मरे, म एउटा किन बाँकी रह्यो होला भन्ने लागेको थियो, अभागी मोराको कर्ममा त्यस्तै माम्लामा पर्नुरहेछ र पो !”
“अँ, ल भन् ।”

“पश्चिम दुई नम्बर चाइने अदालतले चाइने यस्तो फैसला चाइने गर्‍यो अनि रनेको अपील चाइने त्यो मुद्दा भारादारी चाइने तेस्रो फाँटमा चाइने पर्न आयो ।”
जति बढ्ता धक मान्यो उति धेरै लामिछानेलाई ‘चाइन्थ्यो ।’ जहाँ सुब्बा बाजेले पनि चाइने सबै प्रमाण परिबन्दबाट चाइने सदर गर्नुभयो । उताबाट चाइने...”
“भइगयो, सबैले सदर गरे हैन ? अनि ?”
“इन्क्वारी हुनाले चाइने...”
“ल सोध न, त्यो के भन्छ ?”
“सरखार ! गुरुङको छोरा । अन्यायमा मर्नुपर्ने होइन,” रनेले हात जोडी करायो– “मैले कौने कुरा बिराएको छैन, सरकार !”
“नबिराएको भए किन भागिस् लाटा ?”
“सरखार ! त्यति भाग्न मैले जानेनछ ।”
“अब के गर्छस् बाबै ! सबैले तँलाई ठहर्‍याएर ल्याएछन् ।”
रनेको बाटो बयानी उसको मुद्दा के भयो उसैबाट सुन्न सेती पहिले लुमडीमा कुरिरहेकी थिई, तर मन भुट्भुटिएकोले एकै ठाउँमा स्थिर गरेर बस्न सकिन । घरि ऊ धरहरानेर पुग्थी घरि बागको ढोकासम्म जान्थी; हिँड्दा हिँड्दा खुट्टा गले; सडकमा हेर्दा आँखा टट्याए । आखिरमा जङ्गबहादुर महाराजको सालिकनेर बागको पर्खालमा अडेस लागेर सेती बसी ।

एकछिन त उसको मनमा रनेले रिहाइ पाएको आनन्द झुल्क्यो अनि बिस्तारै बिस्तारै निराशाको कालो बादलमा बेपत्ता भयो । केही बेर रनेसँग पहिले भेट भएको घटनातिर उसको मन डुल्यो– 
गुरुज्यूकहाँ बस्ता उसको नाउँ रामवदन थियो, रने उसलाई ‘राम’ भनेर बोलाउँथ्यो अरूहरू भने ‘सेती, सेती’ भन्थे । अरूका लैलैमा लागि गुरुज्यूकहाँबाट निस्केर घर जाने साथी खोज्दै थिई, केही दिनपछि वानेश्वरमा रनेसँग उसको भेट भयो । रने आइमाईसँग कुरा गर्न साह्रै लाज मान्थ्यो । उसले नै बोलाई पूर्व खोला जाने मान्छे रनेलाई थाहा थियो कि भनेर सोधी । कुरै कुरामा हैजाले रनेको जहानै मरेको हुनाले रने एकलो भएको, घरको अवस्था निकै बलियो भए तापनि लहरले रिफेलमा भर्ना भएको इत्यादि हाल उसले थाहा पाई । जतिजति रने शर्माउँथ्यो उसको मन उति त्यसपट्टि लहसिन्थ्यो । आखिरमा रनेको दसैंको बिदा नजिक हुनाले सँगै उसको घर हेर्न जाने कुरा उसले पक्का गरी । उहाँ पुगेपछि उसलाई रनेको घर मन पर्‍यो, अलिदिन उहीँ बस्ने भई अनि एक्लै कोठामा सुत्न डर लाग्यो, आफै रनेको कोठामा सरी । रनेले उसैबाट प्रिती सिक्यो, उसैलाई त्यो प्रिती दियो । 

सिक्रीको स्वाल्र्याङ– स्वाल्र्याङ आवाजको झझल्कोले उसको दिवास्वप्न भङ्ग भयो । अघि पनि दुईपटक यस्तो झझल्को उसका कानमा परी उठर हेरेको व्यर्थ भएको थियो तापनि ज¥याक्जुरुक् लुमडीपट्टि हेरी । नभन्दै उताबाट अरू मानिसहरूको बीचमा नेलको सिक्रीमा बाँधेको डोरी दुवै हातले माथि उठाई रने बिस्तारै–बिस्तारै आउन लागेको रहेछ ।

चार वर्षअगाडि पहिलो पटक त्यो तमाशा देख्दा उसको छाती रहेको थिएन । जे कुरा पनि अलिअलि गरेर पच्तो रहेछ । अहिले त्यो दृश्यले सेतीलाई एउटा हल्का चस्का मात्र दियो ।  गजब ! अघिको सेतीको खुल्दुली कहाँ गयो ? जुन प्रश्न सोध्ने उसको इच्छा थियो त्यसको जवाफ उसको आफ्नै हृदयले दियो – ‘सदर’ । तैपनि रने नजिक आएपछि सोधी– “के भो ?” 

अघिदेखि रने निहुरेर हिँडिरहेको थियो, सेतीको स्वर सुनेर पुलुक्क उसको मुखमा हेरी थामियो । केही बिर्सेको अनुहार लगाई सेतीलाई हेरिरह्यो । सेतीले दोहो¥याएर सोद्धा मात्र जवाफ दियो–
“सदर भो ।” 

सेती बिना आँसुले रुन लागी ।

“जान दे” क्षितिजतिर हेरी सिक्रीको डोरी हातमा बेर्दै रनेले भन्यो– “जन्मेपछि एकदिन मर्नुपर्छ, ढिलो–चाँडो मात्रै हो । अब दर्घामा बुझाउँला । परिबन्द भन्दो रैछ, परिबन्द भन्या क्या हो क्या हो ।”
फेरि स्वास्नीतिर फर्केर भन्यो– “मो यस्तो भैहाल्यो राम, तँलाई जहाँ बसेर...” रनेको चिउँडोमा केटाकेटीमा भर्‍याङबाट लडेको खत थियो, त्यही खत वरिपरिको मासु चाउरेर काम्यो, नाकको पोरा फर्फरायो, आँखा भने सुक्खै थिए, “...सुक्ख हुन्छ, बसेर खाई जीऊ गर् ।” रने एक–दुई कदम अघि बढ्यो, फेरि अडी सेतीतिर फर्केर हँसिलो मुख लगाई भन्यो– “मलाई एउटा कुराको सन्तोक भो । रेजिमेन्टले मैले मारेको ठाने पनि तेरो मनमा त म चोखै छु, हगि ?”
सेतीले टाउको हल्लाई ।

रने गएको सुनी पछ्यौरीबाट मुख झिकी सेतीले हेरी । स्वाल्र्याङ –स्वाल्र्याङको आवाज झन्झन् सुस्त हुँदै गयो, तर रनेको लामो गर्धनमा गलबन्दी नाचेको उसका आँखामा घुम्न र ‘मलाई एउटा कुराको सन्तोक भो’ भन्ने बोली उसका कानमा गुञ्जन छोडेन । उसको कलेजाका खाटाहरू उप्के । अघि रनेले कुरा गर्दा पनि नगिरेको आँसुको बलिन्द्र धारा छुट्यो । आवाज सुनिन छोड्यो, रने देखिन छोड्यो, तैपनि सेतीले आँसु नपुछी एकनाससँगै उतै हेरिरही...।

प्रतिकृया दिनुहोस
ad