site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
छन्द कवितासँग मेरो भावनात्मक सम्बन्ध छ : भूषिता वशिष्ठ
Ghorahi CementGhorahi Cement

ब्राह्मण परिवारमा जन्मिएकी भूषिताको विहानी हरेक दिन हजुरबुवाले पढ्ने पाठसँगै सुरु हुन्थ्यो । घरमा आमाले हरेक कुरा कविताको लयमा गर्ने भएकै कारण कवितासँग भूषिताको लगाव गहिरो रहन गयो । अहिलेका युवाहरु अङ्ग्रेजी भाषा र साहित्यमा आकर्षित भइरँहदा भूषिता नेपाली साहित्यमै रमाइरहेकी छन् । पुराना कालजयी कविता, र अहिलेका साहित्यमा रमाइरहेकी उनले हालसम्म करिब १५ ओटा छन्द, ३० ओटा गद्य र २०० भन्दा बढी अङ्ग्रेजी भाषामा कविता रचना गरिसकेकी छिन् ।

आमा–बुवाको डाक्टर बनोस् भन्ने सपनालाई अपूरो पार्दै उनले साहित्यतर्फ बाटो मोडिन् । शब्दसँग गहिरो नाता भएकी लेखिका भूषिता वशिष्ठ अहिले नेपालयमा किताब सम्पादकको रुपमा शब्दहरुसँगै खेलिरहेकी छन् । सँगै उनी आफ्नै आख्यान पुस्तकको तयारीमा पनि छिन् । उनै भूषितासँग छन्द कवितासँग उनको निकटता, समग्र कविता र नेपाली तथा अङ्ग्रेजी साहित्यबीचको फरक र सुन्दरताको बारेमा बाह्रखरीका लागि वर्षा महर्जनले गरेको कुराकानीकाने सारः
० ० ०

वर्तमान युवा पुस्ता अङ्ग्रेजी साहित्यमा आकर्षित भइरहेको छ । तपाईंको पनि सुरुमा अङ्ग्रेजी साहित्यतर्फ झुकाव राख्नुहुन्थ्यो । तर अहिले नेपाली साहित्यमा रमाइरहनु भएको छ नि ? 

Agni Group

म ब्राह्मण परिवारमा जन्मिएका कारण सानैदेखि हजुरबुवाले हरेक विहान पढ्ने पाठ सुन्दै हुुर्किएँ । तर उमेर बढेसँगै मेरो झुकाव अङ्ग्रेजी साहित्यतर्फ बढ्न थाल्यो । मैले अङ्ग्रेजी साहित्यमै स्नातकोत्तर पनि गरें । र, लेख्न पनि थालेँ ।  तर स्नातकोत्तर गरिरहँदै मलाई म जे छु त्यो नबनी अरु केही बन्न खोजिरहेको छु जस्तो महसुस हुन थाल्यो । किनभने अङ्ग्रेजी त हाम्रो मातृभाषा होइन । सिकेपछि बल्ल जानिने हो ।

मेरो जरा नेपाली साहित्यमा गाडिएको छ । यही कारण मैले स्वयम्लाई बुझ्ने हो भने नेपाली भाषा बुझ्नुपर्छ । यसको संस्कृति, इतिहास नबुझी आफ्नो परिचय पाउन सक्दिनँ भनेर म फेरि नेपाली साहित्यमै फर्किएकी हुँ । 

Global Ime bank

गद्य कविता सशक्त भएर आइरहेका बेला तपाईं छन्दतिर कसरी आकर्षित हुनुभयो ? 

मलाई कविताको सबै शैलीमा रुचि छ । २००७ सालपछि छन्दबाहेक अरु नयाँखालका (स्वच्छन्द)कविताहरु चर्चित हुन थाले । मेरो पुस्तामा छन्द कविताको कुनै काम छैन, यो पुरानो जमानाको हो भन्ने धारणा छ ।  तर मलाई के लाग्यो भने, मैले नेपाली कविता, संस्कृति, परिवेश बुझ्ने हो भने छन्द कविता बुझ्नैपर्छ । किनभने छन्द कविता भनेको हाम्रो कविताको प्राचीनतम् शैली हो । छन्द कवितासँग मेरो एक किसिमको भावनात्मक सम्बन्ध पनि छ ।

हामीलाई केही कुरा सम्झिनु पर्दा त्यसलाई कवितात्मक रुपमा भन्यो भने धेरै याद हुन्छ । किताब लेखाइको परम्परा अघि अर्थात् पन्ध्रौं शताब्दीअघि केही कुरा भन्नुप¥यो भने गाएर, कविताको शैलीमा, बोलेर अभिलेख गर्ने चलन थियो । हाम्रो परिवारमा पनि त्यही शताब्दीअघिकै परम्परा चलेको थियो । मेरो बुवा विहान विभिन्न श्लोक पाठ गर्नुहुन्थ्यो । शार्दूलविक्रिडित छन्दको श्लोक सुनेर मेरो विहानी सुरु हुन्थ्यो । यसको मेलोडी मेरो दिमागमा गुञ्जिरहेको हुन्थ्यो । 

कविता लेखनको यो शैलीमा प्रयोग हुने शब्द बुझ्न कतिको गाह्रो हुन्छ ?

मान्छेहरु जिन्दगीको रहस्य बुझ्न खोज्दाखोज्दै थाकेर जब विश्राम लिन खोज्छन्, तब कविता जन्मन्छजस्तो लाग्छ । त्यसकारण कविताका सबै विधान बुझ्न गाह्रो हुन्छ । दिमागले नबुझ्दा पनि मन खुसी हुन्छ, आनन्द दिन्छ भने त्यो कविता हो । र, यसको हरेक शब्द बुझ्न जरुरी छ जस्तो लाग्दैन मलाई ।

कलाका हरेक विधामा रचनाकारको आफ्नो व्यक्तिगत भोगाइका बिम्बहरु हुन्छ भनिन्छ । के तपाईंका लेखहरुमा पनि आफ्नै भोगाइहरु प्रतिबिम्बित हुन्छन् ?

जिन्दगीमा मान्छेका कतिपय चाहना, कामनाहरु हुन्छन्, जुन हामीले विभिन्न कारण पूरा गर्न सक्दैनौं । तिनै अपूर्ण चाहना, कामनाहरु कहिले सपना बनेर आउँछन्, कहिले कुण्ठा भएर हामीभित्रै कतै दबिएर बसिरहेका हुन्छन् । तिनै दमित कुण्ठाहरु जसलाई जिन्दगीमा भोग्न सकिँदैन–पाइँदैन, त्यसलाई कुनै एक काल्पनिक पात्र भएर बाँच्न खोजिने प्रक्रिया लेखन हो । त्यसकारण त्यो कतै आउँछ, कतै आउँदैन । अलिकति मेरो अनुभव पनि हुन्छ र चाहना तथा कल्पना पनि हुन्छ मेरो रचनामा ।

केही महिनाअघि तपाईंले पलेँटीमा सङ्गीतसँगै कविता वाचन गर्नुभयो । कस्तो प्रतिक्रिया पाउनुभयो ?

नेपाली साहित्यमा दख्खल भएका व्यक्तिहरुले त बुझ्ने र मनपराउने नै भयो । तर मलाई के अचम्म लाग्यो भने, मेरो वर्गका व्यक्तिहरुले पनि रुचाउनुभयो । उहाँहरुले मलाई व्यक्तिगत रुपमा आएर छन्द कविता भनेको यस्तो रमाइलो हुँदो रहेछ हामीलाई थाहा नै थिएन भन्दै उत्साहका साथ बधाइ दिनुभयो ।  कतिले त छन्द कविता कसरी लेख्ने भनेर जिज्ञासा पनि पोख्नुभयो, जुन कुराले म निकै हर्षित भएँ । किनभने मैले बुझाउन खोजेको पनि उहाँहरुलाई नै हो । त्यो क्षण र प्रतिक्रियाहरु पाउँदा म अङ्ग्रेजी साहित्यबाट नेपालीमा आएकोमा अझै गर्व र हौसला मिल्यो ।

कवितालाई गीतमार्फत् ल्याउन कति सजिलो छ ?

साहित्यले मान्छेको चेतना समात्न सक्नुपर्छ । त्यसलाई बाँध्न सक्नुपर्छ । जुन तरिकाले बाँध्न सक्नु हुन्छ त्यही तरिका अपनाउन सकिन्छ । साहित्यको मर्म र उपादेयता पनि त्यही नै हो । कविता गीति लयमा गाउँदा मलाई आनन्द लाग्यो । जसलाई जे गर्न मन लाग्छ त्यस्तै गर्नुपर्छ जस्तो लाग्छ मलाई ।

साहित्यमा लाग्न परिवारको समर्थन त थियो नै होला ? 

हाहाहा (लामो हाँसो) । म मध्यमवर्गीय परिवारमा जन्मिएको हुँ । मध्यमवर्गीय परिवारको लागि पढाइ भनेको एउटा वर्गबाट अर्को वर्गमा जाने टिकट हुँदो रहेछ । मेरो बुवा र आमा शिक्षण पेशामा आवद्ध अनि दाइ र बहिनी डाक्टर पेशामा । मेरो साहित्यप्रति झुकाव त मेरो परिवारको लागि नौलो कुरा थिएन ।

तर म साहित्यमै जान्छु भनेर रत्नराज्य कलेजमा भर्ना हुँदा आमाले भन्नुभएको थियो– त्यस्तो राम्रो विद्यार्थी सरकारी कलेजमा त्यो पनि साहित्य, राजनीति शास्त्र पढेर खत्तम हुन्छ तेरो जिन्दगी भन्नुभएको थियो । बरु डाक्टर बन । कविता यसो कहिलेकाहीँ लेखे भैहाल्छ नि भन्नुहुन्थ्यो । 

केही समय तपाईं तनावमा हुनुहुन्थ्यो । के गर्नुभयो त्यसबाट उम्किन ? 

म ११ वर्ष तपोवन आश्रममा बसेँ । जिन्दगीका समस्याहरुबाट टाढा भागेर त्यहाँ सङ्घर्षविनाको जिन्दगी त पाएको थिएँ । तर पछि मलाई के महसुस भयो भने,  एक सामाजिक प्राणी भएर पनि समाजबाट अलग्गिएर, आफ्नो परिचय नै गुमाएर बसिरहनु हुन्न । सङ्घर्षबाट भाग्नुभन्दा पनि योसँग लडेर जित्नु नै जिन्दगी हो जस्तो लाग्यो । मेरो तनाव भनेको जिन्दगीबाट भाग्नुको तनाव रहेछ । म केही पनि नगरी आराम नै गरिरहेको थिएँ । तर त्यो आरामले मलाई अझै अल्छी बनाइरहेको थियो । मेरो अनुभवमा जिन्दगीमा तनावमा हुनु भनेको सामान्य कुरा हो । हरेक व्यक्ति डिप्रेसनबाट गुज्रिन्छ । 

ओहो म डिप्रेसनमा गएँ भनेर आत्तिनुभन्दा यो जिन्दगीको एउटा अभिन्न पाटो हो भनेर बुझ्नुपर्छ । यसबाट भाग्नु र डराउनुभन्दा पनि मन एकदमै अँध्यारो हुँदा पनि जिन्दगीमा आफ्नो सपना र लक्ष्यलाई सम्झियो भने त्यसले आत्मबल दिनेरहेछ । योग, ध्यान, औषधि त चाहिन्छ, तर त्योभन्दा पनि हार्नु र लड्नुबाट डराउनु हुँदैन । आत्मबल हुनु एकदमै जरुरी रहेछ ।

तुलनात्मक रुपमा अङ्ग्रेजी साहित्यले अर्थोपार्जन बढी गराउँछ, तर तपाईं त युवा उमेरदेखि नै नेपाली साहित्यमा लाग्नुभयो नि ?

मलाई त्यो कुराले फरक पर्दैन । अङ्ग्रेजी साहित्यको किन माग छ भन्दा यसको भाषा र पहुँच विश्वव्यापी छ । यस्तै हाम्रा नेपाली रचनाहरु पनि अङ्ग्रेजीमा अनुवाद हुनुपर्‍यो । विदेशी पाठकहरु, जसले अन्य मुलुकका लेखककहरुको कविता पढ्छन्, तिनले पनि हाम्रो कविता खोजेर पढ्न सक्छन् । म त नेपाली साहित्य अन्तरराष्ट्रिय बजारमा पुर्‍याउन चाहन्छु । यसबाट नेपाली भाषामा लेख्नेहरुलाई पनि बजार फराकिलो होस् । 

अङ्ग्रेजी र नेपाली साहित्यमध्ये कुन पहिलो नम्बरमा राख्नुहुन्छ ?

मलाई प्रेमा शाह र पारिजातको बेलाको लेखन सबैभन्दा बढी समृद्ध लाग्छ । किनभने त्यसमा चिन्तन र लेखनको आकर्षण अधिक देखिन्थ्यो । तर अहिलेका नेपाली आख्यान लेखन एउटैखालको जस्तो लाग्छ ।

जब कि अङ्ग्रेजीमा थुप्रै देशका लेखकहरुले लेख्ने भएर त्यसमा धेरै विषय र वर्गका कुरा पढ्न सकिन्छ । त्यसकारण अङ्ग्रेजी साहित्य पढ्दा विश्व घुमेको जस्तो लाग्छ । यसो भनिरहँदा भाषागत रुपमा मिठास, बनोटको हिसाबमा चाहिँ नेपाली साहित्य मन पर्छ भने खुराकका लागि अङ्ग्रेजी साहित्य पढ्नुपर्छ ।

तपाईंले ‘बाथटब’ नाटकमा कपाल मुण्डन गर्दा कस्तो प्रतिक्रिया पाउनुभयो ? अभिनयमा पनि रहर हो ?

मैले नाटकको लागि कपाल मुण्डन गराउँछु भनेर आमा बाबालाई भन्दा दुवैको भिन्नभिन्न विचार आयो । अरु हिरोइन हुँदा राम्री बन्छन् तँ कपाल तक्लु बनाउने ? किन त्यस्तो गर्नुपर्‍यो र ! नगर्दा हुँदैन भनेर आमाले सोध्नुभयो । त्यही कुरा भन्दा बाबाले यत्रो वर्ष कपाल पालेकै हो । काट्दे, आखिर के नै हुन्छ र भन्नुभएको थियो । कलेजमा कसैले मलाई क्यान्सर लागेको भन्ने अनुमान गरे भने कतिले राम्रो छैन कपाल भन्नुभयो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC