site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पत्थरको घोडामा घण्टाकर्ण 

‘अलेक्जेन्डर द ग्रेट’ हाम्रो भेकमा सिकन्दर भनी चिनिएका म्यासेडोनियाका चक्रवर्ती सम्राटले आफ्नो सैन्यबलले भारतीय उपमहाद्वीप करिबकरिब सर गरिसकेका थिए । उमेर २९ मात्रको थियो रे । उनी सिन्धु नदीसमेत तरी मगध र गंगा तटसम्म पुगेका थिए सानो सैन्य टोलीसहित । क्लान्त सैनिक टोली, घरबाट निकै पर पुगेको जत्था, घरको न्यास्रोले भुतभुते भैसकेको हुँदो हो । इतिहासकारहरु त्यसैले त्यतिखेर उनको सैन्य टोलीमा विद्रोहको बीजारोपण भएको मान्छन् । भारत जितेपछि विश्वविजयी सम्राट् हुने लालसायुक्त सिकन्दरको महत्त्वाकांक्षा उक्त विद्रोहले थिल्थिलियो र घर फर्किने अनि त्यतै अल्मलिने धार विकसित भयो । त्यतै अल्मलिनेहरुले भारतीय उपमहाद्वीपको पश्चिमउत्तर क्षेत्रमा स्थानीय महिलासँग घरजम गरिबसे भन्ने कथन छ । 

भारतीय उपमहाद्वीप जितेपछि ज्ञानको भण्डारको अधिपति हुन् पाइने लालसा सिकन्दर अघि वा पछिका पाश्चात्य राजा महाराजामा नभएको होइन । प्राचीन कालका इतिहासकारको भनाइमा वैदिक युगसम्ममा ज्योतिर्विज्ञान, आयुर्विज्ञान, गणित आदिमा भारतीय उपमहाद्वीपले लोभलाग्दो प्रगति हासिल गरिसकेको थियो । काष्ठकलामा पारंगत भैसकेको थियो । वास्तुकलामा शिलाशिल्प प्रयोजनमा आएकै थिएन । वैदिक वास्तुकलामा तसर्थ वनस्पति, काठ, माटो आदिको प्रयोग भएको भेटिन्छ तर ढुङ्गो भेटिन्न । 

ढुङ्गो खोप्न सिकन्दरका रहलपहल सैनिकले सिकाए र ठूला ठूला  शिलातक्षकहरुको वस्ती भेटिन्छन् उत्तर पश्चिम भारतीय उपमहाद्वीपमा । तक्षक शब्दले काठ खोप्ने जनाउँछ । ढुंगा खोप्नेलाई शिलातक्षक भनिदो होला । तक्षशिला त बस्तीको नामै छ । अपभ्रंश भएर तक्षिला नाम भएको उक्त सहर हालको पाकिस्तानमा पर्छ र प्रस्तरकलाको दक्षिण एसियाली उद्गम भनेर चिनिन्छ । इन्डोग्रिक शैलीका मन्दिरका भग्न, बौद्ध बिहारका भग्न छितरिएको उक्त क्षेत्रले त्यो प्राचीन इतिहास सम्झाइरहेको छ । यो लेख त्यो इतिहास उधिन्न होइन । सम्झिन खोजेको प्रस्तरकला, शिलाशिल्प हो । ग्रिक, म्यासेडोनियनहरु निश्चय नै त्यस विधामा पारङ्गत थिए । उनीहरु मान्छेको मूर्ति, जनावरका मूर्ति बनाउँथे । हामी कहाँ त भगवानको मूर्ति बनाउन समेत सिकाइदिए । 

Prabhu Bank
Agni Group
NIC Asia

केटाकेटी हुँदा विश्वज्योति सिनेमादेखि टुँडिखेल, रङ्गशाला हुँदै कोपुण्डोलसम्म आफ्नो क्षेत्रजस्तो लाग्थ्यो । झमक्क साँझ नपरुन्जेलको टुँडिखेल आफ्नै लाग्थ्यो, झिसमिसेको त्रिपुरेश्वर आफ्नै थियो, चुक घोप्ट्याएको जस्तो अँधेरो कोपुण्डोल आफ्नै थियो । र आफ्नै थिए केहीमूर्ति, केही सालिक ।तीमध्ये पुलको मुखैको हनुमानजी, थापाथलीको पुलको मुखमा खाँबोको थाप्लोमा एक हात उठाएर अभिवादनको मुद्रामा उभिएको सिंह, कालमोचनघाटको सत्यनारायण मन्दिरको चारकुनामा उँड्न तम्तयार सर्पहरु, त्रिभुवन राजाको सालिक, चार सहिदका सालिक, रणोद्दीप सिंहका, जंगबहादुरका, रत्न रानीका सालिक, सोह्र हाते गणेशको मूर्ति, हातै नभएका आदिकविको सालिक, टिप्न छुटेका मूर्ति, सालिक यी सबै शिल्पमा सायद सिकन्दरका सिपाहीको अनुवांशिकी छ । सालिक वा मूर्तिहरु मैले अझ धेरै देखेको छु तथापि कुनै वेगवान् घोडामा चढेर  तरवारले केही छप्काउदै गरेको सायद टुंडिखेलको एउटा कुनोमा खडा जंगबहादुरको सालिक र मूर्ति मलाई उतिबेला पनि मन पथ्र्याे । अहिले यो लेख लेख्न बस्दा त झन् घुमी घुमी त्यही सालिक मेरो स्मृतिपटमा आइरहेकोछ ।

त्यस्तो सालिकजस्तै घुमिघुमी सम्झनामा आउने काठमाडौंमा सीमित बन्न पुगेको मेरो जन्मभूमि ’नेपालमण्डल’ र त्यसका अनगिन्ती जात्रा पनि छन् । सामान्यतयाः हरेक महिना केही न केही चाडबाड मनाइरहेको हुन्छ नेपालमण्डल । कति त म जस्तो पहाडी मूलको ’नेपाःमी’ बाहेक अधिकांशलाई केही हुल जाँड खाएका ज्यापुका जात्राजस्ता देखिन्छन् । त्यस्ता चाडबाड बुझ्न, मनाउन र आल्हादित हुन ती जात्रा र पात्र चिन्नुपर्छ । काँधमा खट बोकेर कुद्ने, खट  जुधाउने, रथ कुदाउने, मुकुन्डो लगाएका त्रासद मिथकीय पात्रहरु नचाउने, के गर्दैन मेरो नेपालमण्डलले? ती सबैलाई एउटै टोकरीमा ‘न्यार्को जात्रा’ बनाएर हालेर एक हुल सांस्कृतिक क्रान्तिका ‘लफ्फाजवाज’‘बिग मार्च’ गरिरहेछन् । अनि केही आधुनिक भनाउन चाहने विद्वान्हरु, कसैले तलाउमा मिलाएर हानेको ढुङ्गो जसरी सतहमा फुत्रुकफुत्रुक उफ्रिन्छ त्यसरी नै माथि माथि उफ्रिएर नेपालमण्डलका जात्राका विवेचना गर्छन् । त्यसैले ती फोक्से सुन्तलाजस्ता निरस, देख्दा भयंकर तर खाँदा अरुचिकर हुन्छन् । मेरा गुरु सुदर्शनराज तिवारीसँगको एक शास्त्रार्थ सत्संग सम्झिन्छु — ज्ञानामृत पिएर फर्केको अनुभूति हुन्छ कोहीकोही बेला त्यस्ता सत्संग पछि । तिवारी सरले भन्नुभएको थियो — इतिहासले किराँत, लिच्छवी र मल्ल काल भनेर पढाउँछ नेपालमण्डललाई, हामी संस्कृति र वास्तुकलाका विद्यार्थीले त्यसलाई शैव, वैष्णव र शाक्त मतका आधारमा पढ्नुपर्छ । त्यस्तै, वास्तुकलामा तह तरेली परेर बसेका सांस्कृतिक परम्परा छन् ती सिक्नु, जान्नु र तिनलाई विधिसम्मत ढंगले उपयोग, उपभोग गर्नुपर्छ । तिमी कुशल वास्तुकलाविद् त्यतिखेर हुन सक्छौ जतिखेर सांस्कृतिक धरोहर, तिनको विवेचना अनि तिनलाई अर्को उचाइ दिन सक्ने क्षमता विकास गर्न सक्छौ ।

Global Ime bank

यी भए फेरि विषयान्तर गराउन सक्ने कुरा ।मूल विषय त्यस्तै एक नितान्त स्थानीय चाडसँग सम्बन्धित छ । स्थानीय भाषामा गथा मुगः भनिएको उक्त पर्वमा भोजबाहेकका दुई प्रमुख रीति सम्झिन्छु । १ — नर्कट र झ्यासझुस जोरजार पारी बनाइएको साँझ खोलाको किनारामा लगी पोलिने घण्टाकर्ण राक्षस र २ — त्यो पोल्नका लागि उठाइने जगात ।जगातउठाउने कर्ममा लाठे तन्नेरी भन्दा ‘मचा’ ( केटाकेटी)हरुको भूमिका रहन्छ । त्यसको पछाडी एउटा सामान्य कथा छ । ऊबेला बच्चा खाने, चोरी गर्ने, विध्वंश गर्ने एक दानव थियो नेपाल मण्डलमा कतै जो शिवको नामै सुन्न रुचाउँदैनथियो । त्यसैले कानमा ठूलो घण्टा झुन्ड्याएर हिँड्ने गथ्र्याे ।त्यसलाई केही तान्त्रिकले समाते, दिनभर टोलको मूल प्रवेशद्वारमा बाँधेर राखे र साँझमा ‘आजुजे हा’ गर्दै खोला किनारासम्म घिच्याएर लगे र सतगत गरिदिए । सो सतगतका लागि जगात उठाए भुराभुरीले । म त यो कथाभित्र तेजस्वीज्ञान देख्छु । किराँतहरु लिच्छिवीसँग हारे तर नेपालमण्डल छोडेर नहिडेका वा जात कढाइएर त्यतै बसाइएकाहरु बेलाबेलामा शक्तिआर्जनका लागि यत्न गरिरहन्थे र यो चाड त्यसैको उपज हो । किराँतलाई जितेर आएका लिच्छिवीहरु विष्णु मान्थे, सायद कटुता यति थियो कि नामै सुन्न चाहँदैन थिए शिवको । लिच्छवी वास्तुकलामा शिव मन्दिर बनेको कमसेकम यो लेखकलाई ज्ञान छैन ।त्यसैले यो गथामुगः एक विद्रोही चेतको चाड थियो । तत्कालीन परास्त वा हीन समाज आफ्नो विद्रोही चेत आउँदो पुस्तामा स्थानान्तरण गर्न चाहन्थ्यो । त्यसैले भुराभुरीलाई अघि लगाउँथ्यो ।

मैले शालिक वा पत्थरको मूर्ति अनि घण्टाकर्णको किस्सा यो लेखाइमा उप्काउनुको अर्थ छ । लेखको सुरुमै भनेझैं यौटा नितान्त निजी विचारको स्वतन्त्रता उपभोग गर्दै यो लेख लेख्ने जमर्को गरेको हुँ । विम्बहरुमा लेख्न मलाई आउदैन तथापि मैले अहिले देखेको अधिकांश क्षेत्रको नेतृत्वमा पुग्ने होडबाजी त्यही पत्थरको सुगठित सुडौल घोडामाथि चड्ने घण्टाकर्णहरुको होड्बाजीमात्र हो । भर्खरै गैरआवाशीय नेपालीको विश्व सम्मेलन सकियो काठमाडौँमा । त्यहाँ जुन उद्दण्ड व्यवहार गरे यता बसेकाहरुको प्रतिनिधित्व गरेका भन्ने दाबागर्ने घण्टाकर्णहरुले म मेरा मातृभूमिमा रहेका अग्रज, आत्मज र अनुजका अघि विनम्रतापूर्वक क्षमा माग्दै भन्छु — हामी युरोप, अमेरिका, अस्ट्रेलिया वा कुनै खाडी राष्ट्रमा रहेका कुनैपनि नेपाली मूलको सच्चा मान्छेले आफूरहेको ठाउँमा नेपाल आमाको त्यो स्तरको भद्दा बेइज्जत गरेका छैनौ । यो मेरो दाबा हो ।जो  नेपाल आएर उफ्रीपाफ्री गर्छन् वा गरे ती अधिकांश कानमा ‘लाल सलाम’ वा ‘जयनेपाल’बाहेक अरु केही सुन्नु पर्ला भन्ने त्रासले ठूलाठूला घण्टा झुन्ड्याएका असुरजस्ता हुन् । अधिकांशलाई त मैले आकाश भैरव भन्ने गरेको छु — जसको  मुखौटो देखिन्छ तर जमिन वा समुदायमा हातखुट्टासमेत छैन । 

गैरआवाशीय नेपाली संगठनको उद्देश्य गोलमटोल छ ।समस्या त्यहीँनेर छ । यो आफैँमा सेवाजस्तो एक पवित्र उद्देश्यका साथ अग्रसर हुनु पथ्र्याे तरलाभजस्तो लोभमा फस्यो । यसले मातृभूमिमा सेवा गरेको भए अहिले लाप्राक रोइरहेको हुँदैनथ्यो । क्यानडामा जतिखेर यो अभियान पस्यो, त्यो ढिलो भइसकेको थियो । क्यानाडाका प्रमुख सहरहरुमा यो संस्था आउनुभन्दा एक दशक अघिदेखि नै नेपाली समुदायका स्थापित संस्थाअस्तित्वमा थिए । तिनको उद्देश्य स्थानीयरुपमा नेपाल चिनाउनु थियो । नेपाल गएर हामी यो हौँ भन्नु थिएन । नेपालमा गाह्रो साँघुरो, अप्ठेरो पर्दा आफ्नो पहलमा यिनले सानोतिनो सहयोग गरेकै थिए, छन् । ती संस्थाहरुमा आन्तरिक द्वन्द्व नभएका होइनन् तथापि तिनले नेपाल गएर  उपद्रो गर्ने आँट र दुस्साहस गर्दैनथे ।अहिले स्थिति फरक भयो । ती स्थानीय संस्थामा समेत आन्तरिक द्वन्द्वमा लालसलाम र जय नेपाल खोजिने अवस्था बन्यो । यो गैरआवाशीय नेपाली संगठनले आपसमा लडेर भए पनि एकै संस्थाको झन्डामुनि बसेर नेपाली भाषा कक्षा चलाइरहेका, नेपाली चाडबाड मनाइरहेका नेपाली मूलका हामीलाई पानी बाराबारको अवस्थामा पुर्याइदियो ।जाबो एक दशकको उमेर पनि नपुगेको कान्छो संगठनमा आउजाउ गर्न अब त उतिबेला यो संस्था मन, मुटु र मगजमा बोकेर हिड्ने संस्थापकहरु समेत बिच्केको महसुस गरेको छु । 

अनौपचारिक छलफलमा सबै त्यस्ता अग्रजहरुले असन्तुष्टि पोखेको पाएको छु । असन्तुष्टि आफ्नो ठाउँमा छ, आग्रहसमेत होला । त्यसभन्दा चर्को पीडा त आजीवन सदस्य रहेका उनीहरु मताधिकारबाट समेत वञ्चित बनाइएकोमा छ। सदस्य संख्या नपुगेको आधारमा भौगोलिक प्रतिनिधित्वबाट नै वञ्चित गराइएकोमा छ । मातृभूमिमा निस्वार्थ केही दिन सक्ने जमातभन्दा  बेगल दुईचार हुल्लडवाज जम्मा भएर समग्र नेपालीको प्रतिनिधित्व गरेको स्वांग उति पर नेपालमा बस्नेलाई त ठीकै लाग्दो होतर यहाँ बसेर देखी भोगी जान्नेलाई त यो चर्को सकस र लज्जाको विषय भएको छ । म पुनःलेख्दैछु — हायातमा जे भयो, त्यो हामीजस्ता क्यानाडामा बस्ने बहुसंख्यक नेपालीको चरित्र होइन । आशा गरौँ, त्यहाँ हुलहुज्जत गर्नेहरु एकजना पनि क्यानाडाबाट गएका थिएनन् ।

१. किन यस्तो भइरहेको छ?
किनभने, अहिले विदेश पुगेको पुस्ता चरम राजनीतिक भुङ्ग्रोबाट उम्केको पुस्ता हो । उसमा कुण्ठा छ, वैरभाव छ र अझै ‘हाम्रो मान्छे’ को धङधङी छ । उसलाई फलानोको क्षमताभन्दा उसको नेपालको कुन राजनीतिक दलप्रति  झुकाव छ भन्नेसँग सरोकार रहन्छ । यसमा यो पुस्ता त दोषी छ नै नेपालका राजनीतिक दलहरुसमेत उत्तिकै दोषी छन् । दलैपिच्छेका शुभेच्छु संस्था, तिनका महाधिवेशन प्रतिनिधि त यतै बनेका छन् । उसमाथि अझ गुटपिच्छेका समेत झुन्ड छन् । ती एरपोर्टमा खादामाला लिएर पुग्न सँधै तन्मय भएर बसेका छन् । यस्तो भएको ठीक होइन भन्ने लाग्छ भने नेपालका राजनीतिक दलले शुभेच्छु संस्थालाइ महाधिवेशनमा वञ्चित गर्नुपर्छ । उसैपनि विदेशी नागरिकता लिइसकेकालेपनि राजनीतिक लाभ खोज्नु अनैतिक हो । यसले संगठितरुपमा यत्रतत्र सर्वत्र मोलमोलाइ गर्ने पद्धतिको निर्माण गरिदिएको छ । 

२. यसलाई रोक्न सकिन्न ?
सकिन्छ ।यो लेख लेख्ने धुन बसेपछि मैले अन्यत्रको र विशेषगरी सार्क राष्ट्रका देशहरुको यस्तो विश्वव्यापी संस्था छ कि छैन भनी सोधखोज गरेँ । भएको पाइन । अरु त अरु रेमिट्यान्स भित्र्याउने एक नम्बरको देश फिलिपिन्सको समेत यस्तो संगठन भएजस्तो देखिएन । निश्चय नै ती देशका आप्रवासीहरु कुनै न कुनै माध्यमबाट आफ्नो मातृभूमिसँग जोडिएका छन् तर उनीहरुको नेपालीको जस्तो ‘सामूहिक सौदावाजीको अस्त्र’ छैन । किन छैन भने — एक, उनीहरुको राष्ट्रले उनीहरुबाट जे आशा गरेको छ त्यो प्रष्ट भन्न सक्छ । त्यतिमात्र नभएर, तिमीहरूबाट यो अपेक्षा छैन समेत भन्न सक्छ । नेपालको हकमा यो देखिएन । यो देखिन्थ्यो भने बिल्कुल भातृ संगठनमा रुपान्तरित भइसकेको जस्तो संगठनको उद्घाटनमा राज्य जाँदैनथ्यो, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री जाँदैनथे । यसबाट के प्रष्ट हुन्छ भने राज्यका पनि केही अव्यक्त चाहना छन्। आप्रवासीका पनि केही अव्यक्त कुण्ठा छन् । राज्य सबल हुने हो भने यो वाक्वाकी लाग्ने उपद्रो मसांग्रिन्छ । त्यसका लागि राज्यको उपस्थिति तिनका उछलकुद उपर निर्लिप्त नहुनेमात्र होइन, निर्मम हुनु जरुरी छ । 

३. रोकेर देशलाई फाइदा छ?सायद सबैभन्दा सहज जवाफ छ यसको । हो, यो  अभियान रोकिनाले देशलाई फाइदा छ । कसरी भन्ने प्रश्न आउन सक्छ । शेष घलेको लगानी नहँुदो हो त लाप्राक, बारपाक जसरी ठडिए, ती ठडिँदैनथे । अहिले जसरी ठडिए त्यसैमा प्रश्न उठेको छ । प्रष्ट के छ भने पुँजीले विकास नहुँदो रहेछ । स्थानीय समुदायसँग परामर्श नगरी हुरुरु बनाइएका सयौं त्यस्ता संरचना प्रयोजनहीन भएका छन् । 

एउटा साधारण पूरक प्रश्नले यसको जवाफ दिनेछ — दूतावासले समग्र देशको र स्थानीय समुदायले समुदायमा रहेका नेपाली आप्रवासीको पीर मर्कामा साथ दिन्छ भने यो आकाश भैरवको औचित्य के? छैन र हुनुसमेत हुँदैन । त्यसभन्दा माथिको झन् विश्व संरचना त अझ  भद्दा मजाक हो ।केही ठूला व्यापारीलाई विदेशमा कमाएको पुँजी मातृभूमिमा लैजानु थियो, लगे, भलो गरे । त्यसका लागि ’सामूहिक सौदावाजीको अस्त्र ’ आवश्यक थिएन ।त्यसैले यसले नागरिक तहमा  अल्मल्याउन दज्र्यानी चिन्हको माग गर्यो ।संक्रमणकालीन नेपाली राज्यले संविधानमै दज्र्यानी चिन्ह अंकित नागरिकता दिन्छौँ भन्ने प्रण गर्यो । प्रण ठीकै थियो तर त्यसलाई भजाउन जसरी केही आकाश भैरवजस्ता घण्टाकर्णहरु लागिपरे त्यसपछि यो ‘सामूहिक सौदावाजीको अस्त्र’ मैले केटाकेटी बेलादेखि मन पराएको पत्थरको घोडा बन्यो । सिकन्दरका सन्तानले सिकाइदिएका थिए घोडा बनाउन, हाम्रो राज्यले, हामीले एउटा पत्थरको घोडा बनायौँ । सबैभन्दा पहिले महतो चढे, अहिले पन्त चढे । यो पत्थरको घोडा चित्ताकर्षक छ । यसको वेगले विश्व हल्लाउँछ भन्ने कोही कसैलाई भने चरम भ्रम छ । पूर्वसोभियत संघका कुनै राज्यबाट जसरी सजिलोसँग पुँजी स्थानान्तरण गर्न अरु त अरु रुसबाट समेत सम्भव छैन । त्यसकारणले अबको दिनमा चिनियाँ पुँजीसँग भिड्नु पर्ने समयमा कर तिरेर जम्मा गरेको पुँजी लगेर लगानी गर्छु भनेर कुनै आप्रवासी भन्दै छ भने या त उसले झुटो बोल्दैछ या त परिस्थितिसँग बेखबर उसको यो कुनै भावुक अभिव्यक्तिमात्र हो । 

यति लेखिसक्दा पुनः लेखले सुरुमा उठान गरेको स्थानमा पुगिएन भने अनर्थ होला । अहिलेको यसै स्वरुपको गैरआवासीय नेपाली र संगठनको औचित्यबारे नेपालभित्र बाहिरबाट बोलिएका यस्ता आवाज ’शिव नाम संकिर्तन सुन्न नसक्ने घण्टाकर्ण’हरुलाई सुनाइएको एकोहोरो प्रलापमात्र हुनेछ । ती घण्टाकर्णहरुको दौड हर दुई सालमा एकबाजी काठमाडौँ पुग्छ । ती लाप्पामुक्की गर्छन्, उछिनपाछिन गरेर त्यो सुन्दर घोडामा सवार हुन्छन् र  ऐलान गर्छन् — अब यो घोडा कुद्छ । जब मातृभूमिका हर्ताकर्ताले, राजनीतिक दलहरुले र आफैँमा लडेर प्राण उत्सर्ग गर्न उद्यत चोक दोबाटोका एक हुल घण्टाकर्णहरुले यो पत्थरको घोडावाला कुरो बुझ्छन् आफ्नो हैसियत नर्कट, छ्वाली र एक थान मुकुन्डो मात्र होइन भन्ने जान्दछन् र समग्रमा मातृभूमिको सेवा गर्ने हो, सामूहिक सौदावाजी गर्ने होइन भन्ने बुझ्छन, तिनले ’ आजुजे हा ’को नारासँगै घिस्रिनु पनि पर्दैन, खोलामा पुगेर जलाइनु पनि पर्दैन । 

हालका मितिसम्म केही हुल घण्टाकर्णहरु सुन्दर पत्थरको घोडामा सवार हुन निकै उफ्रीपाफ्री गरेकै देखिएको छ । तिनलाई दग्ध गर्न आउँदो आप्रवासी पुस्ता नै  अग्निहोत्री बन्ने निश्चित् छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १२, २०७६  १६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC