site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सरस्वतीप्रसाद देवकोटा
Sarbottam CementSarbottam Cement

बालकृष्ण सम


‘‘कविले स्वतन्त्र भएर लेख्न किन नपाउनु ?’’

‘‘किन नपाउनु ?’’

Prabhu Bank
Agni Group
NIC Asia

‘‘त मैले पनि यो स्वतन्त्रतापूर्वक लेखेँ ।’’

‘‘त मैले लेखेको यो किन स्वीकार भएन त ?’’

Global Ime bank

‘‘त्यसो त कवितलाई कविता लेख्नमा स्वतन्ता छ भने स्वीकार गर्नेलाई पनि त स्वीकृति दिन र नदिन उत्तिकै स्वतन्त्रता चाहिएला !’’ नेपाली भाषानुवाद परिषद्का अध्यक्ष पुष्कर शमशेरले भन्दै गए, ‘‘यो आफ्नो निम्ति लेखिएको भए त्यसमा मलाई केही थिएन, तर यो भाषानुवाद परिषद्का निम्ति लेखिन लागेको महाकाव्य हो, यसमा मैले चाहेजस्तै शैलीमा लेखिनुपर्दछ, यसै निम्ति जागिर दिइएको छ ।’’

लक्ष्मीप्रसाद देवकोटाले यसको उत्तरमा मेरो मुखतिर हेरे । म नेपाली भाषा प्रकाशिनी समितको अध्यक्ष थिएँ । यो २००२ सालको घटना थियो । भाषानुवाद परिषद् मेरो अधिकारमा थिएन, त्यसैले म चुप लागिरहो । फेरि मेरा दाइ पुष्कर शमशेरले भने– ‘‘भाइ, तिमी नै हेर, सुन–
‘सुतट मट्टि मन्द्रिलो स्निग्ध गोवरी,
उफर सानु शावके सानु स्वर्ग छ ।’

सुन्यौ ? यो कुन दिशाको नेपाली भाषा हो ? यस्तो भाषामा शाकुन्तल महाकाव्य लेख्ने रे, कसको निम्ति ?’’

त्यहाँ खड्गमान मल्ला, सागरमणि आ. दी, श्यामदास वैष्णव, बाबुराम (इतिहास शिरोमणि), देववीर पाँडे, पूर्णमान श्रेष्ठहरु थिए । सबै मुस्कुराइरहे, कसैले केही बोलेनन् । किनभने, पुष्कर शमशेर कट्टर वैयाकरण तथा प्रसिद्ध कोशकार थिए, फेरि कवि मुनामदनजस्तो काव्यका स्रष्टा थिए । उनले भने– ‘‘मेरा अभिव्यक्तिके निमित्त भाषा पर्याप्त छैन, म पुरानैमा जमिरहन चाहन्नँ, म नयाँनयाँ सृष्टि गर्न चाहन्छु, ‘मान्द्रोले बेह्रेको नभनेर मैले मान्द्रिले भनेँ, सूत्र रुपमा गोवराि भनेँ, साना शावकहरु उफ्रेको यस्तो भएको, यस्ता कोको फूलको केसर कति राम्रो छ, यही कोको ? मा हाम्रो भाषाको सौन्दर्य छ । जे होस्, मलाई लेखनाथले लेखेजस्तो राम्रो वार्णिक छन्द मन पर्छ, भाइले लेखेको पनि रबर छन्द त कत्ति मन पर्दैन । त्यसैले वार्णिक छन्दमा लेख्नैपर्छ ।’’

देवकोटाले केही भनेनन्, तर उनको अनुहारमाथि अनेकौं भावहरु विचित्र रेखाहरुमा दौडिरहेको म सम्झन्छु– तिनमा हुरीको गीत, पागल, ह्वारह्वरा, गोली हो यो गोली हो आदिका बीजाक्षर रहेछन् । उनले ‘उफर सानु’ शादके भाषा त्यो समस्त शिक्षित व्यक्ति तथा शिक्षण संस्थामा पुग्यो । कसैले रुचिले, कसैले बेरुचिले, कसैले उठाएर आश्चर्य मानी त्यसलाई सने, अन्त्यमा त्यो एउटा उखान बन्यो । 

त्यसको दई दिनपछि भाषा प्रकाशिनी समितिमा मकहाँ आएर देवकोटाले भने– ‘‘मलाई त यहाँ बस्न मन लागेन, कविहृदय नभएको एक भाषाशास्त्री वैयाकरण मेरो हार्दिक वेदना के बुझ्दछ, त्यस्ताको अधीनमा म कसरी महाकाव्य लेख्न सकुँला, के व्याकरण कविताको जडकबन्धी नेल–हतकडी लागेको हातबाट यो सम्भव छ ? ’’ मैले भनेँ– ‘‘सर्वसाधारणको निमित्ति त के सम्भव होला, के सम्भव नहोला, तर मुनामदनका जन्मदाता प्रतिभाशाली लक्ष्मीप्रसाद देवकोटाको निमित्ति सम्भवमात्र होइन, सामान्य छ । कहिले कहिले श्राप नै वरदान हुन्छ, अनुकूल बन्ध्नले आलस्यबाट मोक्ष दिलाउँछ, यो दाइ पुष्करबाट आएका पराधीनता मलाई त अनुकूल लागेको छ, मलाई त ठूलो आशा लागेको छ ।’’ शेलीजस्ता विदेह देवकोटा गम्भीर बनेर गए ।  

कवि शिरोमणि लेखनाथको अगलबगलमा हुर्केका हामीमा देवकोटा र म प्रतिष्पर्धा हुनु स्वाभाविकै थियो, तर हाम्रो प्रतियोगिता सदैव स्वस्थ रह्यो । अवश्य धेरै अगाडि प्रारम्भ गरिएको मेरो ‘आर्यघाट’ छापिन नपाएकोमा तथा मलाई बन्धनमा राखी लेखाउने कोही नभएकोमा त्यस्तै अब देवकोटाको शाकुन्तल निस्कन लाग्यो भन्ने कुरामा मेरो व्यक्तिगत मन केही सानो भयो तापनि नेपालीमा एक महाकाव्य निस्कने आशाले मेरो राष्ट्रप्रेमी मन विकसित भयो । 

देवकोटाले वार्णिक छन्दमा लेख्नैपर्ने भयो, त्यो उनले हृदयङ्गम गरे । तर सर्वप्रथम कुन छन्दमा ? दाइ पुष्करलाई मलाई पनि बालककालदेखि नै भानुभक्तको ‘गया खान्या बेला मकन त मिल्यो राज वनको ’ हृदयको अन्तस्तलमा निछावर भएको थियो । कविताको अभ्यासले ममा अरु अरु धारणा पनि उम्रिसकेका थिए, तर मेरा दाइचाहिँ पछिसम्म पनि त्यसैमा बाँधिएर रहेका थिए, त्यसैले उनले देवकोटाबाट सर्वप्रथम शिखरिणी छन्दमै झङ्कृत होस् भन्ने चाहे । शाकुन्तलमा (देवकोटाको स्वभावअनुसार) सर्गहरु क्रमपूर्वक लेखिएका छैन् । अब शिखरिणी छन्दको निमित्त उनले एक्काइसौं सर्गको शकुन्तलाको करुण पुरकालाई नै उपयुक्त ठानेछन् । हामीहरु भाषानुवाद–परिषद्मा कुरा गर्दै थियौं, देवकोटा कोठाबाहिर निस्केका थिए, केहीपछि थाहा भयो उनी त घन्टाघरको माथिल्लो बुर्जामा गएर उहीँ बसी कविता रच्न लागेका छन् रे ! निस्केको दुई घण्टा पनि नपुग्दै देवकोटा सनतोषको उज्यालो मुख लाएर त्यहाँ आइपुगे अनि आफूले रचेको शिखरिणी छन्दको ६० श्लोक जति हामीलाई सुनाए, हामी अब मन्त्रमुग्ध भयौं, म पनि मरी भएको थिएँ, ‘कसोरी सिर्बेको ?’ बारम्बार आउँदा दाइ पुष्कर त राम्रै रोए, यो देवकोटाको महान् विजय थियो– व्याकरण साथ कविताको विशेषता थियो, तापनि रुने वैयाकरण पुष्करको हृदय शुष्क होइन एक सफल कथाकार पुष्करको हृदय थियो । त्यो नेपाली साहित्य जगत्मा एक महत्वपूर्ण घटना तथा एउटा ठूलो दिन थियो– यसरी शकुन्तालाको जन्म भयो । 

‘देख्यो सुग्रिवले तथापि मनमा शङ्का त फेरी रह्यो,
शक्छन् क्या तब बालि मार्नकन ता ठूलो छ भन्न्या भयो ।’

त्यहाँ शङ्का उठ्यो, कदाचित् देवकोटाले धेरै परिश्रम गरीघरमा कविता रचेर त्यहीँ रचेजस्तो गरी बनिबनाउ रचना त्यहाँ प्रस्तुत गरेका हुन् । अब देवकोटामो आत्वविश्वास बढिसकेको थियो । त्यहाँ उनी कथित परीक्षा दिन तयार भए । १० दिनमा एउटा अर्कै महाकाव्य लेख्ने । शाकुन्तल त तीन महिनामा पूर्ण भयो । 

अब शाकुन्तल महाकाव्य दान दिएर मात्र पुगेन फेरि एउटा अर्कै महाकाव्यले त्यसको दानप्रतिष्ठा गर्नुप¥यो, त्यसैमा देवकोटाको मानप्रतिष्ठा थियो । त्यहाँ धनको बाजी थिएन, तर केवल आत्मसम्मानको निम्ति देवकोटाले बाजी स्वीकार गरे । दसै दिनमा एक महाकाव्य लेखिसिध्याउने, त्यसमा उनले लेख्न खोजेका विषयहरु दाइ पुष्करले रोज्ने, यताउता केही परिवर्तनसमेत गर्ने । प्रारम्भको घडी आयो, हामी सबै वरिपरि थियौं, वेदव्यासले जस्तै देवकोटाले कविता भन्दै जाने गणेशले जस्तै श्यामदास वैष्णवले भनेको लेख्तै जाने बन्दोवस्त सब ठीक थियो । कविका मुखमा उत्तेजनाका तरङ्गहरु दौडिरहेका थिए । घन्टाघरमा ठीक एक बजेपछि शुभारम्भ गर्नुपर्दथ्यो । विषयवस्तु सब मिलिसके, अब एक हान्न १० मिनेटजति बाँकी थियो, देवकोटाले मसित सोधे– ‘कसो, सकिएला ?’’ मैले त्यसबेला भानुभक्तलाई सम्झेर यो पाठ गरेँ–

‘क्या वर्णन् बलको गरौं जब तिमी जन्म्यौ उसै फल् भनी ।
पाक्याको फल ठानि सूर्यकन ता हात्ले मटिप्छु भनी ।।
आकाश्मा जब ता कुद्यौ दुइ हजार् कोश्तक् पुगी फेर झर्‍यौ ।
यस्ता बालकमै थियौ किन यहाँ कोश् चार् सयैमा डर्‍यौ ।।’

मुस्कुराएका देवकोटाको मुखमा मैले हनुमानको लालिमा देखेँ । एक हान्यो, कविताको मुहान खुल्यो, प्रथम सर्थको दसौं श्लोक यस्तो छ:

‘पवन ! पखेटा
भर भर भारी ।
जलधि महान्को
धृत मधुवारि ।
तह तह खापी
गगनविहारि ।
तहिन–शिखातल
वन वन चारी ।।
रग रग राम्रा
धनुसित भारी ।
झर झर झानेँ
जल, सुर पारी ।
रंग रंग भदै
सुशबल भारी ।
भर मन मेरा लय सुकुमारी ।’

(सुलोचना)
१० दिनपछि घन्टाघरमा फेरि एक हान्ये । महाकवि देवकोटाले शाकुन्तल महाकाव्यको न्वारानस्वरुप भाषानुवाद परिषद्का अध्यक्ष पुष्करेको हातमा राखिदिए । दाइले त्यसको भूमिकामा लेखेका छन्– ‘दसै दिनमा यत्रो महाकाव्य लेखिसकेर कवि लक्ष्मीप्रसाद ले नेपाली भाषा प्रकाशिनी समिति र भाषानुवाद परिषद्लाई चकित पारेका छन् ।’ यी दुवै महाकाव्य समितिबाट प्रकाशित गर्न पाउँदा गौरवको अनुभव गरेको मीठो सम्झना मैले यहाँ उतारेको छु । मैले उनलाई सरस्वती देवकोटा भनेर प्रशंसा गरेको थिएँ । तर देवकोटा उनका सबै कृतिभन्दा महान् थिए, उनको अद्वितीय प्रतिभालाई उनका पुस्तकहरुको घेरा लाएर सीमित बनाउनु अन्याय हो । महाकवि देवकोटा एकचोटि पनि मरेनन्, उनी नेपाली साहित्यसित सदैव जीवित रहने छन् । यतिमात्र हो अब उनीबाट हामी बराबर नयाँ नयाँ कविता नयाँ प्रयोग, नयाँ चमत्कार पाउन सक्तैनौं । त्यो एक अविस्मरणीय प्रतिभा थियो । 

लक्ष्मीप्रसाद, उनलाई धनधन्यको इच्छा थिएन, कुनै अलङ्कारको चाहना थिएन, कुनै ऐशआरामको कामना थिएन, उनी केवल आफ्नो काव्यप्रशंसाका नितान्त भोका थिए, ठूलो द्रव्य कसैले दियो भने बरु ती भोकै रहन्थे एउटा सानो प्रशंसालाई केवल ननाशिने सर्वस्व सम्झन्थे, यो पृथ्वी नै खान पाए पनि ती भोकै रहन्थे, एक केवल एक प्रशंसाका तिनी भोका थिए । मैले कुनै ओढ्नेले शरीर ढाकेर प्रशंसाको चौबर दोसल्ला ओढ्ने मानिसलाई त देखेको छु, तर आफू निर्वाङ्ग भएर पनि केवल प्रशंसाको मजेत्रो ओढेर सन्तोष लिने एकमात्र महाकवि लक्ष्मीप्रसाद देखेको छु । उनलाई आशुकवि भन्नु उनलाई होच्याउनु हो, उनी त्यो चाहन्नथे, उनी कविमात्र होइनन् स्वयम् काव्य नै थिए, दसै दिनमा उनले लेखेको सुलोचना त्यसको दृष्टान्त छ ।

त्यो काव्य कसरी तयार भयो त्यो स्वयम् देख्नेलाई मात्र पत्यार लाग्दछ, त्यो देख्ने म एक भाग्यवन्त थिएँ । मैले देवकोटालाई धेरै वरबाट अध्ययन गर्ने अवसर पाएको छु, उनी आफ्नो शकित्भन्दा कवितालाई मास्तिर उफार्न चाहन्थेँ, कति ठाउँमा उनी त्यसमा सफल पनि भएका थए, म उनैले भनेको सम्झन्छु– ‘‘समजी, मलाई कहिले कहिले यो आकाश आफ्नै खप्परमा खसेको जस्तो लाग्छ ।’’ त्यस्तो मानिसलाई को के भन्न सक्छ ? ती कविता गर्नेहरुमा महान् थिए । उनी पुग्ने ठाउँमा मात्रै होइन, उफ्रेर पुग्ने ठाउँमा कवितालाई उफार्न चाहन्थेँ, म उनलाई मुक्तकण्ठले प्रशंसा गर्दछु ।

(घटराज भट्टराईद्वारा सम्पादित ‘महाकवि देवकोटाको आनीबानी’ पुस्तकबाट)
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १०, २०७६  १०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC