site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बाँसुरीमा बसेको मन
Sarbottam CementSarbottam Cement

काठमाडौं । महोत्तरी, धनुषालगायत आसपासका जिल्लाहरुलाई बाँसुरी बादक जन्माउने उर्वर भूमिको रुपमा लिइन्छ । यही भूमिबाट उदाएका हुन् जीवन आले मगर । महोत्तरी रामनगरमा जन्मिएका मगरको बाँसुरीसँगको नाता बाल्यकालमै गाँसिएको थियो । 

गाउँघरतिर सांस्कृतिक कार्यक्रमहरु हुँदा सधैँ बाँसुरीकै धुन सुनिरहने । यता फुपूको छोरा पनि बाँसुरी बजाउन र बनाउन पनि खप्पिस । वरिपरि बाँसुरीकै धुन सुन्दै हुर्केका उनको बालमस्तिष्क बाँसुरीप्रति यसरी मोहित भयो कि हरेक पटकको मेलामा आमाबाबाले दिएको पकेट मनि बचाएर बाँसुरी किन्न दौडिहाल्थे । 

रहरको लागि बजाउन थालेको बाँसुरी आज उनको परिचय बनेको छ । उनी अहिले काठमाडौं युनिभर्सिटीको संगीत विभागमा बाँसुरी प्रशिक्षक, ललितपुरको यलमायामा बाँसुरी प्रशिक्षक तथा यलमायामै शास्त्रीय संगीतको कार्यक्रमहरु गर्ने गर्छन् । यसका साथै अनलाइन क्लासमार्फत् विदेशी बाँसुरी पारखीहरुलाई प्रशिक्षण पनि दिने गर्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“बाँसुरी मेरो जीवन हो । मेरो चिनारी हो । म यसैसँग हाँस्छु र यसैसँग रुन्छु । जबसम्म फुक्न सक्छु, यसबाट अलग भएर बस्नै सक्दिन,” उनी भन्छन् ।

काठमाडौँ प्रवेशले बढाएको दायरा

Global Ime bank

बाँसुरी बच्चैदेखिको सोख । तर उनी जन्मेको ठाउँमा यसलाई रहर भन्दा माथि लग्न सकिँदैनथ्यो । किनभने त्यहाँ न सिक्ने ठाउँ थियो न स्कोप’ नै । एक दुर्घटनाका कारण २०४२ सालमा काठमाडौँ आएका उनले आफ्नो बालापनको रहरलाई व्यावसायिक रुपमा अघि बढाउने मौका पाए । 

उनी नवलपरासी जिल्लामा ठेक्काको काम गर्थे । सरकारकै एक संस्था टिम्बर कोर्पोरेशनबाट सुकेको रुख काटेर काठमाडौंमा निर्यात गर्ने । त्यही क्रममा रुख ढलेर उनको खुट्टामा चोट लाग्यो । 

उपचारका लागि काठमाडौँ आए र टिचिङ अस्पतालमा १० महिना बसे । उक्त दुर्घटनाले उनले दायाँ खुट्टा गुमाउनु पर्यो । त्यो दुर्घटना नै उनलाई बाँसुरी वादकको रुपमा स्थापित गरिदिने पुल बन्यो । 

१० महिना टिचिङ अस्पतालमा बसेका उनी त्यसपछि पुगे सेन्ट जेभियर्स सोसल सेन्टर जावलाखेलमा । त्यहाँ उनी फादर ग्याफनीको निगरानीमा उपचारमा बसे । फादरले केमा इच्छा छ भनेर सोध्दा उनले दुई पटक पनि नसोची भनिहाले– सिलाइ ।

बाँसुरीमा रहर त थियो नै । तर यसमै लागेर भविष्य बनाउन सकिन्छ भन्ने ज्ञान थिएन । कारण त्यो समयमा बाँसुरी भनेको गाउँघरतिर रमाइलोको लागि बजाइने साधनको रुपमा मात्रै हेरिन्थ्यो । एक वर्ष सोसल सेन्टरमा बसेर उनले सिलाइ सिके । यहिक्रममा उनले भारतको जयपुरमा डिजाइनिङको ६ महिने कोर्स पनि गरेका थिए । 

सिलाइको राम्रो ज्ञान र दक्षता लिएर उनी कुपण्डोलमा परिवारसँग बस्न थाले । सिलाइलाई करियर बनाउने सोचमा यसमै समय दिन थाले । तर सँगसँगै उनले बाँसुरीको लगावमा भने पूर्णविराम लगाएनन् । 
दिनभरी सिलाइको काम गरेर बेलुका ठमेलको रेष्टुरेन्ट तथा अरु कार्यक्रमहरुमा बाँसुरी बजाउने गर्थे । एकपटक खुट्टाकै शल्यक्रियाको लागि राजस्थान जाँदा त्यँहा बाँसुरी बजाउने मौका पाए । उनको बाँसुरीको सुरिलो धुनले प्रभावित भएर भारतको केन्द्र सरकारले खुशी भएर दिल्ली झिकाई र उपहार नै दियो ।

उनले ९ वर्ष बाँसुरीलाई धेरै सोख र थोरै करियरको रुपमा अगाडि बढाउँदै आए । तर त्यो समयसम्ममा संगीतले केही हदसम्म उनले अब रहरलाई शैक्षिक र प्रोफेसनल रुपमै अगाडि बढाउनुपर्ने आवश्यकता महसुस गरे । २०५१ सालमा नेपालको अत्यन्तै पुरानो संगीत विद्यालय ‘कलानीधि संगीत महाविद्यालय’ (अहिले कलानिधि इन्द्रसंगीत महाविद्यालय) बाट विधिवत रुपमा सारेगम सिक्न थाले । उनले कलानिधिबाटै स्नातकसम्मको पढाइ पूरा गरे । 

स्नातकसम्मको पढाइ अपुग देखेर उनी भारत गए । सन् २००२ मा ‘प्रयाग संगीत समिती इलाहबाद’ बाट बाँसुरी विधाबाट स्नातकोत्तरको डिग्री लिएर नेपाल फर्के । 

त्यसपछि बढ्यो संगीतमा उनका पाइलाहरु । त्यो बेलासम्म उनी डिजाइनिङ र बाँसुरी वादन दुवैमा अग्रसर थिए । तर दुईवटा डुङ्गामा खुट्टा राखेर यात्रा गर्दा डुबिन्छ भन्ने डरले उनले डिजाइनिङ पेशा छोडेर आफ्नो सानैदेखिको इच्छा संगीतमै अघि बढ्ने निर्णय लिए । 

संघर्ष
काठमाडौं भनेको हजारौँ प्रतिभाहरुको कर्मथलो । देशको कुनाकुनाबाट व्यतिmहरु आफ्नो करियर बनाउन काठमाडौँ आउँछन् । यो भीडमा अरुलाई उछिनेर अगाडि बढ्न निकै गाह्रो हुन्छ । तर मगर अपवाद सावित भए । 
बाँसुरी वादकको संख्या हातमै गन्न सकिने थियो । यहिकारण पनि होला, उनले काठमाडौँ आएर त्यति बाँकी प्रतिस्पर्धीहरुको सामना गर्नुपरेन जुन कुरा उनी आफ्नो लागि ‘लक्की’ मान्छन् । 
“केही व्यतिmहरु त थिए तर पछि उहाँहरु पनि विदेश पलाएन भए,” उनले आफ्ना प्रतिस्पर्धीहरु सम्झिए । 

यसबीच पनि उनले बाँसुरी बजाउन भने छोडेनन् । दिउँसोभरि सिलाइको काम गरेर राती होटलहरुमा बाँसुरी बजाउन जाने गर्थे । “संघर्षको के कुरा गर्नु, जम्मा ४ घण्टा मात्रै पनि सुतियो,” उनी सम्झिन्छन् । 
बाँसुरीमा शैक्षिक योग्यता हासिल गर्नुअघि उनी बाँसुरीमात्रै सोखको रुपमा होटलमा, कार्यक्रममा बजाउने गर्थे । बिहान ५ देखि १० बजेसम्म साधना गर्थे । उनी आफ्नो साधनाबाट उठ्दासम्म परिवारका सबैजना खाना खाएर आफ्नो आफ्नो कामको लागि निस्किसकेका हुन्थे । 

उनी पनि हतारहतार खाना खाएर सिलाइको लागि निस्किन्थे । त्यहाँबाट राती फेरि बाँसुरी बोकेर ठमेलका होटलहरुमा बजाउन जान्थे । राती घर आँउदा १२, १ बजेकै हुन्थ्यो । 

उनले बाँसुरी बजाउन थालेदेखि नै घरबाट भने छोराले यो रहर छोडोस् भन्ने थियो । गाउँमै हुँदा एकदिन उनले एउटा बाँसुरी किनेका थिए । उतm बाँसुरीले आफूसँगै घरमा आँधीहुरी पनि ल्याएको थियो ।

त्यो दिन आज पनि उनको दिमागमा ताजा नै छ । “घरबाट सपोर्टको कुरा गर्दा मलाई त्यो दिनको याद आउँछ । आजभन्दा भण्डै १८, १९ वर्ष अगाडि मैले १९ हजारको बाँसुरी भारतबाट किनेर आउँदा त्यतिखेर घरमा भाँडभैलो मच्चिएको थियो । तैंले के गर्न लागिस् ? यो ढुंग्रालार्ई त्यत्रो पैसा हालेर भनेर आमाबाबाले गाली गर्नुभएको थियो,” उनले थपे । 

दुर्घटनापछि ४ घण्टाको निन्द्रा र दिनरातको भागदौडले यदि जिन्दगी यस्तै र यति नै हो भने त जिउनुको केही अर्थ नै छैन भन्ने निराशापनले पनि गाँजेको थियो । “म कुनै समय घरको पाहुनाजस्तै पनि भएको थिएँ । राती अबेर आयो घरमा सबैजना सुतिसकेका हुन्छन् । घरपरिवारसँग बसेर सुखदुःख साट्ने समय समेत पाएको थिइन मैले,” उनले दुखेसो पोखे ।

तर आफूलाई नयाँ जीवन दिने फादरले त्यतिबेला दिएको हौसलाका शब्द र सहयोगलाई सम्झेरै आफूमा ऊर्जा ल्याँथे ।

रेडियो नेपालको प्रतियोगीताले फेरेको पाटो 

बाँसुरी वादकहरु धेरै कम भएको हुनाले जीवन आलेलाई स्टुडियोभित्र बसेर बजाउने भन्दा पनि स्टेज कलाकार हुने रहर थियो । तर जिन्दगीमा सोचेका हरेक कुरा कहाँ पूरा हुन्छन् र । यस्तै उनको जिन्दगीमा पनि केही मोड आयो र उनको स्टेज कलाकारको ‘ट्रयाक चेन्ज’ भई उनी बाँसुरी प्रशिक्षणमा मोडिए । 

सिकाउने गुरुहरुको कमी तर सिक्न चाहने विद्यार्थीहरुको संख्या धेरै । गुरुको सुझावमा उनले पहिलो पटक २०५३ सालमा अधिराज्यव्यापी शास्त्रीय संगीत प्रतियोगितामा भाग लिएका थिए । उतm प्रतियोगितामा उनले सुर वादनतर्फ बाँसुरीमा प्रथम स्थान हासिल गरेका थिए । 

उतm सफलताबाट उनमा आत्मविश्वास र हौसला बढ्यो र डिजाइनिङ छोडेर उनले सबै समय बाँसुरीतर्फै यात्रा मोडे । 

त्यसपछि उनी अझै धेरै कार्यक्रमहरुमा बजाउन थाले । त्यो समयमा संगीतमा स्थापित हुन चाहनेको लागि रेडियो नेपाल राम्रो अवसर थियो । रेडियो नेपालमा आफ्नो गीत रेकर्ड गराउन संगीतकर्मीहरु महिनौं, वर्षौं पनि कुर्ने गर्थे ।

त्यहि प्लेटफर्ममा जीवन आलेले पनि एक मौका पाए । उनले आफ्ना गुरुबाट रेडियो नेपालमा बाँसुरी वाद्यवादन प्रतियोगिताको बारेमा जानकारी पाए ।

प्रतियोगीताको लागि उनी चयन पनि भए । उनले प्रतियोगितामा बाँसुरीको मिठो धुन बजाइरहँदा स्टुडियो भन्दा बाहिर बसेर सुनिरहेका थिए प्रेम राणाले । त्यो समयमा प्रेम राणा सुरसुधा ब्यान्डमा बाँसुरी बादक थिए ।
उनले जीवन आले स्टुडियोबाट बाहिर निस्किनेबित्तिकै ‘सुरसुधा संगीत पाठशाला’सँग आवद्ध हुन प्रस्ताव गरे । तर मगरलाई भने प्रशिक्षणमा कुनै रुची थिएन । उनी आफूलाई स्टेज कलाकारका रुपमा चिनाउने सपना देख्थे । यहिकारण उनले प्रेम राणाको प्रस्ताव आनाकानी गरे ।

तर, राणा भने जसरी भए पनि उनलाई पाठशालामा लग्ने मनस्थितिमा थिए । अन्ततः राणाले उनलाई मनाएरै छोेडे । र आफ्नै बाइक पछाडि राखी कमलादीस्थित सुरसुधा संगीत पाठशालातिर हुइँकिए । 
“त्यहिबाट मैले सिकाउने काम सुरु गर्नुपर्यो । यसरी बजाउने भन्दा पनि सिकाउने पाटोमा मोडियो, अहिलेसम्म पनि त्यहिक्रम जारी नै छ,” उनी बताउँछन् । तर उनी आवद्ध भएको करिब १ वर्षपछि सुरसुधा बन्द भयो । त्यो समयसम्ममा उनलाई शिक्षणमा लगाव बसिसकेको थियो ।

सुरसुधा बन्द भएसँगै उनले आफैँले पढेको विश्वविद्यालय कलानिधिमा पढाउने मौका पाए । उनी त्यहाँ १२ वर्षसम्म आवद्ध भए । तर समयसँगै परिवर्तित हुन नसकेको विश्वविद्यालयको पुरानै प्रणालीले उनी आजित भैसकेका थिए । 

“संगीतको पढाइमा पनि विद्यार्थीहरुलाई घोकाएर परीक्षामा पास हुनैपर्ने शैली मलाई चित्त बुझेको थिएन,” यहि कारण उनी नयाँ शैलीमा संगीत सिकाउने सोचले त्यहाँबाट छुट्टिएर यलमाया कला केन्द्रसँग जोडिए ।
परीक्षा प्रणालीमा विद्यार्थीले एक वर्षमा सात वटा राग कन्ठ गर्नुपर्ने भएर क्वालिटी भन्दा पनि क्वान्टिटी मात्रै बढेको महसुस उनले गरे । यहि कारण यलमायामा उनले गुरु शिष्य परम्परा अनुसार सिकाउने गर्छन् । परीक्षामार्फत् विद्यार्थीको क्षमता जाँच्ने भन्दा पनि पहिलो राग पूर्णरुपमा नसिकी अर्को राग सुरु गर्दैनन् ।

बाँसुरी पहिले र अहिले

उनले सुरु गर्दाको समयदेखि आजसम्म आइपुग्दा यसको प्रयोग, सोच र आम्दानीमा निकै परिवर्तन आइसकेको उनले अनुभव गरेका छन् । अहिले संगीतको एक महत्वपूर्ण पाटोको रुपमा बाँसुरी स्थापित भैसकेको उनले बताए । 
त्यो समय र अहिलेको समयमा धेरै फरक छ । त्यतिखेर त्यति स्कोप थिएन । त्यहि पनि आफूलाई मनपर्ने विधा भएर होला त्यो पाटोलाई खासै ध्यान दिइएन । उनका अनुसार पछिल्लो १० वर्षयता यसको क्षेत्र फराकिलो हुन थालेको छ ।
अहिले सुर अनुसार अलग अलग बाँसुरी र सोही अनुसार त्यसको मूल्य पनि फरक फरक हुने गरेको उनले बताए । “पहिले ४ आना, १२ आना, १ रुपैयाँमा मेलामा पाइने साधारण बाँसुरी पनि अहिले २, ३ हजार लिन्छ,” उनले बताए ।
लोक तथा आधुनिक गीतहरुमा त बाँसुरीको प्रयोग पहिलेदेखि थियो । तर अहिले बाँसुरीको कर्णप्रिय धुन रक, ज्याज, भजन तथा अरु जानराको गीतमा पनि गुन्जिन थालेको छ ।

सीमित बाँसुरी बादक भएका कारण त्यति प्रतिस्पर्धा भोग्न नपरेका उनले अहिले आफ्नै विद्यार्थीहरुबीच ठूलै प्रतिस्पर्धा हुने गरेको बताउँछन् । “अहिले बाँसुरीमा धेरै प्रतियोगीहरु छन् । मेरै शिष्यहरु पनि धेरै नै छन् । अहिले त अझ भारतबाट बाँसुरी सिकेर आउने नेपाली बाँसुरी बादकहरु पनि प्रशस्तै छन् ।”

बाँसुरी बादकको संख्या बढेसँगै यसको माग र यसमा आम्दानी पनि बढ्दै गएको मगर बताउँछन् । “अहिले मेरै विद्यार्थीहरुले दैनिक १० देखि १२ हजारसम्म कमाउँछन्,” उनी गर्वका साथ सुनाउँछन् । 
उनले करिब ३ वर्षअघि पछिल्लो समय सांगीतिक क्षेत्रमा कुन विधा बढी लोकप्रिय छ भन्ने अनुसन्धान गरेका थिए । “अहिले सितार बजाउने विद्यार्थीहरुको संख्या घट्दै छ । भायोलिनमा क्लासिकल बजाउने विद्यार्थीको संख्या त्यति देखिँदैन । भोकल त नम्बर एकमा आइहाल्छ । तर बाँसुरीको विद्यार्थी भने धेरै नै देखियो,” उनले सुनाए । 

उनका अनुसार पछिल्लो समय बाँसुरी बादकको संख्यामा त उल्लेख्य वृद्धि छ नै । यसको साथसाथै बाँसुरी बनाउने विद्यार्थीहरु पनि बढेको उनले बताए । पहिले छिमेकी राष्ट्र भारतबाट धेरै आयात हुने बाँसुरी अहिले नेपालमै बन्न थालेको छ । बाँसुरी बन्ने मात्रै होइन, राम्रो गुणस्तरकै बाँसुरी बन्न थालेको उनले बताए । 

“पहिला पनि नेपालमा बाँसुरी त बन्थे, तर त्यसको गुणस्तरमा अलि कमी थियो । किनभने अहिले जस्तो प्रोफेसनल रुपमा बाँसुरी बजाउने चलन थिएन,” उनले सुनाए । राम्रो बाँसुरी नभएपछि सुर लगाउन गाह्रो हुने उनी बताउँछन् । नोट बेसुरा भएपछि आफनो विद्यार्थीहरुलाई सुरको बाँसुरी उपलब्ध गराउन उनी भारतको दिल्लीसम्म पुग्ने गर्थे ।

बाँसुरीको सुर मिलाउन त्यहाँ हुने हरेक सानोसानो प्वालको आकारले फरक पार्ने उनी बताउँछन् । हरेक पटक विदेशबाट बाँसुरी ल्याइराख्ने झमेला भएर उनले आफ्नो विद्यार्थीहरुलाई आफैँ बाँसुरी बनाउन सुझाए । विद्यार्थीहरुले बनाउन त सुरु गरे तर राम्रो बाँसुरीको लागि चाहिने बाँसको समस्या हुन थाल्यो ।

जसका लागि भारतको आसामबाट बाँस निर्यात गर्न थालियो । तर अहिले भने पूर्वी नेपालका केही ठाउँमा बाँसुरीको लागि उपयुक्त बाँसहरु पाउन थालेको उनी बताउँछन् । “नेपालमै बाँसुरी बन्न थालेपछि हाम्रो पैसा बाहिर नजाने भयो र अर्को भनेको तुलनात्मक रुपमा सस्तो पनि पर्ने भयो,” उनी भन्छन् ।

यति महँगो र मेहनतका साथ बनाएको उपकरणलाई कतिले नबुझेर बाँसुरी खेलाउने र हेलचेक्र्याइँ गर्ने गरेकोमा उनले दुखेसो पोखे ।

“अलिकति फुट्यो भने पनि त्यो प्रयोगमा आउँदैन । फेरि प्रोफेशनल रुपमा बजाउन प्रयोग हुने बाँसुरी महँगो हुने भएकोले हामी यसलाई छुन पनि दिँदैनौ । चाहे घमण्डी नै किन नभनोस्,” उनले भने ।

गीतको जनरा र सुरअनुसार फरक फरक प्रकारको बाँसुरी हुने र सोही अनुसार मूल्य पनि फरक हुने गरेको उनले बताए । बाँसुरी बनाउँदा एकदमै एकाग्रता र शान्त मुड चाहिने उनी बताउँछन् । किनभने प्वाल अलिकति मात्रै ठूलो हुँदा पनि त्यसले सुर नदिने भएकोले बाँसुरी बनाउँदा एकदमै ध्यान दिनुपर्छ । 

बाँसुरीको माग 

अहिले राम्रो बाँसुरी वादकहरुको माग देशभित्र लगाएत विदेशमा पनि हुन थालेको मगर बताउँछन् । “यलमायामा नै नियमित २५, ३० जना छन् । स्टुडियोतिर पनि आवश्यक छ । देशविदेशमा हुने कार्यक्रममा पनि उत्तिकै माग छ । अहिले त सप्ताहतिर पनि बाँसुरी बजाउने व्यतिmहरुको राम्रो माग छ,” उनले भने । 

पछिल्लो समय बाँसुरीमै पूरै समय दिनेहरुको संख्या पनि बढ्दो छ । उनी आफैं पनि बाँसुरीमा मात्रै लागिरहेका छन् । “मेरो त जीवन नै यहि हो, अलिअलि जानेको डिजाइनिङ छोडिहालें,” जीवन भन्छन् । 

शास्त्रीय संगीत

पहिलोचोटी याक एण्ड यति होटलमा बजाउँदा ३०० रुपैयाँ पाएको उनको स्मरणमा अहिले पनि ताजा नै छ ।  पहिलो कमाइ भएका कराण उनी निकै खुशी भए । तर, अहिले सम्झिँदा त्यस्तो गाह्रो बाजा बजाउँदा पनि ३०० कम भएको हो जस्तो लाग्छ । 

गाउँघरमा गीत होस् या त बाँसुरीको धुन, लोक तथा आधुनिक नै सुन्न रुचाउने । उनले पनि लोक जानराबाटै बाँसुरी बजाउन सिके । तर, काठमाडौं आएर अरुअरु संगीतहरु सुन्न थालेसँगै बाँसुरीको धुनमा पनि नयाँपन खोज्ने र अरुभन्दा फरक आफ्नै धुन दिने इच्छा अझै बढ्न थाल्यो ।

उनको जिज्ञासाको समाधानको रुपमा आयो शास्त्रीय संगीत । उनका अनुसार संगीतमा सबैभन्दा मन छुने र हरेक जनरामा पनि मज्जाले घुल्ने जनरा हो शास्त्रीय संगीत । शास्त्रीय संगीत सिक्न थालेपछि उनले त्यसमा आफूले आफैलाई पाउन थालेँ । यहि कारण उनले शास्त्रीय संगीतमै औपचारिक पढाइ पूरा गरे । “धेरै विज्ञहरुले पनि बाँसुरी त एक दुई वर्ष सिकेपछि जानिहालिन्छ भन्ने गर्छन् । तर बाँसुरी त्यसरी १, २ वर्ष सिकेर सजिलै सिकिने उपकरण भने होइन,” जीवन भन्छन्, “बाँसुरी अत्यन्तै कठिन विधा छ । बजारमा सुनिने हल्ला जस्तो होइन, यो अत्यन्तै कठिन छ । भारतमै पनि धेरै नाम चलेका कलाकारहरु बाँसुरीबाट अरु विधामा गएका छन् ।” उनी बाँसुरी सजिलो छ भन्ने कुराको खण्डन गर्छन् । 

उनको सपना भनेकै बाँसुरीको शास्त्रीय विधामा विद्यार्थीको संख्या बढाउनु रहेको छ । पहिले शास्त्रीय विधा भनेपछि बुढापाकाले मात्रै सुन्ने हो भन्ने सोच थियो । तर अहिले यसको दर्शकमा युवावर्ग बढ्दै गएको उनले बताए । उनी स्वयंमले पनि बाँसुरीको शास्त्रीय विधामा युवाहरुलाई तान्न धेरै प्रयास गरे । केही वर्ष ‘शास्त्रीय संगीतको साधना युवाहरुको चाहना’ भन्ने स्लोगन लिएर नेपालकै विभिन्न ठाउँमा कार्यक्रमको आयोजना पनि गरे । उनको यो प्रयास अहिले पनि जारी छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६  ११:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC