site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ओलीप्रति प्रचण्डका पाँच असन्तुष्टि !
Ghorahi CementGhorahi Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः एक्लो महसुस गर्न थालेका छन् । पार्टीभित्र अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टी र सरकार सञ्चालनमा आफूलाई छायामा पारेको महसुस प्रचण्डले गर्न थालेको उनी निकटस्थहरू बताउँछन् ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली ‘स्वेच्छाचारी’ ढङ्गले अघि बढेको भन्दै प्रचण्डले पूर्वएमालेका नेताहरूसँग गुनासो गर्न थालेको नेकपाका एक स्थायी कमिटी सदस्य बताउँछन् ।

स्रोतका अनुसार केपी ओली दोस्रोपल्ट (भदौ ५ देखि २० सम्म) सिङ्गापुरबाट उपचार गरेर फर्किएयता प्रचण्ड निकै तनाबमा छन् । ओली सिङ्गापुरबाट फर्किएपछि कार्यकारी अध्यक्षको भूमिका आफूले पाउनेमा प्रचण्ड आशावादी थिए । उनले आफूनिकटकालाई ब्रिफिङसमेत गरेका थिए । त्यसैले स्कुल विभाग पूर्वएमाले खासगरी ईश्वर पोखरेललाई दिन राजी भएका थिए । ओली उपचारमा जानुपूर्व सचिवालयले महत्त्वपूर्ण निर्णय (वामदेवलाई उपाध्यक्ष प्रस्ताव गर्नेदेखि, झलनाथलाई वरीयतामा माथि ल्याउनेसम्म) गरेको थियो । एकल अध्यक्षको जिम्मेवारी पाउने लोभमा परेका प्रचण्डले ओलीको प्रस्तावमा असहमति जनाएनन् ।

Agni Group

तर सिङ्गापुरबाट फर्किएपछि एकल अध्यक्षको जिम्मेवारी दिने त कता हो कता मन्त्रिपरिषद् हेरफेरसमेत गर्न आनाकानी गरेपछि प्रचण्डले ‘ठगिएको’ महसुस गर्न थालेको उनी निकट नेता बताउँछन् ।

स्रोतका अनुसार प्रचण्ड अहिले तनावमा छन् । र, कार्यक्रमैपिच्छेका असन्तुलित अभिव्यक्तिहरू त्यसैका उपज हुन् । त्यतिमात्र नभइ अहिले उनी पूर्वएमालेका नेताहरूको घरदैलो नै गर्न थालेका छन् । यो क्रमको सुरूआत दसैंको टीकाको भोलिपल्टबाटै गरेका थिए ।

Global Ime bank

टीकाको भोलिपल्ट अर्थात् असोज २२ गते अध्यक्ष प्रचण्ड पूर्वएमालेका नेता ईश्वर पोखरेलको निजी निवास धापासी पुगेका थिए । अघिल्लै दिन समय मागेर गएका प्रचण्डले धापासीमा दुईघण्टा बिताएका थिए । छोरी गङ्गा दाहालसहित पोखरेल निवास पुगेका प्रचण्डले त्यहाँ एकताबेला भएको समझदारी पालना नभएकोमा चिन्ता प्रकट गरेको स्रोतको दाबी छ । पार्टी एकताको अघिल्लो दिन २०७५ जेठ २ गते भएको समानअवधि सरकार सञ्चालन गर्ने सहमति पालना नहोला भन्ने डर अध्यक्ष प्रचण्डलाई छ । उनले पोखरेलसँगको भेटमा सोही कुरा बताएका थिए ।

प्रचण्डसँगको भेटको कुराकानी पोखरेलले सीधै खुलासा त गरेनन् । आफूलाई भेट्न आएका ओखलढुङ्गाका पार्टीका अगुवा नेतालाई पोखरेलले कुरा चुहाएपछि यो कुरा बाहिरियो ।

“अध्यक्ष प्रचण्डले आफैं समय मागेर भेट्न आउनुभएको हो,” पोखरेल निकट स्रोतले बाह्रखरीसँग भन्यो, “भेटमा पार्टी र सरकारकाबारेमा कुराकानी भयो ।”

पोखरेलपछि अध्यक्ष प्रचण्ड माधव नेपाललाई भेट्न उनको निजी निवास कोटेश्वर पुगेका थिए । शनिबार दिउँसो भएको भेटमा ‘पूर्ववत् असन्तुष्टि’ नै राखेको प्रचण्ड निकट स्रोतको भनाइ छ ।

“पार्टी एकता जुन समझदारीका आधारमा भएको हो, त्यही समझदारीअनुरूप नेकपा अघि बढ्नुपर्छ भन्ने उहाँको मान्यता हो । समझदारीको मर्म लत्याएर केपी ओली अघि बढ्न थालेपछि उहाँले खबरदारी गर्नु भएको हो । अध्यक्षले पार्टीका नेता भेट्नु नयाँ र नवीन कुरा होइन,” उनी निकट नेता भन्छन् ।

एकतामा आलटाल 

अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीलाई ‘आत्मकेन्द्रित’ भनेर सार्वजनिकरूपमै टिप्पणी गर्न थालेका छन् । गत बिहीबार धनगढीमा पार्टीको सुदूरपश्चिम प्रदेशले स्थानीय तहका जनप्रतिनिधिलाई दिएको प्रशिक्षण कार्यक्रममा एकता नटुङ्गिएको भन्दै रोष प्रकट गरे ।

तीन महिनाभित्र एकता पूरा गर्ने भनेर २०७५ जेठ १६ मै अन्तर पार्टी निर्देशन (अपानी) जारी गरिएको भए पनि लम्बिएर १५ महिना पुगेकाप्रति उनको आक्रोश थियो ।

“हामीले ३ महिनामा पूरा गर्छौं भनेको पार्टी एकता डेढ वर्षमा पनि किन गर्न सकेनौं ?,” दाहालले ओलीतिर लक्षित गर्दै भने, “हामीले ३ महिनामा सक्छौं भनेको कुरा मनोगत थियो कि डेढ वर्षमा टुंगो लगाउन नसक्नु हाम्रो कमजोरी या कुनचाहिँ कुरा मुख्य हो भन्नेमा हामी छलफलमा छौं ।”

प्रशिक्षणमा प्रचण्डले पार्टीमाथि केही गम्भीर प्रश्न उब्जिएको बताएका थिए । उनले ओलीले चाहँदा पार्टी एकता भटाभट हुने, ओलीले नचाहँदा बैठक नै नबस्ने गरेको दुखेसो आफूनिकट नेताहरूलाई बताउने गरेको स्रोत बताउँछ ।

एकता लम्ब्याउँदै पूर्वसमझदारी मात्रै होइन, एकताको महाधिवेशनको तिथि पनि पर धकेल्ने ओलीको मनसाय रहेको प्रचण्डको बुझाइ छ ।

“एकता धकेल्ने, एकताको महाधिवेशन पर धकेल्ने र क्रमशः पूर्वमाओवादीलाई कमजोर बनाएर पार्टीमा वर्चश्व स्थापित गर्ने दाउमा ओली छन्,” प्रचण्डको बिफ्रिङ उद्धृत गर्दै पूर्वमाओवादीका एक नेता बताउँछन् ।

गत वैशाख ९ गते प्रचण्डले मङ्सिर, पुससम्ममा प्रदेश र जिल्ला तहका कमिटीहरूको अधिवेशन गरिसक्ने उद्घोष गरेका थिए । तर एकताको कामै थाती रहेकाले ओलीले नियत राखेरै एकतामा अर्घेल्याइँ गरेको प्रचण्डको बुझाइ छ । अहिले जिल्ला र जिल्ला मातहतका कमिटीले पूर्णता पाएका छैनन् । तलका संरचना नबनेकाले महाधिवेशनको तिथि पर धकेलिने पनि निश्चतप्रायः छ ।

एकता नै अन्यौलमा परेकाले ओली पूर्वसमझदारीबाट पछि हट्ने हो कि भन्ने आशङ्का बढेको पूर्वमाओवादीका नेता बताउँछन् ।

बैठकको आलोपालो अध्यक्षता

पार्टी एकता गर्दा ओली, प्रचण्डले बैठकको अध्यक्षता आलोपालो  गर्ने समझदारी भएको थियो । तर भदौ ९ गते ओली उपचारको सिलसिलामा सिङ्गापुर भएकाले प्रचण्डले सचिवालय बैठकको अध्यक्षता गरे ।  “एकता गर्दा दुवै अध्यक्षले आलोपालो बैठकको अध्यक्षता गर्ने समझदारी भएको थियो । यति प्रक्रियागत कुरा पनि के लिखित गर्नु भनेर मौखिक नै समझदारी भयो । तर पालना भएन,” पूर्वमाओवादीका एक नेता भन्छन् ।

सचिवालय, स्थायी कमिटीको बैठकको अध्यक्षता ओली, प्रचण्ड दुवैले गर्दै आएको भए पनि प्रचण्डको भूमिका, सह–उपाध्यक्षको जस्तो देखिएको भन्दै प्रचण्डले असन्तुष्टि प्रकट गरेको नेकपाको नेताको बुझाइ छ ।

“सामान्य कुरा पनि पालना हुँदैन भने ओलीबाट अरू के आस गर्ने ?,” पूर्वमाओवादीका नेता प्रश्न गर्छन् ।

आलोपालो प्रधानमन्त्री

पार्टी एकताको अघिल्लो दिन पूर्वएमाले–माओवादी केन्द्रबीच गोप्य पाँच बुँदा भयो । सचिवालयका नेतासमेतलाई थाहा भएन । एमालेका तत्कालीन उपमहाचिव विष्णु पौडेल र तत्कालीन माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य जनार्दन शर्मा साक्षी राखेर दुई अध्यक्षले हस्ताक्षर गरेको सम्झौता प्रचण्डले सार्वजनिक गरे । गत जेठ १५ गते ।
एकताअघिको गोप्य सम्झौता सार्वजनिक गरेको भन्दै अध्यक्ष ओली क्षुब्ध बनेका छन् ।

ओलीले जहाँ पायो त्यहीँ जसले पायो त्यसले, जहिले पायो, त्यहीले आलोपालो सरकार सञ्चालनको कुरा झिक्न नहुने तर्क गरिरहेका छन् । यसले पनि दुई अध्यक्षबीच तिक्तता बढेको र सहमति पालना गर्न पूर्वएमालेका नेता गुहार्न थालेको कतिपय नेताको बुझाइ छ ।
टीकाको भोलिपल्ट प्रचण्ड त्यही उद्देश्यले ईश्वर पोखरेल भेट्न पुगेका थिए ।

तर अध्यक्षको कार्यकारी भूमिकासमेत छाड्न तयार नभएका ओलीले प्रचण्डलाई कुनै हालतमा प्रधानमन्त्री हस्तान्तरण नगर्ने एमाले नेताको बुझाइ छ । शनिबार कान्तिपुर दैनिकसँग लामो कुराकानी गर्दै अध्यक्ष ओलीले प्रचण्डलाई ‘सत्ता सञ्चालनको वैधता आफैंले प्राप्त गरेको’ सन्देश दिएका छन् ।

मन्त्रिपरिषद् हेरफेर

ओली र प्रचण्डबीचको बढ्दो असमझदारीको कारण मन्त्रिपरिषद् हेरफेर पनि बनेको छ । प्रचण्डले पहिलोपल्ट २०७५ भदौ २० गते राजनीतिक बिटमा कलम चलाउने पत्रकारहरूलाई आफ्नै निवास खुमलटारमा बोलाएर मन्त्री हेरफेर गरेर भए पनि सरकारको सेवाप्रवाहलाई जनमुखी बनाइने बताए । त्यसपछि महिना बिराएर प्रचण्डले मन्त्री हेरफेर गर्ने बताउँदै आए पनि ओलीले सुनेनन् । दिक्क भएका प्रचण्डले असोज ५ गते विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई भने, “मन्त्री हेरफेरको कुरा मलाई नसोध्नूस् । यसले मलाई हैरान बनायो । मन्त्री हेरफेर गर्ने क्षेत्राधिकार प्रधानमन्त्रीको हो ।”

सरकार गठन भएको ६ महिना नबित्दै मन्त्री परिवर्तनको हल्ला चलाएर प्रचण्डले सरकार सञ्चालनमा असहयोग गरेको ओलीको बुझाइ छ । प्रचण्डले मन्त्री हेरफेरको प्रसङ्ग निकाल्ने, प्रधानमन्त्रीको सचिवालयले खण्डन गर्ने एक किसिमको जुहारी नै चलेको थियो । अहिले नेता नेपाल पनि तत्काल मन्त्रिपरिषद् हेरफेरको पक्षमा छैनन् । उपनिर्वाचन (मङ्सिर १४) अघि मन्त्री हेरफेर नहुने उनले बताउँदै आएका छन् ।

ओलीको कार्यशैली

प्रचण्ड ओलीको कार्यशैलीप्रति पनि सन्तुष्ट छैनन् । उनले पटकपटक सरकारको समीक्षा गर्नुपर्ने कुरा सचिवालयको बैठक र ओलीसँगको भेटमा उठाएको उनी निकट नेता बताउँछन् । “तर सरकारको त के, प्रधानमन्त्रीकै कार्यशैली बदलिने छाँट देखिँदैन । प्रचण्डको पछिल्लो सङ्केत त्यतापट्टि हुनसक्छ,” उनी निकट नेताहरू बताउँछन् ।

तर जति नै दौडधूप गरे पनि पार्टीभित्र प्रचण्डको वर्चश्व स्थापित हुनेमा शङ्कै गर्छन्, पूर्वएमालेका एक नेता ।

वरीयतामा नेपालभन्दा माथि ल्याएकाले झलनाथको असन्तुष्टि साम्य भएको छ । उपाध्यक्ष प्रस्ताव गर्दै सङ्गठन विभाग प्रमुखको जिम्मेवारी दिएपछि ओली–वामदेवको सम्बन्ध सुमधुर बनिसकेको छ । प्रदेश र जिल्ला तहको कमिटी एकीकरणका बेला ओलीलाई नै सहयोग गरेकाले नेपालले प्रचण्डलाई साथ दिने सम्भावना न्यूनप्रायः छ ।

“प्रचण्ड पछिल्लो समय कमजोर, एक्लो बन्दै गएको सङ्केत मिलेको छ । गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुनजस्ता पूर्वमाओवादी केन्द्रका प्रभावशाली नेताले ओलीलाई नै साथ दिइरहेका छन् । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा पनि बादलले ओलीलाई राम्रै सहयोग गरे । यो सबै घटनाक्रमले प्रचण्डलाई एक्लिएको महसुस भएको हुनसक्छ,” नेकपाका एक नेता बताउँछन् ।

र त्यसैको प्रतिक्रिया स्वरूप प्रचण्डले नेपाली काङ्ग्रेसको चियापानमा राजनीतिले जतिबेला पनि कोल्टे फेर्ने बताएका नेकपाका नेताहरूको बुझाइ छ ।

“प्रचण्ड अस्थिर असन्तुलित छन् भनेर बुझ्न उनकै पछिल्ला अभिव्यक्ति सुने पुग्छ,” ती नेता भन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC