site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पिसाब
Sarbottam CementSarbottam Cement

दीपक लोहनी


 फेरि लाग्यो पिसाब ।

भित्री पीडा ठ्याक्कै भन्नै नसकिने । के के भएँ भएँ । वास्तविक भाव र अवस्था जानकारी गराउन हाम्रा शब्दहरु कति असफल छन् ! उकुसमुकुस भएँ, भन्नुपर्ला ।

Prabhu Bank
Agni Group
NIC Asia

हैन, अचेल मलाई के भैरहेछ ? जब यहाँ आएँ र काम सुरु गरेँ, मलाई छिनछिनमा पिसाब लाग्दो छ । छ्वालल्ल पिसाब आए पनि अर्कै आनन्द आउँथ्यो । छ्वालल्ल बग्ने यस्ता कञ्चन पिसाबहरुलाई फ्याँक्दा म आनन्दित हुन्थेँ । कल्पन्थेँ– यी त उच्चपहाडी शरदीय झरना हुन् । स्वच्छ, पवित्र र कञ्चन । 

साँच्चै, स्वच्छ पिसाब फेर्दा कति आनन्द आउँछ । पुलकित हुन्छ मन र मस्तिष्क ! 

Global Ime bank

अचेल हैरान छु । ठ्याक्कै एक महिना भयो । छिनछिनमा पिसाब आइरहन्छ । ट्वाइलेट पस्यो । पिसाब गर्न खोज्यो । सुकेधारा जस्तो । पिसाब तप्प ! तप्प !! कन्यो, फेरि कन्यो । बल्लबल्ल कन्यो । उही तप्प ! तप्प !! कस्तो हैरान अवस्था । मियाजाकी भन्थिन्– ‘‘दीपक, तिम्रो अनुहार पढ्दा तिमीलाई केही उकुसमुकुस भएको छ । काममा त्यति मन गइरहेको पनि लाग्दैन । के भयो तिमीलाई ?’’

हो । केही त भएको छ मलाई । केही होइन, ठूलै केही भएको छ । ठ्याक्कै भन्न मात्र नसकिएको । पटकपटक पिसाब तप्प ! तप्प !! लाग्छ भन्दा शरम पनि हुने । बाँकी भित्री अनुभूतिहरु व्यक्त गर्नलाई शब्दै नहुने । कस्तो अवस्था मेरो । कस्तो दल्दल यो पिसाबको ।

एक महिनाअघि मात्र नेपालमा हुँदा पनि यस्तो थिएन । भनुँ न, मेरो जीवनमै यस्तो कहिल्यै भएकै थिएन । दिनमा दुई÷तीन लिटर पानी पियो र पाँच÷छ पटक पिसाब फे¥यो । बस्यो । कुनै उकसुमुकुस थिएन । काममा कुनै अवरोध थिएन । लाजशरम त पटक्कै छँदैथिएन । 

तर एक महिनायता, जापानको यो सानो गाउँ ह्युगोमा आएर प्राङ्गारिक कृषिको तालिम दिँदा भने म आश्चर्यचकित भएको छु । हैन, के भयो मलाई ? आँखिर भइरहेछ के !

खाली पिसाब, पिसाब मात्र पिसाब आइरहन्छ । पटकपटक तप्प ! तप्प !!

‘‘खासै केही भएको छैन, मियाजाकी । खाली पटकपटक पिसाब लागेजस्तो हुन्छ । फेर्न गयो, कहिले आउँदैआउँदैन । कहिले आउँछ– तप्प ! तप्प !!’’

अति भएपछि लाजशरम पचाएरै भनिदिएँ मैले । 

‘‘के प्रोस्टेट ग्लानको (मिर्गौला) समस्या छ तिम्रो ?’’ मियाजाकी सोध्छे । 

कति आत्मीय, मुलायम र सफेद छ उसको मन र प्रश्नहरु ।

‘‘हैन त्यस्तो त केही थिएन । एकाएक यस्तो भयो ।’’ 

‘‘उमेर बढ्दै गएपछि यस्ता समस्याहरु देखिन्छन् । समयमै चेकअप गराऊ । म यहाँको डक्टरसँग समय मिलाऊँ त ?’’
‘‘हैन, पर्दैन । केही समय म आफैं यसलाई ठिकठाक पार्ने कोसिस गर्छु । सायद होमसिक र वातावरणीय प्रभावका कारण यस्तो भएको हो कि ?’’ मैले सजिलै उम्कन भनिदिएँ । 

यो मारी मियाजाकी– अचम्मकी युवती छे । गोलो अनुहार, झोलिएका आँखाहरु । पाक्कलपुक्कल जीउडाल । चैतमासे सिप्लीघान जस्तो कल्कलाउँदो बाक्ला छोटा कपालहरु । 

धर्मले ऊ क्रिश्चियन हो । हाँगा कुन हो मैले जान्न चाहिनँ । मनले बुद्धिस्ट । बोली प्रस्ट नेपाली । खाना सात्विक । अचेल त अर्गानिक नै भनिदिनुपर्छ । तसर्थ ऊ एक दिन ‘अर्गानिक लाइफ’ खोज्दै लाजिम्पाटको मेरो अड्डामा आइपुगेकी थिई । कुरो त्यही २०७० साल असारतिरको हो । नेपाल केको लागि आई र किन नेपाली भाषा सिकी मलाई पत्तो छैन ।

पहिलो भेटदेखि नै ऊ र म कस्सिँदै गयौं । म विवाहीत । दुई छोरीको पिता । ऊ अविवाहित । छिप्पिएकी जापानी युवती । मैले उमेर सोधिनँ । उसले बताइन पनि । बिना सोधखोज हाम्रो मित्रता बढ्दै गयो । ऊ अर्गानिक काम र कुराहरुमा रुचि राख्दै गई । देशका थुप्रै ठाउँहरु घुम्दै गई । घुमेका तिनै ठाउँहरुमा अर्गानिक खेती सिक्दै र सिकाउँदै गई । 

उसले नै सिकाइ इकिही र बोकासी मल बनाउने प्रविधि । मैले साःगा, असुरो, बकैना, निम र क्यातुकेहरुको बारेमा भनेँ । देखाएँ । कुरिलो खेतीको काम गर्थें÷गर्छु । सबै घुमाएँ । देखाएँ । बैजनी रङ्गको कुरिलो देखाउँदा त ऊ मात्र होइन उसका जापानी थुप्रै साथी र प्रोफेसरसम्म छक्क परेका थिए । काठमाडांै उपत्यकाको रैथाने नेवारहरुको परम्परागत मल बनाउने प्रविधि साःगाको व्याख्या र अवलोकन गर्दै नेवारहरुको पुरानो बस्तीहरु घुमाउँदा त ऊ कति छक्क परी परी । 

एकदिन उसले भनेकी थिई, ‘‘दीपक तिमीलाई म जापान लैजान्छु ।’’

मैले भनेथेँ, ‘‘मलाई नेपालै प्यारो छ । जापानमा बसेर म काम गर्न सक्दिनँ । फेरि त्यस्तो लाटाहरुको देशमा गएर म कोसँग, कसरी बोलँ्ू ? मलाई जापानी भाषा आउँदैन । तिमीहरुको अङ्गे्रजी पटक्कै छैन ।’’

‘‘मसँगै बस्ने÷बोल्ने । हुन्छ ?’’ 

म बाहुन चरी यस्ता चरीहरुले नाफा÷घाटा अगाडि नै सोच्छन् भनिने जनश्रुति छ । 

भनिदिएँ, ‘‘अर्गानिक काम सिक्न÷सिकाउनसम्म हो भने त जापान गइएला मियाजाकी, तर तिमीसँगै बस्न÷बोल्न मात्रै त मरे पनि जान्नँ ।’’

ऊ हाँसी । 

उसले मेरी श्रीमतीजी र छोरीहरु छुनुमुनु सबै भेटेकी थिई । सँगै खाएकी र खेलेकी पनि थिई । 

‘‘किन हाँसेकी ?’’

‘‘तिमी श्रीमती र छोरी छोडेर जादैनौ । थाहा छ । तिमीलाई म कुनै कृषि तालिममा लैजान्छु ।’’

‘विदेशीका गफ’ मैले मनमनै भनिदिएँ । 

तर होइन रहेछ । एकदिन उसले मलाई साँच्चै लैजाने निधो गरिछे । उसकै देशको सानो गाउँ ह्युगोमा । ४५ दिने तालिमको लागि उसले नै मेरो इन्भिटेसन लेटर मगाइ । मैले आफ्नो साधारण बायोडाटा बनाएँ । भिसा लाग्यो । हामी उड्यौं । 

उढ्नुअघि देखेँ– श्रीमतीजीको अनुहार अलि निन्याउरो थियो ।

जापानको एउटा सानो गाउँ ह्युगो । हेर्छु चारैतर्फ । जताततै नेपाल नै नेपालको झझल्को आउने । खेत उस्तै । वनपाखा, बारी उस्तै । तरेली उस्तै, बहने हावा र पानी उस्तैउस्तै । बाहिरी घर उस्तै । मान्छेहरु गुरुङ, राई, तामाङ र मगर जस्ता । म त नेपालमै छु जस्तो । 

आठ÷दसवटा ठूला ठूला गह्राहरु थिए हामी बस्ने ठाउँमा । घर काठको थियो । बीचमा अगेना जस्तो आगो पुक्ने ठाउँ । मझेरी पिँढी, मटान सबै थिए । तर सब सफा सुग्घर । धुलो कतै थिएन । धुवाँ कतै थिएन । 

‘‘भोलिदेखि त्यही अगाडिको खेतमा काम गर्नुपर्छ,’’ मियाजाकीले भनि । 

बुर्बुराउँदा माटो थियो । मैले सम्झिएँ– मनोहराको मन छोइरहने उर्वर फाँट । 

अनौठो हुँदोरहेछ जापानीहरुको तालिम पद्धति । काम गरेको, सिकेको, पढेको केही थाहै नहुने । बच्चाले भाँडाकुटी खेलेजस्तो । हामीकहाँ भैदिएको भए– एउटा कोठामा भेडाबाख्रा झैं कोच्चाएर जेटीएले दुई घण्टा फलाक्थ्यो । ओसिएको चिउरा र कोक्याउने आलुको तरकारी खुवाएर घर पठाउँथे ! 

साँच्चै जापान भनेको जापान नै हो रहेछ । 

खेतमा खेतीको फिल्म हे¥यो । माटो हे¥यो । औजारहरु हे¥यो । मल, बीउ हे¥यो र मियाजाकीको पछिपछि लागेर कृषिकर्म ग¥यो । त्यही नै गुबो र साकुराजीमा पहिलो पल्ट फलेको देखेको हुँ मैले । टर्रो हलुवाबेदलाई गुलियोमा रुपान्तरण गरिएको होसागाकी बनाउन मलाई मियाजाकीले त्यहीँ सिकाइ । जुन सबै मैले नेपाल भित्राएँ । 

तर त्यही खेतमा मलाई रोगले समात्यो । निसङ्कोच पहाडी शरदीय झरना जस्तो छङ्छङ बग्ने मेरा पिसाब सङ्कोचमा तप्प ! तप्प !! खस्ने सुकेधारामा परिणत भए । मियाजाकी पिँडुला देखिने हल्का कसिलो पाइजामा लगाउँथी । कम्मर माथि दुई–तीन वटा पात अङ्कित टिसर्ट लगाउँथी र कतै नछिनेका लामा ड्याङहरुमा दुई हातखुट्टा टेकेर माटो चलाउँथी । म एक मिटर पछाडिबाट उसको कामको अवलोकन गर्थें । माटो र बीउ उस्तैउस्तै हो नेपाल र जापानमा । तर खेती प्रविधि र ड्याङ धेरै फरक । साँखु र पनौतीका नेवारहरुले बनाएका आलुका ड्याङमा रमाउने म जापानका एकरसका उदेकलाग्दा ड्याङहरु देख्दा विरक्त लाग्थ्यो । 

विरक्त लागेर दोस्रो हप्तामा भनिदिएँ, ‘‘मियाजाकी, तिम्रा ड्याङहरु विरक्त लाग्दा छन् ।’’

‘‘रहर लाग्दा पनि खोज न त,’’ उसले टाउकोमा सिउरीएको छतरीको छायाँबाछ आँखाका नानी चलाउँदै भनी । 

‘‘हुन्छ, खोजँुला,’’ मैले हाइकूको पहिलो हरफ झैं पाँच अक्षरमा बोलिदिएँ । 

तर खोज्ने के ? चारैतर्फ उही निरस लमतन्न सुतेका लामा ड्याङहरु । त्यही ड्याङहरुमा चरिरहेकी भंैसीजस्ती मियाजाकीको जीउ । 

अहो ! अलिकति त रस रहेछ । मैले मियाजाकीको पुट्ठातिर आँखा लगाउदै सोचेँ । ऊ छिप्पिएका आफ्ना रहस्यमयी पुट्ठोलाई हाँसको चाल झैं ढलकमलक पार्थी । 

मेरो मन रसायो । थामेँ । पिसाब रसायो । त्यो पनि थामँे । सकेसम्म थामेँ । तर थामिनसक्नु भएपछि म उसको पछाडिबाटै भाग्न खोजेँ । 

‘‘दीपक कता ?’’ उसले पनि हाइकूकै पहिलो हरफे पाँच अक्षरमा बोली । 

‘‘पिसाबले च्याप्यो, ट्वाइलेट जान भागेको ।’’ 

ट्वाइलेट पुगेँ । जिपर खोलेँ र बगाइदिएँ पिसाब । तर कहाँ पहाडी शरदीय झरना जस्तो हुनु । साउने खहरे झैं पूरै लेदो बग्यो । निकास थुनिएको भए कमोड भरिन्थ्यो, सायद । 

लाग्छ, त्यही दिनबाट सुरु भयो मेरो प्रोस्टेड ग्लानको समस्या । 

म मियाजकीसँगै ड्याङहरु कोट्याउँथे । सुमसुमाउँथेँ । गोड्थेँ । र, पिसाब लाग्दा भागेर ट्वाइलेट पुगिहाल्थेँ । कहिलेकाहीँ त जिपर खोल्न नभ्याएको जस्तो हुन्थ्यो । कस्तो हुन्थ्यो हुन्थ्यो । अनुभूतिको अगाडि शब्दहरु हारेको पहिलो अनुभूति यहीँ गरेँ मैले । 

मनग्य पिसाब फे¥यो । र, झ्यालबाट मियाजाकीको त्यही रहस्यमयी पुट्ठो नियाल्यो । ऊ हाँसको चाल झैं माटोमाथि ढलकमलक गर्थी । 

उता नेपालमा चाहिँ श्रीमतीजी के गरिरहेकी होली ?

मैले म्यासेज ठोकेँ । ट्वाइलेटबाटै । पिसाब फुस्काउँदै थिएँ । मियाजाकी खेतका त्यही नीरस ड्याङहरुमा लैनु भैंसी झै चरिरहेकी थिई । 

‘‘हेलो, शोभा के गरिरहेकी ?’’

‘‘म त निदाइरहेकी । फोनले झसङ्गै बनायो ।’’ 

‘‘दिउँसै निदाएको ?’’ 

‘‘अँ, हजुर गएदेखि रातमा निद्रै पर्दैन ।’’ 

‘‘अनि कस्तो छ त्यता ?’’ 

‘‘ठीकै छ । निरस छ । हजुरलाई चाहिँ कस्तो छ त्यता ?’’ 

‘‘यहाँ त दिउँसो दसैं, रातमा तिहार ।’’

‘‘अँ... फट्टा ।’’ 

मैले ट्वाइलेटको फराकिलो झ्यालबाट मियाजाकीलाई हेरेँ । ऊ खेतबाट मलाई हेर्दै हाँसी । पिसाबको अन्तिम थोपा चुहियो । उसले हातको इसाराले डाकी । श्रीमतीजीको फोन टुङ्गाएँ । जिपर लगाएँ र फेरि खेतमै पुगेँ । मियाजाकी कुिररहेकी थिई । एक मिटरकै दूरीमा बसेँ ।

ऊ बोल्दै थिई, ‘‘कति पिसाब आउँछ तिमीलाई ?’’

‘‘आउँछ त म के गरुँ !’’

‘‘अरु केही आउँदैन ?’’

मैले सुनेको नसुन्यै गरेँ । बुझेँ, नबुझे झैं भएँ ।

दिनहरु जो बिते, यसरी त्यसरी नै बिते । खेलाउन माटो, मल र बीउहरु मात्र थिए । हजार काम लत्याएर आफ्नो खुसीले म कृषिमा आएको हुँ । तसर्थ नमज्जाचाहिँ कहीँ, केही लागेको थिएन । सब मज्जा । चारैतर्फ मज्जैमज्जा, तर नमज्जा दुई कुरामा थियो । पहिलो, सधंै नतमस्तक, आत्मीय र आदरपूर्वक भावभङ्गिमा बोल्ने यो मियाजाकी केही हप्तायता ठाडे लाग्न थालेकी छे । दोस्रो, झरनाजस्तो बग्ने मेरो पिसाब तप्प ! तप्प !! मा परिणत भएको छ । 

यो दुवै अवस्था बेसोमतिलो लागिरहेथ्यो मलाई । 

कमिलालाई मुतको पहिरो भनिन्थ्यो । अहिले यही मुत नै मलाई गहिरो भएको छ । अचानोको चोट खुकुरीलाई के थाहा ? पछिल्ला दिनहरुमा त तप्प ! तप्प !! पिसाब चुहिनाले भित्री वस्त्र पनि भिजेका थिए । 

हैरान थिएँ । काममा कुनै रुचि नै थिएन । मियाजाकीसँग बोल्नु र आँखा जुधाउनु पनि ठूलो सकस हुन थाल्यो । भागूँ ? कता भागूँ ? भाषा र परिवेश केही बुझिँदैन । फेरि भागेरै पनि त तप्प ! तप्प !! चुहिने यो पिसाबको करुवा मैसँग रहने हो । कस्तो अप्ठ्यारो । धत्, कस्तो पीडा । बर्मा गए पनि कर्मसँगै भनेको सायद यही होला । 

यही अवस्थाको उत्कर्षमा मियाजाकीले ठ्याक्क भनेकी थिई, ‘‘दीपक तिम्रो अनुहार पढ्दा, तिमीलाई केही उकुसमुकुस भएको छ ।’’ 

हो, उकुसमुकुसै भएको हो । एकातिर छिप्पिएकी जापानी अविवाहिता अर्कोतिर तप्प ! तप्प !! पिसाब चुहिने म विवाहित नेपाली । 

उसले परम्परागत अनेक जापानी औषधि अपनाउन भनी । डक्टर, नर्सकहाँ जाउँ भनी । अनेकअनेक उपाय निकाली । मैले कुनै–केही मानिनँ । बाँकी १०–१५ दिनको जापान बसाइमा । बरु तप्प ! तप्प !! पिसाब रसाएरै भए पनि तालिम सिध्याउँछु । अठोट गरेँ । यसको उपचार नेपालमै पनि छ । बरु बाँकी दिन डाइपर नै लगाएर बसूँला । संसारभरका महिला किशोरी अवस्थादेखि नै महिनामा चार–पाँच दिन प्याड लगाएरै बाँचेका छन् त ! कहीँ– कतै अप्ठ्यारो सुनिएको– देखिएको छैन । बेकारमा भनेछु– यो असहज समस्या, मियाजाकीलाई । यदि नभनेर टारिदिएको भए मेरो के नै जान्थ्यो र ?

बाँकी दिन पूरै कष्टमा बिताएँ । पिसाब आएआए जस्तो हुने । फेर्न गयो, उही तप्प तप्प ट्वाइलेट बाहिर आयो पिसाब आए जस्तो हुने । कति कन्नु । कन्दाकन्दा मिर्गौला कताकता दखे जस्तो । वा मिर्गौलाले पिसाब थेग्नै नसके जस्तो । भित्रैबाट ठूलो सकस । ट्वाइलेट गयो उही तप्प ! तप्प !! हात्ती आयो ! हात्ती आयो !! फुस्सा मात्र ।

बरु मियाजाकी नदेखिँदा वा उसलाई नसम्झिँदा अलि कम भएको हो कि ? थाहा छैन । 

नेपाल फर्कने दिन आयो, अब मियाजकीसँग छुट्टिँदै छु भन्ने भएपछि ट्वाइलेट पसेँ । रसाएका आँखाहरु पुछेँ । भेटभरि तप्प ! तप्प !! पिसाब छोडिदिएँ । केही हलुको भएथ्यो मुत्रथैली । सोच्दै थिएँ– प्लेनमा अब कति कष्ट सहनपर्ने हो । कति लाजशरम भोग्नपर्ने हो । 

छुट्टिँदा मियाजाकीले पनि तप्प ! तप्प !! चुहाइ तर, छ्या पिसाब हैन है । आँखाको आँसु । 

‘नरुनु’ भनँे । 

ऊ आँखाका आँसु पुछ्दै भन्दै थिई, ‘‘छिट्टै उपचार गरिहाल दीपक । बरु नेपालमा उपचार राम्रो नपाए तिमीलाई फेरि म जापान बोलाउने छु ।’’ 

कस्तो आत्मीय÷प्रिय छे यो केटी । मन थाम्न सकिनँ । उसलाई आफ्नो अँगालोमा कसेँ । र, निधारमा एक चुम्बन दिएँ । 
मियाजाकी सोझी छे । बुहारीझार झैं ललाक्लुलुक् भई । मैले यस्तो गर्नु ठीक थियो÷थिएन थाहा भएन ।

संयोग नै मान्नुपर्छ– काठमाडौं झरेको पहिलो रातै पूर्णिमा परेछ । आकाशको जून पुरै पोखिएर धर्ती उज्यालिएको थियो । कोठाभरि श्रीमतीजी पोखिएकी थिइन् । ४५ दिनमा खुबै न्यास्रिछे । मेरो भाग्य । मैले न्यास्रो फुकाउनु थियो । कोठाभरि पोखिएकी श्रीमतीजीलाई सँगाल्नु थियो । कुरोको कुन्तुरो फुकाउनलाई जापान बसाइको पिसाबको पीडा सुनाएँ । हाँसी– खुत्खुत् । पत्याइ÷पत्याइन उही जानोस् । पिसाब लागे जस्तो भयो । श्रीमतीजीलाई पन्छ्याएर ट्वाइलेट पसेँ । पिसाब फुस्कियो– तुरुक्क । 

राति १२ बजेसम्म जूनको साक्षीमा श्रीमान–श्रीमती लाडिइरह्यौं । कतिखेर के के भयो पत्तो भएन । 

निदाउनुअघि भनेँ, ‘‘बूढी, प्रोस्टेट ग्लानको भोलि नै चेकअप गर्छु । तप्प ! तप्प !! पिसाब चुहिएर हैरान भएको छु ।’’ 

बूढी फेरि हाँसी– खुत्खुत् । 

जोस मेटिइसकेको थियो । कतिखेर निदाएछु केही पत्तै भएन । 

भोलि बिहान घाम झुल्किँदा, श्रीमतीजी उठिसकिछे । उठेँ । ट्वाइलेट गएँ । पहिलो बानको पिसाब जो फ्याँक्नु थियो । फ्याकेँ । 

लौ, कस्तो आश्चर्य ! पहाडी शरदीय झरना झैं मेरा प्रिय पिसाब छङ्छङ गर्दै झर्न थाले । म पुलकित भएँ । ट्वाइलेटमै नाचेँ, एक फन्को । 

मैले तत्कालै मारी मियाजाकीलाई मोबाइल सेटबाटै म्यासेज पठाइदिएँ, ‘‘नो प्रोस्टेट ग्लान प्रोब्लम । आई एम फाइन मिस मारी ।’’ 

श्रीमतीजीलाई डाकेँ र सोधेँ, ‘‘मैले आफ्नो पिसाबको समस्या सुनाउँदा तिमी हिजो राति किन खुत्खुताएकी ?’’ 

ऊ फेरि पनि हाँसी– खुत्खुत । र, भागी ट्वाइलेट । 

अब मैले कुर्नु थियो । कुरेँ, मियाजाकीको म्यासेज र ट्वाइलेटकी श्रीमतीजी । 

एक्कासि हाँस उठ्यो । हाँसेँ– खुत्खुत् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  ११:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC