site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
के महिला सुन्दर देखिनै पर्छ ?

केही दिनदेखि दिमागमा एउटा प्रश्न घुमिराखेको छ – ‘‘महिलाको शक्ति के शारीरिक सौन्दर्यमा निर्भर हुन्छ ?’’ अनेकौं तर्क, वितर्कले मानसपटलमा डेरा जमाएर बसेका छन् । तिनैलाई कलमबाट पोख्ने प्रयास गर्दैछु । प्रश्न सुन्दा सामान्य लाग्न सक्छ तर गम्भीर भएर सोच्ने हो भने यस प्रश्नले अनुसन्धानात्मक उत्तर खोजेको छ । 

सर्वप्रथम शक्तिको कुरा गरौँ । किनभने संसारमा सबैभन्दा प्रिय तत्त्व नै शक्ति हो । शक्तिले नै मानिसलाई खुसी एवम् सन्तुष्टि प्रदान गर्छ । शक्तिका धेरै रूपहरु छन्ः आर्थिक, धार्मिक, संस्कृतिक, शैक्षिक, सामाजिक, पारिवारिक, शारीरिक र यस्तै धेरै नै । रह्यो महिला शक्तिको विषय । आभारी छौँ हामी एक्काइसौं शताब्दीका महिला ती पूर्वज महिला स्वतन्त्रता अभियन्ताप्रति जसको लडाइँ र संघर्षको फलस्वरूप आज हामी यस अवस्थामा आइपुगेका छौँ । 

हाम्रा हजुरआमा र हाम्रो पुस्ताबीचको असमानता अथवा भनौँ प्रगति र स्वतन्त्रता हेर्दा नै थाहा हुन्छ महिलाको अवस्थामा उल्लेखनीय सुधार आएको धेरै भएकै छैन । हजुरआमाको पुस्ता चरम पितृसत्तात्मक व्यवस्थाबाट ग्रसित थियो । पितृसत्ताले पनि सत्ता र स्वार्थको लागि आफ्नो एकल पक्षमा शक्तिको प्रयोग गरेको थियो महिलालाई बन्दी बनाएर । तर, अवस्था बिल्कुलै फेरिइसकेको छ अहिले । किनभने, हामी महिलाहरुले पनि स्वतन्त्रतापूर्वक बाँच्न पाउने  एवम अन्य आवश्यकता परिपूर्ति गर्न पाउने शक्ति प्राप्त गरेका छौँ । शक्ति एउटा यस्तो हतियार हो जसको प्रयोगबाट मानिस सन्तुष्टि प्राप्त गर्न चाहन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

एउटै व्यक्ति एउटै समयमा धेरै शक्तिको मालिक हुन सक्छ । वर्तमान परिप्रेक्ष्यमा मुख्यतया मानिस राजनीतिक र आर्थिकरुपमा शक्तिशाली छ भने अन्य शक्तिहरू पनि ऊसँग गुरुत्वाकर्षणजस्तै तानिएर आउँछन् । फ्रान्सेली लेखक मिसेल फुकोका अनुसार ‘‘शक्तिले नै सत्यको निर्धारण गर्छ ।’’ अर्थात्, सत्यको परिभाषा शक्तिको माध्यमबाट गरिन्छ । उपनिवेशकालतिर युरोपियनहरू शक्तिशाली थिए । फलस्वरूप सुन्दरताको परिभाषामा उनीहरूको छालाको गोरो रंग पर्न गयो । अफ्रिकी र एसियाली पनि सकी नसकी छाला गोरो बनाउने कृत्रिम वस्तुको प्रयोग गर्न थाले । 

हिन्दु धर्मग्रन्थ रामायणमा उल्लेख गरिएअनुसार नेपालको तराई भूभागमा पर्ने जनकपुरमा जन्मिएकी सीता शारीरिकरुपमा अत्यन्तै सुन्दर र आकर्षक थिइन् । तराईका मानिसहरू भौगोलिक कारणले गर्दा कालो वर्णका हुन्छन्, सीता पनि अपवाद थिइनन् होला । काली हुँदा पनि उनी राम्री थिइन् । यसर्थ, सुन्दरताको सूचक भौगोलिक स्थान, जातजातिअनुसार फरकफरक हुन्छन् । अफ्रिकामा ओँठ जति ठूलो भयो त्यति नै सुन्दर । चीनमा आँखा साना भए सुन्दर । तर, उपनिवेशवाद र पछि विश्वव्यापीकरणले गर्दा सुन्दरताको सूचकमा पनि पश्चिमी प्रभाव परेको छ । यो भिन्न पाटो हो । यहाँ उठाउन खोजेको विषय वर्तमान अवस्थामा राजनीतिक, आर्थिक एवं शैक्षिक तीन महत्त्वपूर्ण पक्षबाट शक्तिशाली हुँदाहँुदै पनि महिलाको शारीरिक सुन्दरतालाई किन समाजले प्राथमिकतामा राख्छ ? 

Global Ime bank

के साँच्चिकै महिलाको शारीरिक सुन्दरता यी तीन शक्तिभन्दा पनि उत्कृष्ट छ त ? एउटी महिला शारीरिकरूपमा सुन्दर छिन् या भनौ सौन्दर्यका सबै सूचचांकहरूमा पर्छिन् तर उनीसँग माथिका तीन विशेष शक्तिहरु छैनन् भनेपछि समाजले के उनलाई प्राथमिकता दिन्छ त ? आजको परिप्रेक्ष्यमा अशिक्षित, गरिब र राजनीतिक पहुँच नभएकी महिला पक्कै पनि कसैको रोजाइमा पर्दिनन् । र अर्कोतिर एउटी महिला यी तीन विशेष शक्तिले भरिपूर्ण हँुदाहँुदै हाम्रो समाज उनमा शारीरिक सुन्दरता किन खोज्छ त ? शारीरिक सुन्दरता भोग गर्ने तत्त्व हो भने भोग गर्ने व्यक्तिको मात्रै सरोकारको विषयवस्तु हुनुपर्ने । 

यहाँ त प्रायः मानिसहरू महिलाको सुन्दरताको पारखी भएर बसेका हुन्छन् । मेरै उदाहरण दिनुपर्दा म क्याम्पसमा प्राध्यापकको रुपमा जान्छु । पढाउनु मेरो दायित्व हो । त्यहाँ मजस्ता अरु प्राध्यापक पनि हुनुहुन्छ । भेट हुँदा हामी नमस्कार आदानप्रदान गर्छौं । नमस्कार गरेको हात तल झारिनसक्दै कतिपयको टिप्पणी आइहाल्छ– ‘‘कति धेरै मोटाउनु भएछ म्याम‘ त ?’’ 

म सोच्छु के मोटाउनु शारीरिक कुरुपता हो? बरु यो कसैको स्वास्थ्यसँग  जोडिएको विषय हो । मोटाउनु र दुब्लाउनु रहर अथवा बाध्यता हुनसक्छ । कुनै महिला आफ्नो मोटो शरीर मै फुर्तिलो अनुभव गर्न सक्छन् । कुनै महिलाले केही विशेष औषधि सेवन गर्नाले या कुनै शारीरिक बाध्यताका कारणले मोटाएको हुनसक्छ । साथीभाइबीच कुराकानीका क्रममा प्रसंगवश कसैको शरीरलाई लिएर प्रतिक्रिया र सुझाव दिइन्छ भने त्यो सान्दर्भिक पनि हुन्छ । तर, भेट हुन पाएको छैन फ्याट्ट प्रतिक्रिया दिने व्यक्तिले चाहिँ महिलाको शरीरलाई वस्तुको रुपमा मूल्यांकन गरिरहेको हुन्छ । यो टिप्पणी त्यहाँमात्र होइन, अन्यत्र पनि मैले भोगिरहेको हुन्छु । त्यहाँको उदाहरण किन दिएको हो भने क्याम्पस भनेको प्राज्ञिक थलो हो । त्यहाँ त शैक्षिक गतिविधि बारे चर्चा परिचर्चा हुनुपर्ने । तर, अफसोच, त्यहाँ पनि मैले उही मोटाएको बारेमा नै प्रतिक्रियाको भार झेल्नुपर्छ जुन अन्य क्षेत्रका मानिसबाट खेप्ने गर्छु । 

म घरबाट निस्कँदा ताजा मनःस्थितिमा निस्किएको हुन्छु, मज्जाले फुर्तिसाथ कक्षा लिन्छु । तर, जब हजुर त मोटाउनु भएछ, व्यायाम गर्नुपर्यो, कम खानुपर्यो, बिहान बिहान दौडिनुपर्यो जस्ता निःशुल्क सुझाव र विनाप्रसंगका टिप्पणी सुन्छु – आफू त एकदमै पो मोटाएछु कि जस्तो लाग्छ । होइन भने मेरो शरीरको वजनले मलाई अरु केही काम गर्नलाई बाधा पुर्याएको भने छैन । यत्ति हो, कहिलेकाहीँ बजारमा देखेर मन पराएको लुगा ठीक हुँदैन र निराश भइन्छ केहीबेरसम्म । यो समस्या त दुब्लोलाई पनि छ, अग्लोलाई पनि छ, होचोलाई पनि छ । सबैजना सबै कुराले परिपूर्ण कहाँ हुन्छन् र ? 

सौन्दर्य प्रतियोगिताहरुमा महिलाको मोटाइ, उचाइ, संरचना, कपाल, हातगोडा, वर्णलगायतका धेरै शीर्षक समावेश गरिएका हुन्छन् । हिँडाइ, बोलाइ, हसाइ, उठाइ, बसाइलगायत सम्पूर्ण क्रियाकलाप पनि मूल्यांकन गरिन्छ । त्यो त सुन्दरी प्रतियोगीका लागि बनाइएका नियम हुन् । तर, एउटा महिला प्राध्यापक, इन्जिनियर, डक्टर, शिक्षक, व्यापारी, राजनीतिज्ञ, अर्थशास्त्रीजस्ता विभिन्न पेसामा आबद्ध महिला पनि पुँजीवादी समाजको सुन्दरी प्रतियोगिताको जस्तो कसीमा उभिरहनु पर्ने नै हो त ? उनीहरूको योग्यता, क्षमता, व्यक्तित्व एवं योगदान आफैँमा सशक्त छँदैछ त । 

विद्यार्थीकालमा उत्तरपुस्तिकामा न महिला या पुरुष भनेर कतै लेखिएको हुन्छ, न त फोटो नै टासिएको हुन्छ, सो पनि निष्पक्ष नै हुन्छ । तर, समाजले चाहिँ किन शारीरिक सुन्दरता खोज्छ त? म एउटा जागिरे महिला भएको हुनाले म आफूलाई शक्तिशाली मान्छु । तर, के म शारीरिकरूपमा पनि सुन्दर देखिनु नै पर्छ त ? 

म सोच्छु, मेरो शरीरको बारेमा चासो राख्नुपर्ने मानिस मेरो पति एकजना हुन सक्नुहुन्छ तर उहाँ कहिल्यै आफ्नो चाहना र निर्णय ममाथि थोपर्नुहुन्न । अब अन्य मानिसहरू जसलाई मेरो शारीरिक सौन्दर्यको कुनै सरोकार नै नहुनुपर्ने हो । उनीहरू किन यति धेरै चिन्तित छन् त? के हाम्रो समाजका मानिसहरू महिलालाई अझै पनि उपभोग्य वस्तु नै सम्झिरहेका हुन्छन् त ? उनीहरूको आँखाको तृप्तिका लागि एउटा महिला सुन्दर देखिनुपर्छ ? शैक्षिक योग्यताले प्रवेश गरेको ठाउँमा पनि महिलाले अझै शारीरिक सुन्दरताको परीक्षा दिइरहनु पर्ने नै हो ? प्रश्न निकै गम्भीर छ । 

अचेल बलात्कारका समाचार निकै आउँछन् । बलात्कारका समाचार अचेल बढेको होला । सामान्य मानिसको संचारप्रतिको पहुँचले गर्दा तर यो समस्या त पहिले पनि थियो, अहिले पनि छ । यस्ता आपराधिक घटना किन र कसरी घट्न जान्छन् भनेर अध्ययन गर्ने हो भने प्रमुख कारण भनेको पुरुषले महिलालाई उपभोगको वस्तु ठान्नु र आफूलाई पुरुषमात्रै भएकैले महिलाभन्दा शक्तिशाली ठान्नु हो । पितृसत्तात्मक समाजले पुरुषलाई बलवान र महिलालाई निस्क्रिय हुनुपर्ने लैंगिक दायित्व दिएकाले हाम्रो सोचाइ नै ग्रसित छ । 

यसर्थ, अहिलेको एक्काइसौं शताब्दीका महिलाहरु एकतर्फ महिला स्वतन्त्रता उपयोग गरेर शैक्षिक, आर्थिक, राजनीतिक एवं सामाजिकरुपले शक्तिशाली भएका छौँ भने अफशोच छ अर्कोतर्फ यही समाजको उपभोग्य वस्तुका रूपमा पनि कहीँ न कतै प्रयोग पनि भइरहेको आभास हुन्छ । जबसम्म हामी यस कुराको विरोध गर्दैनौ तबसम्म समाजले महिलालाई उपभोगको वस्तुकै रुपमा हेर्छ र बलात्कारजस्ता नकारात्मक आपराधिक घटना हुन्छन् । 

अमेरिकी लेखक जुडिथ बट्लरले भनेकी छन् – हामीले कुनैपनि व्यवहार जब दोहोयार्एर गर्छौँ त्यो हाम्रो बानी हुनजान्छ । सो बानी संस्थागत भयो भने विचारको जन्म हुन्छ । समाज परिवर्तन गर्ने नै विचारमा परिवर्तन ल्याएर हो र विचारलाई हाम्रो आचरणले प्रभाव पार्छ । त्यसकारण परिवर्तित सन्दर्भमा पुरातन विचार बदल्न सक्यौँ भनेमात्र स्वस्थ समाज निर्माण हुन्छ । महिलाको शारीरिक आवरणको सुन्दरतामा कुनै शक्ति नखोजौँ, महिलाको सक्षमतामा स्वस्थ समाज निर्माण गरौँ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC