नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई स्वागत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । फाइल तस्बिर
काठमाडौं । चीनका राष्ट्रपति सी जिनिपिङको आइतबार सम्पन्न दुईदिने नेपाल भ्रमणपछि जारी गरिएको १४ बुँदे संयुक्त वक्तव्यको पाँचौ बुँदामा दुवै पक्ष बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)का सम्बन्धमा भएको समझदारीपत्रमा उल्लेख भएझैं कनेक्टिभिटीलाई अघि बढाउन नाका, सडक, रेलमार्ग, उड्डयनलगायतका विषयलाई हिमालयन मल्टि डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क अन्तर्गत पार्ने कुरामा सहमत भएको उल्लेख छ ।
सोही बुँदामा दुई देशबीच २१ जुन २०१८ मा रेलवे परियोजनामा सहयोग गर्नका लागि गरिएको समझदारीअनुसार १३ अक्टोबर २०१९ को समझदारीअनुसार फिजिबिलिटी स्टडी गर्ने जनाइएको छ । त्यसैमा काठमाडौं–पोखरा–लुम्बिनी रेलवे परियोजनालाई पनि अघि बढाउने बारेमा पनि दुवै पक्षले प्रतिबद्धता जनाएको उल्लेख गरिएको छ ।
सीमापार रेलवेको प्रि–फिजिबिलिटी स्टडी यसअघि नै सम्पन्न भइसकेको छ । यसअघि रेल विभागले दुई देशबीच विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) हुनुपर्ने जनाउँदै आएको थियो । तर, अहिले फिजिबिलिटी स्टडीको कुरा दुई देशले जारी गरेको संयुक्त वक्तव्यमा आएको छ ।
फिजिबिलिटि स्टडी गरेपछि डीपीआर बनाउनु पर्छ कि पर्दैन ? रेल विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले बाह्रखरीसँगको कुराकानीमा भने,‘‘फिजिबिलिटी स्टडीले नै डीपीआरको काम गर्ने चलन पनि हुन्छ । तर यस मामिलामा के हुन्छ दुवै पक्षका प्राविधिकहरुबीच कुराकानी गरेर मात्रै थाहा हुन्छ । अहिले त तपाईँहरुले जे सुन्नु भएको छ । हामीले पनि त्यही सुनेको हो ।’’
फिजिबिलिटी स्टडीपछि फेरि डीपीआर बनाउनुपर्ने हो भने समय लाग्न सक्ने प्राविधिकहरुको तर्क रहेको छ । अहिलेसम्म प्रि– फिजिबिलीटी स्टडी भइसकेको छ । सो अध्ययनअनुसार नेपालतर्फको भूभाग जटिल भएकोले कूल रेलमार्गको करिब ९४ प्रतिशत भागमा सुरुङ वा पुल बनाउनुपर्ने अवस्था छ ।
विश्वकै सबैभन्दा उचाईमा भएको रेलवे क्विनझाई—ल्हासाको निर्माण सम्पन्न भएर सन् २००६ को जुलाई १ मा उद्घाटन गरिएको हो । सो रेल क्विनझाईको झिनिङबाट तिब्बतको ल्हासासम्म एकहजार ९५६ किमी लामो छ । पहिलो चरणमा सिन्जिङबाट गोल्मुड सम्मको ८१५ किमी रेलमार्ग सन् १९८४ मा बनेको हो ।
त्यसपछि गोल्मुडबाट ल्हासासम्मको बाँकी रेलमार्ग सन् २००६ मा निर्माण सम्पन्न भएको हो । करिब साढे ११ हजार किमीको बाँकी भाग सक्न उसलाई गोल्मुडसम्म सकिएको मितिका हिसाबले हेर्दा २२ वर्ष लागेको थियो ।
चीनको राजधानी बेइजिङसमेत मुख्य भूभागका विभिन्न सात स्थानबाट अहिले ल्हासासम्म रेल आउने गरेको छ । सन् २०१४ को अगस्ट १४ पछि ल्हासा–सिगात्सेको रेल पनि चल्यो । सो रेलमार्ग २५३ किमी मात्रै छ । ल्हासा आएपछि करिब ८ वर्षमा रेल सिगात्से आइपुगेको हो ।
सिगात्सेदेखि केरुङसम्मको दूरी करिब ५४० किमी छ भने केरुङबाट काठमाडौं करिब १४० किमी छ । यसअघि चीनले सिगात्सेदेखि केरुङसम्मको रेलमार्गको निर्माण सन् २०२० सम्ममा पूरा गर्ने भनिएको थियो । तर, अहिलेसम्म चीनतर्फ नै काम थालिएको छ्रैन । उताको सकिएपछि मात्रै नेपालको निर्माण कार्य गर्ने पहिला भनिएको थियो । तर, अहिले उताको ढिलो भएपछि यतातर्फको पनि ढिलो हुने अवस्था सिर्जना भएको छ ।
नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र चीनको तर्फबाट रेल सम्बन्धी उपमन्त्री सरहका कर्मचारीको अध्यक्षतामा रहेको एउटा संयुक्त कार्यदलको अहिलेसम्म चार चरणको वैठक भइसकेकोे छ । राजनीतिक तहमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको टोलीबीच बैठक भइसके पनि प्राविधिक विषयमा सहमति जुटाउने टोली भने यही नै हो । काठमाडौं र बेइजिङमा आलोपालो भइरहेका यी बैठकमा रेलमार्गको प्राविधिक पक्षका बारेमा कुराकानी भइरहेको छ ।
पाचौं चरणको अर्को बैठक आगामी डिसेम्बर महिनामा काठमाडौंमा हुने सो प्राविधिक समितिका एक सदस्यले बताएका छन् । चौथो चरणको बैठक गएको जुन १७ देखि २२ सम्म बेइजिङमा भएको थियो । अहिले यो रेलमार्गको चर्चा धेरै अघिदेखि नै भए पनि अहिलेका प्रधानमन्त्री ओलीकै पहिलो कार्यकालको चीन भ्रमणका क्रममा २०१६ को मार्च २३ मा जारी भएको संयुक्त वक्तव्यमा रसुवागढी–काठमाडौं र काठमाडौं–पोखरा–लुम्बिनीको रेलमार्गको चर्चा १३ नम्बर बुँदामा गरिएको छ ।
त्यसैगरी सन् २०१८मा प्रधानमन्त्री ओलीले नै गरेको दोस्रो कार्यकालको चीन भ्रमणका क्रममा जुन २१ मा जारी गरिएको संयुक्त वक्तव्यको ६ नम्बर बुँदामा बेल्ट एण्ड रोड इनिसिएटिभ(बीआरआइ) अन्तर्गत कनेक्सन बढाउने भनिएको थियो । त्यसमा ट्रान्स हिमालयन मल्टी डाइमेन्सलनल कनेक्टिभिटी नेटवर्क अघि बढाइने जनाइएको छ । अहिलेको वक्तव्यमा सोही नेटवर्कमा रेल लगायतका कनेक्टिभिटीलाई राख्ने बारेमा सहमति भएको जनाइएको छ ।
अहिले यसलाई चीनको बहुचर्चित परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत सूचीमा पनि पारिएको छ । यस्ता परियोजनामा विभिन्न चरण हुने गरेका छन् । जस्तो कि प्रिफिजिबिलिटी स्टडी, फिजिबिलिटी स्टडी, डिजाइन र अन्तिममा निर्माण । अहिलेसम्म प्रिफिजिबिलिटी स्टडी मात्रै सकिएको छ ।
नेपाल आउने चिनियाँ रेलका लागि थुप्रै खुड्किला अहिलेसम्ममा पार भइसकेका छन् । यद्यपि भौगर्भिक अवस्थिति निकै जटिल भएकोले गर्दा रेलमार्ग बनाउन पनि उत्तिकै जटिल बताइने गरेको छ ।