site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सी भ्रमणको सन्देशका प्रश्न  

चीनका राष्ट्रपति सी जिनपिङको भ्रमण नेपालका लागि के कति फलदायी रह्यो भन्ने विमर्श अहिले चलिरहेको छ । भ्रमणको उपादेयता आर्थिक र भौतिक हो कि परराष्ट्र नीतिमा नयाँ वा थप उद्बोधन ? जे होस्, सी जिनपिङको नेपाल भ्रमणको प्रभाव प्रायः पूरै एक पक्षीय वा चीन पक्षमा देखिन्छ । नेपालले पाएन भन्न मिल्दैन तर आर्थिकरुपले हामी चीनलाई के दिनसक्छौँ र ? कोसिस गरे चीन – भारत व्यापार सहजताका लागि बाटो भइदिनसक्छौँ । चिनियाँ रणनीति बीआरआईमा प्रतिबद्ध नेपालको भ्रमणसँग जोडिएको त्यही बाटोको बिसौनीहरु नै हाम्रा समृद्धिका सपना हुन् । चिनियाँ प्रस्ताव ‘ट्रान्स हिमालयन कनेक्टिभिटी’बाट चुहिने समृद्धिमा हाम्रो सपना अडिएको छ ।  

परराष्ट्र नीति वा कूटनीतिमा पनि हामीले आर्जेको भन्दा प्रभावशाली चीनको सम्पूर्ण शक्तिको स्रोत सी जिनपिङ यहाँ आइदिए । त्यसको चासो विश्वव्यापी रह्यो । त्यही फल हो भन्दा हुन्छ । चीनको विखण्डन चाहनेलाई ‘धूलोपीठो’ पारिदिने ललकार यसपटक सीले नेपालबाट गरेर नेपाललाई पनि सम्झाउन खोजेको कि भन्ने लाग्छ । धेरै भन्नुपर्दैन, नेपालमा तिब्बती शरणार्थी छन् । भनिन्छ, ‘अमुक’ देशहरुको प्रोत्साहनमा तिनैमध्ये स्वतन्त्र तिब्बतको वकालत गर्नेहरु यहाँ छन् । बेलाबेला यिनको गतिविधि पनि भएकै छ । भ्रमणको बेला पनि केही तिब्बती यहाँ प्रक्राउ गरिए । 

भारतको धर्मशालामा स्वतन्त्र तिब्बतको मागका संरक्षक दलाई लामा बस्छन् । त्यही देशको चेन्नइ ममल्लापुरम्मा प्रधानमन्त्री नरेन्द्र मोदीसँग लामो भेटवार्ता गरी गत शनिबार नेपाल आएका सीले त्यहाँ होइन, यो ललकारका लागि नेपालको भूमि रोजे, किन ? तिब्बती स्वतन्त्रतालाई पुठ दिनेलाई प्रत्यक्ष र ठाउँ प्रयोग हुने गरेको नेपाललाई पनि घुमाउरोमा सुनिने गरी बुझाउन खोजे कि सीले ?

Prabhu Bank
Agni Group
NIC Asia

सीको नेपाल भ्रमणको विमर्शमा जुन गाम्भीर्य हुनुपर्ने हो त्यसमा चाहिं कमी रह्यो कि भन्ने लाग्दै छ ।  उनको भ्रमण प्रभावको विषयमा आआफ्नै मनोतग धारणाको छायामा मूल्यांकन गरिएजस्तो पनि छ । तर विश्लेषण यतिमै सीमित छैन । प्रभावको प्रवाहले लामो दूरीसम्म विश्लेषण खोजी रहनेछ । यस विषयमा पढिएका मध्ये केही विश्लेषकले गहिरो दृष्टि दिन खोजेका छन् । कतिपयको दृष्टि चाहिँ चीनजस्तो शक्तिशाली राष्ट्रको सर्वेसर्वा नेताको भ्रमणमा कहीँ अनर्थ भए, रहे वा बोलिए पनि नेपालीले देखाउनु हुँदैन वा त्यो हैसियत छैन भन्ने मानसिकतासमेत देखिएको छ । 

प्रभुत्वशाली चीनका राष्ट्रपतिको २३ वर्षपछि भएको भ्रमण नेपालका लागि स्वयंमा उपलब्धिमूलक हो । यसै कारण भनिएको हुनसक्छ – ‘सर्वे पदम् हस्ती पदे निमग्नम्’ अर्थात् धेरै जीवजन्तुको पदछाप रहेको धूलेबाटोमा हात्तीको ठूलो पाइतालाले टेक्दा सबै पदचिन्ह छोपिएजस्तै भ्रमणको सम्पूर्ण आयाम र कोणहरुलाई उनी आउनुकै महत्तामा ‘निमग्न’ भाष्य दिनखोजिँदै छ । खासगरी यस्तो भाष्यका प्रवक्ता सरकारी कम्युनिस्ट र तिनका समर्थक छन् र पनि सबैले भ्रमणलाई उपलब्धिमूलक मान्ने प्रयत्न भने गरेकै छन् ।   

Global Ime bank

गत शनिवार भारतको चेन्नइबाट सिधै नेपाल आएका चिनियाँ राष्ट्रपति सीले दिनले दुई र समयले झन्डै बाइस घन्टा नेपालमा बिताए । त्यो समयमा भेटघाट र छलफलबाहेक राजकीय सम्झौता वार्ताको विषयले कति समय पायो र त्यति समयमा नेपालले कति उपलब्धि हासिल गर्न सफल भयो वा चीनले लियो के ? यो पनि भ्रमणको प्रभाव सन्दर्भसँगै हेरिनुपर्ने विषय हो । 

अब सीको भ्रमण केमा दाँज्ने ? विमर्शका लागि यो पहिलो र अन्तिम प्रश्न पनि हो । आर्थिक वा भौतिक पूर्वाधार विषयमा दाँज्ने कि ? यसको राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रभावको स्तरमा दाँज्ने ? सीको भ्रमणको अर्थ निम्ता पाउनेबित्तिकै घुमघाममा जान हतारिने नेपालका नेताहरुको जस्तो परम्परामा सीमित छैन । नेपालले के पायो र चीनले हासिल गरेको के हो ? त्यो पनि हेर्ने कि ? के चीन शून्यमा रहेर सीबाट नेपालले मात्रै पायो ? त्यो पनि होइन । पाए भने दुवैले पाए । अझ बढी चीनले नै पायो । 

नेपालको भूअवस्थितिको सामरिक महत्त्वको बाटो चीनले पायो जुनसँग अर्थ, व्यापार, कूटनीति र राजनीति जोडिएकै छ । हामीले पाएको गरिबी घट्छ कि भन्ने लालसा हो । यी विषयमा पनि समीक्षकहरुको ध्यान जाने नै छ । राष्ट्रपति सी  भ्रमणको प्रभावको आकलन यतिबेलै सकिने होइन । कालान्तरसम्म यसको प्रभाव र विश्लेषण सहमति कार्यान्वयनको कोणबाट हुने नै छ । 

विश्वको शक्तिशाली मुलुकको कम्युनिस्ट पार्टीको महासचिव, राष्ट्रपति र विश्वमै ठूलो मानिने सैनिक संरचनाको ‘अधिपति’ सी जिनपिङको नेपाल भ्रमण स्वाभाविकरुपमा हाम्रा लागि गुरुत्वपूर्ण हो जुन भ्रभणले विश्वका शक्ति दृष्टिहरुको ध्यान खिचेकै छ । नेपालको महत्ता सामरिक हैसियतमा यस भ्रमणले अझ स्पष्ट गरेको छ । शक्ति राष्ट्रीचको प्रतिस्पर्धाले नेपालका लागि भने सामरिक संवेदनशीलता बढाएको हुनुपर्छ । 

ममल्लापुरममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफू नेपाल भ्रभणमा जाने जानकारी दिएको त सीले नै सार्वजनिक गरेका छन् । प्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामला सल्लाहकारले सोमबार रेडियो कान्तिपुरसँगको बिहानी कुराकानीमा आफ्ना नेताहरुलाई सीले यो जानकारी दिएको बताएका थिए । सीले नेपालको भौगोलिक मर्म बुझेरै यसो गरेको हुनुपर्छ । माओत्से तुङ र चाउएन लाईको नेपाल दृष्टिलाई सीले पछ्याएकै जस्तो देखियो तर नेपालका कथित राष्ट्रवादी सरकारी पक्षले यो मर्म बुझेको देखिँदैन । 

भारत र चीनका नेताबीच नेपाल सन्दर्भमा मतैक्य वा विवादित विषयमा पनि कुरा भए कि भ्रमणको जानकारीमै सीमित रह्यो ? जानकारीमा मात्रै सीमित रहेको चाहिँ छैन होला । भारतजस्तो विशाल व्यापारिक साझेदार चिढिने गरी चीनले नेपाल पक्षमा मात्रै आफूलाई निश्चय पनि सीमित गर्नेछैन । आफ्नो पहिलो प्रतिस्पर्धी अमेरिकासँग दक्षिण एसियाली शक्ति भारतको बढी झुकाव नजाओस् भन्ने सचेत कूटनीति चीनको रहने नै भयो ।   

नेपालको परराष्ट्र नीतिको लागि यस्तो सन्देशसमेत शुद्धता र सुशासनको पक्षमा काम गर भन्ने यहाँका समधर्मी सरकारी कम्युनिस्टलाई नेता सीले नै सुझाएपछि अब त यिनीहरुको ‘घैँटामा घाम’ लाग्ला कि ? नेपालको परराष्ट्र नीति एउटाको ‘काखमा रुने’ र ‘ओल्लो घरको नरे,पल्लो घर सरे’ जस्तै ‘अर्काको काखमा गएर मुख धुने’ प्रकारको हुनुहुँदैन भन्ने सन्देशको मर्म कथित राष्ट्रवादी यिनले पनि अब बुझ्नुपर्ला कि ? 

नेपालको वर्तमान सरकारको कार्यशैलीमा शुद्धता नरहेको, सुशासन नभएको र जनपक्षीय हुन नसकेको सन्देश घुमाउरो तर स्पष्ट शैलीमा सीले दिए । जुन नेपाली जनताको गुनासो अनुरुप नै थियो । भाषण र कुराकानीमा सीले योजना कार्यान्वयन र कुराभन्दा काममा जोड दिएर नै चीनले प्रगति गरेको सुनाए । ‘गफाडी’जमातले यसको अर्थ बुझेकै हुनुपर्छ । सी भ्रमणको विषयमा नेपालमा राष्ट्रिय एकता बन्यो भन्ने तर्क दिएर सरकारी पक्ष आफ्नो पिठ्युँ थपथपाई रहेको छ । तर, त्यस्तो राजनीतिक सहमति जुटाउनेमा समेत सीकै चातुर्य देखिन्छ । 

पूर्वतयारी के थियो भन्ने जानकारीमा नआए पनि राष्ट्रपति सीले राजनीतिक भेटघाटको आरम्भ नेपाली कांग्रेसका सभापति एवं प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेर सहमति प्रयासको सन्देश दिए । निश्चय पनि यो तारतम्य यहाँको सरकारी पक्षले मिलाएको होइन । बरु चीनको इच्छामा साथ चाहिँ दिएको हुनसक्छ । सभापति देउवासँगको भेटमा सीले नेपाली कांग्रेस र तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले चीनसँग स्थापित गरेको सम्बन्धको सुदृढ जगको स्मरण गरेर इतिहास सम्झाई दिए । 

नेपाली कांग्रेसले नेता गिरिजाप्रसाद कोइरालापछि चीनसँगको सम्बन्धलाई कम चासोमा राखेको चिनियाँ गुनासो त्यहाँको भ्रमणमा गएका कांग्रेस नेताहरुले सुनेको बताएका छन् । सीले नेपाली कांग्रेसलाई त्यो कमजोरी सच्याउन बुझिने गरी सन्देश दिए । निश्चय पनि चीनसँग नेपालको आधुनिक सम्बन्धको जग बसाउने श्रेय  बीपी कोइरालालाई नै मिलेको छ । नेपालले भारतसँग सम्बन्ध नबिगारी चीनसँग सम्बन्ध राख्नुपर्ने माओकालीन सन्देशप्रति नेपाली कांग्रेस सजग हुनैपर्छ ।        

चीन र नेपालबीच बीस बँुदे सहमति, सम्झौता भयो । तिनमा नयाँ कुरा के छ र ? चौध बुँदे संयुक्त वक्तव्यले  नयाँ द्वार के खोल्यो ? वर्षौंदेखि पूर्व परामर्शमा रहेका अधिकांश योजनाले दुई देशबीच यसपटक पनि पुनर्पुष्टि पाए । नयाँ तमोर र माडी जलविद्युत योजना होलान् । तर, ध्यानमा रहेकै यी योजनालाई चीनले निर्माण गरिदिने भविष्य सूचक उदात्तभाव देखायो । रेल मार्ग होस् कि सुरुङको सम्भाव्यता अध्ययनको निरन्तरताको अवसर चीनले हासिल गर्यो । हामीले चाहिं उत्ताउलो पारा सिगार्यौँ, सजायौँ ।  ‘प्रपोगन्डा’ विभागको शैलीमा सरकारले प्रचार गर्यो, लालसाको पहाड खडा गरियो । तर, बाठो चीनले हामीलाई कहीँ निराश पनि बनाए । हेर्दा सबै पाएजस्तो, छाम्दा गहिरिएर सोच्नपर्ने बनायो । चिया पसलमा त योजना नतोकी चीनले दिएको ५६ अर्बको खुला रकम ‘अरिङगाल’ पाल्ने स्रोत भन्ने कटु टिप्पणी पो सुनियो । सरकारप्रतिको अविश्वास र सहयोग रकम दुरुपयोग हुने परम्पराप्रति जनसामान्यको व्यंग्य थियो यो ।    

नेपालको सरकारी पक्षले डीपीआरकै हैसियतमा जाने प्रचार गरेको रेल र सुरुङ मार्ग यसपटक सम्भाव्यता अध्ययनको तहमै सीमित भए । भविष्यमा कार्यान्वयन होलान् तर अहिले ती सम्भाव्यतामा नै सीमित रहेको सत्य हो । चीनले यसपटक पनि आफ्नो तिब्बती सीमासँग जोडिएका नेपाली नाकाहरु खोल्ने सडक सञ्जालप्रति जुन तदारुकता देखायो यसबाट नेपालले दिनुपर्ने प्राथमिकताको जानकारीसँगै आफ्नो प्राथमिकतालाई पनि उजागर गरिदिएको बुझ्न कठिन छैन । 

चीन पहिलो महाशक्ति हुन दौडिएको मुलुक हो । यहाँका राष्ट्रपति नेपाल आउँदा के दिए वा दिएनन् भन्ने भौतिक आकलनभन्दा नेपालको भूराजनीतिक महत्त्व दक्षिण एसियाका लागि के हो र चीनको लागि त्यो कति महत्त्वपूर्ण छ भन्ने सन्देश विश्वको शक्ति स्पर्धामा सामेल मुलुकहरुलाई सीले दिए । नेपालका लागि सबैभन्दा ठूलो उपलब्धि यही हो । यही उपलब्धिले हाम्रो सामारिक संवेदनशीलतालाई पनि थप बढाउँछ  । यसको सामनाका लागि नेपाली राजनीति र कूटनीतिक क्षेत्रको दक्षता वा गाम्भीर्यमा थप वृद्धि र विस्तार हुन जरुरी देखिएको छ । बढ्दो स्पर्धाबीच हाम्रो भूसंवेदनशीलताको बढ्दो माग पनि यही हो । 

सीले चीनको अखण्डताको बारेमा यहाँबाट बोल्नु र यहाँकी राष्ट्रपतिले आफ्नो भाषणमा ‘सी विचारधारा’को उल्लेख वा प्रशंसा गर्नुको कारण अनुमानमा बुझ्न खोजे पनि रहस्यपूर्ण चाहिँ छ । पूर्व एमालेकी उपाध्यक्ष भएर कम्युनिस्ट नेता सी विचारको प्रशंसा गरिएको हो वा राष्ट्रपतीय पदले वैचारिक तटस्थता कायम गर्न नसक्दा दलीय आबद्धताको धङधङीले अझै नछोडेको के हो ? भ्रमणका बेलामा त चिनियाँ पक्षलेसमेत सी विचारबारे कुनै उच्चारण गरेको थिएन । यसमा रहेको रहस्य समयक्रममा उद्घाटित होला नै । 

अर्थ, व्यापार निर्देशित चिनियाँ कूटनीति शक्ति आर्जनसँगै अब राजनीतिक विचारमा पनि सुनिने प्रयासमा रहेको बुझिँदै छ । राष्ट्रपति सीको भ्रमणपूर्व यहाँका सरकारी कम्युनिस्ट नेताहरुलाई चिनियाँ कम्युनिस्ट नेता सीको विचारले प्रशिक्षित गर्नुको उद्देश्य राजनीतिक नै हुनुपर्छ । यसका लागि सम्भवतः संसारमै र मूलतः दक्षिण एसियामा नेपाल नै चीनको पहिलो रोजाइमा रह्यो । राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले दिएको चौतर्फी सन्देशसँगै परिणाममा आउँदै गर्ने प्रश्नहरुले यतिबेलै सजिलै उत्तर भेटिहाल्ने चाहिँ होइन । 
     
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  ०६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC