site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कलाकार राजनीतिबारे जानकार र जिज्ञासु हुनुपर्छ: रविन्द्र खड्का
Sarbottam CementSarbottam Cement

चार दशक भयो रविन्द्र खड्काले नेपाली कलाकारिताको बाटो समाएको । रङ्गमञ्चको बाटो हुँदै रविन्द्र टेलिचलचित्र र चलचित्रमा आइपुगे । जेमन्त, साहुजीकी लाटी स्वास्नी, मुनामदन, यन्त्र मानवलगायत ७० भन्दा धेरै नाटकमा उनले अभिनय गरे । रविन्द्रले नाटकमा अभिनयमात्र गरेनन् लेखन तथा निर्देशनसमेत गरे । बदलिँदो आकाश, माया पिरती, भाग्यरेखा, पहिलो प्रेम, रक्षा, चेलीलगायत कयौं चलचित्रमा उनले अभिनय गरेका छन् । नाटकले उनलाई कलाकार बनायो । त्यसैले रविन्द्र नाटकलाई आमा भन्छन् । तर उनले नाटकमा काम नगरेको लामो समय भयो । कारण, उनलाई अफर नै आएको छैन । अहिले उनी चलचित्र कलाकार सङ्घको अध्यक्ष भएका छन् । असन्तुष्टि र अवरोधका बीच रविन्द्र आफूले चुनावमा अघिसारेका एजेन्डा कार्यान्वयन गर्न लागिरहेको बताउँछन् । चुनावी एजेन्डा कार्यान्वयन, अभिनय यात्रालगायत विषयमा रविन्द्रसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीको सारः 

चलचित्र कलाकार सङ्घको नेतृत्वमा उम्मेदवारी दिँदा अगाडि सारेको प्रतिबद्धता पूरा गर्न कत्तिको सहज महसुस गरिरहनुभएको छ ?
गाह्रो हुँदोरहेछ । बोल्नलाई सजिलो हुँदोरहेछ । काम गर्ने क्रममा थुप्रै बाधाअड्चनहरु आउँदा रहेछन् । मैले सबैको सहयोगले सहजै काम गर्न सकिएला भन्ने सोचेको थिएँ । तर अगाडि बढ्न गाह्रो रहेछ । बाधाअड्चन हुँदाहुँदै पनि काम गर्न सकिन्छ भन्ने अपेक्षाका साथ अगाडि बढिरहेको छु । 

आफैंले जनाएका प्रतिबद्धता आफ्नै लागि भारी भएका हुन् अहिले ?
भारी नै त भैसकेको छैन । तर भनेको जस्तो नहुने हो कि भन्ने झझल्को चाहिं देखिन थालेको छ । यद्यपि, सञ्चार र  भूमिसुधार मन्त्रीलाई भेट्दा उहाँहरुबाट सकारात्मक आश्वासन पाएको छु । सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रोत्साहन र हौसला दिनुभएको छ । त्यसैले पनि हामी काम गर्न सक्छौं भन्ने विश्वास छ । सबै आफ्नै मान्छे हुन्, सम्झाउँदै–मिलाउँदै लैजाउँला भन्ने सोचेको थिएँ, तर त्यस्तो नहुँदोरहेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

चुनावका बेला तपाईंले केही पक्षलाई चिढाउनुभयो भन्ने टिप्पणी भएका थिए, त्यसकै परिणाम पो हो कि ?
सम्बन्ध मैले सबैसँग राम्रो नै बनाएको थिएँ । साथ पनि धेरैले दिनुभएकै हो । ठूलो समूहमा केहीको असन्तुष्टि पक्कै पनि हुन्छ । सबैलाई समेट्न सकिँदैन । उपाध्यक्षमा एकजना मनोनित गर्नुपर्ने ५/७ जनाले आश गर्नुभएको रहेछ । केही व्यक्ति यही कारण पनि रिसाउनुभयो । 

कलाकार सङ्घको भवन बनाउने, कलाकारलाई पेन्सन उपलब्ध गराउने र सामाजिक सुरक्षा कोषमा कलाकार पनि जाने भन्ने तपाईंले अघिसारेका एजेन्डा कार्यान्वयन सुरु भयो ?
भवनका लागि मन्त्रीसँग हामीले कुरा गरिसकेका छौं । सङ्घको नाममा धापासीमा रहेको दुई रोपनी जग्गा अर्कैले भोगचलन गरिरहेको अवस्थामा मन्त्रीले सोध भर्ना गरिदिने भन्नुभएको छ । त्यो कसले भोगचलन गरिरहेको छ, हामी खोजिरहेका छौं । त्यो जग्गा भेटिएन भने हामीसँग ५५ लाख रुपैयाँ छ, यसमा सरकारले सहयोग गरेर अगाडि बढ्न पनि सक्ने अवस्था छ । 

Global Ime bank

समाजिक सुरक्षा कोषमा सहभागी हुने सन्दर्भमा चलचित्र विकास बोर्डमार्फत् हामी अगाडि बढ्दैछौं । पाइला चालिसकेका छौं । गन्तव्यमा पुगिसकेका छैनौं । सुरुआतमै भएका कारण यस्तै हुन्छ भन्ने अवस्थामा पुगिसकेका छैनौं ।

कम्तीमा २५ वर्ष चलचित्र क्षेत्रमा काम गरेका व्यक्तिलाई पेन्सनको व्यवस्था गरियोस् भनेर पहल गरिरहेका छौं । मेरा साथीहरु मन्त्री, सांसद्, आईजीपी भए । उनीहरु अहिले पेन्सन खान्छन् । मलै यो क्षेत्रमा काम गरेको ४० वर्ष भयो । बेलुका घर जाँदा तरकारी किन्ने पैसा हुँदैन । मेरो उपलब्धि के ? जिरो ? यस्तो दुःखद अवस्था छ । त्यसैले पेन्सन हुनुपर्छ भन्दा विकास बोर्डका अध्यक्ष केशव भट्टराईले सामाजिक सुरक्षा कोषमार्फत् जाऔं भन्नुभएको छ । 

रङ्गमञ्च हुँदै चलचित्रमा पुग्नुभयो, कलाकारका दुःख तपाईं स्वयम्ले अनुभव गर्नुभएको छ । अहिले अभिभावकका रुपमा ती पीडा समाधानको नेतृत्व लिइरहनुभएको छ । कत्तिको चुनौती छ ?
सबभन्दा ठूलो कुरा मैले र सङ्घले ठूलो र राम्रो सोच राखेर मात्रै नहुनेरहेछ । सबैभन्दा पहिला आर्थिक पक्ष नै अगाडि आउँदोरहेछ । पेशागत सङ्गठनमा हामी जेठो भएकाले निश्चय नै जिम्मेवारी ठूलो छ । हामीले उपचारमा आर्थिक अभाव बेहोरिरहनुभएका कलाकार तथा प्राविधिक साथीहरुलाई सहयोगका लागि सिफारिस गरेर पैसा दिलाइरहेका छौं । केही हस्पिटलमा औषधिउपचारका लागि सहयोग पनि गरिरहेका छौं । 

कलाकारले भोग्दै आएका मुख्य पीडा केके हुन् ? 
जिन्दगीको ऊर्जाशील उमेरमा काम गर्छन् । फ्यान–फलोइङ पनि हुन्छ । जति पारिश्रमिक लिनुहुन्छ, त्यही काम गर्दागर्दै सक्नुहुन्छ । उमेर ढल्दै गएपछि काम पनि पाउन छोड्नुहुन्छ । ओझेलमा पर्दै जानुहुन्छ । घरमा आर्थिक अवस्था कमजोर हुन्छ । विरामी हुँदा चन्दा उठाएर उपचार गर्नुपर्छ । अहिले पनि यस्तो अवस्था कायमै छ ।

यस्तै अवस्था छ भनेर मेरै पहलमा ५ जना अग्रज कलाकारलाई ५ हजार रुपैयाँका दरले सङ्घले सहयोग गर्‍यो । सरकारले आफैं अग्रसरता लिएको अवस्थामा मात्रै यस्तो काम सहज हुन्छ । कतिञ्जेल हामीले चन्दा उठाएर सहयोग गर्ने ?

चलचित्रकर्मी तथा सम्बन्धित सङ्घसंस्थाले सधैं सरकारले सहयोग गरेन भनेर गुनासो गर्दै आएका छन् । खासमा तपाईंहरुलाई चाहिएको सहयोगचाहिँ कस्तो हो ?
उमेर ढल्किएपछि हामीले के गर्ने ? बृद्ध अवस्थामा हामीलाई पेन्सन चाहियो । २५/३० वर्षदेखि नेपाली चलचित्र क्षेत्रका विकासका लागि काम गरिरहेका सङ्घसंस्थालाई सरकारले छुट्टै बजेट दिनुपर्‍यो । जसरी अहिले विकास बोर्डमार्फत् सहयोग आउँछ, सरकारले सीधै हामीलाई नै रकम दिनुपर्‍यो । सबैलाई दिनुपर्छ भन्ने मेरो माग होइन । जसले राम्रो काम गरिरहेको छ, उसलाई दिनुपर्‍यो । 

सङ्घलाई पनि सरकारले बजेट छुट्टाउनुपर्‍यो भनिरहँदा चलचित्र विकास बोर्डकै औचित्य छैन, विघटन गरिदिए हुन्छ भनेर कतिपय चलचित्रकर्मीले प्रश्न उठाइरहेका छन् नि ? 
काम गर्नका लागि नै मैले बजेट माग गरेको हो । बोर्डको सन्दर्भमा यसले हामीलाई सहयोग नगरेको र सक्रिय नभएको भन्न मिल्दैन । बोर्ड मातहत नै हामी रहन्छौं, तर हामीलाई पनि सहयोग गर मात्रै भनेको हो । बोर्ड निकम्मा भयो भनेर हामीले भनेका छैनौं ।
 
बोर्डलाई स्वायत्त संस्था बनाउनुपर्छ भन्ने हाम्रो माग हो । सञ्चार मन्त्रालयभन्दा पनि आफ्ना लागि आफैं नीतिनियम बनाउन सक्ने स्वायत्त संस्था बनाउनुपर्छ भन्ने मेरो माग हो । 

रङ्गमञ्च हुँदै ठूलो पर्दामा पुग्नुभयो, तर रङ्गमञ्चलाई पूरै बिर्सनुभयो । के कारण यस्तो भयो ?
म पैसाका कारण रङ्गमञ्चबाट टाढिएको होइन । रङ्गमञ्चमा हुँदा पनि कहिल्यै मैले पैसा कमाउने योजना बनाइनँ । मैले नाटक लेख्दा, निर्देशन गर्दा, अभिनय गर्दा कहिले सङ्खुवासभाको क्याम्पसको सहयोगार्थ त कहिले सुदूरपश्चिममा पुल निर्माणका लागि भनेर काम गरियो । दुई छाक खानबाहेक हामीले अरु सोचेनौं । वीर हस्पिटलको स्वयम्सेवकका लागि धेरै पैसा उठाइदियौं । 

चलचित्रमा काम गर्दा केही पैसा आयो । अहिले पनि चलचित्रमाा अफर आउँदा यति पैसा दिन्छन् भने खेल्छु नत्र खेल्दिनँ भनेकै छैन । 
नाटकमा मलाई अफर आएन । नाटक लेखेर, कलाकार खोजेर, निर्देशन गर्न मसँग समय नै भएन । रङ्गमञ्चले मलाई कलाकार बनाएको हो । मेरी आमालाई मैले बिर्सिने कुरै भएन । अहिले पनि कसैले अफर गर्छ भने नाटक खेल्न तयार छु । 

रविन्द्र कामभन्दा धेरै राजनीति गर्छ भन्ने आरोप छ नि ?
हैन । जसले मलाई यो आरोप लगाउँछ, उसले चाहिँ राजनीति गरेको हो । मलाई कसैले तैंले यसमा राजनीति गरिस् भनेर भन्छ भने त्यसको खण्डन गर्न म तयार छु । मैले राजनीति गरेकै छैन । 
हो म एउटा पार्टीमा आबद्ध छु । तर मलाई त्यो पार्टीले आजसम्म यसो गर भनेर निर्देशन दिएको छैन । निर्देशन दिए पनि मैले पालना गरेको छैन । समग्रमा कलाकार सङ्घलाई राजनीतिबाट बचाइरहेको छु । 

तपाईं तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिँदा मेयर पनि हुनुभयो । त्यो समय सम्झँदा अहिले कस्तो महसुस हुन्छ ?
मलाई एकदम राम्रो गरेछु भन्ने लाग्छ । सूर्यबाहादुर थापा प्रधानमन्त्री हुनुहुन्थ्यो, स्थानीय विकास मन्त्री कमल थापा हुनुहुन्थ्यो । उहाँहरु राप्रपाका नेता । मलाई पार्टीको सदस्यता लिएर अगाडि बढ्नुस् भन्दा पार्टीको सदस्यता लिएपछि काम गर्न सकिँदैन र म राष्ट्रको कलाकार पनि हुँ स्वतन्त्र भएर काम गर्छु भनेर लिइनँ । मेरो बुवा दुईपटक जिल्ला सभापति र दुईपटक माननीय हुनुहुन्थ्यो । बाउको बिँडो थाम्ने रहर मलाई पनि थियो । 
म ११ महिना मेयर पदमा रहँदा कति काम गरेँ भन्ने अहिले पनि गाउँ घुम्दा थाहा हुन्छ । पाँच वर्षमा अरुले गर्न नसकेको काम मैले गरेको छु । प्रमुख जिल्ला अधिकारी सदरमुकाम छोडेर बाहिर निस्किन नसकिरहेका बेला म गाउँगाउँ पुगेर काम गर्थें । 

अन्त्यमा, कलाकारले राजनीति गरेको भन्दा स्वतन्त्र भएर बसेको नै राम्रो भन्ने ठूलो तप्का छ, तपाईं के भन्नुहुन्छ ?
सुरुमा मैले पनि कलाकार भएर राजनीति गर्नु हुँदैन नै भनेको हो । तर पछिपछि हुँदै जाँदा सबैले राजनीतिप्रति चासो र झुकाव देखाउँदै गए । राजनीतिबारे जानकार र जिज्ञासुचाहिँ हुनुपर्छ भन्ने लाग्छ मलाई । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २५, २०७६  ०७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC