‘सेतोपाटी’ले चौथो वार्षिकोत्सव मनाउँदै गर्दा प्रख्यात पत्रकार नारायण वाग्ले भने हामीले कस्तो राजनीतिक परिवेश तयार गर्दैछाैं र भविष्यका पुस्तालाई कस्तो देश छाडेर जानेछाैं ? भन्ने विषयमा चिन्तित थिए । लोकतान्त्रिक परिपाटी स्थापित गराउन सधैँ दत्तचित्त रहने वाग्लेले यस प्रश्नको उत्तरमा भने समसामयिक लोकतान्त्रिक विचारभन्दा अलि फरक मत प्रस्तुत गरे । उनको विचारमा नेपालमा सबै राजनीतिक दल भ्रष्टाचारको दलदलमा फँसिसकेको कारणले यिनले दिने उमेदवार स्वच्छ छविको इमानदार व्यक्ति हुन असंभव प्रायः भइसकेको छ । त्यसैले, वाग्ले भन्छन् – अब सकभर स्वतन्त्र, इमानदार, लोकतान्त्रिक परिचय बनाएको व्यक्तिलाई मिडियाले समर्थन गर्नुपर्छ र त्यस्तै व्यक्तिबाट स्थानीय सरकार चल्न थाल्यो भने माथिल्लो तहको राजनीति पनि आफैं संग्लिँदै जान्छ ।
गाउँ तहमा अहिले नसके पनि काठमाडौं र ठूला महानगर तथा नगरपालिकामा स्वतन्त्र, स्वच्छ र सक्षम व्यक्ति मेयरको पदमा विजयी भएर आए भने बल्ल मूल्यको राजनीतिक परिपाटीको विकास हुन्छ । तर, त्यही सानो समारोहमा केही पत्रकार वाग्लेको विचारसँग सहमत हुन सकिरहेका थिएनन् । तिनको केही फरक विचार थियो र उदाहरण थिए डा. देवेन्द्र राज पाण्डे तथा हृषिकेश शाह । विसं २०४८ सालको निर्वाचनमा त्यसबेला अत्यन्त चर्चित तथा इमानदार कर्मचारी भनेर चिनिएका अनि अर्थ मन्त्रीसमेत रहेका डा. देवेन्द्र राज पाण्डेले लोक दल नामको पार्टी खोलेका थिए । सो लोकदलका अध्यक्षका रूपमा उनी पाल्पाबाट निर्वाचनमा उभिए तर नराम्ररी पछारिए । उनले निकै कम मत ल्याए भने लोक दलको पनि नराम्रो पराजय भयो । त्यस्तै राजा महेन्द्रले संयुक्त राष्ट्र संघको महासचिव हुन रोकेका भनेर प्रचारित हृषिकेश शाह पनि त्यही निर्वाचनमा काठमाडौंबाट उठेका थिए र उनको मत त झन् धेरै थोरै थियो ।
सेतोपाटीको वार्षिकोत्सवको सानो समारोहमा पत्रकार जुन कुरामा चिन्तित थिए र जसरी देशको राजनीतिको आकलन गरिरहेका थिए त्यही विषय अहिलेको राजनीतिक वृत्तमा निकै चर्चित छ । चर्चित यस अर्थमा कि ठूला दलबाट जनता आजित छन्, साना दल खुलेका छन् र केही स्वतन्त्र व्यक्तित्व पनि देखिएका छन् तर तिनको अवस्था लोकदलका पाण्डे र स्वतन्त्र उमेदवार शाहको जस्तो हुने हो कि भन्ने डर छ । तर, जतिपनि नयाँ दल वा अनुहार देखिएका छन् तिनको भने भारतको राजनीतिमा ‘आम आदमी‘ पार्टीका अरविन्द केजरीवालको जस्तो चमत्कारी उदय हुन्छ भन्ने आशा रहेको देखिन्छ ।
स्थानीय निर्वाचनमा जनताले कसलाई विजयी गराउँछन् सो परिणामले सम्पूर्ण नेपालको राजनीति र भविष्य नै निर्देशित गर्न सक्छ । तर, जनताले गएर फेरि पनि रुख, सूर्य, हँसिया हथौडा र गाईबाहेक अर्को चुनाव चिह्न नदेख्ने हो भने हामी अविवेकी राजनीतिको कैदीबाहेक स्वतन्त्र र सर्वशक्तिमान जनता हुन सक्नेछैनौ ।
यो लेखको आशय जनताले अब स्थापित राजनीतिक दलका उमेदवारलाई हराएर नयाँ र स्वतन्त्र उमेदवारलाईमात्र मतदान गर्नुपर्छ भन्ने चाहिँ पक्कै पनि होइन । केमात्र भन्न खोजिएको हो भने निर्वाचनमा जनप्रतिनिधिका रूपमा छानिएको व्यक्ति सम्पूर्णरूपमा जनताको हितमा काम गर्नसक्ने हुनुपर्छ । कुनैपनि व्यक्तिलाई जनताको मतले पदमा पुर्याउनु भनेको उसको नातेदार, इष्टमित्र तथा साथीभाइलाई राज्यको स्रोत र साधन दुरुपयोग गर्ने मौका दिनु होइन । राज्यले दिने सुविधा र सेवा समानरूपमा सबैमा पुग्नुपर्यो र आफ्ना प्रतिनिधिमार्फत राज्यसम्म सबैको पहुँच समान हुनुपर्यो । तर, दुःखपूर्वक भन्नु पर्छ – हाम्रो निर्वाचन यसरी चल्दैन ।
अहिलेका ठूला दलमा मेयर, गाउँ पालिका प्रमुख र अन्य पदमा जति पनि उमेदवार हुने व्यक्ति छन् तीमध्ये अधिकांश स्थानीय गुण्डा, दादा, तस्कर, मानव ओसारपसारमा संलग्न व्यक्ति, बाहुली ठेकेदार आदि नै देखिन्छन् । कुनै कुनै उमेदवार आक्कलझुक्कल पत्रकार, शिक्षक, वकिल परे भने पनि तिनको नियत र व्यवहार भने लाठीमुङ्ग्रीवादमा विश्वास गर्ने प्रकारकै हुन्छ । गरिब, जेहेन्दार, शिक्षित र देश र जनताको लागि केही गर्छु भन्ने व्यक्तिले त उमेदवार हुने सोचसम्म पनि मनमा ल्याउन सत्तैmन । नेता हुने भनेको पहिल्यै लुटेर बेसरी पैसा कमाएको वा चुनाव जितेपछि लुटेर पैसा कमाउन सक्ने क्षमता भएको व्यक्ति हुनुपर्ने सोच मतदाताको मनमै गडेर बसिसकेको छ ।
मतदाताले म रुख, सूर्य, हँसिया हथौडा, गाई वा अन्य चुनाव चिन्हमा मात्रमत खसाल्छु भनेर बस्दासम्म दलहरूलाई कहिल्यै पनि सही उमेदवार निर्वाचनमा उठाउने दबाब पर्दैन । तर, सही उमेदवार उठाएको अवस्थामा मतदाताले पनि राजनीतिक आस्थाको पर्खाल नाघेर अघि बढ्ने हो भने बल्ल दललाई पनि उपयुक्त उमेदवार दिन दबाब पर्नसक्छ ।
वास्तवमा विश्वमा अब विचारको लडाइँं सकियो भनेर स्ट्यानफोर्ड विश्व विद्यालयका प्रोफेसर फ्रान्सिस फुकुयामाले भनेझैँ नेपालमा पनि विचारको लडाइँको अन्त्य भएको छ । अहिलेको संविधानलाई मान्ने दलले अब विचारको लडाइँं कायम छ भनेर भन्न मिल्ने अवस्था छैन । लोकतन्त्र, जनताको सार्वभौमसत्ता, उदार अर्थतन्त्रलाई मानेर हिँडेपछि अब कसैले पनि दलको विचारको आधारमा मतदान गर्न जरुरी छैन । उदाहरणका लागि विराटनगरका कांग्रेसजनले मेयरको उमेदवारमा लालबाबु पँडितलाई (उनी उठे भने) मतदान गर्दा कुनै पनि प्रकारले तिनले आफ्नो राजनीतिक विचार उपर अन्याय गरेको ठहर्दैन ।
त्यस्तै एमाले वा माओवादीलाई अहिलेसम्म मतदान गर्दै आएकाले काठमाडौंको मेयरमा नवीन्द्रराज जोशीलाई (उनी उठे भने) मतदान गर्दा कुनै पनि प्रकारले वैचारिक धरातल छाडेको मानिने छैन । किनभने हामीले संविधान मानेर, संविधानले तोकेको राजनीतिक विचार धारामा अघि बढ्ने प्रण गरेका हौंँ भने यही संविधान मान्ने र जनताको हित चिताउने व्यक्तिलाई मतदान गर्दा अलिकति पनि हिचकिचाउनु पर्ने अवस्था छैन ।
अहिलेका ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) तथा राष्ट्रिय प्रजातन्त्र पार्टीमा कसरी उमेदवार छान्ने भन्ने विषयमा भएको कुनै पनि छलफलमा जनताले रुचाउने प्रकारको व्यक्तिको चुनाव गर्ने विषयले प्राथमिकता पाएको छैन । कुनै व्यक्ति निर्वाचनमा उठ्न चाहन्छ भने ऊ सबैभन्दा पहिले केन्द्रीय नेताको विश्वासपात्र हुनुपर्छ । केन्द्रीय नेतामा पनि सकभर संस्थापन पक्षकै उमेदवारको रूपमा अघि आउन सक्यो भने उसले टिकट पाउँछ हैन भने धेरै मेहनत गर्नु पर्छ । हुनत, नेपाली कांग्रेसले तल्लो तहबाटै उमेदवारको निक्र्योल गरेर नाम सिफारिस गर्न निर्देशन दिएको छ । तर, तल्लो निकायबाट केन्द्रीय नेतृत्वको फोन नसुनी एक जना उमेदवारको नाममात्र सिफारिस नहुँदासम्म केन्द्रीकृत टिकट प्रणाली यो देशबाट हट्दैन ।
अहिलेको युगे नयाँ नेतृत्वको उदयको युग हो । ठूला राजनीतिक दलले यो तथ्यलाई मनन गरेर सक्षम, इमानदार र जनताप्रति उत्तरदायी व्यक्तिलाई उमेदवार बनाए भने यस्ता व्यक्तिलाई मतदान गर्नुपर्छ । तर, त्यसो भएन र जग्गा दलाल, मान्छे दलाल र अन्य दलाली गरेर बसेका व्यक्तिलाई मात्र ठूला दलले टिकट दिए भने जनताले कडा निर्णय लिनै पर्छ । नारायण वाग्लेले भनेको जस्तै स्वतन्त्र विचार भएका व्यक्ति, मिडिया र सम्पूर्ण जनताले कुनै एक सशक्त उमेदवारलाई खुलारूपमा समर्थन जनाएर तिनको पक्षमा वकालत गर्नैपर्छ ।