आजैको दिन अर्थात् ४ अप्रिल १९७९ मा हो, जुल्फीकर अली भुट्टोलाई फाँसी दिइएको । पाकिस्तानका तत्कालीन सैनिक जनरल जियाउल हकद्वारा सैनिक विद्रोह गरी अपदस्थ गरिएका प्रधानमन्त्री जुल्फीकर अली भुट्टो (बेनजीर भुट्टोका बाबु) लाई फाँसी दिइएपछि विश्वभरमै त्यसको चौतर्फी विरोध भएको थियो ।
त्यसबेला नेपालमा पञ्चहरूको निरंकुश शासन चलिरहेको थियो र भूमिगत रूपमा पञ्चायतविरुद्ध गतिविधि सञ्चालन भइरहेका थिए । भुट्टोलाई अप्रिल ४ को राति फाँसी दिइएको थियो, तर त्यो खबर ५ तारिख (२२ चैत २०३५) दिउँसो ११ बजे प्रसारित भयो । यो खबर नेपालमा समेत आइपुगेपछि चैत २४ गते काठमाडौंका क्याम्पस–क्याम्पसबाट विद्यार्थीहरू विरोध प्रदर्शन गर्दै एक ठाउँ जम्मा भई पाकिस्तानी दूतावासतर्फ अगाडि बढे । प्रहरीले लाठीचार्ज र पक्राउ गर्यो ।
विद्यार्थीहरूको त्यो विरोध प्रदर्शनले अर्को दिनदेखि संगठित आन्दोलनको रूप लिनुका साथै अनेरास्ववियु, नेविसंघ र नेराविफे मिलेर एउटा केन्द्रीय संघर्ष समिति बनाए । त्यस आन्दोलनले विद्यार्थी हकहितसँग सम्बन्धित मागका साथै महँगी नियन्त्रण र त्रिविबाट निष्कासित सहाना प्रधान, हिरण्यलाल श्रेष्ठ र वीरेन्द्रभक्त आदि प्राध्यापकहरूलाई पुनर्बहाली गर्नुपर्ने माग गरेको थियो ।
प्रदर्शनमा प्रत्यक्षतः पाकिस्तानको सैनिक नेतृत्वको विरोध देखिए पनि पछि गएर यो आन्दोलन पञ्चायत व्यवस्थाविरोधी स्वरमा बदलिँदै थियो । त्यसमा व्यापक दमन भएपछि विद्यार्थीहरू झनै भड्किए र आन्दोलन राष्ट्रव्यापी बन्न पुग्यो ।
राजनीतिज्ञ कमल कोइरालाले एउटा लेखमा उल्लेख गरेअनुसार, २०३६ वैशाख लाग्दा–नलाग्दै विराटनगरको महेन्द्र मोरङ क्याम्पस, पोखराको पृथ्वीनारायण क्याम्पसका साथै बुटवल, भैरहवा र धरानका कलेजहरूमा आन्दोलन चर्किँदै गयो । सिरहामा स्कुल कलेजका विद्यार्थीहरूले काठमाडौं जाने दिवा बस र रात्रि बसबाट यात्रीहरूलाई उतार्दै ‘पञ्चायती व्यवस्था मूर्दावाद’ भन्न लगाई फेरि बसमा चढाउन थाले । ०३६ साल वैशाखमा अमृत साइन्स कलेजको होस्टलमा प्रहरीहरू पस्दा विद्यार्थीसँग ठूलो झडप भयो । कैयौं विद्यार्थी र पुलिस पनि मरेको हल्ला देशभरि फैलियो । हेटौंडालगायत केही ठाउँमा गोलीसमेत चल्यो ।
थुप्रै लेखक र कलाकारहरूले सरकारको दमन नीतिका विरुद्ध वक्तव्यहरु निकाले । यो आन्दोलन झन् झन् चर्किँदै र उग्र हुँदै गयो । कलैया अनि वीरगञ्जमा कफ्र्यु लगाउनुपर्ने परिस्थिति पैदा भयो । ०३६ साल जेठ ९ गते काठमाडौंको नयाँसडकको मुखमा रहेको तत्कालीन शाही नेपाल वायुसेवा नियमको भवनमा आगो लगाइयो ।
परिस्थिति नियन्त्रणबाहिर जान थालेपछि जेठ १० गते एकाबिहानै ६ः४५ बजे जनतालाई बहुदलीय व्यवस्था वा बालिग मताधिकारसहितको सुधारिएको पञ्चायती व्यवस्थामध्ये एउटा रोज्न दिने गरी जनमत सङ्ग्रह गराउने राजा वीरेन्द्रको घोषणा रेडियोमार्फत प्रसारित भयो । बीपी कोइरालासहित अधिकांश नेताहरूले यसको स्वागत गरे । राजाकै घोषणाको आधारमा २०३७ वैशाख २० गते जनमत संग्रहका लागि मतदान सम्पन्न भयो भने जेठ १ गते त्यसको नतिजा प्रकाशित भयो । नतिजाअनुसार बहुदलले भन्दा ४ लाख बढी मत ल्याएर पञ्चायत विजयी भएको घोषणा गरियो ।
भन्नु नपर्ला, विभिन्न पार्टीमा रहेका अहिलेका अधिकांश युवा नेताहरू यसै आन्दोलनपछि चर्चामा आएका हुन् । पञ्चायती व्यवस्था गलेको र त्यसको पतनको अध्याय सुरु भएको महत्त्वपूर्ण कडी पनि यही आन्दोलन नै हो । हो, आन्दोलनलाई परिपक्व हुन दश वर्ष लाग्यो र २०४६ मा पञ्चायत ढल्यो, तर त्यसको बीज हो– २०३६ को विद्यार्थी आन्दोलन । त्यसैले मरेरै सही, अहिलेका नेताहरूका एउटा प्रेरणास्रोत हुन्, जुल्फीकर अली भुट्टो । साँच्चै भन्ने हो भने त्यतिखेरका विद्यार्थी नेताहरूका लागि माक्र्स लेनिनभन्दा पनि बढी महत्त्वपूर्ण थिए, जुल्फीकर अली भुट्टो ।
तर राजनीतिमा यस्ता धेरै पात्र हुँदा रहेछन्, जो कुनै बेला कसैका प्रेरणास्रोत बन्छन् र पछि स्मृतिबाट हराउँछन् । कुनै बेला वामपन्थी विद्यार्थी राजनीतिका प्रेरणास्रोत रहेका चिनियाँकाजी पनि आजकल कतै सुनिँदैनन् । कुनै बेला चिनियाँकाजी दिवस मनाउनेहरूका उत्तराधिकारीले सायद अब चिनियाँकाजीको नाम र गोत्रसमेत बिर्सिसकेका छन् । विद्यार्थी नेताहरूका लागि अब भुट्टो र चिनियाँकाजीको कथा होइन, स्ववियुको खाता महत्त्वपूर्ण भइसकेको छ ।