site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कालीप्रसादको कला, संगीत कि गायन ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
मंगलबार अपराह्न जमलको डोरेमी स्टुडियो पुग्दा संगीतकार तथा गायक कालीप्रसाद बास्कोटा सारंगी रेटिरहेका थिए । अमेरिका जाने अघिल्लो दिन पनि आफूलाई संगीतमै साटिरहेका उनी अनुहारमा लाल खुसी छर्दै सँगै रहेका अर्का एक संगीत पारखीलाई भन्दै थिए, नयाँ धुन पत्ता लाग्यो नि ! लगत्तै  हार्मोनियम रेटेर सुनाए । त्यो धुन नयाँ हो या पुरानो मलाई थाहा भएन, तर सुन्दा सुमधुर थियो । अलि–अलि फरक हो कि जस्तो पनि । संगीतमै हराइरहेका बास्कोटालाई मैले असहज मान्दै बीचमै रोकें र भने, दाइ, अब कुराकानी सुरु गरौं कि ! उनले सारंगीबाट औँला निकाले र भने, हुन्छ, सुरु गरौं । मैले कुराको पोयो खोलेँ । 
कुन गीतको कम्पोज गर्दै हुनुहुन्छ ? 
कुनै गीतको होइन । खालि समय यत्तिकै हार्मोनियम बजाएको मात्रै । 
कुनै गीतको जस्तो लाग्यो !
‘लुट–टु’ को एउटा गीतको काम थियो । भर्खरै सकेँ ।
अन्तर्वार्ताको प्रारम्भ तपाईंको जिन्दगीको प्रारम्भबाटै सुरु गरौँ ।
संगीतमा तपाईंको प्रवेश कसरी भयो ?
सुरुमा इन्टे«स्ट भयो, बीचमा प्यासन । अहिलेचाहिँ प्रोफेसन भयो । म संगीतको सपना देखेर यो क्षेत्रमा आएको होइन । संगीतमा लाग्नुपर्छ, संगीतकार बन्नुपर्छ भनेर म लागेकै छैन । म ‘कुल’ भएर लागेँ । त्यसैले मलाई असफलताले विचलित पनि बनाएन, किनभने मैले यो बन्नु नै थिएन । पाउन भनेर नचाहेको चिज नपाउँदा निराश हुने कुरै भएन । 
बन्नुचाहिँ के थियो ?
केही थिएन । म यो वा त्यो बन्नुपर्छ भन्ने कहिल्यै सपना नदेख्ने मान्छे । भविष्यमा गएर यो बन्छु भनेर मैले कहिल्यै सोचिनँ ।
परिवार त चाहन्थ्यो होला नि डाक्टर, पाइलट, इन्जिनियर या अरु कुनै प्रतिष्ठित पेसा अपनाओस् भन्ने ?
परिवारले पनि यही बन्नुपर्छ भनेर कहिल्यै भनेन । तर, संगीतकार वा गायक बन्ला भन्ने पनि थिएन होला । यत्तिचाहिँ परिवारको अपेक्षा थियो, जे गर्छ त्यो राम्रो गरोस् । ठूलो मान्छे होस् । राम्रो मान्छे बनोस् भन्ने थियो ।   
एसएलसी पास गरेपछि के गर्नुभयो ?
इन्जिनियरिङ डिप्लोमा पढेँ । त्यो कोर्स सकेपछि १५ वर्ष जागिर खाएँ, तिलगंगा आँखा अस्पतालमा । त्यहाँको जागिर छोडेको एक वर्ष भयो । 
के काम गर्नुहुन्थ्यो तिलगंगामा ?
फरक नै थियो । नेपालमा त्यस्तो काम हुँदैन । साउथ एसियामै त्यो काम निकै कम हुन्छ । थोरै अप्टिक्स, न्युमेरिक कन्ट्रोलको काम गर्नुपथ्र्यो । 
किन छोड्नुभयो त त्यस्तो राम्रो काम ? 
म एकदमै सन्तुष्ट नै थिएँ । कुनै गुनासो थिएन । पैसा र सन्तुष्टिको कमीले छोडेको होइन । १५ वर्षसम्म एउटै काम गर्दा दिक्क भएर छोडेको हुँ । 
सानो छँदा कस्ता र कसका गीत सुन्नुहुन्थ्यो ? 
म हिन्दी गीत नै सुन्थेँ । मेरो घरमा माहोल नै त्यस्तै थियो । बुबा पनि हिन्दी गीत नै सुन्नुहुन्थ्यो । मैले अंग्रेजी गीत सुन्न थालेको एसएलसी पछिमात्रै हो । सरकारी स्कुल पढेको मसँग अंग्रेजी बोल्ने, सिक्ने, सिकाउने कोही पनि थिएनन् । नेपाली, अंगे्रजी, अफ्रिकन, इजिप्सियन भनेर सुन्न थालेको दुई वर्षमात्रै भयो । त्यसभन्दा पहिला नेपाली, अंग्रेजी, हिन्दी भनेर मात्रै सुनिन्थ्यो । संगीत सुन्न थालेको चाहिँ दुई वर्षमात्रै भयो । अहिले गीतभन्दा पनि संगीत सुन्छु । 
हिन्दी गीत विशेषगरी कसको सुन्नुहुन्थ्यो ?
किशोर कुमारका । मेरो बुबा पनि किशोर कुमारका गीत गुनगुनाउनु हुन्थ्यो । म पनि किशोर कुमारका गीत गाएर हुर्किएको हो । 
नेपाली गीत सुन्नु हुन्नथ्यो ?
आठ/नौ कक्षामा पुगेपछि धेरै नेपाली गीत सुन्न थालेँ । गाउन थालेँ । म त्योबेला किशोर कुमारका गीतहरू सुनिरहेको छु भन्थेँ तर आर डी बर्मनका गीतहरू सुनिरहेको हुँदोरहेछु । नारायणगोपालका गीत सुनिरहेको छु भन्ने लाग्थ्यो, तर होइन रहेछ । म त गोपाल योञ्जनलाई पो सुनिरहेको हुँदोरहेछु । यसको मतलब मलाई गीतले भन्दा पनि संगीतले तानिरहेको हुँदोरहेछ । त्यो बेला मलाई गायक के हो ? संगीतकार को हो ? कसले के काम गर्छ ? भन्ने थाहै हुँदैनथ्यो । जति बेलादेखि मैले गीत के हो ? संगीत के हो ? भन्ने बुझ्न थालेँ, त्यो समयदेखि मलाई संगीतले तान्यो ।
नारायणगोपालका सबैभन्दा मन पर्ने गीत ?
‘गल्ति हजार हुन्छन् ।’ 
यति धेरै संगीतसँग हराउने मान्छेले संगीतचाहिँ किन सिक्नुभएन ?
सिकेँ एसएलसीपछि, कमल क्षेत्री गुरुसँग करिब तीन वर्ष । उहाँसँग मैले इस्टर्न क्लासिकल भोकल सिकेँ । औपचारिक कक्षा भने लिन सकिनँ । संगीत भनेको संगत रहेछ । धेरैसँग संगत गरेर मैले संगीतको ज्ञान लिएँ । 
तपाईं संगीतकार हो कि गायक ?
म सुरुमा त संगीतकार नै हुँ । मेरो संगीतले मलाई गायक बनाएको हो । म फरक खालको मान्छे हुँ । म संगीत गर्न सक्छु, मलाई गीत दिनुस् भन्न नसक्ने मान्छे हुँ । त्यसैले मैले संगीत गर्न आफैँ गीत पनि लेख्न थालेँ । मेरा ९० प्रतिशत संगीतमा मेरै ‘लिरिक्स’ रहनुको कारण पनि यही हो । 
तपाईंलाई त संगीतकार भन्दा पनि गायक भनेर चिन्छन् नि होइन ?
त्यो त अरुले मलाई त्यसरी चिन्छन् । तर, मलाई त मैले चिन्ने हो नि । मैले मलाई गायक होइन, संगीतकार भनेर चिन्छु । ममा संगीत प्रधान भएर आउँछ अनिमात्रै गायक । 
जनताले चिन्ने त गायकलाई हो । संगीतकार, गीतकारलाई पछि चिन्छन् । सिनेमा हेर्दा हिरो÷हिराइनलाई दर्शकले चिन्छन्, निर्देशकलाई त चिन्दैनन् नि । कसैले चिने पनि सीमित व्यक्तिले मात्रै चिन्छन् । क्यामेराम्यानलाई त कसैले कलाको आँखाले हेर्यो भनेमात्रै चिन्छन् नि ! नभए कसैले चिन्दैन । मलाई गायक भनेर चिन्छन्, तर थाहा छैन संगीतकारमा को हो भन्ने । 
‘जालमा’ गीत कसरी तयार भएको थियो ?
मैले ‘मञ्जरी’ भन्ने सिनेमामा हिन्दीबाट प्रभावित भएर काम गरेको थिएँ । त्यहाँ  मैले नराम्रो गाली खानुपर्यो । म आफैँमा नेपाली मौलिकतामा काम गर्न नसक्ने मान्छे त होइन नि ! त्यो गाली मैले सहन सकिनँ । त्यसपछि मैले लोकगीतको रिसर्च गर्न थालेँ । त्यसपछि म ठीक ठाउँमा पुगेँ । ‘रेशम फिलिलि’ फिल्ममा ‘जालमा’बाहेक अर्को गीत पनि छ, ‘भारी भो भारी’ बोलको । लोकगीतसँग मिक्स गरेर बनाएको छु । बौद्धिक सर्कलले ‘जालमा’भन्दा यो गीत मन परायो । लोकगीतप्रति नोस्टाल्जिया भएकाहरूलाई पनि यो गीत मन पर्छ । यो सर्कल पनि छ अझै नेपालमा । लोकगीतलाई फ्युजनको काम ‘मञ्जरी’बाटै सुरु गरेको थिएँ । तर, त्यो ‘रेसम फिलिलि’मा आएर देखियो । त्यसपछि म आफ्नै खोजबाट प्रभावित हुन थालेँ । छोड्न नसक्ने भएँ । 
त्यो गीत छोटो समयमा तयार भएको गीत थियो । त्यो गीत मैले ‘रेशम फिलिलि’का लागि तयार पारेको थिइनँ । अरु नै कुनै प्रयोजनका लागि तयार गरिएको थियो । तर, त्यहाँबाट ‘रिजेक्ट’ भयो । पछि त्यसमै केही थपघट गर्दै गरियो । ‘बैगुनी माया नमारे’ थपियो अनि फाइनल भयो । त्यही पछि राम्रो भयो । सबैले मन पराइदिनुभयो । 
तपाईं म आफू गायक होइन भनेर भन्नुहुन्छ । तर, तपाईंको स्वरमा कसरी रेकर्ड गुर्नभयो ?
मलाई यो गीत आफैँ गाउनुपर्छ भन्ने लाग्यो । मैले जुन खालको स्वर र लयका लागि कम्पोज गरेँ, त्यसका लागि मिल्ने स्वर नै छ जस्तो लागेन । मैले यो खालको गायकसँग संगत नै गरेको थिइनँ । सायद त्यो खालको गायक मेरो नोटिसमा भएको भए मेरो ठाउँमा अरु कसैले त्यो गीत गाउँथ्यो । त्योचाहिँ पक्का हो । 
अब त तपाईं गायक हो नि ?
त्यो प्रमाणित भयो । मैले गाउने जुन प्याट्रन छ, यो मेरो पहिचान बनिसक्यो । 
‘जालमा’ले त्यति धेरै लोकप्रियता पाउँछ भन्ने अनुमान थियो ?
लोकप्रिय हुन्छ भन्नेचाहिँ थियो । जुन उचाइ लियो, त्यतिचाहिँ हुन्छ भन्ने लागेको थिएन । यो दशकमा यति धेरै उचाइ प्राप्त गर्ने गीत अरु छन् भन्ने मलाई लाग्दैन । बच्चादेखि वृद्धवृद्धासम्म र बौद्धिकदेखि आम जनतासम्म त्यसले लोकप्रियता कमायो, त्यो नै ठूलो उपलब्धी थियो । 
लोकप्रिय हुनभन्दा पनि त्यसलाई बचाउन गाह्रो हुन्छ, होइन ? यो अनुभूति गर्नुभएको छ ?
सबैभन्दा चुनौती नै यही हो । अहिले ‘पुरानो डुङ्गा’को गीत पनि राम्रो गइरहेको छ । ‘निरा’ बोलको गीतचाहिँ निकै राम्रो गइरहेको छ । यो ‘जालमा’जस्तै जान्छ जस्तो लागेको छ । हरेक कुराको समय हुन्छ, त्यो समय फर्किएर आउँदैन । ‘जालमा’ आफ्नै पहिचानले लोकप्रिय भयो । अर्को कुनै गीत लोकप्रिय भयो भने त्यो आफ्नै कारणले लोकप्रिय हुन्छ । 
युट्युब काउन्टमात्रै हेरेर त्यसलाई तराजुमा हाल्नुपर्छ भन्ने मलाई लाग्दैन । गीतले गर्नुपर्ने अथवा पार्नुपर्ने प्रभाव पार्यो कि पारेन भन्ने पक्ष महत्वपूर्ण हो । मैले कुनै चलचित्रमा काम गरेँ भने त्यो चलचित्रसँग म्याच भयो कि भएन ? भयो भने त्यसलाई म सफलता सम्झन्छु । व्यवसायिक हिसाबले बनाइएको गीत छ भने त्यो चल्यो कि चलेन ? चलेन भने त्यो सफल भएन भन्छु म । 
आजसम्म कति वटा गीत गर्नुभयो ? 
धेरै छैन । सात वटा गाएँ । ५० वटामा संगीत गरेँ । पाइपलाइनमा तीन÷चार वटा छन् । म धेरै गर्न सक्ने मान्छे नै होइन । 
सोलो एल्बम किन ननिकाल्नु भएको ? 
म आफ्नै कामभन्दा पनि सिनेमामा धेरै काम गरिरहेको छु । धेरै साथीभाई यतैका भए । समय पनि सिनेमामा धेरै लाग्छ र च्यालेन्ज पनि बढी हुन्छ । त्यही च्यालेन्जलाई हेरेर पनि मैले सिनेमा रोजेको हुँ । 
सोलो एल्बम ननिकाल्ने ? 
अवश्य पनि निकाल्छु । आफ्नो पहिचान र इतिहासका लागि पनि यो त गर्नुपर्छ नि ! यो वर्ष गर्छु भन्ने सोचेको थिएँ । तर, केही समयपछि सारेको छु । किनभने म सोलो एल्बममा जुन कुरा गर्न चाहन्छु, त्यो अझै तयार भएको छैन । त्यसैले ढिलो गरेको हो । 
खाइरहेको जागिर छोड्दा परिवार र साथीभाईको प्रतिक्रिया कस्तो थियो ?
प्रतिक्रिया भन्दा पनि मलाई जे मन परेको थियो, त्यसमा मैले राम्रोसँग काम गरिरहेको छु । उपलब्धि पनि राम्रो छ । त्योभन्दा पनि अझ राम्रो पक्ष के भने मैले जहाँ रमेर काम गरिरहेको छु, यही प्रोफेसनबाट परिवार पाल्न सकेको छु । एकोहोरो जिन्दगी कति जिइरहनु भनेर जागिर छाडेको हुँ । त्योभन्दा राम्रो भइरहेको छ । सबैभन्दा महत्वपूर्ण कुरा त म यहाँ खुसी छु । 
कुन–कुन म्युजिकल इन्स्टु«मेन्ट बजाउनुहुन्छ ?
म कुनै पनि कुरामा मास्टर होइन । म सेन्सले काम गर्ने मान्छे हुँ । मलाई कम्पोजका लागि आवश्यक पर्ने हार्मोनियम, किबोर्ड, गितार बजाउँछु । 
काम गर्ने तौरतरिका अरुभन्दा भिन्न छ ?
म त्यति धेरै मेहनत गर्ने मान्छे होइन । तर, सोचेर काम गर्ने मान्छे हुँ । कम काम गर्छु तर सोचेर गर्छु । सानो काम गर्दा पनि धेरै सोचेर गर्छु । 
जागिर खाँदा पनि संगीत त गर्नुहुनथ्यो नि ! त्यही बेला गाइदिऊँ न त भन्ने लागेन ?
लागेन । ‘लैजा रे’, ‘चाहना सकियो, बहाना सकियो’ मैले नै संगीत गरेको हो । म हिट हुनुपर्छ भन्दा पनि मेरो धर्म संगीत हो । मैले मेरो गीतलाई राम्रो गर्नुपर्छ भन्नेमात्रै सोच्थेँ । अहिले पनि रहरले गाएको होइन । ‘जालमा’ पनि संगीतकार कालीप्रसाद बास्कोटाले गायक कालीप्रसाद बास्कोटालाई खोजेको हो । यसरी बुझ्दा स्पष्ट हुन्छ । 
अमेरिका जाँदै हुनुहुन्छ, केका लागि ? 
घुम्न नै हो । कन्भेन्सन पनि छ । एक महिनाका लागि हो ।
उतै पलायन त हुने हैन नि ?
हैन, हैन । एक महिनापछि फर्किन्छु ।  
कीर्तिपुरका अरु कलाकार पनि उतै पलायन भए । तपाईं पनि नफर्किने हो कि भनेर !
को पलायन भयो ?
दीलिप रायमाझी । 
सबै हराउँदैनन् । मचाहिँ हराउँदिनँ । कीर्तिपुरका सबै हराउँछन् भन्ने छैन । 
किन कलाकार विदेश पलायन हुन्छन् ? महात्वाकांक्षा धेरै भएर भन्ने टिप्पणी पनि हुने गरेको छ नि ?
आर्थिक असुरक्षा त छ नि । आर्थिक सुरक्षा भएको भए कोही पनि विदेश जाँदैनथ्यो । भारतमै एउटा गीत हिट भयो भने ऊ जिन्दगीभर आर्थिक रूपमा सबल हुन्छ । यदि मेरो गीत ‘जालमा’ भारतमा यसरी हिट भएको भए मैले जिन्दगीभर पछि फर्केर हेर्नु पर्दैनथ्यो । मेरा अरु कुनै पनि गीत नचले पनि पुग्थ्यो । तर, यहाँ त त्यस्तो अवस्था छैन । नेपालका मात्रै होइन, नेपालको जस्तो अवस्था भएका धेरै देशका कलाकार विदेशिन्छन् जस्तो लाग्छ मलाई । 
रोयल्टीका लागि कलाकारले वास्ता नगरेका हुन् कि सरकारले नसुनेको हो ?
हामीले धेरै पहल गर्यौं । हरेक सरकार, हरेक मन्त्रीलाई भेटेर आफ्नो समस्या राखेका छौँ । समस्या समाधानको बाटो पनि सुझाएका छौँ । सबैले सबै कुरा बुझेको हुँदैन । बल्लबल्ल एउटालाई बुझायो । नौ महिनापछि अर्को आउँछ, फेरि अर्कोलाई बुझायो । उसले गर्छु भन्छ । तर, गर्न नपाउँदै सरकार परिवर्तन भइहाल्छ ।  
भनेपछि राजनीतिक अस्थिरता मुख्य जड हो ?
हो । राजनीतिक अस्थिरता समाप्त हुनबित्तिकै धेरै समस्याको समाधान हुन्छ । 
नेपाली सांगीतिक उद्योग र संगीतकर्मीलाई केही सुझाव ?
भाषा र भाका बेग्लाबेग्लै कुरा हुन् । यसमा हामीले विचार पुर्याउनुपर्छ । बाह्य भाषालाई नेपालीकरण गर्नु हुँदैन । यो गम्भीर विषय हो ।  
तस्बिरः रोजित खड्का
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १७, २०७३  १४:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC