site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
‘जोखिम मोलेरै राजनीतिक चलचित्र बनाएँ’
Sarbottam CementSarbottam Cement

दीपकराज गिरी नेपाली चलचित्र र हास्यव्यङ्ग्य क्षेत्रका लागि परिचित नाम हो । पछिल्ला केही वर्ष यता उनी सानो पर्दालाई छोडेर ठूलो पर्दामा केन्द्रित छन् । हरेक वर्ष उनी नेपाली चलचित्र रिलिज गर्दै आएका छन् । यो वर्ष दीपक ‘छ माया छपक्कै’ लिएर आउँदैछन् । अक्सर दसैंमा उनका चलचित्र रिलिज हुँदै आएकोमा यो वर्ष दीपक दसैं पछि पुगे । हिन्दी चलचित्र ‘वार’ आएपछि सोलो रिलिजका लागि दीपक दसैं लगत्तै असोज २४ गतेका लागि पुगेका हुन् । फुल कमेडीप्रधान चलचित्र बनाउने दीपक यसपटक राजनीतिक विषयलाई उठान गरेको बताउँछन् । चलिरहेको ट्रेन्डलाई पच्छ्याउनुभन्दा नयाँ ट्रेन्ड सेट गर्ने उद्देश्यले राजनीतिक विषयलाई उठान गरेको उनी बताउँछन् । चलचित्र ‘छ माया छपक्कै’का विषयमा केन्द्रित रहेर दीपकराज गिरीसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः 
० ० ०

चलचित्रको प्रचारका लागि तयार पारिएको गीत ‘बीच्च बीचमा’मा विवाद जस्तो देखियो । धेरैले आलोचना गरे नि ! के भन्नु हुन्छ ?
यसलाई विवाद नभनौं होला । म ढाँट्ने काम कहिल्यै गर्दिन । दुई अर्थी लगाउने शब्द हो नै । व्यक्तिको दिमाग, मन अनुसार बुझ्ने हो । हामी गाउँघरमा मेरो विवाह हुँदैछ भन्दैनौं । मेरो ‘ब्या’ हुन लाछ भन्छौं । यो वर्ष ब्या हुने हो भनेजसरी गीतमा पनि त्यस्तै शब्द प्रयोग गरेकै हो । दर्शकले जसरी बुझ्नु हुन्छ, उहाँहरुलाई नै छोड्दिऊँ भनेर छोड्दिएको हो । 

तपाईं आफैंमा क्रिएटिभ व्यक्ति तथा कलाकारका रुपमा चिनिनुहुन्छ । तपाईं जत्तिको व्यक्तिका लागि पब्लिसिटी गर्न यसरी दुई अर्थी शब्द तथा लय प्रयोग गर्नु आवश्यक पथ्र्यो ?
यो कुरा कसरी मलाई महसुस भयो भने हाम्रो ट्रेलर आयो । ट्रेलेर परम्परागत नबनाउँ भनेर हसाउने ट्रेलर नबनाएर अर्थपूर्ण ट्रेलर बनायौं । हाम्रो चलचित्र पोलिटिकल चलचित्र भनेर देखाउनु थियो । हसाउने ट्रेलर नभएपछि यो फिल्म यो पटक नजाने भयो भने । 

Prabhu Bank
Agni Group
NIC Asia

हाम्रो चलचित्रको मुख्य गीत ‘जुनको जुनेली’ एकदमै शब्द तथा लय भएको राख्यौं । त्यसैगरि छायांकन गर्यौं । साथीहरुसँग झगडा गरेर मैले त्यो गीत राखेँ । फास्ट नम्बर मात्रै चल्छ भन्ने थाहा हुँदाहुँदै अग्र्यानिक गीत राखेँ । तर नेपाली चलचित्रको क्षेत्र र प्रवृत्ति सबैलाई थाहै छ । ल यो पटक यिनीहरुको चलचित्र पनि गयो भन्न थाले । ओहो कस्तो राम्रो टिपिकल गीत राख्नुभयो भन्नुपर्नेमा उनीहरु यसलाई नचलेको, लोकप्रिय नभएको रुपमा बुझ्छन् । 

तर, बजार त बजार हो । भोली एकाध मान्छेले भन्लान्कस्तो राम्रो भनेर बाँकीले ताली पिट्नेवाला छन् । सबैले चलचित्र सफल कि असफल भनेर हेर्ने त बक्सअफिस रिपोर्ट नै हो । चलचित्र सफलताको मापदण्ड कि अस्कर हुन्छ कि ग्राहक (दर्शक) हुन्छ ।

Global Ime bank

यसको परिणाम तपाईंले देखिहाल्नुभयो मैले अर्को गीत कस्तो बनाएँ ।

दसैं पछि ‘छ माया छपक्कै’ रिलिज हुँदैछ ।पब्लिसिटीमा  दसैं अगाडि र पछाडि सहज हुँदोरहेछ ?
प्रयोग हो । ममा पनि धेरै आत्मविश्वास छैन । नेपाली चलचित्र क्षेत्रभित्रको राजनीति तपाईंलाई थाहै छ । चलचित्रको ब्रान्ड भ्यालु छ भने सुरुका तीन दिन कसैले पनि रोकेर रोक्न सक्तैन । अगाडि राम्रा चलचित्र दिनुभएको छ भने यसको चलचित्र राम्रो हुन्छ भनेर तीन दिन कसैले रोक्न सक्तैन । तीन दिनलाई समस्या छैन । तीन दिनपछि संसारका हरेक चलचित्र आफैं बोल्नुपर्छ । कन्टेन्ट नै बलियो हुनुपर्छ । म मेरो विश्वास पनि यही नै हो । 

तर यो पटक मैले पोलिटिकल फिल्म बनाएर रिक्स मोलेको छु । नेपालको इतिहासमा पोलिटिकल फिल्म हिट भएको छैन । तर म यो पोजिसनमा आइसकेपछि, रेकर्ड नै रेकर्ड मेरो नाममा भइसकेपछि, यति धेरै पैसा कमाइसकेपछि मैले पनि रिक्स नलिए कसले लिन्छ भन्ने आत्मबोध भयो । मेरो जिन्दगीको छैटौं चलचित्रमा आइपुग्दा मैले रिक्स लिनुपर्छ भन्ने लाग्यो । विस्तारै मैले मेरो चलचित्रलाई गह्रुङ्गो बनाउँदै लैजानुपर्छ भन्ने लाग्यो । त्यसैले ‘छक्का पञ्जा–३’ देखि नै मैले आफ्नो चलचित्रलाई गह्रुङ्गो बनाउँदै लगेको छु । यसपटक अझै एक स्टेप माथि चढ्न खोजेको छु । 

जिन्दगीमा चलेको कुरापछि मात्रै दौडिनु हुँदैन ट्रेन्ड सेट पनि गर्दै जानुपर्छ भनेर रिक्स पनि लिएको छु । त्यति धेरै आत्मविश्वास पनि छैन मलाई तर केमा म विश्वास गर्छु भनेर चन्द्रमामा गएर घर बनाउने विषयमा पनि चलचित्र बनाउन सकिन्छ तर कथा भन्ने शैली गज्जव हुनुपर्छ । 

दसैंको विदा लगत्तै कलेज, कार्यालय सुरुभएपछि तपाईंको चलचित्र रिलिज हुँदैछ । त्यस्तो अवस्थामा तपाईंको चलचित्र हेर्न दर्शक आउलान् भनेर कसरी विश्वास गर्न सकिन्छ ?
तपाईंले जुन प्रश्न गर्नुभयो अहिले नेपाली चलचित्र क्षेत्रका सारा मान्छेको दिमागमा भएको यो प्रश्न हो । मान्छे घर फर्किरहेको, काममा फर्किरहेको, स्कुल कलेज सुरु भएको अवस्थामा दीपकले चलचित्र लगाउँदैछ, यसको राम्रो छैन भनिरहेका छन् । तर मेरो चलचित्र चलेपछि के भन्छन् भने, दसैं पछि आनन्द थियो । केही तनाव थिएन त्यसैले चलचित्र हेरिदिए भन्ने समाज हो यो । दसैंको ह्याङ उतार्नु थियो, टीका लगाएको पैसा पनि थियो त्यसैले हेरे भन्ने समाज हो यो । 

तपाईं यो भन्दै हुनुहुन्छ, हाम्रो समाज नकारात्मक मात्रै छ !
यसमा तपाईं ढुक्क हुनुस्, म पनि ढुक्क छु । हाम्रो समाज असाध्यै नकारात्मक छ । कुनै पनि घटना भयो भने त्यसको सकारात्मक पाटो त पछि मात्रै आउँछ । सुरुमा नकारात्मक कुरा त आउँदैआउँदैन । 
घोडामा चढेर आउने कि डोर्याएर आउने भन्ने कार्टुन पक्कै पनि तपाईंले हेर्नु भएको छ । त्यो कार्टुन हाम्रो लागि मात्रै बनेको जस्तो लाग्छ । घोडा चढ्यो भने पशुमाथि अन्याय भयो, डोर्यायो भने माल पाएर के गर्नु चाल पाए पो भन्छ यो समाज । 

तपाईं मेरा अघिल्ला चलचित्र नै मेरा प्रतिस्पर्धी चलचित्र हुन्, कलेक्सन र गुणस्तरका हिसावले भन्दै आउनु भएको छ । अघिल्ला चलचित्रलाई कत्तिको प्रतिस्पर्धी ठानिरहनु भएको छ ?
दबाब धेरै छ । राजनीतिक रुपमा मलाई जतिसुकै रोक्न खोजे पनि सोलो रिलिज गर्ने जुन लक्ष्य थियो, त्यो पूरा भयो । तर चलचित्रको कन्टेन्टमा म विश्वास हुनैपर्छ । म त्यस्तो समयमा आउँदैछु जुन समय मान्छे घरबाट काममा फर्किने बेलामा, स्कुल कलेज लाग्दैछ । यस्तो बेला मेरो विषय र प्रस्तुती बलियो हुनुपर्छ भन्नेमा म विश्वस्त हुनुपर्छ । दबाब फिल गरेको छु । त्यसैले दसैंमा पनि मेरो ध्यान चलचित्रमा छ । ब्रम्ह्ले भ्याएसम्म सानो सानो कुरामा पनि ध्यान दिइरहेको छु । 

व्यावसायिक रुपमा कसरी हेरिरहनु भएको छ ?
कन्टेन्ट बलियो छ । त्यसैले रिक्स लिएको छु । तर छक्का पञ्जाको रेकर्ड ब्रेक गर्छ भन्ने आश मैले गरेको छैन । ९–१० करोडको ब्यापार गर्ने अनुमान लगाएको छु । किन भने फुल कमेडी ‘छक्का पञ्जा’ हैन । हलमा गएपछि तपाईंले थाहा पाउनुहुन्छ । २०–२५ मिनेट लगातार कतै पनि हाँस्न पाउनुहुन्छ । 

चलचित्र निर्माणमा तपाईंको आफ्नै टिम छ । यसअघि तपाईं लगायतको कथा हुन्थ्यो । दीपाश्री निरौलाको निर्देशन हुन्थ्यो । तर यो पटक दीपेन्द्र लामालाई निर्देशकका रुपमा टिममा भित्र्याउनुभयो नि ! 
दीपेन्द्रजीले मलाई एक लाइनको स्टोरी सुनाउनु भयो । मलाई फिल्म लाइन मनपर्यो । उहाँसँग स्क्रिप्ट नै रहेछ, लिएर आउनुभयो । तर मैले उहाँलाई भने तपाईंको स्क्रिप्ट बलियो छैन तर थिम बलियो छ । त्यसैले तपाईंको स्क्रिप्ट हैन म थिम लाइन लिन्छु । तपाईं नै निर्देशन गर्नुस् । असिस्टेन्ट डाइरेक्टरका रुपमा रहिहाल्छु भनेँ । दीपेन्द्रजीलाई मैलै एक सेकेन्ड पनि छोडेको छैन । त्यसैले यो चलचित्र दीपेन्द्रका विगतका चलचित्र जस्तो हैन दीपक दीपाकै फिल्म जस्तो लाग्छ । यसमाढुक्क हुन म दर्शकलाई आग्रह पनि गर्छु । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६  १०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC