‘एम सर’को विद्रूप पतन !

‘एम सर’को विद्रूप पतन !

सिन्धुपाल्चोक । म यतिबेला माइला विकको आरनमा छु । संयोग नै भन्नुपर्छ– दुई दशकअघि आजकै दिन यो आरनमा आएथेँ ।

आरनमा बिष्टहरू भरिभराउ थिए । प्रौढ माहिला दाइको हात बडो फुर्तिला थिए । सिरुपाते जुँगा हल्लाउँदै लिहिलीमा घन बजार्थे । हँसिया, कचिया, कोदाला–कोदालीमा पाइन हालेपछि उनी उही रफ्तारमा खलाँती चलाउँथे । 

आज माइला दाइको आरनमा त्यति भीडभाड छैन । न बिष्टहरू नै छन् । भाँडावर्तन पनि छैनन् । भाँडाकुँडाका नाममा अर्जाप्न बाँकी दुई थान हँसिया छन् । पर्तिर कुनामा एउटा नाल नगाँसेको कोदालीको पातो देखिरहेको छु । छेउमा दुईवटै कडा खुस्किएको खड्कुलो छ । कुनै गरिब बिष्टको होला !

माइला दाइको आरन समग्र सिन्धुपाल्चोकको ताजा चिनारी हो । भन्नुहोला कसरी ? २०७२ वैशाख १२ र २९ गतेको सर्वविनासकारी भूकम्पपछि गाउँ, गाउँ रहेन, उजाड र उराठ बस्तीमा बदलिइसकेको छ । गाउँहरू एकादेशको कथा बनेका छन् ।

ध्रुव तारा नअस्ताउँदै दस गाउँ ब्यूँझाउने गरी बज्न थाल्ने आरनको सङ्गीत निष्प्राणप्रायः छ । भूकम्पले बस्ती निमोठेजस्तै आरनहरूको पनि प्राण हरण गर्‍यो । दुईपाखे माइला दाइको आरन पनि भूकम्पले एकपाखे तुल्याइदिएको छ । त्यसैले नै यो आरन सिङ्गो सिन्धुपाल्चोकको विदारक विम्ब बनेको हो ।

भूकम्पले गावैं उग्लिएपछि प्रायः मानिसहरू बसाइँ सरिसकेका छन् । त्यही मेसोमा कामीगाउँका शिल्पी विश्वकर्माहरूले पनि मूलथलो छाडे । काठमाडौंका ओसिला गल्लीका ‘आप्रबासी’ बने । 

नियतिसँगै भाग्यले पनि ठगेका माइला दाइ जीर्ण, अभागी आरन रुँगी बसेका छन् । आफूजस्तै बूढो आरन घोटी बसेका छन् । रूखका पातले झैं उमेरले छाड्दै गए पनि परिवर्तनलाई पछ्याउन पाएकोमा बडो सन्तुष्टि थियो उनलाई ।

पाठकलाई लाग्दो हो, बडा दसैंको नवमीका दिन पङ्तिकारले यो टीठलाग्दो आरनको चर्चा किन गरेको होला ? प्रिय पाठक ! आजकै दिन यो आरनको चर्चा हुनु अत्यावश्यक छ । 

१९ वर्षअघि कामीगाउँ सिन्धुपाल्चोकलाई दुईचिरा पारेर बग्ने इन्द्रावतीजस्तै नित्यनिरत थियो । अविरल, अविश्रान्त थियो । कामीदाइको अनुहार पनि त्यही इन्द्रावतीको पानीजस्तै थियो । कञ्चन । बेगिलो ।

तिनताक आरन आउने जोकोही माइला दाइको किस्सा सुन्न लालायित हुन्थे । किस्सा पस्कँदै गर्दा कहिलकाहीँ निकै भावुक हुन्थे माइला दाइ । इन्द्रावती झैं खस्रो सुस्केरा छाड्थे । तथापि हामी किस्सा सुन्न छाड्दैनथ्यौं ।

जनयुद्धको झिल्का पाखापखेरामा खसेको खबर त सुनिन्थ्यो । तर डढेलो नै सल्किइसकेको थिएन । मङ्सिर मास । मेलापातको चटारोको समय थियो । तर त्यसदिन माइला दाइलाई बेग्लै हतारो थियो । बिहेको याम चलेकाले सायद भाँडावर्तन अर्जाप्ने चटारो हुँदो हो ।

आरनमै थिए माइला दाइ । एकजना युवक हस्याङ्फस्याङ् गर्दै आए । सरासर आरनभित्र पसे । 

बडो अताल्लिएका थिए युवक । उनले माइलादाईलाई अनुनय गरे । 

“दाइ ! यो हतकडी काटिदिनूस् ! छिटो ! प्रहरी आइसक्यो !”

उनले योभन्दा ज्यादा बोल्न सकेनन् । युवकको अनुहारमा आतङ्कको डरलाग्दो छाया सलबलाइरहेको थियो ।

गाउँका केही बिराम गरेर प्रहरीले पक्रिएको युवक पो हो कि ! घनछिनो चलाउन माइला दाइको हात होइन, मुटु काम्यो ।

प्रहरी माइला दाइको करेसामै आइपुगिसकेको रहेछ । प्रहरी देख्नेबित्तिकै युवक हतकडीसँगै अलप भयो ।

केहीबेरपछि माइला दाइले पर डाँडामा दुईपटक बन्दुक पड्किएको आवाज सुने ।

“ज्यात्तेरी ! मैले हतकडी काट्न आनाकानी नगरेको भए युवक बाँच्थ्यो कि ! या म आफैंले पनि जोगाउन सक्थेँ !”

यो घटनाले माइला दाइलाई बेस्सरी लखेट्यो । महिनौंसम्म ओच्छ्यानमा ऐंठन खसिरह्यो । आफैँ माओवादीको समर्थक नभई उनको मनले शान्ति पाएन ।

माओवादीको पथिक बनेपछि बुद्धिले भ्याएसम्मको सीप प्रयोग गरेर युद्धका निम्ति खरखजाना तयार पारे । फलामका टुक्राटाक्रीको बटुलेर गरेर छर्रा तयार पारे ।

“तँलाई डा*... बाहुनका चुला ताक्छस् ?” आफ्नै बिष्टहरूको वचनले पनि युद्धको मलजल गर्न रोकेन उनलाई ।

युद्धको अवतरणपछि देशको शासन फेरियो । युद्धकर्ताहरूको आसन फेरियो । राज्यव्यवस्था फेरियो । समावेशी, आरक्षण पाएर आफ्नै जात, थर भएकाहरूको अवस्था पनि धेरथोर फेरियो । तर युद्धमा प्रत्यक्ष–परोक्ष सहयोग गरेका माइला दाइले केही पाएनन् । न आरनको नियति नै बदलियो । बरु आँखैअगाडि बिरानो बनिसकेको चौताराको एक्लो वर बने उनी ।

“बाबु ! कृष्णबादुर महरालाई त बलात्कारको बात लागेछ नि !” मलाई देख्नेबित्तिकै माइला दाइले बडो विस्मय भावमा भने ।

देशको पाँचौँ वरीयताको पद धारण गरेको सम्माननीय महिलामात्रै बसेको कोठामा रातविरात रक्सीको बोतल बोकेर गएको, बलात्कारको प्रयास गरेको खबर सुनेयता माइला दाइको मनमा चैते–हुरी चलेको रहेछ । त्यो भन्दा ठूलो अफसोस जनयुद्धका सपनाको घाँटी निमोठिएकाप्रति रहेछ ।

“पाखण्डी पो रहेछ, यस्ताले परिवर्तन ल्याउँछन् !,” सायद सपना टुटेपछि मान्छेले यसैगरी आक्रोश पोख्छ । माइला दाइको पनि मनको बाँध भत्कियो ।

बिष्टहरूको दयाको मुट्ठीमा अद्यपर्यन्त जीवन गुजारा गरिरहेका माइला दाइले जनयुद्धको हिस्सा खोजेका थिएनन् । न शासन–सत्तामा कुनै हकदाबी गरेका थिए ।

माइला दाइको सपना यत्ति थियो– रगत बगाएर आर्जेको परिवर्तनको रक्षा र विकास होस् । जनयुद्धका सारथीहरू कुबाटो नहिँडून् । देशको नीति बदलियो । आरनको नियति बदलियोस् ।

तर जनयुद्धका हर्ताकर्ताले यति चाँडै बाटो बिराउलान्, पतनको बाटो रोज्लान्, आफ्नो दुर्भाग्य आफैं बन्लान, महान जनयुद्धको सर्जकको विद्रूप अवसानको साक्षी आफैं बस्नुपर्ला भनेर माइला दाइले सपनामा पनि चिताएका थिएनन् ।

“छोरी–बुहारीको बात लागेपछि गाउँबाट खेद्ने चलन पुरानै हो । देशको सम्मानित पदमा बसेको मान्छेको यो हर्कतको सजाय जेलमात्रै हो र बाबु ?,” निरीह हुँदै प्रश्न गर्छन् ।

दूरदराजको गाउँमा छु । सहर–बजारमा जस्तो नेट–इन्टरनेटको सुविधा छैन । न सामाजिक सञ्जालमा अद्यावधिक हुन पाउँछ एकलास गाउँहरू । तथापि महरा प्रकरणले सबैको कान चनाखो बनाइदिएको छ । बाटोघाटोमा नयाँ अनुहार देखे भने बस्तीका बूढापाकाले सोधी हाल्छन्– “महरालाई प्रहरीले पक्राउ गर्‍यो रे नि ! हो ?”

रित्ता गाउँबस्तीमा दसैँको रौनक पनि पहिले–पहिलेजस्तो छैन । भूकम्पले कमेरो लगाएका, रातोमाटो पोतेका राता–सेता घरहरू त मिथ बनाइदियो नै, रोटे, जाँते र कतैकतै त लिङ्गे पिङसमेत तृष्णा बनाइदियो ।

महरा प्रकरण पनि थपिएपछि माइला दाइहरूको यसपालाको दसैं नुन नहालेको तिहुन झैं खल्लो बनेको छ । कमेरो नलगाएको घर झैं फुङ्ग उठेको छ ।

सृष्टिका सर्जक स्त्रीजाति सदैव शक्तिशाली छन् । यसबखतको मध्य दसैंमा पुनःपुष्टि भएको छ । महरा प्रवृत्तिले हदैसम्मको सजाय पाए भने कानुनको तुलोमा कोही घटीबढी छैन भन्ने तथ्य बलियोसँग स्थापित पनि हुनेछ । 

छोरी–चेली, अबला महिलाहरूमाथि कुआँखा लगाउनेलाई समाजले कहिल्यै क्षमा गरेको छैन । सभ्य र सुसंस्कृत समाजले पुस्तौंपुस्तासम्म छिःछिः र दूर्दुर गरेको र सामाजिक बहिष्करणमा परेको र सात गाउँ लखेटिएको कयौं दृष्टान्त हाम्रा सामू बाँचेकै छन् ।

कदाचित कानुनले उन्मुक्ति दिए पनि परिवर्तनका प्रणेता भनिएका महरा समाजको दृष्टिमा कहिल्यै माथि उकासिने छैनन् । माइला दाइहरूको नजरमा त महरा सर झन् धेरै गिर्ने छन् । 

दसैं दुर्गा पूजा र आराधनाको पर्व पनि हो । समाजकै दुर्गामाथि सत्ता–शक्तिको आडमा वर्षौंदेखि शोषणमा राख्ने, बाहिरबाहिर महिला मुक्तिको नारा घन्काउने भित्रभित्र महिलामाथि नै दाह्रा उद्याउने महरा प्रवृत्तिको विद्रूप अवसान भएको छ । वास्तवमा लोकतान्त्रिक गणतन्त्रको सान पनि यही हो ।

नेकपाभित्रका कृष्णबहादुर महराहरू

चाहे झापा विद्रोहको शङ्खघोष होस्, चाहे जनयुद्धको आँधीबेहरी, आजको नेकपा रगतको तमोर तरेर आएको पार्टी हो । महिला मुक्ति र समानताको वकालतको थालनी कर्ता पनि आफैं रहेको दाबी गर्छ, नेकपा । तर महिलालाई भोग–विलासको साधनभन्दा माथि नठान्ने ब्वाँसो प्रवृत्ति त्यही पार्टीभित्र बन्सो झैं मौलाउँदै छ भन्ने उदाहरण हो– महराको यौन उत्पीडन प्रकरण ।

जनयुद्धकालमा सांस्कृतिक विचलनलाई अक्षम्य अपराध मानिन्थ्यो । यौन उत्पीडन गरेको ठहरिए आलोक (काभ्रेका यामप्रसाद गौतमलाई यौन विचलनकै आरोपमा पार्टीभित्रै सफाया गरिएको थियो) बनाइन्थ्यो । उस्तै अपराधमा हिजो सफाया गर्ने आज सफाइ दिने हो भने आजको सन्दर्भमा जनयुद्धको औचित्यपुष्टि पनि हुनसक्दैन ।

महराको शालीन, भद्र व्यक्तित्वको नकाव उत्रिएर मात्रै नेकपा चौबीस क्यारेटको सुनजस्तो ‘शुद्ध’ हुने होइन । दीर्घ सोढारीलाई प्रदेशको मन्त्री र पार्टी सदस्यबाट च्युत गरेर मात्रै नेकपाको शुद्धीकरण हुने होइन । पार्टी अनुशासन पालना गर्नु र कानुन अवहेलना नगर्नु नै पार्टी शुद्धीकरणको पूर्वसर्त हो ।

नेकपाभित्र अद्यापि धेरै कृष्णबहादुर महरा छन् । जो वर्षौंदेखि यौनविकृत चिन्तनमा बाँचेका छन् । यौन विचलनको पथिक बनेका छन् । यौन विकृत मनोदशाको दलदलमा छन् । तथापि तिनले सत्ता–शक्तिको आडमा उन्मुक्ति पाउँदै आएका छन् । 

महरा काण्ड त सुरूआतमात्रै हो । नेकपाभित्र घटित काण्डहरूको पर्दाफास समयक्रममा हुने नै छ । देखाओटी र बनाओटी क्रान्तिकारी र तथाकथित कम्युनिस्ट, नैतिकवान् छवि तासको महल झैं निमेषभरमा धूलिसात हुने नै छ ।

यसअघि नेकपाका केही नेतालाई यौनको उत्पीडनको वात नलागेको होइन । कसैलाई नेतृत्वले सुनपानी छर्कियो । कसैलाई सुने पनि नसुने झैँ गर्‍यो । जनयुद्धले विकास गरेका र यौनले विनास गरेका महरा झैं प्रहरी हिरासत जानबाट रोकिए । पतन हुनबाट जोगिए ।

नेतृत्व दाहिना भएर प्राप्त हुने सुविधा सधैंभरि सम्भव छैन । पार्टीभित्र गुट कमजोर बनेपछि जतिबेलै महरा बन्ने खतरा रहन्छ । अतः आफ्नो नाम सम्झेर मःमः भन्नु र सुध्रनु नै उत्तम विकल्प हो । 

 


 

अक्षर काका

प्रतिकृया दिनुहोस
ad