site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रदेश १ ले पर्यटनबाटै कमाउने हो
Ghorahi CementGhorahi Cement

प्रदेश १ मा प्रदेश सरकार गठन भएपछि दोस्रो पूर्ण बजेट कार्यान्वयनमा गएको छ । कृषि तथा भौतिक पूर्वाधारलाई बढी प्राथमिकता दिएको चालु आर्थिक वर्षको बजेटले पर्यटनलाई समेत महत्व दिएको छ । तर अघिल्लो वर्ष सोचे जसरी काम गर्न नसकेको प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले यो पटक थालिएका कतिपय कामलाई टुंगोमा पुर्याउने योजना बनाएको छ । 
यो क्रममा कार्यप्रगति तथा तयारीको विषयमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैतले बाह्रखरीका कुमार लुइँटेलसँग कुराकानी गरेका छन् । 

प्रदेश १ को पर्यटन विकासमा प्रदेश सरकारले के कस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ ? 

पर्यटन विकास र प्रवद्र्धनका हिसाबले प्रदेश नम्बर १ निकै अगाडि छ । हामीसँग अग्ला हिमाल छन् । अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त क्षेत्र छन् । जलधारा, नदीनाला, झरना पोखरी आदि घुुम्नका लागि उत्कृष्ट छन् । हामीले यो क्षेत्रका धेरै क्षेत्रलाई पर्यटकीय हिसाबले बिक्री गर्न सक्छौँ । बराहक्षेत्र यहीं छ । दन्तकाली, बुढासुब्बा, पाथीभराजस्ता धार्मिक पर्यटकीय क्षेत्र छन् । 

Agni Group

यी क्षेत्रमा धार्मिक पर्यटकको घुइँचो अहिले पन उत्तिकै छ । प्रदेश सरकारले व्यवस्थित योजनासाथ अघि बढ्ने हो भने अझ बढाउन सकिन्छ । सरकारले देशभर छनोट गरेका एक सयमध्ये १६ वटा गन्तव्य हाम्रै प्रदेशमा पर्छन् । हामीले प्रदेशको पहिलो पूर्ण बजेटले पर्यटनलाई प्राथमिकतामा राखेको छ । 

तर, प्रदेश सरकारले योजनाहरुमा छुट्याएको बजेट सोचेजसरी खर्च गर्न सकेको छैन अनि जति काम हुनुपर्ने त्यो भएको छ ? 

Global Ime bank

प्रदेश सरकार पहिलो वर्ष आफ्ना संरचना र कर्मचारीको अभावमा थियो । तर, हामीले भौतिक पूर्वाधारपछि पर्यटनमा छुट्याएको बजेटलाई सदुपयोग गर्ने काम गरेका छौँ । 

अब सरकारले बल्ल गति लिन सुरु गरेको छ । आफ्नै संरचना तयार भएका छन् । पर्यटनमा पनि हामीले पर्यटकीय क्षेत्रको वृत्तचित्र बनाउने र ती क्षेत्रबारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी गराउने कामलाई सुरुवात गरिसकेका छौँ । 

प्रदेश सरकारले हिमाली पहाडी क्षेत्रमा ट्रेल निर्माण गर्ने र मठमन्दिर संरक्षण र रंगरोगनको कामलाई समेत आफ्नो चासोमा राखेर काम गरेको छ । सप्तकोशीमा सांसद विकास कोषको बजेटबाट जेटबोट सञ्चालन गर्न सहयोग गरिएको छ । यसले पनि यात्रा गर्न र पर्यटकलाई नयाँ अनुभव लिन सहयोग पुगेको छ ।

भारतसँग जोडिएको प्रदेश १ सँगै टाँसिएका बंगाल, बिहार, सिक्किम जस्ता प्रदेश अनि नजिकैको भुटान तथा तिब्बतका पर्यटक यहाँ ल्याउने धेरै सम्भावना पनि छन् । यसका लागि सरकारको के योजना छ ?

हामीले भर्खरै सुनसरीको धरानमा इस्ट टुरिजम मार्ट आयोजना गरिएको छ  । यसमा निजी क्षेत्रलाई सहभागी गराएर  प्रदेश सरकारले नै काम गरेको हो । 

भारत, भुटानसहित अन्य क्षेत्रका पर्यटन व्यवसायीलाई ल्याएर हाम्रा क्षेत्रको विषयमा जानकारी गराउने, उनीहरुलाई तत् क्षेत्रमा लगेर घुमाउने र पर्यटन विकासबारे जानकारी गराउने काम भएको छ । 

तिनै पर्यटन व्यवसायीले उनीहरुका क्षेत्रका पर्यटकलाई घुमाउन उत्प्रेरित गर्नेछन् भन्ने नै कार्यक्रमको प्रमुख उद्देश्य हो । यो मार्ट दोस्रो श्रृंखला हो । प्रदेश सरकारले नजिकका देश र क्षेत्रका पर्यटकलाई आफ्नो क्षेत्रमा ल्याएर घुमाउने, केही दिन बस्ने र पैसा खर्च गर्ने वातावरण बनाउन कुनै कसर बाँकी राख्ने छैन । भेडेटार, हिले, गुफापोखरी, इलाम, ताप्लेजुङ धेरै क्षेत्र पर्यटकीय हिसबले समृद्ध छन् । तर, पर्यटक लुम्बिनी, पोखरा र चितवनमात्र पुग्नुपर्ने भन्ने मान्यतालाई अब हामी तोड्न चाहन्छौं । घुम्ने ठाउँ अन्यत्र पनि छन् भन्ने सन्देश दिन जरुरी छ । हामी हाम्रा पर्यटकीय क्षेत्रको मार्केटिङ गर्ने अभियानमा छौं । 

पर्यटन विकास र प्रवद्र्धनका लागि सरकारले निजी क्षेत्रसँग के कस्तो सहकार्य गर्ने योजना बनाएको छ ? 

पर्यटनको निकै ठूला हिस्सा निजी क्षेत्रसँगको सहकार्यबाट अहिले पनि सञ्चालन भइरहेको छ । हामीले टुरिजम मार्टको कन्सेप्ट पनि यसकै लागि ल्याएको हो । पर्यटनको विकासमा निजी क्षेत्रको सहकार्य र सहयोगबिना सम्भव छैन । 

त्यसैले प्रदेश सरकारले आफ्ना अभियानहरुलाई निजीक्षेत्रसँग जोड्न चाहन्छ । हामी साथसाथै हो प्रदेशको समृद्धि प्राप्त हुने । सरकार एक्लै हिँडेर गन्तव्यमा पुग्न सकिँदैन भन्ने हामीले बुझेका छौँ । सरकारले पर्यटन र भौतिक पूर्वाधार विकासमा समेत निकै प्राथमिकता दिएको छ । पूर्वाधारबिनाको पर्यटन विकास हामीले कल्पना गर्न सक्दैनौं । त्यसैले यसमा पनि हामी सचेत छौँ । 

तर, निजीक्षेत्रकै प्रयासमा थालिएको माउन्टेन फ्लाइटले निरन्तरता पाउन सकेन । दुई पटक उद्घाटन भएर टेस्ट फ्लाइट भयो अनि रोकियो नि ? 

माउन्टेन फ्लाइट निरन्तर गर्न केही कठिनाइ भएकै हो । प्रदेश सरकारले पनि पहल लिएकै हो । तर, विराटनगर विमानस्थल क्षेत्रीयस्तरको नहुन्जेल केही समस्या भएको महसुस हामीलाई पनि भएको छ ।
फेरि मौसमलगायत कारणले पनि पहाडी तथा हिमाली क्षेत्रमा सधैँ यस्तो फ्लाइट सञ्चालन गर्न कठिनाइ हुने रहेछ । राम्रो उद्देश्य बोकेर थालिएको अभियान भएकोले सरकारले यसलाई आफ्नो उच्च प्राथमिकता राखेको छ । 

काठमाडौंबाट मात्र हुने माउन्टेन फ्लाइटलाई हामीले विकेन्द्रीत गर्ने प्रयास गरेका हौं । यसमा निजी विमान कम्पनी, पर्यटन व्यवसायी र पर्यटक पनि सकारात्मक भएको हामीले पाएका छौं । यसलाई हामीले पूर्णरुपमा रोक्ने होइन निरन्तरता दिने प्रयास गर्नेछौं ।

के विराटनगर विमानस्थल तपाईंकै कार्यकालमा क्षेत्रीय रुपमा विस्तार हुन्छ कि हुँदैन ? 

यो प्रयास जारी छ । मुआब्जा दिनेलगायत काम सम्पन्न भइसकेको छ । पहिले २४ सय मिटर रनवे बनाउने भन्ने योजना छ । संघीय सरकारलाई पनि हामीले दबाब दिने काम गरेका छौं । 

यताबाट विमानस्थल विस्तारका लागि गर्ने कामको लागि समन्वय र सहयोग पनि गरेका छौं । मेरो कार्यकालमा पूरा गर्ने प्रयास हो । यहाँबाट प्रदेशका पहाडी क्षेत्रको हवाइ उडानलाई पनि नियमित गर्ने सरकारको पहल छ । अन्तर प्रदेश उडानको लागि समेत पहल थालिएको छ । 

पर्यटन वर्ष २०२० लाई लक्ष्य गरी प्रदेश सरकारले के कस्ता कार्यक्रम चलाउने तयारी छ ? 

२०२० नेपाल पर्यटन वर्षलाई सफल बनाउन संघीय सरकारसँगै हामी पनि सक्रिय छौ । सुरज वैद्य नेतृत्वमा सातवटै प्रदेशका पर्यटन मन्त्रीसमेत सहभागी भई हालै बैठक सम्पन्न भएको छ । 

हरेक प्रदेशस्तरीय रुपमा पर्यटन मन्त्रीको संयोजकत्वमा कमिटी गठन भएको छ । यसको संरक्षक मुख्यमन्त्री रहने व्यवस्था छ । प्रदेशका प्रमुख सचिव, मन्त्रालयका सचिवसमेत ४७ सदस्य कमिटीको बैठक तत्कालै राख्ने योजना बनाएको छु । त्यसपछि प्रदेशमा पर्यटन वर्षलाई लक्षित गरी हुने कार्यक्रमहरु पनि तय हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १३, २०७६  १४:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC