site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

राजनीतिक दल विशेषगरी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता र कार्यकर्ताको बोली र व्यवहारले देशलाई मुठभेडतर्फ घकेल्न लागेको संकेत देखिन थालेको छ । सरकार गठन भएलगत्तै नेकपाका अध्यक्ष प्रधानमन्त्री केपी ओलीसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको दम्भ र दर्प प्रकट हुन थालेको थियो । क्रमशः त्यो तल्ला तहका कार्यकर्तामा पनि सर्दै गयो । हालैका सातामा मात्र विपक्षीमाथि भौतिक आक्रमणका थुप्रै घटनामा नेकपाका कार्यकर्ता संलग्न भएका छन् । नेपाली कांग्रेसका बाँके जिल्ला सभापतिको हात भाँचेर सुरु गरिएको वितण्डा भ्रष्टाचार विरोधी अभियन्तामाथि आक्रमण हुँदै तनहुँको रिसिङमा गाउँपालिका भवन शिलान्यास गर्न पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्यको बाटो छेक्ने अवस्थासम्म पुगेको छ । प्रमुख विपक्षी दलका कार्यकर्ता भौतिक आक्रमण वा प्रतिवादमा त उत्रिसकेका छैनन् तर तिनका नेताका अभिव्यक्ति भने मुलुकलाई मुठभेडतर्फै घचेट्ने गरी असहिष्णु हुँदै गएको देखिएको छ ।

सत्तारुढ दलका नेता कार्यकर्ताले पनि विपक्षीले जस्तै विरोध प्रकट गर्न पाउँछन् । आपत्ति र चिन्ताको विषय भने सत्तारुढ दलका कार्यकर्ताले प्रयोग गरेको भौतिक आक्रमणको शैली हो । त्यसभन्दा पनि डरलाग्दो प्रवृत्ति सत्तारुढ दलका कार्यकर्ताले फासिस्ट शैलीमा विरोधीमाथि भौतिक आक्रमण गर्दा पनि स्थानीय प्रशासन तमासा हेरेर बस्नु हो । बाँके, चितवन र तनहुँको घटनामा स्थानीय प्रशासनले देखाएको निस्पृहता आपत्तिजनक देखिएको छ । चिन्ताको अर्को विषय आफ्ना पार्टीका कार्यकर्ताले पञ्चायतको बदनाम ‘मण्डले’ शैलीमा फासिस्ट चरित्र देखाउँदा पनि सत्तारुढ दल र सरकारको नेतृत्व पंक्ति मौन रहेर समर्थन गर्नु हो । सरकारले नै यसरी अराजकता र हिंसाको उपाय अपनाउन थालेपछि राज्यविरुद्ध हतियार उठाउनेको नैतिक जित हुन्छ । अर्कातिर, कम्युनिस्टहरूमा देखिको अहंकार र हिंसात्मक फासिस्ट प्रवृत्तिको प्रतिवादमा नेपाली कांग्रेसका नेताहरू पनि अलोकतान्त्रिक अभिव्यक्ति दिन थालेका छन् । अहिले सडकबाट सरकार बदल्ने हुँकार गर्नु कम्युनिस्टहरूलाई थप फासिस्ट हुन उक्साउनु नै हो । 

संसद्मा प्रचण्ड बहुमत भएकाले हो कि सत्तारुढ दलका नेतालाई विपक्षको अस्तित्व स्वीकार गर्नै मन नलागेको देखिँदै गएको छ । सत्तारुढ दलका नेताले तुजुक देखाउन थालेपछि नै नेकपाका कार्यकर्ता विपक्षीविरुद्ध भौतिक आक्रमणमा उत्रिन थालेका हुन् । प्रशासनको आडमा विपक्षको मुख थुन्न भौतिक शक्ति प्रयोग गर्ने प्रवृत्ति नै फासीवाद हो । पञ्चायतका मण्डलेहरू पनि फासिस्ट प्रवृत्तिका थिए । मण्डलेहरूको ज्यादतीले पनि जनतामा पञ्चायती शासनप्रति वितृष्णा बढाएको थियो । अहिले पनि नेकपा (नेकपा) नेताहरूले चाटुकारहरूको कुरा नसुनी जनभावना बुझे भने सरकारप्रति आक्रोश र वितृष्णा निकै बढेको पाउनेछन् । लोकतान्त्रिक देशमा सरकार प्रमुखले आफ्नै देशका नागरिकमाथि अरिंगाल भएर जाइलाग्न वा बघिनी भएर झम्टन कार्यकर्तालाई आह्वान गर्दैनन् । भनिन्छ, व्यक्तिले अवचेतनमा रहेको विचार बोलीबाट प्रकट गर्छ । त्यस आधारमा हेर्दा प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्षको कथनमा सर्वसत्तावादी चरित्र र मनसुवा प्रकट भएको देखिन्छ । नेकपा लोकतन्त्रप्रति प्रतिबद्ध छ भने हालैका घटनाहरूको गम्भीर समीक्षा गरी कार्यकर्तालाई संयमित, लोकतान्त्रिक, मर्यादित हुन तत्काल स्पष्ट र कडा निर्देशन सार्वजनिकरूपमा दिनुपर्छ । यस्तै, नेपाली कांग्रेसले सडकबाट सत्ता पल्टाउनेजस्तो अलोकतान्त्रिक अभिव्यक्ति दिन छाड्नुपर्छ । नत्र मुलुक केही विज्ञहरूले अनुमान गरेजस्तै मुठभेडमा लाग्नेछ । अर्को मुठभेड भयो भने नेपालको राष्ट्रियता र लोकतन्त्र नै जोखिममा पर्नेछ ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १३, २०७६  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC