अमरको कथा

अमरको कथा

सरुभक्त


उडानको अघिल्लो रात अमरले काठमाडौं, बागदरबारस्थित एउटा लजमा बसी झन्डै रातभरि नै विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय टीभी च्यानलहरूमा ‘ब्रेकिङ न्युज’का रूपमा ओसामा बिन लादेन मारिएको कति वास्तविक, कति अवास्तविक दृश्यहरू हेरेको थियो । ईस्वी संवत् २०११, मे २ तारिख । पाकिस्तानको एबोटावाद । अग्ला पर्खालहरूले घेरिएको एउटा घर । ब्ल्याक् हाँक् नामका अमेरिकी फौजी हेलिकप्टरहरूको आकस्मिक अवतरण ! अवतरणका क्रममा तीनमध्ये एक ब्ल्याक हाँक् दुर्घटनाग्रस्त भएपछि राष्ट्रपति बाराक ओबामाको आदेशबमोजिम कमान्डो कारबाही आरम्भ । घरको माथिल्लो तलामा गोली प्रहार गरी ओसामा बिन लादेनको हत्या । उनको शवसहित अलकायदासित सम्बन्धित हुन सक्ने सामानहरू कब्जा गरी कमान्डोहरू फिर्ता । कमान्डो कारबाहीमा मारिएका अन्य शवहरू –ओसामा बिन लादेनकी श्रीमतीको सहित– कमान्डोहरूले घटनास्थलमै छोडी गएको समाचार । र, समाचारहरूको अन्त्यमा, ओसामा बिन लादेनको शवलाई प्रशान्त महासागरको कुनै अज्ञात स्थलमा इस्लामी धर्मअनुसार जलसमाधि दिइएको समाचार । 

सबैजसो समाचारको प्रमुख स्रोत राष्ट्रपति बाराक ओबामा । उनले ह्वाइट हाउसको सिचुएसन रmममा विदेशमन्त्री हिलारी क्लिन्टनसहित अन्य सहयोगीहरूका साथ बसेर प्रत्यक्ष रूपमा कमान्डो कारबाही अवलोकन गरेका थिए अनि दुनियाँलाई पहिलोपल्ट कमान्डो कारबाहीमा ओसामा बिन लादेन मारिएको जानकारी गराएका थिए । 

अमरले रातभरि देखेको बाराक ओबामाको गम्भीर अनुहार सम्झ्यो, साथसाथै ओसामा बिन लादेनको गोली लागी विकृत भएको अनुहार पनि सम्झ्यो । सामान्य रूपले भन्दा ओसामा बिन लादेन मारिंदा उसलाई खुशी लाग्नुपर्ने हो, जसरी युरोप–अमेरिकातिर कति मान्छेहरू खुशी भएका थिए । ग्राउन्ड जिरो वरपर पनि मानिसहरू खुशीले झुमेका थिए तर उसले भावुक हुनुबाहेक खुशी अनुभव गर्न सकेन । ओसामा लादेनले अलकायदा गठन नगरेका भए र नाइन इलेभेनको घटना नगराएका भए उसको जेठो छोरो आरम्भ अहिले पनि जीवित हुन्थ्यो । नाइन इलेभेनका घटनामा लादेनको हात भएसम्म उनी उसको छोरोको हत्यारो हो । त्यसैले प्रतिशोधमा खुशी मनाउँदा दुःखहरूलाई किन दुःख लाग्नु आवश्यक छ ?

आहा ! जीवनको भयानक दुःख कसरी सुखमा परिणत हुन सक्छ ? जीवनको भयानक पीडा कसरी सन्तोष र आनन्दमा परिणत हुन सक्छ ?लादेनको भौतिक अस्तित्व दुनियाँबाट मेटिएर कसरी उसको अजम्मरी दुःख र पीडा समाप्त हुन सक्छ ? नाइन इलेभेनको घटना हुनुभन्दा १० मिनेट पहिले आरम्भले उसलाई नर्थ टावरको एकानब्बेऔं तलाबाट, जहाँ उसले काम गर्ने व्यावसायिक कार्यालय थियो, आकस्मिक रूपले सेलफोनबाट सम्पर्क गरेको थियो, “बाबा ! जन्मदिनको हार्दिक शुभकामना ! म भरे कामबाट फर्कंदा हजुरलाई लोअर म्यानहाटन मलबाट एउटा सुट किनेर ल्याउँछु, मेरो पहिलो तलबबाट ।”

आरम्भले हतारमा सेल गरी हतारमा काटेपछि उसले पनि हतारमा सेल गरी भन्न चाहेको थियो, “बाबू, शुभकामनाका लागि धेरै–धेरै धन्यवाद तर मलाई सुट ल्याउनु आवश्यक छैन । आफ्नो पहिलो तलबबाट आपूmलाई जे आवश्यक छ, त्यो किन्नु अनि बाँकी बचाइराख्नू । यो दुनियाँको अघोषित राजधानी न्युयोर्कमा सुखपूर्ण भविष्य निर्माण गर्न मान्छेले अनावश्यक खर्च गर्न होइन, आवश्यक बचत गर्न सिक्नुपर्छ ।”
दुर्भाग्यवश उसले भन्न चाहेको कुरा भन्न पाएन । कारण, आरम्भको सेलफोन उठेन, धेरैचोटि प्रयास गर्दा पनि । उसले अभ्यस्ततापूर्वक सोच्यो, बिहानको समय कार्यालय पुग्नासाथ व्यस्त भयो होला । अब के गर्ने ?
उसलाई लागेको थियो, आरम्भले ल्याउँछु भनेको उपहारलाई मायाले नल्याउनु भन्नका लागि उसले गम्भीर रणनीति बनाएको छ । रणनीतिले काम गर्ने छाँट नदेखेपछि उसले मायालु स्वास्नीलाई सेलफोनमा गुहार मागेको थियो । मायालु स्वास्नीले उसलाई अपेक्षित गुहार नदिई सहज रूपले हाँसिदिएको थिई, “के भयो त, आरम्भलाई आफ्नो पहिलो तलबबाट जे उपहार ल्याउन मन छ, ल्याउन दिनु न त । ऊ हजुरलाई बाबा मात्र होइन, आफ्नो जीवनको आदर्श पनि सम्झन्छ ।”

मायालु स्वास्नीको कुरा सुनेपछि, बिनाहारगुहार उसको मन असीमित खुशीले भिजेको थियो । उसलाई अपर मानहाटनको साठीऔं तलाको आफ्नो कार्यालयबाट भुर्र उडेर नर्थ टावरमा पुगुँ र आफ्नो प्राणप्रिय छोरोलाई अँगालो मारी चुमुँजस्तो लागेको थियो तर यसको तीन मिनेटपछि मायालु स्वास्नीले रmँदै नर्थ टावरमा अमेरिकन एयरलाइन्सको जेट विमान ठोक्किएको खबर सुनाएपछि उसको होसहवास उडेको थियो । 
“कतिऔं तलामा ?”, अलिकति होस सम्हालेर उसले सोध्न चाहेको थियो । कार्यालयका सहकर्मीहरूले टेलिभिजनमा नर्थ टावरको प्रत्यक्ष प्रसारण हेर्न थालेपछि भयानक सन्त्रासले उसको बोली घाँटीमै अड्केको थियो । ऊ कसैलाई केही नभनी पागल जस्तो भई ट्विन टावर्सतर्फ दौडेको थियो । दौड्दादौड्दै उसले आरम्भसित सेलफोनमा सम्पर्क गर्ने प्रयास पनि गरेको थियो । प्रयासहरू सबै विफल भएपछि ऊ एकोहोरो मनले छोरोलाई भनिरहेको थियो, “बाबू ! चाँडै टावरबाट तल झर्नू ! लिफ्टमा जाम परे नपर्खनू ! भ¥याङबाट तल ओर्लनू । ! ओर्लिहाल्नु बाबू ! बाबू... बाबू ! बाबू !”

ऊ अगाडिको भित्ताभरि अमेरिकाको झन्डा टाँगिएको न्युयोर्क स्टक एक्सचेन्जको पुरानो भवनतिरबाट अगाडि भीडमा दौडेको थियो । उसले हेर्दाहेर्दै एउटा विमान साउथ टावरको बीचतिर झ्याम्म ठोक्किएको थियो । 

“हे भगवान् ! यो सब के हो ? जे भए पनि बरm मेरो प्राण लेऊ, मेरो छोरोलाई बचाइदेऊ... बचाइदेऊ... बचाइदेऊ... !” होस हराएर होसमा आएपछि उसको मनमा प्रार्थना जन्मेको थियो । ऊ ठेलमठेल भीडमा सकेसम्म बाटो खोज्दै न्युयोर्कका सबैभन्दा अग्ला १ सय १० तले ट्विन टावर्स भएतिर बढेको थियो । नर्थ र साउथ टावरका भीषण आगलागीबीच कति मान्छेहरू झ्यालहरूमा आई गुहार मागिरहेका देखिन्थे, कति मान्छेहरू उद्धार पर्खिरहेका देखिन्थे । कति मान्छेहरू ज्यानको मायामा झ्यालबाट हाम फालेर ज्यान फालिरहेका देखिन्थे । 

“हे भगवान् ! ती झ्याल–झ्यालबाट हाम फाल्नेहरूमध्ये कोही मेरो छोरो नहोस्... !”, अमरको मनमा प्रार्थनापछि प्रार्थना जन्मिरहेको थियो, आफ्नै लागि आफ्नो छोरोका लागि । झ्यालबाट हाम फाल्ने अरूका लागि प्रार्थना गर्ने न ऊसित होस थियो न समय । ऊ ठेलमठेल भीडमा बाटो हराएर एक टक नर्थ टावर र साउथ टावरका भीषण आगलागीहरूलाई कम्पित मुटुले भित्रसम्म महसुस गरिरहेको थियो । ऊ त्यहाँ हेर्न मात्र सक्थ्यो, गर्न केही सक्ने थिएन । नर्थ टावरको जुन भागमा विमान ठोक्किएर आगलागी भएको छ, आरम्भको कार्यालय भएको ठाउँभन्दा माथि नै जस्तो छ– अमरको एउटा मनले ठूलो आशापूर्वक धैर्यको घोडा कुदाइरहेको थियो ।

“यदि मेरो अनुमान ठीक हो भने मेरो छोरो सुरक्षित छ । ऊ नर्थ टावरबाट बाहिर निस्किरहेको हुनुपर्छ । मैले विश्वास गर्नुपर्छ ।”, सन्त्रस्त भीडको कोलाहलबीच उसले विवेकले सोच्यो अनि विवेककै सहारा लिई छोरोसित सेलफोनमा सम्पर्क गर्ने प्रयास गर्‍यो । समय कति बित्यो, उसले थाहा पाएन । अकस्मात् उसले हेर्दाहेर्र्दै साउथ टावर माथिदेखि तलसम्म तीव्र गतिले भत्केर भुइँमा थुप्रो लाग्थ्यो । भीडमा भागाभाग चल्यो । कोलाहलमाथि कोलाहल मच्चियो । उसले भीडको अनियन्त्रित धक्का खाँदै नर्थ टावरलाई हेर्‍यो । नर्थ टावरलाई उही अवस्थामा देख्यो । केही ढुक्क भयो तर केही समयपछि नर्थ टावर पनि माथिदेखि तलसम्म तासको पत्ताझैं भत्किएर भुइँमा थुप्रो लागेपछि ऊ धुलोको आँधीबीच वालस्ट्रिटमा बेहोस भयो । 

त्यसपछि कति दिनसम्म अमर मायालु स्वास्नीका साथ रmँदै, एकअर्कालाई ढाडस दिने असफल प्रयास गर्दै ट्विन टावर्स धराशयी भएको स्थानमा पुगेको थियो । कतै नर्थ टावरको भत्केका भग्नावशेषहरूबीच कुनै सुरक्षित कुनोबाट उनीहरूको छोरोको उद्धार हुन्छ कि ? उनीहरूले क्षीण आशा गरे तर त्यस्तो कुनै चमत्कार घटित भएन । उनीहरूको जेठो छोरो आरम्भको न जीवितै उद्धार भयो, न उसको शव नै प्राप्त हुन सक्यो ।

फुच्चे जेट विमानमा रात्रिकालीन भोजनको समाप्तिको केही अतिरिक्त समयपछि मानवीय क्रियाकलापहरू प्रायः शान्त थिए । विमान परिचारिकाहरूले धेरैजसो विमानका बत्तीहरू निभाइदिएका थिए । झ्यालका सटरहरू तलतिर झारिदिएका थिए । यात्रीहरू कोही त्यत्तिकै आँखा चिम्ली, कोही महाभारतकी गान्धारीले झैं आँखामा कालोपट्टी बाँधी सुतिरहेका थिए वा सुन्ने प्रयास गरिरहेका थिए । सहयात्री जेट इन्जिनहरूका एकनास आवाजमा आवाज मिलाउँदै घुर्न थालेको थियो । अमरले सङ्कटकालीन अवस्थितिबिना सिटबेल्टलाई जोडले समातेर टाढाको मोनिटरमा दृष्टि दियो । जेट विमान ओमानको खाडी पार गरी पर्सियाको खाडीभित्र प्रवेश गरिसकेको थियो । 

“ओसामा बिन लादेन मारिए पनि अलकायदा जिउँदै छ । अनि सबभन्दा भयानक सत्य– पेन्टागन र अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रका जुम्ल्याहा भवनहरू याने ट्विन टावर्समा मारिएका हजारौं मानिसहरू, मेरो जेठो छोरो आरम्भसहित, व्यक्तिगत रूपले न लादेन र अलकायदाका दुस्मन थिए, न बाराक ओबामा र महाशक्ति राष्ट्र मानिने अमेरिकाका दुस्मन ।” उसले मोनिटरबाट दृष्टि नहटाई सोच्यो । उसले लादेनलाई सम्झ्यो । अग्लो, सिकुटे, झुस्स दाह्रीसहित नरम दिलयुक्त मुस्कान । आम मुसलमान रूपाकृति । कतै–कुनै आतङ्कको छवि बन्दैन । उसले मृत लादेनको अनुहार सम्झ्यो । टेलिभिजनहरूले देखाएको उनको अनुहारमा बीभत्स मृत्युको छाया देखिन्थ्यो तर कुनै राक्षसी छाया देखिँदैनथ्यो । उसले खाडीयुद्धकालीन राष्ट्रपति बाबु जर्ज बुस, त्यसपछि बिल क्लिन्टन, त्यसपछि अफगानिस्तानमा तालिवानीविरmद्धका युद्ध अभियन्ता छोरो जर्ज बुस र प्रथम अश्वेत राष्ट्रपति बाराक ओबामालाई सम्झ्यो– महाशक्ति राष्ट्रको शासकीय क्रममा– सबै हलिउडका नायकजस्ता देखिए । जङ्गली साँढेजस्ता कोही देखिएनन् । तब साँढेको जुधाइमा बाच्छाको मिचाइ किन ?

अमरले टाढाको मोनिटरबाट दृष्टि फर्काइ तीक्ष्ण पीडानुभव गर्‍यो । सोच्दासोच्दै उसलाई सोचाइहरूले कुन सीमान्त बगरमा लगी हुत्याइदियो, उसले आपूmलाई थाम्न सकेन । सायद ढिलो–चाँडो हामी सबै मान्छेको नियति यही हो । हामी सबै कुनै न कुनै दिन आपूmले नगरेको अपराधको मृत्यु मर्न अभिशप्त हुनेछौं युद्धका नाममा, आतङ्कका नाममा, वैश्विक उष्णताको नाममा, आणविक दुर्घटनाका नाममा, भौगर्भिक र आकाशीय संघटनाका नाममा । पृथ्वीमा मानव जातिको, मानवसभ्यताको र मानव इतिहासको अन्त्यका लागि सिर्फ एउटा निहुँ चाहिएको छ । जीवन समाप्तिका लागि मृत्यु एक अप्रिय बहाना मात्रै हो ।
अमर नचाहँदा–नचाहँदै पनि हतासापूर्ण मनस्थितिको सिकार भयो । उसले केही समय आँखाका ढकनीहरू ओरालेर सुस्ताउन खोज्यो तर आँखाका ढकनीहरू बिग्रेका फलामका ढकनीहरूझैं जाम परिदिए । ऊ आफैंदेखि आफ्नो निरीहतादेखि हैरान पर्‍यो । 

“बाबू !”, एउटा महङ्खवपूर्ण आवाज प्रतिध्वनित भयो । अमरले सावधान भई यताउति हे¥यो । उसलाई आभास भयो, जेट इन्जिनको एकनास तीव्र ध्वनि परिवर्तित भयो । यस्तो लाग्यो, तीव्र ध्वनिमा ममत्वको न्यानो र सुमधुर ध्वनि मिसिएको छ । जहाँ ममत्वको न्यानो र सुमधुर ध्वनि मिसिन्छ, त्यहाँ निश्चय पनि तीव्रता र कठोरताका तरङ्गहरू हराउँछन् ।
“बाबू अमर !” फेरि ममत्वपूर्ण आवाज प्रतिध्वनित भयो । यो उसको मृत आमाको बोली हो भनी चिन्न उसले कुनै भूल गरेन ।
“के भन्नुभयो आमा ?” उसले सीधै सोध्यो, हतासामा आशाको किरण फेला पारेझैं गरी । 

“बाबू अमर, तिमी किन दुःखका कुरा सम्झेर आफ्नो दुःख बढाइरहेका छौ ? तिमीलाई थाहा छैन, छोराछोरी दुःखी भए भने आमाको आत्मा पनि दुःखी हुन्छ ? तिमी आफ्नो भविष्य र सपनाहरूबारे सोच न, जुन तिम्रो स्वभाव हो ।” आमा आमा भएरै बोलिन् । आमाको ममत्वपूर्ण बोली अमरको भावना, संवेदना, चेतना सम्पूर्ण अस्तित्वमा गुञ्जायमान भयो । उसलाई अन्तर्मनमा पक्राउ परेको अनुभूतिले लज्जाबोध भयो ।
“आमा, त्यस्तो केही होइन । म ठीक छु ।” उसले चाहे मृत आमालाई ढाँट्ने उपक्रम गर्न सक्थ्यो आफ्नो मनोदशालाई कछुवाले जीउ लुकाएझैं लुकाएर । आखिर दुनियाँमा दुःख सम्झेर धेरैले दुःख लुकाएकै छन्, आँसु पिएर धेरैको नक्कली हाँसो हाँसेकै छन् तर ऊ त्यस्तो कुनै उपक्रममा लागेन । उसलाई थाहा थियो, दुनियाँमा सबैलाई ढाँट्न सकिन्छ तर आमाको आत्मालाई ढाँट्न सकिन्न ।

अमर फुच्चे जेट विमानको रफ्तारबीच एक महान् स्थिरता र सुरक्षा बोध गरी मातृगन्ध र स्पर्शमा पूरै हरायो । भावावेशमा उसले आमालाई भन्यो, “तपाइ चिन्ता नगर्नुहोस् आमा, म सपनाहरूको देश अमेरिकामा हजुरको सपना पूरा गर्न, आफ्नो र परिवारको सपना पूरा गर्न नै गएको हुँ । भविष्य बनाउन नै गएको हुँ । म वचन दिन्छु आमा... म रित्तो हात फर्कने छैन... !”
भावावेशमा उसका कति भावना शब्दमा भनिए, कति भनिएनन् । आमा उसको सम्पूर्ण अस्तित्वमा भनिएका र नभनिएका सबै कुरा बुझेर मुस्कुराइन् ।
उसलेओसामाबिनलादेनलाईबिर्सिदियो।बाराकओबामालाईबिर्सिदियो ।

(बुकहिलले प्रकाशन गरेको भोलि आइतबार सार्वजनिक हुने सरुभक्तको उपन्यास प्रतिगन्धको अंश ।)

प्रतिकृया दिनुहोस
ad