site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रतिरोधी समीक्षा
Ghorahi CementGhorahi Cement

सुधीश पचौरी


जेमेसनको पोस्ट–मोडर्नको सबैभन्दा ठूलो विशेषता यस विषयलाई स्वीकार गर्नमा निहित छ कि वृद्ध–पुँजीवाद (लेट क्यापिटलिज्म)द्वारा निर्मित उत्तर–आधुनिक स्थितिमा त्यो हराएको छ जहाँबाट कुनै आलोचनात्मक विमर्श सुरु गर्न सकिन्छ । जेमेसन यस्ता साहसी माक्र्सवादी हुन् जो यस कमीलाई स्वीकार गरेर हिँड्छन् र यसलाई उनी ‘कर्ताको मृत्यु’ अर्थात् डेथ अफ सब्जेक्ट भन्छन् । ‘इतिहासको विलोप’ (इफेसमेन्ट अफ हिस्ट्री) तथा ‘आलोचनात्मक दूरीको समाप्ति’ भन्छन् । जेमेसन भन्छन्, ‘‘उत्तर आधुनिक कलाले अतीतका जुन प्रतीकहरू, शैली र थिमलाई रिसाइकल गर्छ, त्यस अतीतलाई कुनै पनि जीवित सार्थकताबाट विहीन गरिदिन्छ । अतीत अब मनोरञ्जक समाजका लागि छविहरूको कोषका रुपमा मात्रै रहन्छ ।’’ यो ‘मनोरञ्जन वा तमाशा’ गिरफ्तार कर्ता सिजोफ्रेनिक बन्छ, जसका लागि व्यङ्ग्य व्यञ्जकको शृङ्खला भङ्ग भइदिन्छ ।

कुनै पनि वाक्यको अर्थ परस्पर भेदीकृत चिह्न भएर आउँछ र जब व्यञ्जना गर्ने शृङ्खला भत्किन्छ, त्यसबेला सिजोफ्रेनिया पैदा हुन्छ, जहाँ हरेक चिह्न असम्बद्ध र असम्पृक्त अर्थात् नजोडिएको अवस्थामा परिवर्तन हुन्छ । असम्बद्ध र असम्पृक्त वा असान्दर्भिक छविहरू वा चिह्न, बिम्बको अनन्त प्रसार ‘अर्थ’लाई स्थिर गर्ने संस्था तथा प्रक्रियालाई तोड्ने काम गर्छ । यति ‘यथार्थ’ स्वीकार गरेपछि मात्रै जेमेसन भन्छन्, ‘‘उत्तर संरचनावादको विखण्डन यो स्थितिलाई तोड्ने हैन, मजबुत बनाउने हो ।’’ जेमेसन चाहन्छन् फेरि यी सबैको सर्वाश्लेषी आलोचना होस् । समीक्षा होस् । (यस्तो कामना कसैले गर्दैन होला, तर जब स्थिति बदलिन्छ त्यस अवस्थामा स्थितिको समीक्षाशास्त्र पनि बदलिन्छ । उत्तर संरचनावाद एक किसिमको तरिका हो, तर एकमात्रै तरिका भने होइन । यो कुरो उत्तर आधुनिकताले नै गर्दैआएको छ । उत्तर संरचनावादलाई छोडौं । कुनै नयाँ पद्धति ल्याउनुस् । जसमा कसैको झगडा नहोस् । माक्र्सवादको नयाँ संस्कारबाट कुनै नयाँ बाटो निक्लियोस् । एउटा बाटो उत्तर संरचनावादले देखाउँछ, तर दावा गर्दैन कि यो मात्रै एउटा बाटो हो ।)
जेमेसन भन्छन्– यदि जटिल समयमा विरोध भयो, अतीत र भविष्यको पुनर्गठित र सुर्सगत अनुभव बयान गर्ने क्षमता हरायो, त्यसबेला यो बुझ्नु कठिन हुन जान्छ, यसरी ‘कर्ता’सँग ‘टुक्राहरूको थुप्रो’ बाहेक अरु केही हुन सक्दैन । उत्तर संरचनावादमाथि जेमेसनको यो प्रहारलाई राम्रो मानिन्छ, तर चाँडै नै यसले चमक हराउन सक्छ । किनभने एकातिर यस्ता ‘कर्तव्यहीन’ कर्तालाई अस्तित्ववान् मान्छन् भने अर्कोतिर त्यस कर्तृत्वहीनतालाई औचित्य प्रदान पनि गर्ने मान्छन् । उता, उत्तर–संरचनावाद यो भ्रममात्रै पाल्दैन, उसले ‘कर्ता’ लाई नयाँ कर्तव्य दिनुछ । जेमेसन भन्छन्– रोगलाई उपचार मान्न सकिन्न । वृद्ध–पुँजीवादको सारा रोग यति व्यापक, वृहत र जटिल छ, त्यसले समकालीन संसारको असम्भव समग्रताका विषयमा केही सोच्नै सक्दैन । टुक्राटुक्रामा सोच्नु सम्भव देखिन्छ, जसले देखाउँछ, स्थिति कति भयावह छ ।

Agni Group

स्पष्ट छ, जेमेसन उत्तर–आधुनिक सिद्धान्तहरूलाई छुट दिन्छन् । पद्धतिमा उनी ‘टेक्स्ट’ बाट छुट्कारा पाउन सक्दैनन् । विचारमा उनले कर्तालाई राजनीतिक सक्रियता दिन सक्दैनन् । न त मजदुर वर्ग र न त अरु कुनै प्रतिनिधि प्रकट हुन्छन्, जसले वृद्ध पुँजीवादको  अगाडिको भविष्यका बारेमा बताओस् । यस्तो कुनै समूह सामुन्ने आउँदैन जसले हामीलाई आवश्यकताको क्षेत्रबाट पन्छाएर स्वतन्त्रताको क्षेत्रमा लैजान सकोस् । 
यस्तो भविष्यहीनतामा उनी द्वन्द्वात्मकताको आडभरोसा लिन्छन् । ‘द्वन्द्वात्मकताको माग छ हामी वृद्ध पुँजीवादको उभारलाई धनात्मक वा प्रगतिशील मूल्याङ्कनको सहारा लिऊँ ।’ यसका लागि माक्र्सको हवाला दिँदै उनी भन्छन्– माक्र्सले भनिसकेका छन्, यो विकास (पुँजीवाद) एकैसाथ नकारात्मक र सकारात्मक दुवै पक्षका बारेमा असम्भव स्थितिको हदसम्मै हामीले सोच्नुपर्छ । जेमेसन भन्छन्– ऐतिहासिक द्वन्द्ववाद अगाडि गइरहेको छ । हामीले मान्नैपर्छ जसले यो ल्याइरहेका छन्, पुँजीको महाअस्तित्वका कारण सांस्कृतिक कर्मलाई त्यस बाहिर परिकल्पना गर्नु एउटा पुरानो विचारमात्रै हो । जेमेसन मान्छन्, यसमा नदेखिएका सम्भावनाहरु पनि उपस्थित हुन सक्छन् जसले यसको विकास आफ्ना साथै पैदा गर्छ ।

(यहाँ फ्रेडरिक जेमेसनको माक्र्सको ‘पाठबाट पूरा सहमत हुन सकिन्छ । किनभने जबसम्म पुँजीवाद रहन्छ त्यसको तोड माक्र्सवाद रहन्छ नै । यस्तो मुर्खले मात्रै भन्न सक्छन् कि, माक्र्सवादको अन्त्य भइसकेको छ । खासमा विश्व पुँजीवाद साक्षात रुपमा उजागर हुँदा माक्र्सवादको विश्वरुप उत्कट ढङ्गबाट प्रकट हुन्छ ।)

Global Ime bank

जेमेसन भन्छन्– आलोचक र कलाकार यतिबेलाका सबैभन्दा ठूलो सहारा हुन् । किनभने उनीहरूले नै यो समयमा तुरुन्त गर्न सक्ने काम गर्नेछन् । आलोचकको काम हो तिनले हामीलाई वृद्ध पुँजीवादका विषयमा सचेत गराउन् । किनभने अहिलेसम्म यो कसैले पनि भनेका छैनन् ‘पुँजीवाद जान्न योग्य विषय रहेन ।’ हो यति भनिएको छ कि, प्रतिनिधि मण्डलभित्र आइरहेको छैन । उत्तर–आधुनिकतावादीहरू यही भन्छन्– तिनको प्रतिनिधित्व चालूरुपमा सम्भव हुन सकिरहेको छैन । त्यो अज्ञेय अर्थात् जान्न नसकिने विषय हो । यस्तो उत्तर–आधुनिकतावादीले भन्दैनन् । जान्न नसक्नु त्यो बेग्लै कुरो हो, प्रतिनिधि मण्डलभित्र नपर्नु अर्थात् भन्न नसक्ने अवस्थामा पुग्नु दुवै अलगअलग कुरा हुन् । कलाकारको काम हो त्यसबेला जो प्रतिनिधित्वको जिम्मा लिएर आउँदैनन्, तिनको प्रतिनिधित्व गरुन् र तिनका कुरा भनून् । क्रान्ति त्यसबेलासम्म रहन्छ जबसम्म प्रतिनिधित्वलाई एकदमै नयाँ तरिकाबाट खोज्न सकिँँदैन । जो बहुराष्ट्रिय पुँजीवादी यथार्थलाई सही प्रतिनिधित्व दिन सकून् । त्यसको बयान गर्न सकून् । फलतः व्यक्तिगत तथा समूहगत रुपमा एउटा दिशा दिन सकियोस् । हामीले कर्म तथा सङ्घर्ष गर्ने क्षमता फेरि पाउन सकौं जसलाई यतिबेला विभिन्न छविहरूले असम्भव बनाइदिएका छन् । जेमेसन मान्छन्, स्वतन्त्रता र कर्तामात्र केही समयका लागि निलम्बित छन् । र, महावृत्तान्तको प्रतीक्षा गरिँदैछ । हामीले द्वन्द्ववादमाथि विश्वास वा भरोसा गर्नु नै छ र ती सम्भावनालाई विश्वास गर्नुछ, जसले यसलाई खोल्नेछ । 

घनघोर बादलले छोपिएको अवस्थामा यो एउटा सहारा भएको छ । यो महत्वपूर्ण पनि छ । उत्तरआधुनिक यथार्थपछि जेमेसनको विश्लेषणमा निराशाको तत्व बढेको छ । किनभने यहीँ आएर उनले मानेका छन् वर्चस्वी व्यवस्थाले संस्कृतिको स्वायत्तता बच्न सक्दैन र सिजोफ्रेनिक ‘आत्म’ (कर्ता र रचनाकार)ले यस जगत्देखि आवश्यक दूरी राख्न सक्दैन । ‘थर्ड वल्र्ड लिटरेचर इन द इरा अफ मल्टीनसन क्यापिटलिज्म’मा जेमेसन भन्छन्– ‘मुक्तिका लागि हामीले पश्चिमभन्दा बाहिर हेर्नुपर्छ ।’ यो लेख ‘पोस्टमोडर्निज्म’को विस्तार नै हो जसमा जेमेसनले भनेका छन्– यो यथार्थ समग्र पहिचान वर्चस्ववादीहरूको यथार्थको ठाउँमा ‘अधिनस्थ यथार्थ’ मा उपस्थित छ । विकसित देशहरूमा मजदुर वर्गका बीच व्याप्त भ्रान्तिहरूले तिनलाई अर्को ठाउँमा पुग्न बाध्य गरिदिन्छ जहाँ उनले रुपान्तरणको सम्भवकर्तालाई पाउन सकून् । (एजाज अहमदले उनको यस  व्याकुलता र विचलितपनालाई विकसित देशहरूमा सम्भव बहुस्तरीयतालाई दमन गर्ने भनेका छन् । भन्नु आवश्यक छैन कि जान म्याकगोवानले यसलाई उनको सरल निराशावाद भनेका छन् । पश्चिमी जनता बर्बाद भएका छन् र सरल आशावादको भरोसा अब तेस्रो विश्वको भएको छ ।)

जेमेसनले पटकपटक माक्र्सवादको स्मरण गर्नु र सन्दर्भ बताउनुले यो प्रमाणित गर्छ कि उत्तर–आधुनिकताको निराकरण निन्दा गरेर हुँदैन त्यसको द्वन्द्वात्मक भिडन्तबाट नै सम्भव छ । यसबेलाको माक्र्सवाद यही नै हुनसक्छ । जेमेसनको विशेषता यो पनि हो कि उनी वृद्ध–पुँजीवादको वर्चस्वलाई  (जसको प्रकट रुप उत्तरआधुनिकता हो) माक्र्सवादको माध्यमबाट सम्झाउन चाहन्छन् । उनी भन्छन्– उत्तरआधुनिक रमाइलोको दमनात्मक रुपमा कतै त्यसको उत्तर लुकेको छ । तिनको मुक्तिको कल्पना यस उत्तरआधुनिक वर्चस्वबाट पलायन भएको छैन । जसरी माक्र्सले आलोचना गर्दै पनि पुँजीवादलाई यस्तो अस्तित्व माने जसले शोषणका साथ भविष्यको बिऊ पनि लिएर आएको हुन्छ । त्यसैगरी समकालीन माक्र्सवाद मान्दछ कि उत्तरआधुनिक स्थितिहरू (वृद्ध पुँजीवाद)ले अनपेक्षित सम्भावनाहरूको ढोका खोल्ने काम पनि गर्छ । यी सम्भावनाहरू के हुन् ? जेमेसनले अहिले बताउन सक्दैनन् । न त उनले राजनीतिक कार्य नै बताउन सक्छन् । 

जेमेसनपछि उत्तरआधुनिकतावादका अर्का महत्वपूर्ण समीक्षक टेरी इगल्टन हुन् । जेमेसन विकल्पमा सामाजिक र वर्गीय भविष्यको कल्पना गर्छन्, इगल्टन व्यक्तिगत प्रतिरोधको माक्र्सवादी संस्करणको परिकल्पना गर्छन् । भन्न आवश्यक छैन, विद्रोहका लागि व्यक्तिगत विद्रोहको सम्भावनाको यो परिकल्पना यतिबेला धेरै माक्र्सवाद चिन्तकहरूमा आम भइसकेको छ जो मूलतः ‘फुको’को असर हो जो ‘सत्ता र हित’का लागि विरोध मानिन्छन् ।

इगल्टन मान्छन्– सबै कसिमको सिद्धान्तिकी हीतवादी हुन्छ सत्तावादी हुन्छ । ‘लिटरेरी थियरी ः एन इन्ट्रोडक्सन’मा इगल्टन बताउँछन्– ज्ञान कहिले पनि मूल्य निरपेक्ष हुँदैन । ‘फङ्सन अफ क्रिटिसिज्म’मा टेरी इगल्टन भन्छन्– साहित्यिक समीक्षाको एउटा अपराध यो हो कि त्यो स्वयम् आफू निहीत राजनीतिका प्रति असचेत रहँदै आएको छ । साहित्यको सिद्धान्तिकी (सिद्धान्तका विषयहरूको)को आलोचना यसकारण पनि नहुनुपर्ने हो कि त्यो राजनीतिक हो, बरू यसकारण हुनुपर्ने हो कि जसलाई प्राविधिक, स्वयम् उपस्थित, वैज्ञानिक, सार्वभौमिक मूल्य सिद्धान्त भनिन्छ, त्यसप्रति एकोहोरो हुन्छ । अन्धो हुन्छ । यस विषयलाई सजिलोसँग हेर्न सकिन्छ कि कुनै न कुनै समूहको हितको साधन हुन्छ । इगल्टनका लागि आलोचनाको प्रकृति अनिवार्यता राजनीतिक नै हो । राजनीतिक अर्थात् सामाजिक जीवनलाई सङ्गठित गरिने प्रक्रिया पनि हो । बुद्धिजीविको काम सोझो छ । ती सिद्धान्तहरूका विषयहरूको र आलोचनात्मक विमर्श र व्यवहार गर्नु जसले तिनको हीत वृद्धिका लागि काम गर्छ । (हिन्दीका चालु माक्र्सवादी समीक्षा र प्रगतिशील आन्दोलनले यस कुरालाई सिद्धान्तको दर्जा नदिएरै यस्तो ‘कर्म’ गर्दै आएको छ ।) ‘फङ्सन अफ क्रिटिसिज्म’मा इगल्टन साहित्य र राजनीतिको सम्बन्धलाई एक सिद्धान्तिकीको दर्जा दिन्छन् । 

यहाँ एउटा प्रश्नले यस सहजतालाई अलमल्याइदिन्छ । यदि हामीले सोधौं आलोचकको ‘आफ्नो हीत’को अवधारणा के हो ? के हितहरूमा कुनै सहजानुभूति हुन्छ ? यो कठिन प्रश्न हो र उत्तर पनि यसको अधिक जटिल छ । आफ्नो हीतको अवतारणा जुन भाषामा गरिन्छ, त्यो नै आफ्नो हुँदैन भने आफ्नो हीत आफ्नो कसरी हुन्छ ? यदि साहित्य अध्ययनको भाषा सत्ताद्वारा बनाइन्छ भने त्यसबेला हामीले त्यस्तो भाषा कहाँबाट ल्याउने जो शुद्ध होस् । हाम्रो हीत बताउने होस् । यस्तोमा हाम्रो ठाउँ, हैसियत, शक्तिले पनि हाम्रो विरोधलाई सम्भव तुल्याउँदै जान्छ ।

‘क्यापिटलिज्म, मोडर्निज्म एन्ड पोस्टमोडर्निज्म’ शीर्षकको आलेखमा उनी भन्छन्– समकालीन व्यक्तिले स्वायत्त प्रतिनिधिले जस्तै काम गर्छन् । त्यहाँ विमर्शात्मक सत्ताको सृष्टि हुन्छ । वृद्ध पुँजीवाद र कर्ता (विषय) न त मानवतावादी समयको आत्मस्थ प्रतिनिधि हो, न त त्यो कामनाको विकेद्रित सञ्जाल हो, बरु दुवैको बेमेल स्वरुप हो । यो कर्ताको रुपमात्र उपभोक्ताको होइन । कारण समकालीन समाजले आफ्नो विषय (कर्ता)लाई कुनै न कुनै सामाजिक क्षेत्रमा आवश्यकताको बोध गरिरहेको हुन्छ । कारण त्यसबाट पुरानो मानवतावादी व्यक्तिले जस्तै काम गर्न सकियोस् । भलै त्यो अन्य क्षेत्रमा उत्तरआधुनिकतावादी, विकेन्द्रित उपभोक्ता बनोस् । यो अन्तरविरोध ‘उत्पादक’ हुन सक्छ । यसको अर्थ यो हुन्छ कि मानवतावादी कर्ताको आफ्नो विवेक निर्णायक हो । आफ्नो क्षमता निर्णायक हो । जेमेसन जस्तै उनी यो पनि मान्छन् कि नयाँ यथार्थको उभार भइरहेको छ । यद्यपि, त्यसलाई कुनै नाम दिन सकिँदैन ।

इगल्टन यो मान्छन्– मौजुदा अन्तरविरोध जटिल छ जसले सिद्धान्तहरूलाई पूर्णतः निर्माण हुन दिँदैन । उनी यसलाई एउटा चरम सङ्क्रमण मान्छन् । एकातिर समाजको समग्रतावादी विचार छ, जो बदनाम छ । अर्कोतिर टुक्रामा विभक्त राजनीति छ । यसमा कुनै सिद्धान्त नबन्नुको अर्थमात्रै सैद्धान्तिकी होइन, बरु यसले यो भन्छ कि सैद्धान्तिकीमा केही आधारभूत अवरोध र कठिनाइहरू विद्यमान छ, द्वीविधा छ र नयाँ परिवर्तनको प्रतीक्षा गरिरहेको छ । उत्तरआधुनिकताको चक्रव्यूहमा फँसेका रचनाकारहरूले त्यो समयको प्रतीक्षा गर्नुपर्छ । इगल्टनको विशेषता यो हो कि कर्तालाई तिनले अर्को व्यक्तित्व पनि दिएका छन् । उनका कर्ता एकसाथ स्वायत्त प्रतिनिधि पनि हुन । यो अवधारणा उनको त्यो कामनाको परिणाम हो जसमा उनी संस्कृतिका विचारधाराको हीतको रक्षा गर्दै दृढतर विरोध र शोषक–शोषितको स्पष्ट भेद त्यतिमात्रै स्पष्ट पार्छन् जति उत्तर संरचनावादले तिनलाई अनुमति दिन्छ ।

इगल्टन परम्परागत माक्र्सवादको छद्म चेतना र वास्तविक चेतनाको सहारा लिन्छन् । यहाँ उनको यो अवधारणा बेकार हुन जान्छ जसमा व्यक्तिको आफ्नो हीत स्पष्ट हुन्छ । उनी मान्छन्, समाजवादी बुद्धिजीवीलाई पपुलर संस्कृति र शिक्षाका संस्थानहरूलाई विरोधको क्षेत्र बनाउनुपर्छ । विरोधको क्षेत्र अहिले पनि छैन बरु त्यसको ठाउँमा जनसंस्कृति (मास कल्चर) छ जसले विचारधारात्मक मदानीको काम गर्छ । जसले पण्य अर्थात् बजारको चलनलाई सजिलो बनाउँछ । समीक्षाको काम यसैले पनि मानिसको मन र मष्तिस्कलाई जित्नु हो । समाजवादी क्षेत्र बनाउनका लागि आवश्यक छ जसलाई जनसंस्कृतिले ती प्रतीकहरूलाई हड्पेर राखेका छन्, जसकाविरुद्ध लगातार सङ्घर्ष गरियोस् । माक्र्सवादी आलोचकहरूको काम यो पनि हुन्छ, उनीहरु जनतालाई सांस्कृतिक मुक्तिका लागि सक्रिय रुपमा सीधै हिस्सेदारी गर्छन् । आलोचकको भूमिका बजार (पण्य) को वर्चस्वमा विरोध गर्नु हो । यो काम प्रतीकात्मकतालाई राजनीतिसित जोड्दा मात्रै सम्भव छ । तिनको विमर्श तथा व्यवहारबाट भिड्दा मात्रै सम्भव छ । अर्थात् यस्तो प्रक्रिया बनोस् जसमा लुकका आकाङ्क्षाहरू, आवश्यकताहरू र हीत यस्तो सांस्कृतिक रुप लिउन जुन सामूहिक राजनीतिक शक्ति बन्न सकोस् । नयाँ जनसंस्कृतिको प्रतिकात्मक रुपहरूद्वारा कर्ताको निर्माण हुन सक्छ । थिचिएको यथार्थ स्थितिले यसलाई सम्भव तुल्याउन सक्छ । यही आलोचनाको काम हो । त्यसले जनताका सत्यलाई फिर्ता गर्न सक्छ । थिचिएको सत्यलाई माथि ल्याउन सक्छ ।

यहाँ आलोचक मुक्तिदाता हो । नायक हो । जसले जनतालाई कुनै देवदूतजस्तै बजारको जगत्बाट वा व्यापारको जगत्बाट मुक्त गराउन सक्छ । यो अवधारणाले भन्छ– आलोचकसमेत जनता पनि यस बदलिएको प्रतीकात्मक जगत्मा रहँदै आएका छन् । र, यस जगत्बाट अप्रभावित र अस्पृश्य अर्थात् अछुत पनि रहन्छ । देवदूत बनेको आलोचक निर्दोष छ । एकपटक प्रतिरोधात्मक प्रतिपक्षी जनक्षेत्र पैदा हुन्छ त्यसबेला आलोचककभित्र हीतको सक्रियताको कुरा आफै ठीक भएर जान्छ । यो नै सर्वसुलभ र सजिलो बाटो हो । (हामीकहाँ पनि अनेक आलोचक यस्तै सोच्दछन् ।) जनता अज्ञानी छन् । आलोचक विशिष्ट छन् । त्यो हीतवाद– निरपेक्ष छ । जगत्को दुष्प्रभाव त्यसमा पर्दैन । जनतामा नै पर्दछ । (क्या गजब छ ?) 

इगल्टन मान्छन्– आलोचनाले नै थिचिएका सत्यहरूको उजागर गर्दछ । त्यसले ती विचारहरूलाई पनि स्थापित गर्छ जो बुर्जुवाहरूले बाहिर हटाइदिएका छन् । यो काम तिनै आलोचकले गर्न सक्छन्, जो तात्कालिक सङ्घर्षबाट अलग रहेका छन् । तटस्थ रहेका हुन् र सिद्धान्तहरू बनाउन् । आलोचक टाढा रहँदा मात्रै समग्र दृष्टिको निर्माण हुन सक्छ । जो सहभागी छन्, तिनमा त्यो हुनै सक्दैन । तिनैले जनतालाई सूचना दिएर ज्ञानी बनाउन सक्छन् । (यो याद रहोस् इगल्टनको आलोचक र डिसइन्टरेस्टेड हीतवादरहित ईश्वर हो ।)

टेरी इगल्टन जहाँ नयाँ स्थितिका तुलनामा यो बताउँछन्– त्यहीँ एडवर्ड सइद समीक्षालाई केही नयाँ ढङ्गबाट प्रतिरोधीको दर्जा दिन्छन् । उनका अनुसार आलोचनाको व्यवस्था (सिस्टम) र संस्कृतिका बीच उभिनुपर्छ । व्यवस्थाको अर्थ हो, विचारको समग्रीकृत र ठोस स्वरुप । सइद आलोचनालाई एकसाथ स्थानीय मान्छन् । आलोचनाका सिद्धान्तहरू (समग्रतावादी)को विरोध गरिनुपर्छ । उत्तरआधुनिक संस्कृतिका विषयमा सइदले लगातार सोचेका छन् । उनी मान्दछन्, हरेक संस्कृति मूलतः वर्चस्वको संस्कृति हुन्छ । यससँंग भिड्नु आलोचनाको काम हो । आलोचनाको यो प्रतिरोध क्षमता व्यक्तिगत चेतनामा अवस्थित रहन्छ । यहीँबाट आलोचना पैदा पनि हुन्छ । यो ‘चेतना’ संस्कृति र व्यवस्था दुवैबाट टाढा हुन्छ । यो यिनै दुईबीचमा कतै हुन्छ । ती बुद्धिजीवीमाथि अत्यधिक भरोसा गर्छन् । कुनै न कुनै रुपमा ती बुद्धिजीवी नै हुन्छन् जो मूल्य, विचार तथा कर्मका लागि खडा हुन्छन् । तिनका गतिविधि राष्ट्र, राज्य र राष्ट्रिय संस्कृतिको वर्चस्वलाई जानेबुझेरै चुनौती दिन्छन् । यो आलोचना चेतना सामाजिक हो । संसारबाटै पैदा भएको हुन्छ, पलायनबाट हैन । आलोचकले यही संसारमा रहनुपर्छ । तर यतिकैमा तुष्टि लिनु पनि हुँदैन ।

एडवर्ड सइद स्वयम्लाई व्यवस्था विरोधी तथा सम्प्रदाय विरोधी मान्दछन् । उनी स्वतन्त्रता र न्यायको प्रश्नमा लड्दै आएका छन् । फेरि पनि तिनले कुनै पनि सिद्धान्तलाई अन्तिम मान्दैनन् । यही अमान्यताले आलोचकलाई तटस्थ स्थान प्रदान गर्छ । यद्यपि, पूर्ण तटस्थता असम्भव छ र फेरि पनि हरेक तटस्थता वा पक्षधरता समान हुन सक्दैन । सइदको आलोचना ‘यथार्थमा आधारित’ छ । आलोचना र विद्वताद्वारा गरिएको ज्ञानको दावीका पनि आधार छन् । आलोचनाको लक्ष्य ज्ञान हो । त्यसले ज्ञानको निर्माण गर्छ । आलोचना जसले ज्ञान पैदा गर्छ, त्यो स्पष्ट तथा विविध हुन्छ । किनभने त्यसमा स्वयम् विवाद पनि हुन्छ । फेरि पनि आलोचनाको सत्यको राजनीति सत्यभन्दा अलग मान्न सकिन्छ । (यहाँ सइद, फुको बेग्लै बोल्छन् ।)

एडवर्ड सइदको सबैभन्दा ठूलो काम ‘ओरियन्टलिज्म’ हो । उनको भनाइ छ कि पूर्वको परिकल्पना एक निष्क्रिय प्रक्रिया थियो, जसलाई पछि पश्चिमी विमर्शले बनायो । पूर्व कतै छैन । त्यो पश्चिमी इतिहासको विमर्शले बनाएको हो । पश्चिमद्वारा निर्मित ‘ओरियन्टलिज्म’ नयाँ तरिकाको सांस्कृतिक रूपक हो । यो अधीनताको रुपक हो । पूर्वको उपेक्षाका विषयमा भन्नु व्यर्थ हुन्छ । सार्थक त त्यो पूर्वबाट प्रतिरोधी विमर्श बनाउनु र प्रतिरोधी भिडाउनु हो । यसैले पनि लेखकले मात्रै लेख्दैनन् । ऊ कुनै न कुनै लेखन वा विमर्शका विरुद्ध नै लेख्छ । यो नैतिक स्थिति हो जुन ओरियन्टलिज्ममा व्यापक भयो ।

सइदको आलोचनात्मक रणनीति उत्तर–संरचनावादबाट मेल खान्छ र यहीँबाट आउँछ पनि । ती ‘भेद’को राजनीतिको सार्थकता स्वीकार गर्छन् । प्यालिस्टिनी पहिचानको भेदमा उनको विमर्शमा यस कारण जोड दिइएको छ । ‘भेदको राजनीति’ अत्यधिक सहनशील र जनतान्त्रिक छ । सइद मान्छन् कि, भेदका राजनीति सार्वभौमिक सहनशीलता बढाउने किसिमको छ । यो एक असम्भव स्थितिको कल्पना हो, तर आकर्षक छ । उत्तर–संरचनावादी सिद्धान्तरहरूमा उनी अत्याचारी र आत्याचारित का बीचमा भेद प्रवेश गराउँछन् । ‘भेद’बाट नै सइद उत्तर–संरचनावादी अन्यको महत्वलाई रेखाङ्कित गर्छन् । यसै अन्यबाट कुनै विकल्प निस्कन सक्छ । पश्चिमका अन्य पूर्वबाटै कुनै विकल्प आउन सक्छ । यसका लागि हामीले ‘मेट्रोपोलिटन संस्कृति’बाट टाढा राख्नु छ । सइदको मान्नु छ– प्रमुख वर्चश्वको विमर्शहरुमा अत्याचारित (अत्याचार सहने) मानिसमा विमर्श हुँदैन । तिनलाई बाहिर गरिदिइन्छ । (सबाल्र्टन सिद्धान्तहरूले यही मान्छ ) । विकेन्द्रिकरणको उत्तर–आधुनिकतावाद यहीँबाट सुरु हुन्छ ।

उत्तरआधुनिकतावादलाई यिनै समीक्षकहरूमा धेरै कुरा उत्तरआधुनिक आउँछ र जान्छ । राम्रो कुरा त के हो भने, उत्तरआधुनिकतावादलाई ‘एउटा स्थिति’ अवश्य पनि मान्दछन् । फेरि पनि कुनै विमर्शको छटपटाहट यसमा सक्रिय भने छ ।

(सन् २००० मा प्रकाशित पचौरीको ‘आलोचना से आगे’ पुस्तकबाट)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ११, २०७६  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC