site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विन्दास पत्रकार
Ghorahi CementGhorahi Cement

चक्रपाणि नेपाल


प्रकृतिकै अनुपम स्थान रामारोशन जाने मन थियो । ०७० माघमा साइत जुर्‍यो । चक्रपाणि एक्लै लागे रामारोशन । तीन दिन बसेर नियाले प्रकृतिको अनुपम उपहार । तीन दिन लाग्यो साँफेबगर ओर्लिन । साँफेबगरबाट डोटीको सिलगुडी आए । 

चक्रपाणिले सुने– डडेलधुरामा हिउँ परेको छ । हो रहेछ । ठूला गाडी डडेलधुराबाट डोटी गएनन् । कहिलेसम्म हिउँ पर्छ ? ठेगान छैन । गाडी कहिले आउँछ ? पत्तो छैन । 

Agni Group

विलखबन्दमा परे चक्रपाणि । यत्तिकै बसिरहेका थिए । एउटा बोलेरो आयो । चियापसलमा रोकियो । बोलेरोबाट तीन जना ओर्लिएर चिया पसलमा पसे । चक्रपाणि थाहा नपाए झैं उनीहरुको छेउमा बसेर कुरा सुन्न लागे । 

हँ ! काठमाडौं पो जाने रहेछन् । 

Global Ime bank

चक्रपाणिले भने, “बाबु हो म काठमाडौं जानुपर्ने । हिउँ परेर ठूलो गाडी आएन । मलाई अत्तरियासम्म छोडिदिनुपर्‍यो ।’’ 

त्यतिञ्जेलसम्म चक्रपाणिले आफ्नो एकसरो परिचय दिइसकेका थिए । उनीहरुले भने, “किन अत्तरियासम्म तपाईंलाई काठमाडौंसम्मै लैजाउँला ।”

‘ढुङ्गो खोज्दा देउता’ । नाइँ भन्ने कुरै भएन । बेसै भयो । चढे चक्रपाणि बोलेरो । 

“बुवा हामी पछाडि बसेर ताससास खेल्छौं । तपाईं अगाडि बस्नुस् है,” एक जनाले आग्रह गर्‍यो । 

अगाडिको सिट ? बाहिरी सुन्दरता हेर्न पाइने । खोजेकै त्यही । झन् राम्रो । 

पिपल्ला बसपार्कबाट बोलेरो गुड्यो । वाग्मती अञ्चलबाट नम्बर लिएका रहेछन् । त्यसैले काम विशेषले काठमाडौं आउँदै रहेछन् । 

अनारखोली बजारनजिकै बोलेरो गुड्दै थियो । बाक्लो हिउँमा गुड्दै गरेको बोलेरो चिप्लियो । सडक छोडेर “देब्रेतिर चिप्लिएको बोलेरो निकै पर पुगेर ८/९ फिट अग्लो बुट्टोमा अल्झियो । हतारहतार ढोका खोलेर म हामफालेँ । हामफालेर छेऊमात्रै के लागेको थिएँ, बुट्टोलाई सोहोरेर गाडी झर्‍यो,” मुस्किलले बाँचेको क्षण सुनाउँछन् चक्रपाणि, “गाडी कहाँ पुग्यो देखिएन । म अगाडिको सिटमा बसेकाले बालबालले बाचेँ ।” 

झोक्राएर सडक छेउमा पुर्पुरोमा हात लगाएर बसिरहेका थिए । बत्तिएर आएको एउटा जिप उनको छेउमा आएर रोकियो । दुईजना मान्छे ओर्लिए र छेउमा आएर भने, “बा के गरेर बसेको एक्लै के गर्दै हो ?”

“उनीहरुले मलाई चिनेका रहेछन् । मैले वृत्तान्त बताएँ । उनीहरुले जाऊँ भने । बबरमहल वन तथा अनुसन्धान कार्यालयका कर्मचारी रहेछन् । उनीहरुले काठमाडौं नै ल्याएर छोडदिए,” अप्ठ्यारोमा लगाएको गुन सम्झिए चक्रपाणिले । 

बायाँ हिप दुख्यो । चिकित्सकलाई देखाए । चिकित्सक अनुसारको दबाइ, अस्पताल अनुसारका कुरा । सके र भएजति ठाउँमा सञ्चो गराउन धाए । २० को १९ भएन । मेदान्त पनि पुगे । 

तर सास छउञ्जेल आश । गत साउनमा चक्रपाणि तै केही भै पोहाल्छ कि भन्ने झिनो आश लिएर गए मनमोहन कार्डियोलोजी । 

चिकित्सकले जेजे भन्छन् गर्दै गए । समय आयो अप्रेसनको । साउन ८ को दिन थियो । चिकित्सकले लुगा फेराए । चक्रपाणि छिरे अप्रेसन थिएटर । 

“मेरो रिपोर्ट अल इन्डिया इन्स्टिच्युट र सिङ्गापुर पठाएको रहेछ । मलाई अप्रेसन थिएटरको बेडमा सुताएर उनीहरु कुरा गर्न थाले,” चक्रपाणि कहन्छन्, “फोनमा कुरा गरिसकेपछि उनीहरुले भने– हामीभन्दा माथिकाले उमेरका कारण अप्ठ्यारो छ, अप्रेसन गर्न बेहोस गराएपछि होस आउने सम्भावना २५ प्रतिशतमात्रै छ । यो रिस्क लिन हामी पनि तयार छैनौं । तपाईं पनि नलिनुस् ।” 

रामारोशन जानुअगाडिको जस्तै तन्दुरुस्त हुने चाहना धुलीसात हुन क्षणभर लागेन । फर्किए रगत जमेको नसा लिएर घर ऐ्ययाआत्था गर्दै । 

“मेरो साथीको छोरो अहिले टिचिङमा सिनियर डक्टर छ उसले मलाई भन्यो– थोरै ठाउँमा मात्रै नसामा रगत जमेको भए समस्या हुँदैनथ्यो । अहिले यो हिपदेखि खुट्टाको तल्लो भागसम्म पुगिसकेको छ । त्यसैले यो जुनसुकै बेला पूरै थुनिएर हिँड्दाहिँड्दै तपाईं ढल्न सक्नुहुन्छ,” आफ्नो अन्त्यको सम्भावित आशङ्का सुनाउँदा पनि उनको अनुहारमा रत्तिभर विरक्ति र चिन्ता देखिँदैन । उल्टै हाँस्छन् चक्रपाणि विन्दास शैलीमा । 

“गाउँको एक खाल खेत बेचेँ पैसा पुगेन । उपचारकै लागि भनेर बारी पनि बेचेँ र पनि पुगेन”, अभावको गाथा सुनाउँछन् उनी, “एक हल गोरु पनि बेचेँ तर कहाँ पुग्थ्यो र पैसा ।”

० ० ० 

२०५० सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वायुसेवा निगमको कामकारबाहीमा हस्तक्षेप गरेर भारतीय मूलका बेलायती व्यापारी दिनेश धमिजाको फेयर लिमिटेडलाई  मनोमानी ढङ्गले निगमको युरोपको लागि मुख्य एजेन्ट (जीएसए) नियुक्त गरे । यो प्रकरणमा नेपाल वायुसेवा निगमले रु. ३९ करोड ५५ लाख घाटा बेहोर्नुपर्‍यो । यो ‘धमिजा–काण्ड’का नामले अहिले पनि चर्चित छ ।  

लेखा समितिले भ्रष्टाचार भएको ठहर गरे पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यसमा कोइरालालाई ‘क्लिन चिट’ दिएको थियो । यो काण्डमा गिरिजाप्रसादकी छोरी सुजाता कोइराला पनि मुछिएकी थिइन् । धमिजा काण्डपछि नेपाली काङ्ग्रेसको साख गिर्दा सोही वर्षको मङ्सिरमा भएको मध्यावधि निर्वाचनमा धक्का पुग्यो । 

“त्यो समाचार सबैभन्दा पहिलो मैले लेखेको थिएँ । पछिसम्म पनि यो धमिजा काण्ड यो बुढाले बाहिर ल्याएको हो भन्थे,” चक्रपाणि भन्छन्, “कोइराला परिवारकै व्यक्ति त्यो समाचारमा मेरो स्रोत थियो । कोइराला परिवारका व्यक्तिसँगको सम्बन्धका कारण मैले त्यो सूचना पाएकोले समाचार लेख्न सकेको थिएँ ।”

चक्रपाणिले समाचार त लेखे, तर प्रधानमन्त्रीमाथि नै औंला ठड्याएका कारण उनलाई पनि प्रश्न गर्ने थोरै थिएनन् । प्रश्न गर्नु त सामान्य थियो । धम्की आए । कोही भेटेरै धम्की दिन्थे, कोही फोनमा । 

“तनहुँतिरका केही युवाले मलाई निकै धम्क्याए । तपाईंसँग भेट्ने काम छ भनेर भेट्थे र धम्क्याउँथे,” भीभीआईपीको संलग्नता रहेको समाचार लेख्दाको सकस सम्झिन्छन् उनी, “तर मैले हाँसेरै उडाइदिएँ उनीहरुको धम्कीलाई हात नै हाल्ने कुचेष्टाचाहिँ गरेनन् ।”

० ० ०

०२४ सालमा सङ्खुवासभाबाट चक्रपाणिले एसएलसी दिए । आईए र बीए धनकुटामा पढे । सङ्खुवासभामा डा. वल्लभमणि दाहाल र धनकुटामा चक्रपाणिको भेट वाशु शाक्यसँग भयो । उनीहरु भन्थे, “मौजुदा अशिक्षित समाज परिवर्तनका लागि पढेलेखेका व्यक्तिले भूमिका खेल्नुपर्छ ।” 

“उहाँहरु नै हो मेरो चेतनाको दियो बाल्दिने । उहाँहरु नै हो मेरो राजनीतिक गुरु,” चक्रपाणि कृतज्ञता व्यक्त गर्छन् । 

०२८ सालमा कलेज पढ्दै थिए । छिमेकी भारतमा नक्सालवादी आन्दोलन भइरहेको थियो । त्यसको  प्रभाव नेपालमा पनि परिरहेको थियो । प्रभावस्वरुप झापामा ‘झापा आन्दोलन’ सुरु भएको थियो । त्यसको बाछिटा पूर्वाञ्चलका अन्य जिल्लामा पनि परेको थियो । उनलाई लाग्यो, “म पनि समाज परिवर्तनको बाटोमा लाग्नुपर्छ ।” त्यसपछि उनी झरे मोरङ । समाहित भए समाज परिवर्तनको बाटोमा । 

कम्युनिस्टहरु सानोसानो झुण्डमा विभाजित थिए । चक्रपाणि र मदन भण्डारी एकै गाउँका, त्यसैले उनी मदनको सामीप्यमा पुगे “मदन भण्डारीले रातभरि जनताको राजनीति गनुपर्छ, दिनभरि पत्रपत्रिकाको अध्ययन र लेखपढ गर्नुपर्छ भन्नुभयो । त्यसैले म त्यतैतर्फ लागेँ,” चक्रपाणि भन्छन्, “०३० सालदेखि बहुदल नआउँदासम्म लगातार मिसन पत्रकारिता गरेँ ।”

पत्रकारिताबाटै जनतालाई सङ्गठित गर्नुपर्छ । जनतामाथि रहेको दमन र अत्याचार हटाउन पत्रकारिताको सहारा लिनुपर्छ भन्ने मदनको विचार उनलाई उच्च लाग्छ । चक्रपाणिलाई मदनले भने, “तपाईं पत्रकारिताबाट आउनुस् ।” 

मदन भण्डारीको कुरा काट्न सकेनन् चक्रपाणिले । विराटनगरमा कुमारबहादुर श्रेष्ठले ‘कोशेली’ दैनिक पत्रिका निकाल्थे । त्यसमै काम गर्न थाले चक्रपाणि ०३० माघबाट ।

०३० सालको कुनै महिनाको एक साँझ कुर्तासुरुवाल लगाएर सुतीको झोला बोकेर मदन भण्डारी चक्रपाणिको घर पुगे । निर्माणकुमार ढुङ्गाना मोरङको रानीको माध्यमिक विद्यालयमा थिए । उनलाई सिजु विद्यालयमा सरुवा गराएर चक्रपाणिले वामपन्थी सङ्गठन बनाइसकेका थिए । त्यो थाहा पाएर मदन उनको घर पुगेका थिए । त्यो भेटले मदनसँगको समीपता बढाएको थियो । 

“हामी पत्रिका निकाल्थ्यौं । उहाँ १५/२० कपी लैजानुहुन्थ्यो । जहाँजहाँ सेल्टर हुन्थ्यो, त्यहाँ लगेर कार्यकर्तालाई पढ्न दिनुहुन्थ्यो,” चक्रपाणि सम्झन्छन् ।

विराटनगरबाटै उनी काठमाडौंको ‘समीक्षा’मा पनि रिपोर्टिङ गर्थे । 

‘कोशेली’मा तीन वर्ष काम गरेपछि प्रशासनको तारो भए चक्रपाणि । 

मदनले भने, “तपाईं पक्राउ परेर जेलमा बसेर समय कटाउनुभन्दा जनकपुर गएर काम गर्नुस् ।” मदनको सल्लाह शिरोधार्य गर्दै चक्रपाणि लागे धनुषा । 

लेखनाथ शर्माको ‘नौलो पाइलो’मा काम गर्न थाले । 

जनकपुरमा काम गर्न सजिलो थिएन । एकातिर काङ्ग्रेसको गढ, अर्कोतिर काङ्ग्रेस र प्रशासनको साँठगाँठ, काम गर्न सहज थिएन । 

ढल्केबर–बर्दिबास–कमलाखोँच चक्रपाणिको कार्यक्षेत्र थियो । । रातभरि जनतालाई राज्य सरकारविरुद्ध सङ्गठित गर्थे । दिनभरि पत्रिकामा लेख्थे । पत्रिकामा काम गरेर खान पुग्दैनथ्यो । सङ्गठनले उठाएको लेबीबाटै चक्रपाणिलाई बस्ने–खाने व्यवस्था पार्टीले नै मिलाइदिन्थ्यो । 

तीन वर्ष ‘नौलो पाइलो’मा काम गरेपछि मदनले भने, “अब धादिङ, नुवाकोट जानुपर्छ । 

मान्नैप¥यो । ०३७ देखि ०४३ सालसम्म चक्रपाणिले धादिङ, नुवाकोट र रसुवा बसेर काम गरे । त्यो बेला उनी काठमाडौंको ‘समीक्षा’, ‘प्रकाश’ र विराटनगरको ‘दर्शन’मा लेख्थे– समाचार र विचार । 

०४३ मा काठमाडौं भुकुटीमण्डपबाट पक्राउ परे चक्रपाणि । धादिङ लग्यो प्रहरीले । ३१ दिन राख्यो खोरमा । त्यहाँ उनले चरम् यातना सहनुपर्‍यो । 

“राति १० बजे धादिङबेसीको थोप्पल खोलामा कालो कम्मल चोबलेर तरतर पानी चुहाउँदै ल्याएर घोप्टो पारेर ओढाइदिन्थ्यो । र, मेरो ज्यानमाथि प्रहरी परेड खेल्थ्यो,” चक्रपाणि हाँस्दै भन्छन्, “त्यही बेलाको यातनाको समस्या मेरुदण्डमा अहिले पनि छ ।”

३१ दिन बन्दी बनाएर यातना दिएपछि उनलाई प्रशासनले वाग्मती अञ्चल निकाला गर्‍यो । 

मदन भण्डारीले भने, “अब बनारस गएर भारतमा रहेका नेपाली विद्यार्थीलाई सङ्गठित गर्नोस् ।” 

लक्ष्मण रायमाझी नेतृत्वको सङ्गठन अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन थियो । चक्रपाणिले सुरु गरे, त्यहीँबाट प्रकाशन हुने हिन्दी पत्रिका ‘दैनिक जागरण’मा काम । नेपालको बदलिँदो राजनीतिका विषयमा लेख्थे चक्रपाणि ‘दैनिक जागरण’मा ।   

०४५ साल लाग्यो । नेपालमा आन्दोलनको गतिविधि सुरु भयो । चक्रपाणि काठमाडौं आए । जनआन्दोलन सुरु भयो । त्यसमा खटेर लागे उनी । 

त्यसताका उनी साप्ताहिक ‘विमर्श’मा काम गर्न थालेका थिए । चक्रपाणि भन्छन्, “त्यो समयको विमर्शको चर्चित स्तम्भ ‘सुलसुले’ हेर्नुभयो भने तपाईंले थाहा पाउनुहुन्छ, त्यहाँ जति पनि पूर्वी नेपालका गतिविधिमा आधारित ‘सुलसुले’ छन् ती सबै मैले लेखेको हो ।”

जनआन्दोलन सकियो । चक्रपाणि ‘विमर्श’ मा पूर्णकालीन रुपमा काम गर्न थाले । ‘विमर्श’ पछि ‘नेपालीपत्र’मा काम गर्न थालेका चक्रपाणि अहिले पनि यसमै लेख्छन् । 

० ० ०

जनकपुरमा बस्दा बनारस–पटना महिना–डेढमहिनामा आउनेजाने गर्थे । पटनामा ‘जनमत’ नामक मासिक पत्रिका थियो । त्यही पत्रिकाका पत्रकारहरुसँग उनको उठबस हुन्थ्यो पटना जाँदा । पटनामा एक दिन त्यहाँ चल्तापुर्जा वामपन्थी नेता जयनन्द सिन्हाले भने– तेरो नेपालमा केही हुनेवाला छ । सतर्क रहनू । चक्रपाणिले के हो भन्नु न त भने । तर उसले भनेनन् । 

चक्रपाणिले ‘नयाँ पाइलो’को सम्पादक लेखनाथ शर्मालाई समाचार टिपाएर लेख्नुस् है भने । समाचार छापियो । 

रााजाको सवारी हेटौंडामा थियो । नारायणी अञ्चलका अञ्चलाधीश लक्ष्यबहादुर गुरुङले भनेछन्, “के लेख्यो यो पत्रिकाले, केही पनि हुँदैन ।”

तर भयो । काठमाडौंका विभिन्न ठाउँमा बम पड्कियो (०४२) । रामराजाप्रसाद सिंहले बम पड्काएका थिए । 

प्रशासनले बम विष्फोटको आशङ्कामा थुप्रैलाई पक्राउ गर्‍यो । यातना दियो । पछि असली विस्फोटकर्ता सिंह भएको पत्ता लाग्यो । सर्वस्वहरणसहित मृत्युदण्डको फैसला भयो ।

समाचार लेख्ने को हो ? सरकारले पत्तो पाएछ । समाचार लेख्ने चक्रपाणि धादिङमा थिए । अञ्चलाधीश गुरुङले बोलाए । जे त होला, डराउँदैडराउँदै गए चक्रपाणि । 

“अरे हो कसरी पाइस् हो तैंले यस्तो सूचना ? हाम्रो यत्रो सीआईडी गुप्तचरले त थाहा नपाएको तैंले कसरी पाइस् हो ? भन्दै गुरुङले धाप मारे । मैले पेशा नै यही हो थाहा हुन्छ नि भनेँ । तैंले टाइममा सूचना दिइस् धन्यवाद हौ भने । डराउँदै गको ऊ त मलाई धन्यवाद पो भन्छ,” अञ्चलाधीशको अनपेक्षित व्यवहार सुनाउँदा आज पनि हाँस्छन् चक्रपाणि ।

० ० ०

रसियामा चेर्नोबिल आणविक दुर्घटना भयो । छेऊमा थियो पाउडर दूधको कारखाना । जनताप्रति उत्तरदायी तथा विकसित देशले उक्त दूध खरिद गर्ने कुरै भएन । नेपालको डीडीसीलाई दूध दिने एजेन्टहरुले भने सस्तोमा पाइन्छ भनेर त्यही पाउडर दूध खरिद गरेर ल्याए ।

‘प्रकाश’मा चक्रपाणिले लेखे– “यो चेर्नोबिल आणविक दुर्घटनाका कारण विकिरण मिसिएको दूध भएकाले खान हुँदैन ।” 

पत्रिकामा समाचार छापिएपछि त्यसको व्यापक असर पर्‍योे । भूसको आगो झैं काठमाडौंमा समाचार फैलियो । थाहा पाउनेहरुले दूधमात्रै होइन दूध हालेको चिया पनि नखाने भए ।

“फेरि समात्यो मलाई प्रहरीले । देशमा आतङ्क सिर्जना गर्ने तँ भन्दै मलाई प्रहरीले यति कुट्यो सम्झिँदा अहिले पनि झस्किन्छु म,” चक्रपाणि सुनाउँछन् । 

० ० ०

मदन भण्डारी पोखरा गएको चक्रपाणिलाई थाहा थियो । पोखराको कार्यक्रम पनि उनलाई जानकारी थियो । फर्किएर चितवन जाँदा बाटैमा दासढुङ्गामा उनको गाडी जब दुर्घटनाको खबर चक्रपाणिले सुने, उनलाई विश्वास नै लागेन । अब मदन छैनन् भन्ने कुरा पत्याउन उनलाई मन लागेन । 

“जसले मलाई बाटो देखायो । पत्रकारितामा लगायो । उही नै रहेन । त्यो पनि अनपेक्षितरुपमा । कसरी विश्वास गर्न सक्थेँ उहाँको चोला उठ्यो भनेर । कयौं दिन मेरा आँखा रसाए”, मन अमिलो बनाउँछन् चक्रपाणि ।

“बनारसमा गङ्गामा पौडिएर वारिपारि गर्नुहुन्थ्यो । सिटबेल्ट बाँधेको हुँदैनथ्यो भने दुई मिनेटमा नारायणी पौडिएर पार गर्ने मान्छे हो उहाँ,” चक्रपाणि भन्छन्, “गङ्गामा पौडिएर पारि रामनगर गएको मैले खुद देखेको छु । जानेमात्रै होइन पौडिएरै वारि पनि आउनुहुन्थ्यो ।” 

० ० ०

चक्रपाणि समय, समाचार र त्यसको प्रभाव सम्झिन्छन् । अनि तुलना गर्छन् । त्यो बेला समाचार निस्किनेबित्तिकै त्यही दिन एक्सन लिन्थ्यो सम्बन्धित पक्षले । सरकारले एक्सन लिँदा कतिको जागिर जान्थ्यो । कतिको सरुवा हुन्थ्यो । कतिले नसिहत पाउँथे । तर अहिले जसले–जहाँ–जति–जे लेखे पनि ‘ह्वाइ’ कसैले भन्दैन । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ४, २०७६  ०७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC