site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

नेपालका सरकारी निकायहरूमासबैभन्दा सुविधाविहीन सम्भवतः नेपाल प्रहरी नै हो । केही सहरी क्षेत्रमा अत्याधुनिक सुविधा र प्रविधि भए पनि धेरै ठाउँमा भवन, वाहन, हतियार र अरू बन्दोबस्तीका सामानका दृष्टिमा नेपाल प्रहरीको कन्तबिजोगै देखिन्छ । बस्ने ठाउँ मान्छे बस्न लायक छैनन् । हतियार आधुनिक छैनन् । आफैँले ‘जुगाड’ गरेर कार्यालय चलाउनुपर्छ र मागेर गुजारा चलाउनुपर्छ । सुदूरपश्चिम प्रदेशका प्रहरी कार्यालयहरूको दयनीय अवस्थासम्बन्धी समाचारले सरकारको प्राथमिकतको पोल खोलेको छ । भौतिक निर्माणमा बर्सेनि करिब आधा रकम नै खर्च गर्न नसक्ने सरकारले प्रहरीका लागि भने न्यूनतम आवश्यकता पनि जुटाउन प्रयास गरेको रहेनछ । आफैँ बस्ने ठाउँ नभएका प्रहरीले थुनुवालाई कहाँ राख्ने र त्यसमा पनि महिला र बालबालिकाको अधिकार र मर्यादा कसरी जोगाउने ? 

प्रहरीलाई न्यूनतम सुविधासमेत उपलब्ध गराउन नसक्ता विगतमा राज्यले ठूलो क्षति बेहोर्न परेको थियो । माओवादीले सशस्त्र हिंसात्मक आन्दोलन सुरु गर्दा नेपाल प्रहरीसँग सुरुदेखि नै आवश्यक र आधुनिक साधन, स्रोत, हतियार र जनशक्ति थिएन । माओवादीले अत्याधुनिक हतियार प्रयोग गर्न थाल्दा पनि प्रहरीसँग थोत्रा बन्दुक पनि सबैलाई पुग्नेगरी थिएन । सरकारले त्यति बेला बेलाबखत नेपाल प्रहरीलाई आधुनिक हतियार किन्ने प्रयास गरे पनि दरबारको निर्देशमा सेनाले भाँजो हालेको थियो । त्यतिबेला प्रहरीलाई माओवादीको सामना गर्न लगाउनु यथार्थमा मृत्युको मुखमा पठाउनुजस्तै थियो । फलस्वरूप, सुरुमा कानुन व्यवस्थाको मात्र समस्याका रूपमा रहेका माओवादीहरू सेनामाथि आक्रमण गर्ने छापामार समूह बन्न पुगे । सशस्त्र प्रहरी नामको अर्कै संगठनसमेत स्थापना गनुपर्यो । विडम्बना, विसंको २०६० को दशकमा राज्यले गरेको गल्ती सचउने प्रयास अझै गरिएको छैन ।

सरकार र जनताबीच बढी र सोझै सम्पर्क हुने राज्यको निकायमध्ये प्रहरी नै सबैभन्दा निकटतम संगठन हो । यसैले जनताले प्रहरीको व्यवहार हेरेर सरकारको मूल्यांकन गर्छन् । कार्यालय सञ्चालनमा मसलन्ददेखि सवारी चलाउन इन्धनसमेत आफैँ जुराएर गुजारा गर्नुपर्ने प्रहरीले सरकारको छवि र नागरिकको सुरक्षामा कति ध्यान दिन सक्ला ? त्यसमाथि संगठित हिंसा बढ्दै छ । राजनीतिक आवरणमा थालिएको हिंसाको पनि सामना भने सबैभन्दा पहिले प्रहरीले नै गर्नुपर्छ । प्रहरीका क्रियाकलाप ज्यादतीपूर्ण र संवेदनहीन हुनुमा यो साधनस्रोत विहीनता र अभावको दबाब पक्कै परेको हुनुपर्छ । पहिले त दरबार र सेनाले नेपाल प्रहरीलाई आधुनिक हतियार दिन रोकेको थियो । अहिले त कसैले रोकेको छैन होला । प्रहरीलाई कानुन हातमा लिन र नागरिकमाथि ज्यादती गर्न हुँदैन भन्ने पाठ घोकाउनु अहिले झन् बढी जरुरी छ । प्रहरीले ज्यादती गरे कानुनबमोजिम कारबाही गर्न हिचकिचाउनु हुँदैन । तर, प्रहरीलाई आवश्यक उपयुक्त साधन, स्रोत र हतियार उपलब्ध गराउन पनि उत्तिकै प्राथमिकता दिनुपर्छ । सरकारले २०५० को दशकको गल्तीबाट पाठ सिकोस् । प्रहरी जति दक्ष, इमानदार र सक्रिय हुन्छ शासन व्यवस्था पनि उत्तिकै प्रभावकारी हुन्छ भन्ने हेक्का राखोस् । कम्तीमा प्रहरीलाई बस्ने, खाने र हतियारको चिन्ता नहोस् ! 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १, २०७६  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC