site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सक्षम निजामती प्रशासनको जगमा समृद्धिको सपना

नेपालको संविधान, २०७२ को मूलभूत आदर्श, उद्देश्य, राष्ट्रिय एजेन्डा र नागरिक तृष्णा समृद्धि र सुशासन होे । संवैधानिक संकल्प र नागरिकको हृदयको स्पन्दनलाई आत्मसात गरेको भाव र मर्मभन्दा फरक निजामती प्रशासनको पनि परिकल्पना गर्न सकिँदैन । निजामती सेवाको सुदृढीकरण, सबलीकरण र प्रतिस्पर्धात्मक क्षमतामा नै मुलुकको शासन, विकास, समृद्धि र सेवा प्रवाहको गति तथा गुणस्तर निहित हुन्छ । भ्रष्टाचार, ढिलासुस्ती एवं सुविधाभोगी प्रवृत्तिको पर्याय मानिन थालेको निजामती प्रशासनभित्रका विकृतिको निवारण गरी प्रशासन संयन्त्रको निर्मलीकरण र क्षमता अभिवृद्धि आजको आवश्यकता हो । यसका लागि सर्वप्रथम निजामती प्रशासनभित्रै लोकतन्त्रीकरण, नैतिक आचरण र सुशासनको प्रवद्र्धन हुनुपर्ने देखिन्छ । यही सन्दर्भमा “सक्षम निजामती प्रशासन : समृद्धि, विकास र सुशासन” भन्ने निजामती सेवा दिवस, २०७६ को मूल नारालाई हेर्नुपर्छ ।  

निजामती सेवा र प्रशासनभित्रका विकृतिबाट नागरिकमात्र होइन कर्मचारी स्वयं पनि आहत छन् । निजामती सेवाको सञ्चालन र व्यवस्थापन प्रणालीसंगत हुन नसक्ता शक्ति र सत्तामा पहुँच स्थापित गर्न नसक्नेका लागि निल्नु न ओकल्नु भएको छ । अमेरिकामा रहेको तत्कालीन ‘लुट’ प्रणाली र नेपालकै राणाकालीन पजनी प्रथाका रुप र प्रतिविम्ब आजपर्यन्त नेपालको निजामती सेवामा कायमै छ । प्रशासकहरुमा सेवा भावभन्दा शासकीय मनोवृत्ति, विवेकशीलभन्दा स्वर्थप्रेरित निर्णय र निर्देशन, प्रशासनिक नीतिभन्दा व्यक्तिगत हितको प्रधानताले स्थान ग्रहण गर्दै गएको छ । चाकडी प्रथाका नवीन रुपहरुले कानुन, नीति र नैतिकतालाई गिज्याइरहेका छन् ।

प्रशासकहरुमा एकातिर राजनीतिक शक्ति र सत्ताप्रतिको चरम आशक्ति तथा अर्कोतिर सर्वसाधारण एवं तल्ला तहका कर्मचारीबाट चाकडीको अभिलाषाले प्रशासनिक मूल्यलाई नै विभाजित गरी दिएको छ । नैतिकता र स्वाभिमानलाई धरौटी राखेर अवसर प्राप्तिका लागि गरिने अनुशासनहीन प्रतिस्पर्धाले निजामती सेवाको साख नै दिनहुँ स्खलित हुँदै गएको छ । यसले न निजामती सेवको क्षमता विकास हुन सकेको छ, न त विकास र सुशासन कायमै हुन सकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रशासकको पेसागत निष्ठा, प्रशासनिक दक्षता, विकास र सेवा प्रवाहमा गरेको योगदानभन्दा अमुक व्यक्तिप्रतिको बफादारीका आधारमा अवसरको वितरण गरिएपछि सिर्जनशीलता, नवप्रवर्तनात्मकता र प्रतिस्पर्धात्मकताको ह्रास हुन्छ । प्रशासक दायित्वबाट विचलित हुन्छ । यसले विधिको शासन, सुशासन, विकास र सेवा प्रवाहलाई ओझेलमा पार्छ । विकास र समृद्धिको मार्गमा अवरोध खडा गर्छ र सिंगो मुलुकको शासकीय क्षमता नै प्रशासनिक अराजकताको सिकार बन्न पुग्छ । निजामती प्रशासन कमजोर हुनु अन्ततः नागरिक सर्वोच्चता, विकास र समृद्धि नै कुण्ठित हुनु नै हो । 

निजामती सेवाभित्र सारभूत लोकतन्त्रीकरण एवं न्याय र नैतिकतामा आधारित पद्धति स्थापित भएमात्र सक्षम हुन्छ । यसभित्रका प्रतिभामा निहित दक्षता र क्षमताको उपयोग र प्रवद्र्धन गरिएमात्र सक्षम हुन्छ । सरुवा, अध्ययन, भ्रमणलगायतका वृत्ति विकासका अवसरहरुको समन्यायिक वितरण गरिएमात्र सक्षम हुन्छ । कार्य सम्पादनका आधारमा दण्ड, पुरस्कार र जिम्मेवारीको निर्धारण गरिएमामात्र सक्षम हुन्छ । हाकिमको तोकआदेशबाट सञ्चालित प्रशासनिक प्रणालीलाई विस्थापित गरी प्रत्येक कर्मचारीलाई कामप्रति जिम्मेवार बनाइनुपर्छ । नवीन विचार र प्रविधीको दमन होइन, वैचारिक विविधतालाई समेत सम्मान गरिनुपर्छ । 

Global Ime bank

निजामती सेवा कानुनी अधिकारको विवेकशील प्रयोग गर्ने राष्ट्रिय संस्था हो । नागरिकको भरोसा र विश्वासको केन्द्र विन्दु हो । तर, सेवाभित्रकै पात्रहरुमाथि यसले समन्यायको आभास दिलाउन सकेकोछैन भन्ने प्रश्न विचारणीय छ । निजामती सेवा पुरस्कार वितरण प्रणाली यसको एक ज्वलन्त उदाहरण हो । पुरस्कार प्रणाली पूर्वानुमानयोग्य, वस्तुनिष्ठ, पारदर्शी बन्न नसक्दा पुरस्कारको गरिमा नै खस्केको छ । पुरस्कृत हुने व्यक्ति कुन विधामा कुन क्षेत्रमा के कस्तो उल्लेख्य काम गरेबापत पुरस्कृत भयो भन्ने आधार भेटाउन मुस्किल छ । यस्तो प्रणालीले न पुरस्कृत हुनेलाई गौरवान्वित तुल्याउन सकेको छ न अरुका लागि प्रतिमान बन्न सकेको छ । उल्टै असल र इमानदार कर्मचारीमा हीनभावना उत्पन्न गरेको छ ।

राज्यको नीति र कार्यक्रमको जनमानसमा सार्थक अनुभूति दिलाउने कर्मचारी सधैँ उपेक्षित रहँदै आएका छन् । राज्य प्रदत्त वस्तु र सेवाको सार्वजनिक वितरण गर्ने र नागरिकका समस्या समाधानका सारथीका रुपमा रहेका कर्मचारीको क्षमता विकास नगरी सक्षम निजामती सेवाको परकिल्पना गर्न सकिँदैन । तर अध्ययन, तालिम, भ्रमणलगायतका क्षमता विकासको सवाल होस् वा उत्प्रेरणा अभिवृद्धि गर्ने प्रश्न कार्यस्थलमा खटिने कर्मचारीले अवसरको वितरणमा न्याय महसुस गर्न सकेका छैनन् । वैदेशिक तालिम र भ्रमण गरी फर्केका कर्मचारीले राष्ट्रिय नीतिनिर्माण, विकास र सेवा प्रवाहमा के कस्ता योगदान गरे भन्ने परीक्षण नै छैन । अतः क्षमता विकासका अवसरको वितरण र क्षमताको उपयोग गर्ने राष्ट्रिय नीति नै हुनु आवश्यक देखिन्छ ।

निजामती सेवाको उन्नयन र सेवाप्रवाहको दक्षता, गुणस्तरीयता र दिगोपनाका लागि तालिम आवश्यक छ । तर, निजामती कर्मचारीका लागि तालिम प्रदान गर्ने मुख्य अभिभारा बोकेका कर्मचारी प्रशिक्षण प्रतिष्ठानलगायतका तालिम प्रदायक संस्थाहरु परम्परागत प्रविधि, पाठ्यसामाग्री र पुरातनवादी प्रशिक्षकहरुको जालोमा रुमल्लिएको छ । आजसम्म यी संस्थाले कर्मचारी बढुवाका लागि चाहिने सेवाकालीन तालिम बापत २ अंक बढाउनेबाहेक निजामती प्रशासनको रुपान्तरणमा कुनै उल्लेख्य योगदान पुर्याउन सकेका छैनन् । लामो समयको अनुभवसहित अवकाश लिने राष्ट्रसेवक कर्मचारीको अनुभवलाई सदुपयोग गर्ने कुनै सरकारी नीति छैन । राज्य पेन्सनको भारले थिचिँदै गएको भनी अवकाश उमेरको बहस विचाराधीन छ भने पेन्सन प्रणालीमा परिवर्तन भइसकेको छ । तर, पूर्व राष्ट्रसेवकको योग्यता, विज्ञता, अनुभव र क्षमताको कदर एवं उपयोग गर्न सके पेन्सन राष्ट्रको भार होइन समृद्धिको आधार बन्न सक्छ । यसतर्फ राज्यको ध्यान जान आवश्यक छ । 

निजामती सेवाको संघीयकरण भई नयाँ ऐन कानुन तर्जुमा भइरहेको सन्दर्भमा यसको उद्देश्य र उपलब्धिको मूल्यांकन तथा प्रणालीगत कमजोरीहरु औँल्याई निजामती सेवाको उद्देश्य, सञ्चालन एवं व्यवस्थापन प्रणालीमा रहेका रोगको निदान गर्ने दुर्लभ अवसर पनि प्राप्त भएको छ । तर, विभिन्न माध्यमहरुबाट सार्वजनिक प्रस्तावित प्रावधानहरुको व्यवस्थाले “सक्षम निजामती प्रशासन ः समृद्धि, विकास र सुशासन” भन्ने नाराविपरीत ह्रासोन्मुख एवं विघटनतर्फ त गइरहेको छैन भन्ने प्रश्न खडा गरेको छ । 

देशको नीति तथा कार्यक्रममा उनिएको सपनालाई मूर्तता दिँदै जनसाधारणको विकासको चाहनालाई सार्थकता  प्रदान गर्ने विषयमा राजनीतिक कटिबद्धताका साथमा प्रशासनिक दक्षता पनि उत्तिकै जरुरी हुन्छ । निजामती प्रशासनको भूमिकाप्रति राजनीतिक संयन्त्र सकारात्मक हुननसकेको देखिएको छ । खासगरी कर्मचारी भर्ना र वृत्ति विकासको सवालमा प्रस्तावित व्यवस्थाले निजामती संयन्त्रलाई कमजोर बनाउने देखिन्छ ।

उपसचिव र सहसचिवको पदमा विज्ञका रुपमा सिधै नियुक्त गर्न सकिने र उक्त पदहरुमा सेवाभित्रका कर्मचारीले खुला प्रतिस्पर्धामा भाग लिन नपाउने, राजीनामा दिएरमात्र प्रतिस्पर्धा गर्न पाउनेजस्ता प्रावधानले उत्प्रेरणा र वृत्तिमाथि नै प्रहार गरेको देखिन्छ । प्रचलित ऐनमा खुला प्रतिस्पर्धामार्फत छड्के प्रवेसको प्रावधान रहेकै छ । तर, अपवादबाहेक सेवाबाहिरका जनशक्ति प्रवेश गर्न सकेका छैनन् ।

यसको मतलब कि उनीहरु आकर्षित नै छैनन् कि प्रतिस्पर्धामा कमजोर छन् । यसरी आकर्षित नै नदेखिएका वा कमजोर व्यक्तिलाई प्रतिस्पर्धाको दायरामै संकुचन गराई सेवाभित्र ल्याउने चेष्टाले निजामती प्रशासनलाई सबल र सक्षम होइन झन् कमजोर बनाउने निश्चित छ । यसर्थ यसतर्फ राज्यको ध्यान जानु आवश्यक छ । अब बन्ने संघीय निजामती सेवा ऐन निजामती प्रशासनको संस्थागत, संरचनागत, कार्यविधिगत, कार्यसंस्कृति तथा मनोवृत्तिगत पक्षमा सुधार गरी विकास, समृद्धि र सुशासनको जग बसाल्नेतर्फ अग्रसर हुनुपर्छ । विकास समृद्धि र सुशासनका लागि राजनीति र प्रशासनको साझा सोच, चिन्तन र प्रयत्न हुनुपर्छ ।
शाखा अधिकृत, नेपाल सरकार

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC