site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
शेरबहादुर देउवालाई खुल्ला पत्र 

बीपीको जन्मजयन्तीको अवसरमा तपाईँलाई भन्दैछु – दाइ जय नेपाल ! म पनि ‘दाइ’ संस्कृतिबाटै आएकाले यही शब्दले सम्बोधन गरेँ । अन्यथा नलिनुहोला । 

म अलमल, आग्रह र पूर्वाग्रहविना सीधै विषय प्रवेश गर्न चाहन्छु । तपाइँ नेपाली कांग्रेस पार्टीको सभापति हुनुहुन्छ । यो पार्टीसँग हिङ त छैन तर बीपीले ठूला दुःख र जतनले हिङ बाँधेको टालो दिएर गएका छन् । त्यो बाँधेको टालो पनि तपाईँकै कारण च्यातिने र धुजाधुजा हुने क्रममा छ । त्यसबाट हिङको गन्ध निस्कनु त कता कता सामन्ती फोहोरको दुर्गन्ध आइरहेको छ । हाल तपाईँले नेतृत्व गरेको त्यो पार्टीको ओज र गरिमा नेपालीको मन मस्तिष्कमा अझै बसेको छ । त्यतिमात्र होइन राणा शासन र पञ्चायती व्यवस्थाको अन्त्य र जंगलमा राज गरेकाहरुलाई शान्ति प्रक्रियामार्फत राजनीतिको मूलधारमा ल्याएको इतिहास पनि छ । तर, वर्तमान त्यस्तो गरिमा र गर्व गर्न लायक छैन र यसको मूल जड पनि तपाईँ नै हो । 

तपाईँले देशमा प्रजातन्त्र प्राप्तिका लागि गर्नुभएको संघर्ष र त्याग अहिलेको पुस्ताका लागि नौलो लाग्नसक्छ । गणेशमान जी, किसुनजी र गिरिजा बाबुको अवसानपछि पनि तपाईँको पुस्ताले प्रजातन्त्रको धिपधिपे उज्यालोलाई यहाँसम्म ल्याइपुर्याउनुभएको छ । यसका लागि तपाईँहरुलाई धन्यवाद दिनैपर्छ । पार्टीभित्र तपाईँजस्ता संघर्षशील र प्रजातन्त्र प्राप्तिका खातिर योगदान पुर्याउनुभएका थुप्रै जना अहिले नेतृत्व तहमा हुनुहुन्छ । र, तपाईँ त सभापति नै हुनुभएको छ । तर, त्यसो भन्दैमा सधैँ तपाईमात्रै सभापतिको कुर्सीमा बस्नुपर्छ भन्नु त तर्कसंगत हुँदैन । 

Prabhu Bank
Agni Group
NIC Asia

सभापति पार्टीको नेता हो । नेताले पार्टीलाई नेतृत्व दिन सक्नुपर्छ । पार्टीलाई कस्तै परिस्थितिमा पनि यसका गरिमा र मूल्यबाट च्युत हुनबाट बचाउनुपर्छ । पार्टीका नीति र कार्यक्रम जनताका बीचमा पुर्याउनुपर्छ । भ्रातृ संगठनको गठन र सञ्चालन एवं पार्टीलाई चुस्त दुरुस्त, चलायमान र गतिमान बनाउनुपर्छ । यसमा आएका र आउनसक्ने संभावित परिणतिको आकलन गरी सोहीअनुरुपको नीति तथा कार्यक्रमको परिचालन गर्नु तपाईँको पहिलो कर्तव्य र जिम्मेवारी हो । तर, तपाईँको काम र शैली हेर्दा विचार स्खलित भएका देखिएका छन् र तपाईको काम गर्ने शैली पनि कुरीकुरी गर्नुपर्ने खालका छन् । त्यसैले स्पष्ट नै भन्नुपर्छ, तपाईँ नेतृत्वको लागि योग्य हुनुहुन्न । 

तपाईँ पार्टीभित्रका बिग्रे भत्केका  जिम्मेवारीबाट भाग्नुभएको छ । गत निर्वाचनमा भएको पार्टीको लज्जाजनक पराजयपछि तपाईँले नैतिकरुपमा राजीनामा दिएर आफ्नो छाती चौडा बनाउनुहोला भन्ने अपेक्षा धेरैले गरेका थिए । तर, तपाईँले त्यसो गर्न सक्नुभएन । तपाईँ त लिसोसरी टाँसिइरहनुभयो र आगामी महाधिवेशनमा समेत सभापति पद हत्याउने दाउमा हुनुहुन्छ । यो भावी पुस्ताप्रतिको अविश्वास पनि हो, नयाँ पुस्ताका लागि अपमान पनि हो । तपाईँले हालसम्म पार्टीका कुनै पनि जिम्मेवारीलाई तदारुकताका साथ पूरा गर्न सक्नुभएको छैन । यो नेपाली कांग्रेसका लागि दुःखद अवस्था हो । यस दरावस्थाको परिणति अहिले पार्टी नेता तथा कार्यकर्ताले मात्र होइन तमाम देशवासीले भोगिरहेका छन् । 

Global Ime bank

अहिले राज्यका न्यायिकदेखि प्रशासनिक क्षेत्रका अंग प्रत्यंगमा कम्युनिस्ट सरकारको हालीमुहाली चलेको छ । एनसेल काण्डमा सर्वोच्च अदालतका न्यायाधीशको विवादित निर्णयबाट पनि सरकारले न्यायालयमा समेत हस्तक्षेप गरेको अनुमान गर्न सकिन्छ । दुई तिहाइ बहुमतको दम्भले आक्रान्त कम्युनिस्ट पार्टीले विगत डेढ वर्षको अवधिमा ग्रामीण जनताको गाँस, वास र कपासको सट्टा रेल र पानीजहाजका गुड्डी हाँके पनि काठमाडौंको धूलो र मैलोबाट जनतालाई जोगाउन सकेको छैन । मुखैमा आइसकेको मेलम्चीलाई ठेकेदार भगाएसँगै यो सरकार असफलताबाट झन् ओरालो यात्रामा लागेको छ । 

यसका अघिल्तिर काण्डैकाण्डका शृंखला थुप्रिएका छन् । सरकार कहाँबाट सुरु गर्ने र कहाँ अन्त्य गर्ने भन्ने बारेमा समेत मनोगत रोगले आक्रान्त छ । तर, यी सबैका हुँदाहुँदै पनि तपाईँ केही नदेखेजस्तो गरेर हिँडिरहनुभएको छ । तपाईका विचार, भावभंगीमा र व्यवहार हेर्दा र देख्दा प्रमुख विपक्षी नेताले संसद्भित्र र बाहिर गर्नुपर्ने, बोल्नुपर्ने र लिनुपर्ने दायित्वबाट पन्छिएझैँ लाग्छ । साँच्चै ! यसमा तपाई गहिरोसँग चुक्नुभएको छ । 

दाइ ! तपार्इँलाई लाग्दो हो मेरा पछाडि बहुसंख्यक नेता, कार्यकर्ता छन् । तर, यी तपाईँका आर्जन होइनन् । बढीमा तपाईँ शक्तिमा रहुन्जेलका साथीमात्र हुन् । जब तपाई शक्तिबाट पृथक हुनुहुन्छ तब त बूढानीलकण्ठमा लाग्ने दैनिक मेला पनि समाप्त हुन्छ । तपाई चारपटक प्रधानमन्त्री भइसक्नुभएको छ र तपाईँको नेतृत्वमा बनेको सरकारले केही राम्रो काम गरेको उदाहरण नहुँदा तपाईँको दिमागमा केही सलबलाएको छैन? अर्कोपटक तपाईँ प्रधानमन्त्री नै हुनुभयो भने पनि तपाईका आसेपासे र हुक्के बैठकेले पद, पैसा र पावर त पाउलान् तर देशका गरिब र निमुखा जनताले केही सुविधा, सहुलियत पाउने छैनन् ।

नेपाली जनतालाई तपाईँको सोच, दक्षता र क्षमता राम्रोसँग थाहा भइसकेको छ । थाहा भएकै कुरा हो, तपाईँसँग देशलाई समृद्धिको यात्रामा पुर्याउने र जनताका सुकेका आँत हराभरा पार्ने कुनै दृष्टि र योजना छैन । त्यसैले सत्ताको लोध छोड्नुस् । सत्ताको लालसा छोड्नुस् । महान् प्रतापी राजा भर्तृहरि सत्ताको राजपाठ विक्रमादित्यलाई सुम्पेर आफू कमण्डलु बोकेर वितरागी जीवन जिउने उद्देश्य लिएर हिँडेका थिए । तर, तपाई वैरागी नहुनुस् । तपाईको काँधमा अझै ठूलाठूला दायित्व हुनेछन् । तपाईँले यस पार्टीको अभिभावकत्व ग्रहण गर्नुस् । अनुजहरुलाई मार्ग चौडा गरिदिनुस् । देशदेशावर घुमेर शेष जीवन आरामपूर्वक बिताउनुस् ।

तपाईँभन्दा बुद्धि, बल र योग्यतामा अब्बल देखिएका युवा नेताहरुलाई तपाईको छहारीको आवश्यकता हुनसक्छ । तपाईँका अनुभवहरुको खाँचो पर्न सक्छ । हुर्केका र जवान भइसकेका छोराछोरीलाई अधिकार र कर्तव्यबाट च्युत बनाउने धृष्टता नगर्नुस् । अहिलेको नयाँ पुस्तासँग जुध्न र उनीहरुका आकांक्षा सम्बोधन गर्न तथा उनीहरुलाई नेपाली कांग्रेसप्रति आकर्षण गराउन उनीहरुकै समकालीन नेता र नेतृत्व आवश्यक हुन्छ । तपाईजस्ता ७५ वर्ष नाघेका वयोवृद्धप्रति युवा पुस्ता आकर्षित हुँदैन । म्याद गुज्रेको औषधिले रोगीको हित गर्दैन । जनताको आशा तपाईँहरुबाट टुटिसकेको छ । यो ७५ वर्षको उमेर त विश्रामका लागि हो । हाम्रो धर्ममा जीवन जतग्को सुख, स्वर्ग तथा मोक्षप्राप्तिको लागि सन्यास आश्रमको व्यवस्था छ । त्यसलाई अवलम्बन गर्नुस् । यो नै मोक्षको बाटो हो । बूढो गोरुले गाई ओगटेको जस्तो गरी पार्टीलाई बन्धक नबनाउनुस् । 

पार्टीभित्र गगन थापा र विश्वप्रकाश शर्माजस्ता देशलाई निर्दिष्ट दिशातिर लैजानसक्ने ल्याकत भएका होनहार युवा छन् । तिनले देशको अनुहार परिवर्तन गर्नसक्छन् । पार्टी र भ्रातृ संगठनलाई ऊर्जावान् बनाएर गतिशील बनाउन सक्छन् । ओइलाएका रुखलाई हराभरा बनाउन सक्छन् । विदेश जान खुट्टा उचालेर बसेका युवालाई देशमै बस्न मनलाग्ने बनाउन सक्छन् । भ्रष्टाचारीहरुलाई पाता कसेर जेल हाल्न सक्छन् । हिङको टालोमा नयाँ हिङ पोको पार्न सक्छन् । त्यसैले तपाईँले नै उनीहरुलाई अगाडि बढाउनुस् । अब ढिला नगरीकन पार्टी तिनैलाई सुम्पनूस् । 

कांग्रेसभित्र मूल्य, मान्यता र संस्कारको राजनीति अगाडि बढाउन मद्दत गर्नुस् । अहिले गाइँगुइँ सुनिएको छ – थापा र शर्मालाई महामन्त्रीमा लडाइँदै छ रे ! यो च झन् त्रासदीय दुर्घटना निम्त्याउनुमात्र हो । बरु एकजनालाई अध्यक्ष र अर्कालाई महामन्त्री बनाउन प्रयास गर्नुस् । आगामी निर्वाचनमा गगन थापा नै हाम्रा भावी प्रधानमन्त्री हुन् भनेर अघि सार्नुस् । जसरी निभ्न लागेको कांग्रेसको साखलाई २०५६ को चुनावमा किसुनजी हाम्रा भावी प्रधानमन्त्री हुन् भनेर गिरिजाबाबुले उद्घोष गरेका थिए । यसले तमाम युवाहरुमा नवीन रक्तसन्चार गराउनेछ । समयको यो प्रवाह र गतिलाई चिन्न सक्नुभएन भने तपाईलाई समयले माफी दिँदैन । 

राजनीति सधैँ सरल रेखामा प्रवाहित हुन्न । यसले कहिलेकाँही वक्ररेखा पनि लिन्छ । नयाँ शक्ति र व्यक्ति आउनसक्छन् समयमै हेक्का राख्नुहोला । रवि लामिछानेको सभामा हजारौँ मानिसको उपस्थिति हेरेर पनि तपाईले लख काट्नुभएकै होला । अझै पनि ‘मै खाऊँ मै लाऊँको नीतिमा तपाई अडिग हुनुभयो भने भावी पुस्ताले तपाईँलाई सराप्ने नै छ र मातृभूमिको समेत श्राप तपाईँलाई कालान्तरसम्म लाग्नेछ । 
जीवन हो, कबेलाँ प्याट्ट चुँडिने हो त्यो त कसलाई पो थाहा छ र ?
हालः बोस्टन, अमेरिका ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC