site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तीन वर्षमा अँध्यारोलाई इतिहास र प्राधिकरणलाई सबैभन्दा बढी नाफा गर्ने संस्था बनाएँ
Sarbottam CementSarbottam Cement

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको तीन वर्ष पूरा भएको छ । मैले जिम्मेवारी सम्हाल्दा वर्षामा समेत ८ घण्टाको लोडसेडिङ ब्यहोरिरहनु परेको थियो । प्राधिकरण झण्डै ९ अर्ब रुपैयाँ वार्षिक खुद घाटामा थियो । हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नुपर्ने प्रक्षेपण थियो ।

तर, प्रधानमन्त्री, ऊर्जामन्त्री, ऊर्जा सचिव, प्राधिकरण सञ्चालक समितिका सदस्यहरु, राजनीतिक तथा प्रशासनिक नेतृत्व, आम कर्मचारी र आम उपभोक्ताको साथ र सहयोगमा सम्झँदै कहालीलाग्ने त्यो अँध्यारो युगलाई इतिहास बनाउँदै अहिले उज्यालो युग सुरुवात गर्न सफल भएका छौं ।

एकातर्फ लोडसेडिङ इतिहासमा विलय भई नियमित विद्युत् आपूर्ति हुन थालेपछि पछिल्ला वर्षमा मुलुकको आर्थिक वृद्धिदर उत्साहजनक छ भने अर्कोतर्फ प्राधिकरणले सम्पूर्ण क्षेत्रमा सुधार मात्र होइन, उल्लेखनीय फड्को पनि मारेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तीन वर्षअघि प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत करिब १५० युनिट रहेकोमा अहिले नियमित विद्युत् आपूर्ति हुन थालेपछि बढेर करिब २४५ युनिट पुगेको छ । विभिन्न कारणले रुग्ण बनेका जलविद्युत् उत्पादन, प्रसारण र वितरणका आयोजना निर्माण सम्पन्न भएका छन् ।

तीन वर्षको अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत् चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाइन र सबस्टेसन विस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणले ठूलो सफलता हात पारेको छ । आफ्नो आम्दानी बढाउँदै लगेर प्राधिकरण मुलुककै सबैभन्दा बढी आम्दानी गर्ने संस्था बनेको छ ।

Global Ime bank

तीन वर्षमा केके भए ?

(१) वित्तीय तथा प्रशासनिक सुधारतर्फ

आर्थिक वर्ष २०७२–७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले आव २०७३–७४ मा १ अर्ब ४७ करोड, आव २०७४–७५मा २ अर्ब ८५ करोड र आव २०७५–७६ मा ७ अर्ब २० करोड खुद नाफा आर्जन गरेको छ ।

आर्थिक वर्ष २०७२–७३ मा ३४ अर्ब ६१ करोड सञ्चित नोक्सानी रहेको प्राधिकरण यसलाई घटाउँदै आव ०७३–७४मा २८ अर्ब १७ करोड, आव २०७४–७५मा २५ अर्ब ५९ करोड र आव २०७५–७६मा १५ अर्ब २२ करोडमा झार्न सफल भएको छ ।

आर्थिक वर्ष २०७२–७३मा ३५ अर्ब ७ करोड आम्दानी रहेको प्राधिकरणको आव २०७३–७४ मा ५१ अर्ब ७० करोड, आव २०७४–७५ मा ६१ अर्ब ९७ करोड र आव २०७५–७६ मा ७३ अर्ब ४६ करोडमा पुगेकोे छ ।
‘उपयुक्त स्थानमा उपयुक्त व्यक्ति’ भन्ने अवधारणाका आधारमा जिम्मेवारी दिन सुरु गरिएको छ । प्राधिकरणले ग्राहकलाई दिने सेवामा सुधार गर्न, विद्युत् चुहावट नियन्त्रण, विद्युत् महशुल वक्यौता असुली लगायतलाई मुख्य मानक मानी ग्राहक तथा वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्ने प्रक्रिया सुरु गरिएको छ ।

कर्मचारीको सरुवा, बढुवा, पदपूर्ति तथा पदस्थापन गर्ने कार्यलाई नियमित तथा प्रभावकारी बनाइएको छ । मुलुक संघीयतामा गएसँगै प्राधिकरणका क्षेत्रीय कार्यालयलाई प्रादेशिक कार्यलयमा रुपान्तरण गरिएको छ ।

(२) उत्पादनतर्फ

अलपत्र अवस्थामा रहेको ३० मेगावाटको चमेलिया र भूकम्पछि निर्माण सुरु हुन नसकेको ६० मेगावाटको त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको निर्माणको काम सुचारु गराई निर्माण सम्पन्न भएको छ । १४ मेगावाटको कुलेखानी तेस्रो निर्माण सम्पन्न भई विद्युत् उत्पादन गर्न सक्ने अवस्थामा पुगेको छ ।

विगत तीन वर्षमा प्राधिकरणको १०४ मेगावाट र निजी उत्पादकहरुको २७१ मेगावाट गरी जम्मा ३७५ मेगावाटका जलविद्युत् आयोजना सञ्चालनमा आएका छन् ।

प्राधिकरणको सहायक कम्पनीहरुमार्फत निर्माण हुन लागेका १४० मेगावाटको तनहुँ, ४० मेगावाटको राहुघाट र ३७ मेगावाटको माथिल्लो त्रिसुली थ्री बी जलविद्युत् आयोजनाको काम द्रुत गतिमा अघि बढेको छ ।

भूकम्पपछि बन्द अवस्थामा रहेको स्वदेशी लगानीमा निर्माणाधिन राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको निर्माण चालू आवभित्र सम्पन्न गर्ने गरी अगाडि बढाइएको छ ।

प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतका १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन आयोजना छिट्टै निर्माण सम्पन्न हुने अवस्थामा पुगेका छन् ।

१०६० मेगावाटको माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयारी अन्तिम चरणमा पुर्याई वित्तीय व्यवस्थापनको आवश्यक कार्य अगाडि बढाइएकोे छ । साथै ९९.६ मेगावाटको तामाकोशी ५ को विस्तृत अध्ययन पूरा गरी निर्माण प्रक्रिया अगाडी बढाइएको छ ।

(३) प्रसारणतर्फ

आव २०७२–७३ सम्ममा विद्युत् प्रसारण लाइनको सञ्जाल २९११ सर्किट किलोमिटर रहेकोमा अहिले ३९९० सर्किट किलोमिटर पुगेको छ । गत आवमा मात्रै ७५७ सर्किट किलोमिटर लाइन निर्माण सम्पन्न भई ६०६ सर्किट किलोमिटर चार्ज भएको छ ।

लामो समयदेखि सम्पन्न हुन नसकी रुग्ण बनेको काबेली करिडोरसहित प्रसारणतर्फ ३ र वितरणतर्फ ३४ गरी जम्मा ३७ वटा रुग्ण आयोजना गत आर्थिक वर्षमा सम्पन्न भएका छन् । १३ आयोजनाको ठेक्का सम्झौता रद्द गरी पुनः ठेक्का प्रक्रिया सुरु गरिएको छ । 

ढल्केवर २२० केभी सबस्टेसन निर्माण सम्पन्न गरी नेपाल भारतबीचको अन्तरदेशीय प्रसारण लाइन मुजफरपुर ढल्केवरलाई २२० केभी मा चालू गरिएको छ । कटैया कुशाहा १३२ केभी दोश्रो सर्किट र रक्सौल परवानिपुर १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी नेपाल र बिहारबीच विद्युत् आदानप्रदानको क्षमता विस्तार गरिएको छ ।

विगत तीन वर्षभित्र नयाँ निर्माण तथा स्तरोन्नति गरी १७१२ एमभीए क्षमताका प्रसारण सबस्टेसन थप गरिएको छ ।

(४) वितरण तथा ग्राहक सेवातर्फ

तीन वर्षअघिसम्म करिब ६२ प्रतिशत नेपालीले ग्रिडमा आबद्ध विद्युत् सेवा पाएकोमा अहिले ७८ प्रतिशत जनतासम्म यो सेवा पुगेको छ । गार्हस्थ, सामुदायिक तथा औद्योगिक ग्राहक समग्र जोड्दा उपभोक्ताको संख्या ४५ लाख पुगेको छ ।

३३ केभी र सोभन्दा मुनि करिब १० हजार सर्किट किलोमिटर लाइन निर्माण सम्पन्न भई चार्ज भएका छन् । नयाँ निर्माण तथा स्तरोन्नति गरी ७६५ एमभीए क्षमताका वितरण सबस्टेसन प्रणालीमा थप गरिएका छन् । करिब दश हजारवटा वितरण ट्रान्स्फर्मर थप जडान गरी करिब एक हजार मेगावाट बराबरको वितरण क्षमता बढाइएको छ ।

ग्राहकले विद्युत् महशुल बुझाउन कार्यालयमै जानु पर्ने अवस्थालाई अन्त्य गर्न अनलाइन पेमेन्ट सुरु गरिएको छ । स्मार्ट मिटर प्रणाली काठमाडौं उपत्यकामा नमुना परियोजनाको रुपमा अघि बढाउन ठेकेदार कम्पनी छनोट गरी काम सुरु गरिएको छ । देशभरी रहेका थ्री फेज मिटर तथा टीओडी मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने कार्य द्रुतगतिमा अगाडि बढाएकोे छ ।
काठमाडौं उपत्यकमा जथाभावी रुपमा राखिएको तारलाई पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा भूमिगत गरी व्यवस्थापन गर्न ठेकेदार कम्पनीले काम सुरु गरिसकेको छ । काठमाडौ, ललितपुर र भक्तपुर सहरमा भूमिगत वितरण लाइन बनाउने गरी कार्य अगाडि बढाइएको छ ।

५) चुहावट नियन्त्रणतर्फ

तीन वर्ष अगाडि कुल २५.७८ प्रतिशत रहेको विद्युत् चुहावटलाई तीन वर्षभित्र १५.३२ प्रतिशतमा ल्याइएको छ । तीन वर्षभित्रमा १०.४६ प्रतिशत चुहावट नियन्त्रणबाट मात्र प्राधिकरणले वार्षिक ७ अर्ब रुपैयाँ थप आम्दानी गरेको छ ।

(५) विद्युत् व्यापारतर्फ

निजी क्षेत्रका ३४० आयोजनासँग ६ हजार ४४ मेगावाटको विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ । आव २०७२–७३ मा २७ आयोजनासँग ४७४ मेगावाटको पीपीए भएकोमा आव २०७३–७४ मा २८ आयोजनासँग ५५६ मेगावाट, आव २०७४–७५ मा ४५ आयोजनासँग ११०३ मेगावाट र २०७५–७६ मा ८५ आयोजनासँग १४८० मेगावाटको पीपीए गरिएको छ ।

नेपाल र भारतवीच वर्षौंदेखि हुन नसकिरहेको विद्युत् अदानप्रदान समितिको बैठकलाई नियमितता प्रदान गर्दै प्रत्येक वर्ष बैठक बसी विद्युत् व्यापार एवं प्रसारण पुर्वाधार विकास गर्न आवश्यक छलफल एवं निर्णय गरिएको छ ।

आगामी कार्ययोजनाहरु

सरकारको निर्देशन र उपभोक्ताको हित नेपाल विद्युत् प्राधिकरणका लागि सर्वोपरि हो । उच्च आर्थिक विकासको लक्ष्य पूरा गर्ने सरकारको उद्देश्यअनुसार आवश्यक ऊर्जा उत्पादन, प्रशारण तथा वितरण गर्न मात्र होइन, राष्ट्रको सम्पत्ति यो संस्थालाई नाफा मूलक, अनुशासित, सम्मानित र शसक्त बनाउन स्पष्ट दृष्टिकोणका साथ प्राधिकरणलाई अघि बढाइने छ ।
विगतमा लोडसेडिङ अन्त्य गर्न मुख्य ध्यान केन्द्रित गरेकोमा अब ग्राहकको सन्तुष्टीलाई केन्द्रबिन्दुमा राखी सोहीअनुसार प्रसारण तथा वितरण लाइन र सबस्टेसनको सुदृढीकरण र विस्तारलाई अभियानकै रुपमा अगाडि बढाइने छ ।

आगामी दिनमा वर्षायाममा उत्पादित विद्युत्लाई खेर जान नदिई शतप्रतिशत आन्तरिक खपत वा निर्यात गराउन विशेष ध्यान केन्द्रित गरिने छ । लोडसेडिङ अन्त्यपछि उत्पन्न भएका चुनौतीलाई समानागर्दै सुरक्षित, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत्् आपूर्ति गर्न प्राधिकरण दृढ छ ।

अनलाइन तथा एकीकृत भुक्तानी प्रणालीलाई अबलम्बन गरी ग्राहकहरुलाई थप सुविधा उपलब्ध गराइने छ । प्राधिकरणले अब जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत् आयोजनालार्ई गेम चेन्जर आयोजनाको रुपमा अगडि बढाउने छ ।

१) सुशासनतर्फ

संस्थागत सुशासनलाई कठोरताका साथ लागू गरिने छ । भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति अबलम्बन गर्दै प्राधिकरणका क्रियाकलापलाई थप जिम्मेवार, पारदर्शी र जवाफदेही बनाइने छ ।

मिटर रिडिङका लागि ग्राहकको घरघरसम्म जानुपर्ने हालको व्यवस्थालाई अन्त्य गर्न स्मार्ट मिटर जडान गरी टेलिफोन सेवामा जस्तै स्वचालित बिलिङ लागू गरिने छ ।

प्राधिकरणको आन्तरिक प्रणाली र सेवा प्रवाहमा आधुनिक एवं नवीनतम सूचना प्रविधिको प्रयोग गरी ‘डिजिटल एनईए’ बनाइने छ । इन्टरप्राइजेज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली लागू गरिने छ ।

२) संस्थागत विकासतर्फ

प्राधिकरणको वित्तीय अवस्था सुदृढ गर्नका लागि सञ्चालन खर्चमा न्यूनीकरण, स्वःउत्पादन वृद्धि, विद्युत्् चुहावट घटाउँदै विद्युत्को बिक्री परिमाण बढाउने लगायत उपलब्ध स्रोतको अधिकतम परिचालन गरिने छ ।

मन्त्रिपरिषद्को निर्णयबाट स्वीकृत प्राधिकरणको दोस्रो वित्तीय पुनर्संरचनामा भएको व्यवस्था र प्राधिकरण ऐनमा भएको व्यवस्थाअनुसार प्राधिकरणको २५ प्रतिशत सेयर सर्वसाधारणका लागि निश्कासन गर्न आवश्यक पहल गरिने छ ।

प्राधिकरण होल्डिङ संस्थाको रुपमा रहने गरी हरेक प्रदेशमा स्वायत्त प्रदेश विद्युत् वितरण संस्था खोलिने छ ।

३) वितरण तथा विद्युतीकरणतर्फ

२०७९ सालभित्रमा सबै नेपालीको घरमा विद्युत्को पहुँच पुर्याउने सरकारको महाअभियानलाई साथदिन र उपभोक्तालाई सुरक्षित, पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत्् आपूर्तिका लागि हरसम्भव प्रयास गरिने छ । यसका लागि वितरण प्रणाली सञ्जालको विस्तार गरिनेछ ।

स्थानीय तहलाई क्रमिक रुपमा शतप्रतिशत विद्युतीकरण भएको घोषणा कार्यक्रम अभियानकै रुपमा चलाइने छ । चालु आवमा राष्ट्रिय ग्रिड नपुगेका रुकुम पूर्व, कालिकोट, जुम्ला र बाजुरामा ग्रिड पुर्याइने छ । ४० जिल्लालाई पूर्ण विद्युतीकरण गरिनेछ ।

देशैभरि स्मार्ट मिटर जडान कार्य गरिनेछ । वितरण प्रणालीलाई स्वचालित बनाउन कार्यक्रम अगाडि बढाइने छ । आगामी दश वर्षमा दश हजार मेगावाट खपत गर्न सक्ने गरी वितरण प्रणालीको विस्तार एवं स्तरोन्नति गरिने छ ।

४) माग व्यवस्थापनतर्फ

विद्युत् खपतको दायरालाई विस्तार गरिने छ । विद्युतीय यातायातका लागि चार्जिङ स्टेसन स्थापना, विद्युतीय चुलोजस्ता विद्युत्ीय उपकरणको प्रयोगलाई प्रोत्साहन गरिने छ ।

ऊर्जा दक्षता कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिने छ । ऊर्जा दक्षता भएका लिड चिम, पंखा, क्यापासिटर बैंक, पानी तान्ने मोटरलगायतका उपकरणको प्रयोगमा व्यापकता ल्याइ ऊर्जाको उच्च माग व्यवस्थापन गरिने छ ।

५) चुहावट नियन्त्रणतर्फ

प्राधिकरणमा रहेको प्राविधिक र गैरप्राविधिक चुहावटका नियन्त्रणलाई निरन्तरता दिइने छ । चालू आवमा विद्युत् चुहावटलाई १२ प्रतिशतमा झार्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिने छ ।

६) उत्पादनतर्फ

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत १०६० मेगावाटको माथिल्लो अरुण र ९९.६ मेगावाटको तामाकोसी पाँचौ जलविद्युत् आयोजनामा ४९ प्रतिशत साधारण सेयर सर्वसाधारणको सुनिश्चित बनाई स्वेदशी वित्तीय संस्था र अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलियतपूर्ण ऋण रहने मोडलमा वित्तीय व्यवस्थापन गरी निर्माण अगाडि बढाइने छ । ६३५ मेगावाटको दूधकोसी आयोजनाको पनि वित्तीय व्यवस्थापन गरी निर्माण अगाडि बढाइने छ । साथै उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना (८२५ मेगावाट), चैनपुर सेती (२१० मेगावाट) लगाएत चिलिमे अन्तर्गत करिब ४२५ मेगावाटका जलविद्युत् आयोजना अगाडि बढाइनेछ ।

४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, १४.८ मेगावाटको माथिल्लो सान्जेन र निजी क्षेत्रका आयोजनाबाट चालू आवमा करिब १००० मेगावाट विद्युत् प्रणालीमा थपिने गरी काम अगाडि बढाइने छ । २५ मेगावाटको ग्रिडमा आबद्ध सौर्य ऊर्जा परियोजनाको निर्माण सम्पन्न गरिने छ ।

७) प्रसारणतर्फ

सिंगटी–लामोसाँघु, सोलु करिडोर, दाना–कुश्मा, दोर्दी करिडोर, भरतपुर—बर्दघाट, मस्र्याङदी—काठमाडौं, चिलिमे –त्रिशुली, समुन्द्रटार—त्रिशुली थ्रीबी हव, कोसी करिडोर (इनरुवा–तुम्लिङटार खण्ड) प्रसारण लाइनको निर्माण चालू आवमा सम्पन्न गरिने छ । ढल्केबरमा निर्माणाधीन ४०० केभीको उच्च क्षमताको सबस्टेसन चालू आवमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने छ । देशैभरका प्रसारण सबस्टेसनलाई स्वचालित गरिनेछ ।

नेपाल र भारतबीचका विभिन्न अन्तरदेशीय प्रसारण लाइन योजनाबद्ध रुपमा निर्माण गरिने छ । बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण मोडलको टुंगो लगाई निर्माण अगाडि बढाइने छ । साथै चालू आवमा रुपन्देहीको मैनहीयादेखि उत्तर प्रदेश राज्यको सम्पतिया सम्मको १३२ केभी प्रसारण लाइनको निर्माण सुरु गरिनेछ । कुशाहा–कटैयाको दोस्रो सर्किट लाइन निर्माण सुरु गरिनेछ ।

न्यू बुटवल–अत्तरिया (कन्चनपुरको दैजी) ४०० के.भी. लाइनको विस्तृत अध्ययन पूरा गरी निर्माण प्रक्रिया अगाडी बढाइने छ । अन्य ४०० केभी लाइनको अध्ययन गरिने छ । नेपालको रातमाटे र चीनको केरुङसम्मको ४०० केभी क्रसबोर्डर प्रसारण लाइनको नेपालतर्फको सम्भाव्यता अध्ययन सम्पन्न गरी निर्माण अगाडि बढाउन आवश्यक पहल गरिने छ ।

८) विद्युत् व्यापारतर्फ

प्राधिकरणले भारतका ऊर्जासँग सम्बन्धित विभिन्न निकायसँग छलफल एवं वार्ता गरी नेपाल भारतबीचको डे अहेड र टर्म अहेड विद्युत् बजारमार्फत् विद्युत् व्यापार गर्न एनटीपीसी विद्युत् व्यापार निगमसँग सम्झौता सम्पन्न गरी भविष्यमा कारोबार सुरु गरिने छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरण र नेपाल विद्युत् प्राधिकरणबीच इनर्जी बैंकिङसम्वन्धी आवधारणा पत्रमा सैद्धान्तिक सहमति जुटिसकेकाले इनर्जि बैंकिङसम्बन्धी कारोबार सुरु गरिने छ ।

अन्त्यमा, माग र आपूर्तिको सन्तुलन कायम राख्न विद्युत्् उत्पादनमा फड्को मार्नु पर्ने हाम्रो जिम्मेबारी हो । ‘उज्यालो नेपाल अभियान’अन्तर्गत आगामी दिनमा मुलुकभरका जनतालाई पर्याप्त, नियमित, भरपर्दो, र गुणस्तरीय विद्युत् आपूर्ति गर्न हरसम्भव प्रयासरत रहने र नाफा सहितको सक्षम, सबल प्राधिकरण बनाउने प्रतिबद्धता समेत व्यक्त गर्दछु । 
आउँदो बडा दशैं, दीपावली तथा छठलगायत सम्पूर्ण चाडपर्वको शुभ उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना पनि व्यक्त गर्दछु ।

(विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक भएको तीन वर्ष पुगेको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले गरेको सम्बोधनको सम्पादित अंश)

तस्बिरः रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  १०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC