शनिबार बेलुका नेपालगञ्जबाट काठमाडौं फर्किने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई विमानभित्रै दुर्व्यवहार भएको घटनालाई लिएर आश्चर्य लागेको छ । मैले जहाज उडाउन थालेको ४० वर्ष भयो तर यस्तो अवस्था यसअघि देखेको थिइन । विमान भनेको संवेदनशील क्षेत्र हो । अन्तर्राष्ट्रिय क्षेत्रमा यस्तो घटना भएको देखिएको छैन । विमानभित्र गएर नाराबाजी गर्न वा अन्य गतिविधि गर्न मिल्दैन । यो सार्वजनिक बसमा झगडा गरेको जस्तो विषय होइन ।
त्यसो गरियो भने उडान नै अवरोध गर्न लागेको वा अपहरणको प्रयास गरिएको अर्थसमेत लगाउन सकिन्छ । त्यस्तो अवस्था भनेको निकै नै गम्भीर विषय हो । त्यस्तो गतिविधि भएमा पाइलटले त्यसो गर्ने व्यक्तिलाई उडानमा नै नसमेट्ने वा उडान स्थगित नै गर्ने अधिकार पनि हुन्छ । त्यसैले विमानभित्र जे भयो त्यो हुनै नहुने कुरा हो । दुःखद कुरा हो । त्यहाँ सुरक्षाकर्मी पनि थिए होला, अन्य स्टाफ पनि थिए होलान् । तर, कसरी यस्तो भयो अचम्म लागेको छ । त्यसबारेमा आवश्यक छानबिन गरेर कानुनी कारवाही होला नै ।
मन्त्रीले चाहिं ढिलो गर्न हुन्थ्यो त ?
यसबारेमा मैले सार्वजनिक भएका भिडियो र दुवै पक्षका दाबी मात्रै सुनेको छु । के भएको हो भन्ने बारेमा मलाई अझै पनि प्रष्ट भएको छैन । मन्त्रीको सचिवालयले १५ मिनेट मात्रै ढिला भएको बताएको पाइएको छ भने अर्को पक्षले १ घण्टा ढिलो भएको भनेको सुनिएको छ । १५ मिनेटको मात्रै समय ढिला भएको हो भने त्यो त्यति ठूलो कुरा होइन । किनकि कहिलेकाहिँ विमान अन्य कारणले पनि त्यो भन्दा बढी समय पनि ढिला हुने गर्छ । उडानमा भीभीआईपी वा भीआईपी मान्छे भएको अवस्थामा कहिलेकाहिँ ‘ग्रेस पिरियड’ दिने चलन पनि हुन्छ ।
तर, यसरी समय दिने कुरा सम्बद्ध एयरलाइन्स र भीभीआईपी वा भीआईपीका पक्षबीचको कुराकानीमा तय गरिन्छ । त्यो कुरा तल्लो तहसम्म पुगेको हुँदैन । मैले विमान उडाएको बेलामा पनि त्यस्ता कुराहरु आउँथे तर तल्लो तहसम्म कुरा नपु¥याइने भएकोले अहिले भए जस्ता समस्या आउँदैन थिए ।
यद्यपि जोसुकै चढ्ने भए पनि समयको चाहिँ ख्याल गर्नु जरुरी हुन्छ । हामीकहाँ विमानको कुरा मात्रै होइन अन्य क्षेत्रमा पनि समयको ख्याल गर्ने चलन छैन । कुनै कार्यक्रम गर्न लागिएको छ भने पनि ढिला गर्ने चलन छ । त्यसो गर्दा सुरुमा आउने मान्छेलाई कति मर्का परेको हुन्छ त्यो महसुस गर्ने कुरा हो । त्यसैले हामी जोसुकै भए पनि समयमा नै हिंड्नु हरेक हिसाबले राम्रो हो ।
तपाईँ हामीलाई थाहा छ गएको मे महिनामा मेक्सिकोका वातावरणमन्त्री जोसेफा गोन्जालेज ब्लान्कोले ३८ मिनेट विमान रोक्न लाउँदा पदबाटै राजीनामा दिनु परेको थियो ।
अनि समयको महत्वको कुरा गर्दा गएको फेब्रुअरी महिनामा जापानका ओलम्पिक मन्त्री योशिटाका साकुराडाले संसदीय समितिको बैठकमा तीन मिनेट ढिला पुग्दा राजीनामा दिएको पनि हामीलाई थाहा छ । त्यसैले समयको पालनामा हामी पनि होशियार हुनु जरुरी छ । मैले शनिबारको विमानको घटनालाई मात्रै भनेको होइन । अन्य काम गर्दा पनि समयलाई ख्याल गर्नु जरुरी देखिएको छ । यसलाई हामीले पाठको रुपमा ग्रहण गर्नु उत्तम हुन्छ ।
मलाई यस्ता समश्या परेनन्
मैले विमान उडाउँदा पनि केही बेर पर्खिनुपर्नेलगायतका कतिपय घटना भएका छन् । तर, ती माथिल्लो तहबाट आउँथे र त्यसलाई हामीबीचमै सीमित गरिन्थ्यो । यसरी विमानभित्रै झगडा गर्ने खालको परिस्थिति आएन ।
मैले तत्कालीन राजा वीरेन्द्र दोस्रो विश्वयुद्ध समाप्त भएको ५० औं वर्षगाँठ मनाउने कार्यक्रममा भाग लिन सन् १९९५ मा बेलायत जाँदा विमान उडाएर लगेको छु । उहाँ विमानमा उड्नुभन्दा १५ मिनेट अघि नै आउनु भएको थियो । त्यतिबेलाको शाही नेपाल वायु सेवा निगम (अहिले नेपाल वायुसेवा निगम)का स्टाफहरुलाई थाहा छ ।
अरु बेला पनि उहाँ जहाज चढेको बेलामा ठ्याक्कै १५ मिनेट अगाडि विमान चढिसक्नु हुन्थ्यो । मैले २०४६ सालको परिवर्तनपछिका अन्तरिम प्रधानमन्त्रीहरु किशुनजी (कृष्णप्रसाद भट्टराई), गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी तथा सर्वोच्च नेता गणेशमान सिंहलगायतलाई पनि विमानमा उडाएको छु । उहाँहरु समयमा सचेत भएको पाएको थिएँ । तर, पछिल्लो अवस्थामा समयलाई अलि नटेर्ने खालको अवस्था आएको देखेको छु ।
त्यो अवस्था विमानको सन्दर्भमा मात्रै होइन कि अन्य विभिन्न कार्यक्रमको सन्दर्भमा पनि आइरहेको छ । नेता भनेको देशको अभिभावक जस्तै हो । त्यसैले उहाँहरु सबैभन्दा पहिला अनुशासित हुनु आवश्यक छ । घरमा बाबु अनुशासनमा रहेमा नै त्यस घरका केटाकेटीले पनि अनुशासन सिक्ने हुन् । कसरी व्यवहार गर्ने, के गर्ने, के नगर्ने भन्ने उनीहरुले बाबु आमाबाट नै सिक्ने हुन् । माथिल्लो तह अनुशासित भएन वा ‘कानुनभन्दा माथि हुँ’ भन्ने अवस्था आयो भने तल्लो तहले पनि मान्दैन । त्यसैले हामी सबै अनुशासित भएर अघि बढ्नु जरुरी हुन्छ ।
शनिबारको घटनाको संकेत के हो ?
शनिबारको घटनाले देश अराजकतातिर जान लागेको त होइन भन्ने प्रश्न उब्जिएको छ । जे जस्तो असन्तुष्टि भए पनि कसैले पनि विमानभित्र त्यसो गर्नु हुँदैनथ्यो र हुँदैन । विमान एकदमै संवेदनशील कुरा हो । साथसाथै अर्को सन्देश पनि यो घटनाले दिएको छ । त्यो भनेको मानिसहरुमा अलि निराशाको अवस्था बढेको जस्तो
देखिएको छ । दुई तिहाईको सरकार छ तर जनताले सोचेको जस्तो काम नभइरहेको तथा नीति नियमको पालना राजनीतिक नेतृत्वले नगरेको जस्तो महसुस जनताले गरिरहेको जस्तो संकेत जनस्तरबाट दिन खोजिएको जस्तो पाइएको छ ।
त्यही असन्तुष्टि प्रकट गर्न खोजिएको जस्तो पनि देखिएको छ ।
तर, असन्तुष्टि पोख्ने अन्य माध्यम हुने भएकोले विमानभित्रै त्यसरी असन्तुष्टि पोख्नु भनेको गलत हो ।
तर, राजनीतिक नेतृत्वले पनि यसलाई पाठको रुपमा लिनु जरुरी हुन्छ । हामीले नीति नियमलाई कडाईका साथ पालना गराउने तर्फ लाग्नुपर्छ । तर, अरुलाई नीति नियमको कुरा गर्दा आफैं चाहि पालना गरिएन भने त्यसको कार्यान्वयन आमरुपमा राम्रोसँग हुन सक्दैन । जस्तो कुनै कार्यालयको हाकिम अनुशासित र जवाफदेही भएको खण्डमा त्यस कार्यालयका अन्य कर्मचारीपनि अनुशासित हुनैपर्ने बाध्यता हुन्छ । तर, त्यसो भएन हाकिम नै अनुशासनमा बसेन भने त्यहाँ अराजकता सिर्जना हुन्छ । त्यस कार्यालयले राम्रो प्रगति गर्न पनि सक्दैन ।
त्यसैले अहिले देशको लोकतन्त्र र गणतन्त्रलाई संस्थागत रुपमा विकास गर्ने हो भने राजनीतिक नेतृत्वमा पनि आमुल सुधारको जरुरी देखिएको छ । त्यसो गरिएन भने माहौल झन् खराब नबन्ला भन्न सकिँदैन । जस्तो कि शनिबारकै घटनालाई हेर्दा पनि केही व्यक्तिहरुले विमानभित्रै त्यस्ता गतिविधि गरेको बेलामा अरु यात्रुहरुले प्रतिवाद गर्न सक्थे । उनीहरुलाई रोकेर चुप लगाउन सक्थे । तर, अरु यात्रुहरु पनि त्यहाँ बोलेको सुनिएन । त्यसैले सरकारप्रति जनताको पनि असन्तुष्टि प्रष्टै देखिएको छ । त्यसैले आफैंलाई सुधारेर जनताका असन्तुष्टिलाई सम्बोधन गर्दै अघि बढ्नु अहिलेको खाँचो देखिएको छ ।
(नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक समेत रहिसकेका क्याप्टेन लिम्बुसँग बाह्रखरीका लेखनाथ अधिकारीको कुराकानीमा आधारित)