दीप दर्पण
चलचित्र विकास बोर्डले केही समयअघि चलचित्र छायाङ्कनका लागि सम्भाव्यस्थलहरुको फोटो तथा भिडियो आह्वान गर्यो । सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम बमोजिम ‘छायाङ्कनका लागि नेपाल कार्यक्रम’ अन्तर्गत चलचित्र विकास बोर्डले नेपाल पर्यटन बोर्डको सहकार्यमा चलचित्र पर्यटनसमेतलाई आकर्षण गर्न नेपालमा रहेका चलचित्र छायाङ्कनका लागि सम्भाव्यस्थलहरुको विस्तृत विवरणसहितको फोटो भिडियो आह्वान गरेको हो ।
फोटो भिडियो प्राप्त भएपछि फोटोसहितको लोकेसन गाइड बुक प्रकाशन हुनेछ भने सम्भाव्य पर्यटकीय एवम् चलचित्र छायाङ्कनस्थलहरुको प्रवद्र्धनात्मक श्रव्यदृश्य सामग्री पनि निर्माण हुनेछ ।
बोर्डले लोकेसनका लागि आवेदन आह्वान गरिरहेका बेला कलाकार तथा निर्देशक खगेन्द्र लामिछाने भने आफ्नो चलचित्र सुटिङका लागि नवीन छायाङ्कनस्थल खोजिरहेका थिए । कथाअनुसारको छायाङ्कनस्थल चाहिएको थियो । द्वन्द्वसँग जोडिएको कथा भएकाले खगेन्द्रलाई कथा सुहाउँदो ठाउँ चाहिएको थियो ।
द्वन्द्वको उद्गमस्थल रोल्पा उनका लागि उपयुक्त ठाउँ थियो । सङ्घीय राजधानीबाट निकै टाढा रहे पनि उनले त्यसको विकल्प सोचेनन् । र, पुगे रोल्पा ।
रोल्पाको होलेरी नेपाली राजनीतिक वृत्तमा चर्चामा रहेको नाम । २०५२ फागुममा यहीँ रहेको प्रहरी चौकी आक्रमण गरेर तत्कालीन माओवादीले देशमा युद्ध सुरु भएको उद्घोष गरेको थियो ।
२०५८ मा होलेरीमा दोस्रोपटक भएको प्रहरी चौकी अक्रमणपछि माओवादीले ७२ जना प्रहरी अपहरण गरेको थियो । एकजना प्रहरीको मृत्यु भएको थियो । यो घटनापछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराले देशमा सेना परिचालन गर्न खोजेका थिए । तत्कालीन राजा वीरेन्द्रले गिरिजाप्रसादको उक्त प्रस्ताव अस्वीकार गरेपछि राजीनामा दिनु परेको थियो । देशमा चलेको युद्धको चर्चा हुँदा रोल्पा मुख्य विषय बन्न सक्छ । र, होलेरी छुट्न सक्तैन ।
देशमा सशस्त्र युद्ध सकिएको डेढ दशक बित्नै लाग्यो । रोल्पा र होलेरी प्रतिक्रियाविहीन स्थिर बसिरह्यो । यहीँबाट सुरु भएको आन्दोलनले देशको व्यवस्था परिवर्तन गर्यो । नयाँ राजनीतिज्ञ जन्मायो । अहिले राजनीतिका उच्च तहमा रोल्पा र त्यही आन्दोलनले जन्माएका नेता विराजमान छन् । तर त्यही रोल्पा न तङ्ग्रिन सक्यो न त मुस्कुराउन नै ! हिजो युद्धमा खनिएका ट्रेन्चहरु युद्धका दागहरु बोकेर रुग्ण बसिरहेका छन् । होलेरीको असख्ङ्य सम्भावना हुँदाहुँदै पनि खाली युद्धको बिम्बको रुपमा चोटहरु बोकेरमात्रै बसिरह्यो । युद्ध पर्यटनसँग जोडेर पर्यटन हब बनाउन सकिन्थ्यो । द्वन्द्व साहित्यसँग जोडेर रोल्पालाई उठाउन सकिन्थ्यो । तर खण्डहर रोल्पा उपेक्षित नै रह्यो । स्थानीय सरकारबाट एकाध प्रयास भए पनि रोल्पा किनारामै अडिरह्यो ।
खगेन्द्र आफ्नो चलचित्रको छायाङ्कन युनिट लिएर रोल्पा आइपुगे । अहिले तिनै ट्रेन्चहरुमाथि फिल्म सुटिङ हुँदैछ । अहिले क्रमशः होलेरी तङ्ग्रिन खोज्दैछ । केही समय अगाडिदेखि पर्यटन, साहित्य र विकासमा केही न केही नयाँ काम हुँदै आइरहेको छ । भलै यी प्रयासमात्रै होलेरी र समग्र रोल्पाका लागि पर्याप्त छैन ।
होलेरी क्षेत्रबाट नेपाली कथानक चलचित्र ‘पानी फोटो’को छायाङ्कन सुरु भएको छ । रोल्पाको इतिहासमा चलचित्र छायाङ्कन भएको यो पहिलो पटक हो । यसले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने र युद्धताकाका कथाहरुले साहित्य र चलचित्रमा स्थान पाउने विश्वास लिइएको छ ।
‘पशुपति प्रसाद’, ‘धनपति’ ‘टलकजङ्ग भर्सेस टुल्के’, बधशाला’ जस्ता खाँट्टी नेपाली स्वाद बोकेका नेपाली चलचित्रमा काम गरेका खगेन्द्रको टुकी आर्ट्स प्रा.लि.ले मञ्जुश्री फिल्म प्रोडक्सनसँगको सहकार्यमा चलचित्र ‘पानी फोटो’ निर्माण सुरु गरेको छ । ‘पानी फोटो’ कलाकार तथा लेखक खगेन्द्र लामिछानेले नै लेखेको नाटक ‘पानी फोटो’बाट अनुरुपण गरिएको हो ।
‘पानी फोटो’ले १५ वर्षअघि बेपत्ता छोरोको पर्खाइमा बसेका बाबु–आमाको कथा भन्छ । चलचित्रमा एउटा व्यक्तिको कथा खगेन्द्रले भन्लान् । तर त्यो रोल्पाका घरघरको कथा हुनेछ । रोल्पाबाट बाहिर निस्किने हो भने पूरै नेपालको कथा हुनेछ ।
एक नागरिक बेपत्ता हुँदा परिवारले कस्तो कष्ट भोगेको हुन्छ ? समाजमा कस्तो प्रभाव परेको हुन्छ ? भन्ने विषय चलचित्रले उठान गर्दा रोल्पालीले आफ्नै घरको कारुणिक कथा भनेको महसुस गर्नेछन् ।
चलचित्र रुन्टीगढी गाउँपालिकाको होलेरी बजार, खस्रे डाँडा, सैबाङ, जौलीपोखरी, दहवन, भाँगोवारीलगायतका क्षेत्रमा खिचिएकाे छ । यहाँको कुहिरो, मनोरम प्राकृतिक दृश्य र गाउँहरुले चलचित्रमा नयाँ स्वाद दिने निर्देशक खगेन्द्र बताउँछन् ।
‘पानी फोटो’ छायाङ्कनले रोल्पामा चलचित्र सुटिङको ढोका खोल्ने विश्वास गरिएको छ । युद्धका कथा चलचित्रमार्फत् भन्ने निर्देशकका लागि रोल्पा निर्विकल्प जिल्ला हो ।
चलचित्रको लोकेसन छनोटका लागि खगेन्द्र दुईपटक रोल्पा पुगे । “चलचित्रले समाजको वास्तविक कथा बोल्नेछ । चलचित्र पानी फोटो देशमा चलेको युद्धमा बेपत्ता भएको नागरिकको कथामा रहेकाले रोल्पा नै छनोट गरेको हुँ । दुईपटकसम्म आफ्नो टिमसहित मैले रोल्पाका दर्जनभन्दा बढी गाउँ घुमेको छु,” खगेन्द्र भन्छन् ।
नेपाली चलचित्रका समीक्षकहरु भन्छन्, ‘‘नेपाली चलचित्रमा ब्याकग्राउन्ड स्कोर ठूलो समस्या हो । भारतीय चलचित्रका फाइल साउन्ड नै नेपाली चलचित्रमा प्रयोग हुन्छन् ।’’ तर खगेन्द्र ‘पानी फोटो’ बाट यो आरोपबाट बाहिर निस्किन खोज्दैछन् । चलचित्रमा ‘सिङ्ग साउन्ड’ प्रयोेगको अभ्यास गर्दैछन् ।
“स्थानीय भाका र सङ्गीतलाई हुबहु चलचित्रमा समावेश गर्ने मेरो प्रयास रहनेछ । चललिचत्रले स्थानीय संस्कृति र कलालाई राष्ट्रिय स्तरमा स्थापित गर्न सहयोग गर्नुपर्छ,” खगेन्द्रले भने ।
खगेन्द्र आफैं युद्धका कथामा रमाउने व्यक्ति हुन्, चाहे कलाकारका रुपमा हुन् या लेखकको भूमिकामा । उनको पहिलो चलचित्र ‘बधशाला’ युद्धकै कथा थियो । जहाँ उनी चलचित्रको अधिकांश समय बोराभित्रै रहेर अभिनय गर्छन् । ‘टलकजङ्ग भर्सेस टुल्के’ द्वन्द्वकै कथामा उनले अभिनयमा आफूलाई निखारे । अहिले पनि त्यही सेरोफेरोमा हिँड्ने ‘पानी फोटो’को निर्देशन गर्दैछन् खगेन्द्र ।
ओझेलमा परेको होलेरीमा चलचित्र छायाङ्कन हुनु उत्साहजनक भएको गाउँपालिका अध्यक्ष बालाराम बुढा वताउँछन् । होलेरी विभिन्न हिसाबले पर्यटनमैत्री क्षेत्र भएकाले यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने बलियो माध्यम बन्न सक्ने अध्यक्ष बालारामको विश्वास छ ।
“पानी फोटोसँगै चलचित्र छायाङ्कनको केन्द्र होलेरी बन्छ भन्ने हाम्रो विश्वास छ । प्राकृतिक मनोरम दृश्य र द्वन्द्वसँग जोडिएको क्षेत्र भएकाले अन्य चलचित्रका लागि यसले ढोका खोल्छ भन्ने हाम्रो विश्वास हो,” अध्यक्ष बालाराम भन्छन्, “पर्यटन प्रवद्र्धनका लागि पनि चलचित्र माध्यम बन्छ र बनाइनुपर्छ ।”
पहिलोपटक कथानक चलचित्र छायाङ्कनका लागि खगेन्द्र पुगेपछि होलेरी उत्साही बनेको छ । चलचित्र युनिटलाई सहयोग गर्न प्रशासन लागिज्ञपरेको छ । दहवनका सैनिक मेजर कमान गुरुङले खगेन्द्रसहितको चलचित्र युनिटलाई सैनिक क्याम्पमै बोलाएर न्यानो आतिथ्य प्रदान गरे । होलेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी जिएमले चलचित्र छायाङ्कनका लागि प्रशासनले पूर्ण सहयोग गर्ने बताए ।
प्रशासक जिएम हुन् अथवा मेजर गुरुङ उनीहरुले खुला हृदयले ‘पानी फोटो’लाई स्वागत गर्नु र सहयोग गर्नुको मनसाय एउटै छ– रोल्पा अब बौरिनुपर्छ । उठ्नुपर्छ र पर्यटकीय क्षेत्र तथा चलचित्र छायाङ्कनको हबमा परिणत हुनुपर्छ । युद्धमा बगेको रोल्पालीको रगत विकासले पखाल्नुपर्छ । युद्धको घाउहरुमा विकास र सम्पन्नताले मह्लमपट्टी गर्नुपर्छ । हराएको खुसी फर्किनुपर्छ । र, रोल्पालीको मुहारमा कान्ति छाउनुपर्छ । ‘पानी फोटो’ले रोल्पालाई काठमाडौंसँग जोड्नेमा होलेरी यतिबेला ढुक्क देखिएको छ ।